९ मंसिर २०८१ आइतबार
image/svg+xml
कला

जब ‘छुइडुमको राजा’ले विभेद थाह पायो

संस्मरण

हिमा नदीको किनारमा छ, मैले पढेको विद्यालय श्री कनका सुन्दरी मावि, जसको प्रांगणमा म छुइडुम खेल्थेँ। कक्षा ३ मा आइपुग्दा म छुइडुम खेलमा अब्बल भइसकेको थिएँ। मैले आफूलाई यस खेलको राजा नै ठान्थेँ।  

एक दिन सधैँजस्तो छुइडुम खेलेर हामी विद्यालयबाट घर फर्कंदै थियौं, एकअर्कालाई जिस्काउँदै, कुदाकुद गर्दै, हँसीमजाक गर्दै। अकस्मात मैले कतैबाट आएको आवाज सुनेँ, ‘कस्तो झल्ला डुम रहेछ !’  

झट्ट लाग्यो– कोही छुइडुम खेल्दै होला! घरमा साँझ होमवर्क गर्दै गर्दा मैले बुबालाई सोधे, ‘बुबा, यो झल्ला–डुम भनेको के हो ?’मलाई लागेको थियो, यो पनि कुनै अर्को खेल हो कि !

टुकीको उज्यालोमा बुवाले लुगा सिलाउँदै हुनुहुन्थ्यो। उहाँले चलाउँदै गरेको मेसिन रोकेर उल्टै सोध्नुभयो,‘कसले भन्यो तँलाई ?’

मैले बाटोमा सुनेको बताएँ। बुबाको अनुहारमा एक प्रकारको हीनताबोध वा असहजता यस्तै केही देखियो।  

उहाँले अलि निराश भावमा भन्नुभयो, ‘डुम हामीलाई भन्छन् बाबु। सानो जात भनेर हेपेर भनेका हुन्।’  

मेरो सब सोच क्षणभरमै परिवर्तन भयो। त्यसअघि मैले आफूलाई छुइडुमको राजा सम्झन्थेँ। बेसरी कुद्न सक्ने भएकाले यस खेलमा मैले अरुलाई डुम बनाउँथेँ, वा डुम हुनबाट जोगाउँथेँ। हिजोसम्म अरुले मलाई ‘डुम भइस्’ भन्दा वा मैले अरुलाई ‘डुम भइस्’ भन्दा केहीजस्तो लाग्दैनथ्यो। तर, बुबाले डुमको अर्थ बुझाएदेखिमलाई नरमाइलो लाग्यो,उल्टै दुःखी बनायो। किनकि, वास्तविक डुम त म रहेछु। हिजोसम्म जो जो मेरा नजरमा डुम थिए, वास्तवमा उनीहरू चोखा रहेछन्। कथित समाजले डुम बनाएको त म रहेछु। वास्तविक सामाजिक खेल अर्कै रहेछ। मेरो बालक मानसपटलमा खैलाबैला मच्चियो। बुबाले भन्नुअगाडि मेरा लागि छुइडुम एक खेल मात्र थियोे। अब छुइडुम खेल रहेन। यो त विभेदपूर्ण समाजको प्रतीक रहेछ।

नेपाली बृहद शब्दकोशमा डुम शब्दको अर्थ ‘१. कुनैकुनै बालखेलमा अछूत बन्ने व्यक्ति, (उदा. यति नाना फाट्यो मुसाले काट्यो, सिइदेऊ न डुम दाइ !) २. चाण्डाल जातिविशेष, डोम, डुम्रो।’ उल्लेख छ। यतिसम्म कि उक्त शब्दकोशमा कागलाई पनि ‘डुमकाग’ वा ‘ढोलेकाग’को संज्ञा दिइएको छ।

अहिले म सोचमग्न हुन्छु। यो बालखेल समाजको वर्ण वा जात व्यवस्थामा आधारित कसरी बनाइयो ? बालबालिकालाई त यस्तो थाहन हुनुनपर्ने ! ठूला मान्छेले बालबालिकाका लागि यस्तो खेल किन बनाए ?बालबालिकाको दिमागमा छुत र अछुतको भावना हाल्न यस्तो डिजाइन कसले किन ग¥यो ?यसको जवाफ मसँग छैन, तर यस खेलले छुत र अछुतको भावना राखिराख्न बल दिँदो रहेछ भन्नेमा म विश्वस्त छु। पछि मेरा साथीहरूले नै मलाई झगडा गर्दा ‘डुम’ भन्न थाले।  

घरमा साँझ होमवर्क गर्दै गर्दा मैले बुबालाई सोधे, ‘बुबा, यो झल्ला–डुम भनेको के हो ?’ मलाई लागेको थियो, यो पनि कुनै अर्को खेल हो कि ! उहाँले अलि निराश भावमा भन्नुभयो, ‘डुम हामीलाई भन्छन् बाबु। सानो जात भनेर हेपेर भनेका हुन्।’

