७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

गीतकारका रूपमा राष्ट्रकवि माधव घिमिरे

‘त्यसरी होओस् मरण,

जसरी सुत्छन् तारमा, गीतका चारु चरण

हिमालचुली देशमा, दिनको शान्त भेषमा

जसरी गर्छन् विश्राम सूर्यका स्वर्ण किरण

त्यसरी होेस् मरण।...’  

माधव घिमिरे (भदौ २, सेतोपाटीबाट)

गीत हृदयको ध्वनि हो। गीतको प्रारम्भिक उद्गमस्थल लोकजीवन हो। जीवनका सुखदुःख र आँसु–हाँसोका लयात्मक स्वर लोकगीतका रूपमा गुञ्जिँदै आए। तिनले गाउने र सुन्ने दुवैलाई आनन्द दिए, रुवाए र हँसाए। लोकभाका बटुलेर संगीतबद्ध गरियो, स्वरबद्ध गरियो। समयको अन्तरालमा गीत सिर्जना गर्न थालियो। गीतका अनेक रूप र भाका जन्मिए। लेखाइ र गायनका शैली मौलाउँदै आए। गीतकार माधव घिमिरेले यस्तै लोकगीतबाट प्रभावित भएर गीत लेख्न थालेका हुन्।  

नेपाली साहित्यको गीतिविधालाई सम्पन्न र स्तरीय बनाउन घिमिरेको शीर्ष भूमिका छ। उनले नेपाली गीतका विभिन्न क्षेत्र राष्ट्रिय गीत, आधुनिक गीत, चलचित्र, गीति नाटक, बालगीत लगायतमा कलम चलाएर शीर्ष लोकप्रियता आर्जन गरेका छन्। उनका कविता पनि गीतजस्तै मीठा छन्।  

घिमिरेले भनेका छन्, ‘म गीत पनि लेख्छु, कविता पनि लेख्छु। यी दुवै नै कविता हुन्, एउटा पाठ्य कविता हो भने अर्को गेय कविता हो। एउटा सामान्य लयमा गाइने गीत हो भने अर्को विशेष लयमा गाइने गीत हो।’

‘आज भोलि एकलासमा शून्यशून्य लाग्छ,

कोही भेट भए हुन्थ्यो भन्ने भन्ने लाग्छ।’

गीतकार माधव घिमिरेका राष्ट्रभक्तिपूर्ण गीतले नेपाली श्रोतामाझ स्थायी प्रभाव पार्दै आएका छन्। ‘गाउँछ गीत नेपाली’ सर्वाधिक मन पराइएका थोरै राष्ट्रिय गीतमध्येको एक हो। यसको रचना २०१० सालमा भएको हो।  

‘गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली

जय जय जय हे ! नेपाल सुन्दर शान्त विशाल।’

‘म गीत पनि लेख्छु, कविता पनि लेख्छु। यी दुवै नै कविता हुन्, एउटा पाठ्य कविता हो भने अर्को गेय कविता हो। एउटा सामान्य लयमा गाइने गीत हो भने अर्को विशेष लयमा गाइने गीत हो।’

एउटा पूर्ण राष्ट्रिय गीतमा राष्ट्रियताको भावना जगाउने शक्ति प्रबल हुन्छ। त्यसमा आम जनताको आत्मा बोल्छ, देशको कला–संस्कृतिको ध्वनि सुसाउँछ, आमश्रोतामा देशभक्तिको अनुभूतिले कम्पन उत्पन्न गराउँछ। स्वर र संगीतको सुमधुर ध्वनिसँगै प्रवाहित हुँदै आएका घिमिरेद्वारा रचित राष्ट्रिय गीतले सिंगै देशलाई ब्युँझाएका छन्। ब्युँझन प्रेरित गर्दै आएका छन्।  

‘नेपालीहामी रहाँैलाकहाँ नेपालै नरहे

उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे।’

‘हिमालमाथि घामले सिन्दुर हालेको कहाँ छ,

सुन हे साथी एकान्त मेरो नेपाल जहाँ छ।’

‘नेपाल आमा ! कहीँ छौ आमा कहीँ छौ छाया हो

परन्तु सारा सन्तानमाथि एउटै माया हे।’

घिमिरेका गीतले पाठक र श्रोताको मनलाई संग्लो झरनाले झँै भिजाउँछन्। उहाँका गीत शरद ऋतुको फूलबारीझैँ मगमगाउँछन्। तिनले हृदयलाई सुमसुम्याउँछन्। गीतकार घिमिरेले भनेका छन्, ‘गीत भन्नु संगीतको बोली हो र बोलीको संगीत हो।’

गीतको पूर्णता स्वर र संगीतमा एकाकार भएपछि हुन्छ। संगीत र गायनले गीतलाई हृदयभित्र प्रवेश गराउँछन्।

घिमिरेले गीतहरूमा प्राकृतिक सौन्दर्यलाई जसरी अभिव्यक्त गर्नुभएको छ, उसरी नै त्यही सौन्दर्यभित्र जीवनका रहस्य पनि पहिल्याउनुभएको छ।  

