२३ असार २०७७ मंगलबार
कला

सेलिब्रेटीका आत्महत्या र ‘सुसाइड नोट’

रेयोनोसुके अकुतागावा, जो टोक्योमा जन्मेका थिए, १ मार्च १८८२ मा। उनका पितादूध व्यापारी थिए, एकदम क्रूर स्वभावका। आमा फुफु भने सहज, सरल र एकदम शान्त प्रवृत्तिका थिइन्।  

फेब्रुअरी १९१८ मा अकुतागावाले प्रेम विवाह गरे, फुमीसँग।  

थाह छैन, के–केले यति दबायो र अन्ततः अकुतागावा जीवनदेखि हार माने। राति बरनलका धेरै गोलीहरू खाइदिए। बिहान मान्छेले सुने कि अकुतागावाले सदासदाका लागि छुटकारा लिए। यो सन् १९२७ को घटना हो।  

अकुतागावाको आत्महत्याविश्वमै चर्चाको विषय बन्यो, किनभने उनले लेखेको फिल्म रसोमोनको विषयवस्तु पनि आत्महत्या नै थियो।  

आत्महत्यालाई लिएर नायिकाको मृत्युपछि बहस चलाइएको यो फिल्मले अन्तर्राष्ट्रिय बजारमा जापानलाई मात्र होइन, एसियाली सिनेमाले परिचय पहिलोपटक पाएको थियो।  

रसोमोनलाई आकिरा कुरोसावाले निर्देशन गरेका थिए, उनले आफ्नो निर्देशकीय कलामार्फत सिनेमालाई संसारभर पु-याए। फिल्मको कथा अनुसार हत्या, आत्महत्या रबलात्कारबारे खुला बहस गर्न अदालतमा आत्मालाई बोलाइएको थियो। आत्मासँग गरिएको बहसले संसारको ध्यान खिचेको थियो। तर,यस्तो फिल्मका लेखक अकुतागावाले नै आत्महत्या गरेपछि धेरैलाई स्तब्ध बनायो।  

रसोमोनका निर्देशकले फिल्मको सफलतासँगै९० वर्षभन्दा लामो सानदारजीवन बाँचे। दुवैका निम्ति सफलताको फरक–फरक अर्थ लाग्यो।  

जापानी साहित्यमा अकुतागावाको आत्महत्या सदैव विवादको विषय बन्यो।  

आत्महत्याले साहित्य, सिनेमा र ग्ल्यामर जगतमा सदैव रातो घेराको दाग लागेको छ। हलिउडकी प्रसिद्ध अभिनेत्री एवं गायिका ह्विट्नी हस्टनले ‘भ्यालेन्टाइन डे’को दुई दिनअघि सन् २०१२ मा गरेको आत्महत्याले संसारका शुभचिन्तकलाई रुवाएको थियो। जीवनभर प्रेम, शान्ति र सद्भावको गीत गर्वले गाउने ती अश्वेत नायिकाले सफलता, सम्पत्ति र सुखसयलको जिन्दगीमा संसारलाई लोभ्याएकी थिइन्, एउटी परी वा रानीको जस्तो जिन्दगी थियो तिनको, तर एक शब्द नबोली तिनले आफ्नो सारा स्वामित्वलाई क्षणभरमै अन्त्य गरेर गइन्। 

आत्महत्या गर्नुअघि सुशान्तसिंह राजपुत नलेखेको ‘सुसाइड नोट’ धेरैले खोजेर हेरे, त्यहाँ एउटै कुरा फेला प-यो– बलिउडको नेपोटिजम्। 

ह्विट्नी हस्टन त एक उदाहरण थिइन्, हलिउडले कुनै समय स्वप्नसुन्दरी भनेर चिनिने श्वेतवस्त्रधारी नायिका मर्लिन मुनरोको आत्महत्यालाई कहिल्यै बिर्सन सकेन।  

हलिउड र अमेरिकाको राष्ट्रपतिको श्वेत भवनसितको सम्बन्ध जोड्ने शक्तिशाली पहिचान थिइन्, मर्लिन मुनरो। मुनरोको आत्महत्याको खबरले संसारलाई यति त्रसित र भयावह बनायो, अमेरिकाका राष्ट्रपतिदेखि ठुल्ठूला समाचार एजेन्सीले वर्षौंसम्म त्यो दुःखद् इतिहास बिर्सन सकेनन्।  