पहिले डुम शब्द सुन्दा सामान्य लाग्थ्यो। शब्द न हो, जाबो दुई अक्षरले बनेको भन्ने भान हुन्थ्यो, तर समाजले त्यसमा विष भरेको रहेछ। समाजले बालकदेखि नै छुत र अछुतको विष पिलाउँदै आएको रहेछ।  

छुइडुम र समाज
यो खेल खेल्नका लागि हामी दुई समूहमा विभाजित हुन्थ्यौँ। विभाजन गर्ने माध्यम थियो– चप्पल। चप्पललाई आकाशतिर फाल्ने, भुइँमा खस्नुअगावै खेलाडीले उल्टो कि सुल्टो रोज्नुपथ्र्यो। खेलाडीको रोजाइको आधारमा समूह विभाजित हुन्थ्यो। चप्पल सुल्टो भन्नेजति एक समूहमा, उल्टो भन्नेजति अर्को समूहमा। त्यसपछि फेरि चप्पल आकाशतिर फाल्ने, जसले रोजेको उल्टो वा सुल्टो मिल्छ, त्यहीँ आधारमा ‘डुम चोखा’को निर्णय हुन्थ्यो। चोखाको काम भाग्ने र डुमको काम खेदाउने हुन्थ्यो। यो खेल विभिन्न ठाउँमा विभिन्न ढंंगले खेलिन्छ भन्ने सुनेको छु। तर, हामी त्यतिबेला माथि उल्लिखित नियममा खेल्थ्यौँ।

भाग्ने, बचाउने, डुम हुने र डुम पार्नेको खेल हो, छुइडुम। छुइडुममा डुम हुनु नराम्रो ठानिन्छ। चोखो हुनुलाई राम्रो ठानिन्छ। डुमको काम भनेको चोखा खेलाडीलाई डुम पार्नुपर्ने हुन्छ। र, चोखा खेलाडीको काम डुम खेलाडीबाट टाढा रहनु हुन्छ।  जतिजति संख्यामा चोखा खेलाडीलाई डुम पार्दै गयो, त्यति नै डुम हुनुलाई सफल मानिन्छ। डुमले पक्रेको खेलाडीले मैदानमा कुद्न पाउँदैन। चोखो खेलाडी डुम खेलाडीको नियन्त्रणमा हुन्जेल ऊ अस्तित्वहीन हुन्छ, निरीह हुन्छ। चोखो हुन्जेल ऊ भाग्ने, डुम खेलाडीलाई दुःख दिने गर्छ। तर, जब ऊ डुम खेलाडीबाट छोइन्छ, ऊ पूर्णरूपले निष्क्रिय हुन्छ। उसका हरेक क्रियाकलापलाई अस्वीकार्य ठानिन्छ। किनकि उसलाई अछुत मानिएको डुम खेलाडीले छोएको हुन्छ। तर, उसलाई मुक्ति दिने काम या भनौँ डुमबाट चोखो पार्ने काम उसको सहयात्री खेलाडीले गर्न सक्छ। अन्य चोखा खेलाडीको छुवाइले डुमको नियन्त्रणमा भएको खेलाडी चोखो हुन्छ। डुम खेलाडीको नियन्त्रणमा रहेकाहरू मुक्त हुन हात फैल्याएर ‘सेभ–सेभ’ भन्दै उभिएका हुन्थे। चोखो खेलाडी अर्थात् डुमले नछोएको खेलाडीको काम भनेको जे जसरी हुन्छ, डुमबाट बच्ने र डुमबाट समातिएका उसका चोखा खेलाडीलाई ‘सेभ’ गर्ने अर्थात् चोखो पार्ने हुन्छ। उसले सेभ गरेका खेलाडीले पुनः डुम खेलाडीलाई चुनौती दिन सक्छन्, उसको अवस्था परिवर्तन हुन्छ, तर डुम खेलाडीले भने खेल अवधिभर डुम नै हुनुपर्छ। जसरी समाज कथित सानो जात सधैँ सानो जात नै रहेको मानिन्छ।  

छुइडुम खेलको नियम, खेलिने तरिकाले र नाममै विभेदको जड देखिन्छ। यसले डुम (दलित) र चोखा (गैरदलित)बीच दूरी राख्न, छोइछिटो गर्न सिकाउँछ।  

