१६ चैत्र २०८० शुक्रबार
कला

रोहिङ्ग्या

कविता

प्रेम राई परीक्षित

आफ्नै माटोले 

पुस्तौंदेखि भिजेको पसिना 

नचिनेपछि

 आफ्नै हावाले

 दु:ख र पीडाको सुस्केरा नबुझेपछि 

आफैले टेकेका गेग्रेन ढुङ्गाहरुले 

त्यहीँ ठोकिएर बगेको रगत छुन 

नमानेपछि 

म खुट्याइरहेछु आज

 माटो र पसिनाको सम्बन्ध

 हावा र सुस्केराको सम्बन्ध 

अनि ढुङ्गा र रगतको सम्बन्ध

आफ्नै पानीले 

पुस्तौं अघिको तिर्खा नबुझेपछि 

आफ्नै डाँडापाखाहरुले 

तिनैसंग रौसिएका स्वरहरु नसुनेपछि 

आफ्नै घाम जूनले

आफ्नै दिन रात नदेखेपछि 

खुट्याईरहेछु आज म 

पानी र तिर्खाको सम्बन्ध 

डाँडापाखा र गीतहरुको सम्बन्ध 

घाम जून अनि दिन र रातको सम्बन्ध

मैले धेरै पछि आत्मबोध गरेँ

 यी सम्बन्धसंग छालाको रङ्ग मिल्नु पर्छ 

यी सम्बन्धसंग जिब्रोको भाखा मिल्नुपर्छ 

आँखाको चौडाईअनि नाकको लम्बाई मिल्नुपर्छ 

कपडाको रङ्ग मिल्नु पर्छ 

मलाई थाहा छ मेरो केही मिल्दैन

 त्यसैले,मलाई आज चिन्दैन आफ्नै माटोले 

मलाई देखेर पनि नदेखे झैं गर्छ आफ्नै हावाले

 मलाई चिनेर नि नचिने झैं गर्छ आफ्नै ढुङ्गाले

मेरो आस्थाको मस्जिद मेरै अघि जल्दा 

मेरी छोरीको अस्मिता मेरै अघि लुटिइँदा

 म अनागरिकको समर्थनमा

न बोल्छ मैले आफ्नै ठानेको मेरो माटो 

न दिन्छ अडेसो मैले आफ्नै ठानेको त्यो ढुङ्गा 

न ओकल्छ बिरोधका स्वर ती हावाहरु 

म खुट्याउँदैछु आज 

गुम्बा भित्र शान्ति अनि भातृत्व 

आफ्नै आमा भित्र मातृत्व 

अनि आफ्नै देश भित्र नागरिकत्व

मलाई थाहा छैन पानीको रङ्ग हुन्छ 

मलाई थाहा छैन मनको रङ्ग हुन्छ 

मलाई यो पनि थाहा छैन मान्छेको रङ्ग हुन्छ 

मलाई थाहा छ इन्द्रेणीका रङ्गहरु

 थाहा छैन मलाई आज 

किन बनउछन् मान्छेहरु एकरङ्गे रातहरु? 

किन मेट्छन् भावनाका रङ्गिन ईन्द्रेणीहरु ?

 म खोजिरहेछु आज 

पानी र रङ्गको समबन्ध

मान्छे र रङ्गको सम्बन्ध 

रङ्ग र रातहरुको सम्बन्ध

 अनि मान्छे र इनद्रेणीहरुको सम्बन्ध

सन्सार ग्लोबल भिलेज हुँदा

 म आफ्नै घरमा किन अटाउदिन ?

 सन्सार ओपन भिलेज हुँदा

 म आफ्नै करेसामा किन छिर्न सक्तिन? 

म आफ्नै बाटोहरु किन हिड्न सक्तिन? 

म खुट्याईरहेछु आज 

नोबेल पुरस्कार र मानव अधिकारको सम्बन्ध

 ग्लोबल भिलेज र सिमानाको सम्बन्ध

 ओपन भिलेज र काँडेतारको सम्बन्ध

यिनै सम्बन्धहरुको जेलोमा जेलिएर 

ग्लोबल भिलेजको विशालतामा नअटेर 

मान्छे हुनुको परिभाषा खोजिमा

 शिविरको नागरिक भएको छु आज 

अधिकारका पोकाहरु धोबि खोलामा फ्याँकेर 

सार्बभौमिक मगन्तेको भएकोछु आज  

म खुट्याईरहेकोछु

 शिविर र घरको सम्बन्ध

 सार्बभौमिक्ता र पराधिनताको सम्बन्ध 

मान्छे र अमान्छेबिचको सम्बन्ध

आफ्नो माटोमै म 

 भए पनि आफ्नै बाटोमै म बाटो बिहीन भए पनि 

आफ्नैसंग रङ्ग नमिलेर म बेरङ भए पनि 

आज म संग आफ्नो देश नभए पनि 

तिमी मलाई देश सोध्छौ भने 

तिम्रो अनुहारमा लागेको घाम देश हो

 मेरो अनुहारमा लागेको 

बादल पनि त एउटा देश हो

 मेरो अनुहारमा दन्केको आगो पनि त 

देश हो 

जो निभाउन तल्लिन छन् 

 आफ्नै मान्छेहरु !!!

नोट: रोहिङ्ग्या म्यान्मारमा बसोबास गर्ने एक अल्पसङ्ख्यक मुस्लिम जाती हुन् जो आफ्नो अधिकारको माग गर्दा राज्यबाट लखेटिएका छन्

प्रकाशित: २७ श्रावण २०७७ ०९:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App