८ वैशाख २०८१ शनिबार
कला

कृष्ण सिंह पेलाका दुई गजल

गजल

कृष्ण सिंह पेला

पुष्पघाती स्वयम् आज माली भयो,

यो जमाना कति क्रूर जाली भयो।

 

ऊ इतिहासकै शक्तिशाली भयो,

गन्थने भन्दछन् काकताली भयो।

 

सावधानीले नौनी किनारा गरी,

मञ्चमा छाँच हालीमुहाली भयो।

 

टुक्रिएको छ ईमान सय भागमा,

ऊ त्यसैले त सौभाग्यशाली भयो।

 

नित्य बढ्दो छ कंक्रिट जङ्गल यहाँ,

त्यो पहाडी दुःखी गाउँ खाली भयो।

 

मिल्छ हामी सबैलाई यश पुण्यको,

शुद्ध, पावन नदी आज नाली भयो।

 

प्रेमीको सूचीमा कृष्णको नाम खोइ?

बीचमा घूसखोरी दलाली भयो।

 

राम आए कठै पाउ रक्ताम्य लिई,  

फूल मैले बिछाएको फाली भयो।

 

दिव्य आशिष सरी लाग्ने गर्थिन् गजल,

फेरि लेखुँ भनेको त  गाली भयो।  

 

मन हलुङ्गो भयो आज बर्षौं पछि,

दुःख पग्लेर जब मेचीकाली भयो।

 

किनारको मौनता देखी लहर चुपचाप फर्किन्छन्

यो ढोका बन्द देख्छन् सब र घर चुपचाप फर्किन्छन्।  

 

स्वयम्लाई कहन्थे जो निडर चुपचाप फर्किन्छन्

यी योद्धा बीचमै छाडी समर चुपचाप फर्किन्छन्।

 

मेरो यस झ्यालमा देख्छन् नियास्रो जूनको पर्दा

र मेरो मस्त निद्राका प्रहर चुपचाप फर्किन्छन्।  

 

बडो उत्साहले जान्छन् गरुँ स्वागत भनी सामु

नजरको विष पिई हरदम नजर चुपचाप फर्किन्छन्।  

 

कहाँ सन्धान डगमग भो कि नियतमै थियो कैफियत,  

विना त्यो लक्ष्य भेदेरै यी शर चुपचाप फर्किन्छन्।  

प्रकाशित: ९ भाद्र २०७७ ०८:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App