संयुक्त राज्य अमेरिकाले दक्षिण अमेरिकी देश भेनेजुएलामाथि सैन्य कारबाही गर्दै त्यहाँका राष्ट्रपति निकोलस मादुरोलाई कब्जामा लिएको छ। शनिवार राति राजधानी काराकासमा ठुलो हमला गर्दै सोही क्रममा राष्ट्रपति मादुरो र उनकी पत्नीलाई पक्राउ गरी देशबाहिर लगिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा नै गरेका छन्।
राष्ट्रपति मादुरो सम्पर्कविहीन भएको तथ्य स्वयं भेनेजुएलाको सत्ताले पनि स्वीकारेको छ। त्यहाँकी उपराष्ट्रपति डेल्सी रोड्रिजले राष्ट्रपति मादुरो र प्रथम महिला सिसिलिया फ्लोरेसबारे सरकारसँग कुनै जानकारी नरहेको बताएकी छन्। उनले अमेरिकासँग ‘दुवैको जीवित रहेको तात्कालिक प्रमाण’ नै मागेकी छन्।
उता हमलापछि भेनेजुएलाका रक्षा मन्त्री भ्लादिमिर पेड्रिनोले अमेरिकी हमला सामान्य नागरिक बसोबास क्षेत्रमा भएको दाबी आरोप लगाएका छन्। उनले अहिले मृतक र घाइतेको विवरण संकलन गरिरहेको बताएका छन्।
अमेरिका–भेनेजुएला तनाव के हो?
पछिल्ला केही हप्तादेखि अमेरिकी राष्ट्रपति ट्रम्पले भेनेजुएलाका राष्ट्रपति मादुरोमाथि दबाब बढाइरहेका थिए। उनले मादुरालाई सत्ता छाड्न दबाब दिइरहेका थिए। मादुरोमाथि गैह्रकानुनी सत्ता चलाएको, लागुऔषधको कारोबार गरेको जस्ता आरोप अमेरिकाले लगाउँदै आएको थियो।
यसअघि पनि भेनेजुएला र अमेरिकाको सम्बन्ध लामो समयदेखि तनावपूर्ण रहँदै आएको छ। सन् १९९८ मा ह्यूगो चावेज भेनेजुएलाको राष्ट्रपति बनेपछि अमेरिकासँगको परम्परागत निकट सम्बन्ध खल्बलिँदै गएको थियो।
चावेजले भेनेजुएलाको तेल क्षेत्रको राष्ट्रियकरण गरे, अमेरिकी कम्पनीहरूको प्रभाव घटाए र आफ्नो समाजवादी नीतिहरू लागू गरे। यसले अमेरिकामा चावेज र उनका सरकारप्रति असन्तोष सिर्जना ग¥यो।
२०१३ मा चावेजको मृत्युपछि निकोलास मादुरो राष्ट्रपति बने। मादुरोको शासनमा आर्थिक संकट, मुद्रास्फीति र जनअसन्तुष्टिले अमेरिका र पश्चिमी देशहरूबीचको तनाव बढायो। अमेरिकाले मादुरोको निर्वाचनलाई अवैध ठहर गर्दै उनलाई मान्यता दिएन र भेनेजुएलामा लोकतन्त्र र मानवअधिकारको रक्षा गर्ने बहाना दिएर आर्थिक प्रतिबन्ध लागू ग¥यो।
मादुरो–अमेरिका सम्बन्ध
भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो वामपन्थी नेता हुन्। उनी अघिल्ला राष्ट्रपति ह्यूगो चावेजले खोलेको युनाइटेड सोसलिस्ट पार्टी अफ भेनेजुएलामा सहभागी भएर चावेजको मृत्युपछि नेतृत्वमा आएका थिए।
मादुरो पहिले बस ड्राइभर र युनियन नेता थिए। उनले चावेजको स्थान लिएका र सन् २०१३ देखि राष्ट्रपति छन्।
चावेज र मादुरो पछिल्ला २६ वर्षदेखि भेनेजुएलाको सत्तामा छन्। पछिल्लो समय सन् २०२४ मा मादुरोलाई राष्ट्रपति चुनावको विजेता घोषणा गरिएको थियो। तर विपक्षीले उनको जित अस्वीकार गर्दै आएका छन्। विपक्षीले सार्वजनिक गरेको मतपरिणाम अनुसार एडमुन्डो गोन्जालेजले भारी बहुमतले जितेका थिए।
गोन्जालेज मुख्य विपक्षी नेता मारिया कोरिना माचाडोको स्थानमा आएका थिए, मारियालाई चुनाव लड्नै प्रतिबन्ध लगाएपछि उनी मैदानमा उत्रिएका थिए।
मारिया उनै नेतृ हुन् जसलाई ‘तानाशाहीबाट लोकतन्त्रतर्फ न्यायपूर्ण र शान्तिपूर्ण परिवर्तनको संघर्षको लागि’ भन्दै सन् २०२५ को अक्टोबरमा नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो। लामो समयसम्म भूमिगत बसेकी उनी भेनेजुएकाले यात्रा प्रतिबन्ध छिचोल्दै डिसेम्बरमा पुरस्कार लिन ओस्लो पुगेकी थिइन्।
पछिल्लो समय ट्रम्पले मादुरोको निरंकुश सत्ताका कारण लाखौँ भेनेजुएलावासी अवैध आप्रवासीका रूपमा अमेरिका पुग्न बाध्य भएको, कैयौँ कैदीलाई जबरजस्ती अमेरिका पठाएको, अमेरिकामा लागूऔषध, विशेष गरी फेन्टानिल र कोकिन पठाउने गरेको आरोप मादुरोमाथि लगाएका छन्।
यस्तै मादुरोमाथि आतंकवादीलाई प्रश्रय दिएको पनि अमेरिकाको अर्को आरोप छ। दुई वटा संगठनलाई आतंकवादी संगठन नै घोषणा गरेका छन्। एक समूहको नेतृत्व स्वयं मादुरोले गरेको ट्रम्पको आरोप छ।
पछिल्लो समय लागुऔषधविरुद्ध भन्दै ट्रम्पले भेनेजुएलामाथि दबाब बढाइरहँदा मादुरोले ‘ड्रग्सको विरुद्धको युद्ध’को बहाना बनाएर आफूलाई हटाउन खोजेको र र भेनेजुएलाका विशाल तेल भण्डारमा कब्जा गर्न खोजेको आरोप लगाउँदै आएका थिए।
तेलले धानेको देश
भेनेजुएलामा विश्वको सबैभन्दा ठुलो प्रमाणित कच्चा पेट्रोलियम पदार्थको भण्डार छ। मादुरो सरकारका लागि विदेशी मुद्रा आम्दानीको सबैभन्दा ठुलो स्रोत पनि पेट्रोलियम पदार्थ नै हो। जसको आम्दानी भेनेजुएलाका लागि सरकारको बजेटको आधाभन्दा बढी छ। यद्यपि भेनेजुएलाले दैनिक करिब नौ लाख ब्यारेल तेलमात्रै निर्यात गर्दछ। चीन भेनेजुएलाको तेलको सबैभन्दा ठुलो खरिदकर्ता देश हो।
अमेरिकामाथि मादुरो सत्ताले बेलाबेला आफूमाथि लगाएका आरोप झुटा रहेको दाबी गर्दै आफ्नो तेल भण्डारमा कब्जा गर्न खोज्ने प्रयास मात्रै रहेको भन्दै आरोप लगाउने गरेको छ।
विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा
प्रकाशित: १९ पुस २०८२ १८:०७ शनिबार