‘टिपुँ त भने शीतको थोपा तर्केर खस्छ कि,

न टिपुँ भने प्रभातीकिरण चर्केर सोस्छ कि

यै दुनियाँमा समाधिमग्न बन्दछु तै पनि

सिर्जनाजस्तो सुन्दर मैले देखिन क्यै पनि।’

घिमिरेले भनेका छन्, ‘गीत र गेडा, संगीत र शब्द, भाका र लय जहाँ एकाकार हुन्छन्, त्यही हो गीत।’

कविवर माधव घिमिरेको योगदान गीति नाटकको क्षेत्रमा अग्रणी रहेको छ। घिमिरेका मालती–मंगले, देउकी, विषकन्या, इन्द्रकुमारी भीममल्ल, झड्केली छोरी, कमाराकमारी, हिमालवारि–हिमालपारि, बालकुमारी लगायतका गीति नाटक प्रकाशित छन्। यीमध्ये सर्वाधिक लोकप्रिय मानिएको गीति नाटक मालती–मंगले हो–

‘सधैँ त तिमी उजेली मुहार बालुँझैँ धप्धपी,

आजैको दिन रोइरै’छौ किन शीतझैँ तप्तपी।

पहिलो पाली प्रियलाई देख्दा हर्षले रोइरहेँ,

पुछेर आँसु त्यही दिनदेखि उजेली भइरहेँ।’

मालती–मंगले इतिहासको सामाजिक यथार्थ परिस्थितिमा आधारित छ। जुन समयमा नेपालमा दासप्रथा जस्तो अमानवीय चलन विद्यमान थियो, त्यो समय र समाजको एउटा अँध्यारो पाटो यस गीति नाटकमा प्रस्तुत गरिएको छ। राजा पृथ्वीनारायण शाहले दासत्व मोचनको आरम्भ गरेको इतिहास छ। कमाराकमारी बीचको प्रेमकथा नै नाटकको मूल विषय हो। नाटक प्रेमपूर्ण, विरहपूर्ण र वियोगान्त छ। मालती–मंगले मञ्चनले नेपाली गीतिनाटक मञ्चनको इतिहासमै असाधारण रेकर्ड कायम राखेको थियो।  

घिमिरेले बालबालिकाका लागि पनि असख्ंय बालगीत लेखेका छन्। उनका घामपानी तथा बाललहरी जस्ता बालगीति पुस्तक प्रकाशित छन्।

‘कुरा गर्छन् कसरी, भँगेरा र भँगेरी...।’

गीतकार घिमिरेको गीति सिर्जना यात्रा, नेपाली चलचित्र क्षेत्रमा पनि फैलिएको छ। नेपाली चलचित्रको इतिहास त्यति पुरानो छैन। २०२० को दशकारम्भसँगै नेपाली चलचित्र निर्माणको क्रम सुरु भएको हो। घिमिरेले कतिपय प्रारम्भिक चलचित्रका लागि गीत लेख्नुभयो–  

‘फूलको थुँगा बहेर गयो गंगाको पानीमा

कहिले भेट होला है राजै यो जिन्दगानीमा’

यस्तै ‘सारंगी त रेटे पनि’, ‘सय र पत्री’ आदि गीत पनि उत्तिकै कर्णप्रिय छन्।

घिमिरेद्वारा रचित कैयौँ आधुनिक गीत संगीतबद्ध छन्। तिनले वर्तमान नेपाली सांगीतिक क्षेत्रको बलियो आधार बनाएका छन्। उनीद्वारा रचित गीत सदाबहार छन्। आधुनिक गीतको स्तरीयताको मापदण्ड घिमिरेका गीतका आधारमा तय गर्न पनि सकिन्छ। गीतका अनुभूतिपरक आयाम फरक हुन्छन्। राष्ट्रिय भावना, प्रेम, विरह, व्यथा, संयोग, वियोग एवं जीवनका घामछाया जस्ता भावनात्मकआयामहरूलाई उद्घाटन गर्न घिमिरेको गीतिसिर्जनाशिल्पीले नयाँ इतिहास कोरेको छ, नयाँ उचाइ थपेको छ।  

‘सुन्दर सृष्टि निहारी सुखैले चिम्लूँ नयन,

बिहानीख रातको कुसुम पारिजातको,

जसरी जान्छ झरेर भूइँमा बिना पवन,

त्यसरी होस् मरण...।’

राष्ट्रकविको राष्ट्रिय सम्मानबाट विभूषित माधव घिमिरे भदौ २ गते साँझ ५ः५५ बजेपछि शारीरिक रूपमा चीर विश्राम लिए पनि नेपाली कविता र गीतका क्षेत्रमा सर्वदा अमर रहनेछन्। उनका सुन्दर सिर्जनाबाट सम्पूर्ण नेपालीले सधैँ प्रेरणा पाइरहनेछन्। दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली। 

प्रकाशित: ६ भाद्र २०७७ ०५:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App