संसारमा धेरै खेल खेलिन्छन्। हरेक खेलका आ–आफ्ना विशेषता हुन्छन्। खेलको प्रकृति अनुसार नीति–नियम, अनुशासन र खेलाडीको सहभागिता हुन्छ। एकल, युगल, इनडोर, आउटडोर– सबै खेलका आफ्नै इतिहास हुन्छ। तर, यस खेलको इतिहास जातीय विभेदसँग जोडिएको रहेछ भन्ने बुझिन्छ। यस खेलकोे मूल उद्देश्य नै जातीय भेदभाव तथा कुसंस्कारलाई जीवित राख्ने रहेछ।  

छुइडुम खेलको नियम, खेलिने तरिकाले र नाममै विभेदको जड देखिन्छ। यसले डुम (दलित) र चोखा (गैरदलित)बीच दूरी राख्न, छोइछिटो गर्न सिकाउँछ।  

छुइडुम केटाकेटीले खेल्ने खेल हो। निश्चय नै  यो खेल समाजका कथित साना जातिले बनाएको खेल होइन। यो खेलको नियम हेरी स्पष्ट भन्न सकिन्छ, यो खेल समाजका कथित उच्च जातिले नै बनाएका हुन्, साना केटाकेटीलाई विभेद सिकाउन। यसले कथित ठूला जातिका केटाकेटीलाई डुम अर्थात् समाजमा पानी नचल्ने जातिबाट (पुरानो कानुन र समाजअनुसार) परै बस्न, भाग्न सिकाउँछ। डुम कहिल्यै चोखो हुन सक्दैन भनेर सिकाउँछ। जसरी मैले ‘झल्ला डुम’बारे बुवाबाट थाहा पाएँ, त्यसरी नै कथित ठूला जातिका केटाकेटीले समाजमा तल्ला जाति, छोइछिटोबारे परिवारबाट थाहा पाउँछन्। यस खेलले उनीहरूको कलिलो मस्तिष्कमा गहिरो छाप पारेको हुन्छ, ‘डुमलाई छुन हुन्न र डुमले पनि हामीलाई छुन हुँदैन।’ जब उनीहरूलाई समाजको जात व्यवस्था अनुसार छुवाछुत गर्न सिकाइन्छ, उनीहरूलाई छुवाछुत ठिकै लाग्न सक्छ। किनभने, उनीहरूले त्यसो गर्न खेलबाटै सिकेका छन्।

विश्वव्यापी रूपमा कोरोना महामारी फैलिएसँगै नमस्ते र सामाजिक दूरी (अहिले भौतिक दूरी भन्नुपर्छ भन्ने आवाज उठेको छ) को कुरा उठ्यो। मलाई भने छुइडुुम खेलको सम्झना भयो। सामाजिक दूरी होइन, भौतिक दूरी एक हदसम्म र खास उद्देश्यका लागि ठीकै हो। चिनजान नभएका मानिस र कुनै रोगको संक्रमण हुन सक्ने शंकाको हदसम्म भौतिक दूरी कायम गर्न सकिन्छ। बाहिरबाट घरमा जाँदा नुहाइधुवाइ नगरी परिवारसँग घुलमिल नगरौँला, तर त्यसपछि परिवारमा भौतिक दूरी सम्भव नहुन सक्छ। त्यस्तै, दुवैको स्वास्थ्य जाँचपछि विवाह गरेर घरजम गर्न सकिन्छ। तर, यो जात व्यवस्थाअन्तर्गतको ‘सामाजिक दूरी’ अनौठो थियो, (कानुनले मेटे पनि कतिपय ठाउँमा अझै छ)। हिन्दू समाजमा एउटा समुदाय (कथित साना जाति)सँग अर्को समुदाय (कथित उच्च जाति)ले सामाजिक दूरी कायम गर्दै आयो। यो सामाजिक अन्यायविरुद्ध आवाज उठ्दै आएको छ। कानुनले, राजनीतिक परिवर्तनले सम्बोधन गर्दै पनि आएको छ। तर, समाजमा अझै  कथित ठूला र साना जातिबीच सामाजिक दूरी रहिरहेकै छ। यसको उदाहरणमा रुकुम–काण्डलाई लिन सकिन्छ। यस घटनामा जातीय विभेद कारक रहेको विभिन्न प्रतिवेदन र समाचार आएका छन्।  

यो विश्व महामारीका बेला हाम्रो समाजले भौतिक दूरी कायम गर्ने सिलसिलामा के जातीय विभेदको पीडा महसुस गर्न सक्ला ? इतिहासदेखि एउटा समुदायले भोगेको विभेदबारे सबैले महुसस गर्ने हो भने देशमा सामाजिक न्याय स्थापित हुने व्यावहारिक बाटो खुल्ने देखिन्छ। कानुन वा नीति–नियम भएर मात्रै हुँदैन, त्यो  व्यवहारमा आउनुपर्छ।

प्रकाशित: ३१ श्रावण २०७७ ०१:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App