निकारागुआका महाकवि एर्नेस्तो कार्दिनालले मुनरोको आत्महत्यामाथि कविता नै लेखे, संसारमा धेरै पढिने कवितामध्ये एउटा कविता हो त्यो।  

सफलताले मात्र स्टारको जीवनमा चमक नल्याउने रहेछ, नेपथ्यमा त्यसका दुःखद पक्ष कति हुँदा रहेछन्। यही दुःखद कथा बोकेर आए हलिउडका अर्का उम्दा कलाकार–जिम्मी हेयडेन। उनले ८ नोभेम्बर १९८३ मा आत्महत्या गरेको खबर आजसम्म हलिउडका लागि धक्काको विषय बनेको छ। उनका सहकर्मी अल पचिनो, रोबर्ट डी निरो अहिलेसम्म यो सन्दर्भ उठ्यो कि निस्तब्धहुन्छन्।  

घाउ कहाँ दुखेको छ, कसैलाई थाहै हुँदैन।  

नाम, दाम, ख्याति र अपार आनन्दका बीच पनि मान्छेमा एउटा मृगतृष्णा सधैँ रहन्छ, जसका निम्ति ऊ आफ्नो जीवनलाई एउटा निरर्थक विषय ठान्न पुग्छ।  

हलिउडमा मात्र होइन, बलिउड फिल्म उद्योग पनि सर्वथा आत्महत्याको जंगलभित्र घरीघरी फसेको छ। चर्चा, चमकदमकको चकाचौंधभित्र रहेर पनि कहिलेकाहीँ बलिउड फिल्म जगत्भित्र आत्महत्या विषयले अनावश्यक सन्दर्भमा पर्दा हालेको छ। उच्चकोटिका फिल्म निर्देशक गुरुदत्त हुन् वा सफल गीतकार,कवि शैलेन्द्रको आत्महत्याले त्यो रंगीन संसारलाई रातो घेराभित्र पारेको छ। दक्षिण भारतीय अभिनेत्रीसिल्क स्मिताको आत्महत्यामाथि पछि चर्चायोग्य सिनेमा ‘डर्टी पिक्चर’ नै बन्यो।  

आज पनि बलिउडको इतिहास हेर्ने हो भने बृज सदानाहजस्ता सफल अनि व्यावसायिक सिनेमाका निर्माताले आफ्ना सम्पूर्ण परिवारको हत्या गरेर आफूले किन आत्महत्या गरे, खोजको विषय नै भयो।  

‘प्यासा’,‘कागज के फूल’,‘साहिब बीबी और गुलाम’जस्ता अन्तर्राष्ट्रिय स्तरका फिल्म बनाएर सिने उद्योगलाई सम्मानको स्थान दिने गुरुदत्त पादुकोणजस्ता निर्देशकले किन आत्महत्याको कठिन बाटो अपनाए अहिलेसम्म बलिउड यसबारे मौन र निस्तब्ध नै छ।  

कवि साहिर, संगीतकार एसडी बर्मन, गायिका गीता दत्त, नायिका वाहिदा रहमान, क्यामेराम्यान बिके मूर्तिजस्ता स्रष्टा साधकका प्रिय फिल्ममेकर गुरुदत्तले सफलताको शिखरमा हुँदाहुँदै निर्माणाधीन चलचित्रको काम छाडेर एक मध्यरातमा किन आफ्नो एकांकी जीवनलाई निर्ममतापूर्वक जडतामा बदले?जवाफ दिने आज कोही छैन। गुरुदत्त केका निम्ति हारे ? आत्महत्यापछि उनी के कुरालाई जित्न चाहन्थे, कसैले यसको व्याख्या गर्न सकेका छैनन्।  

उनका समकालीन देव आनन्द, दिलीप कुमार, राजकपुर त्यसपछि पनि सक्रिय नै रहे।  

गुरुदत्तको जीवनको एकांकीको खोज के थियो ? आज पनि बलिउड यस कुरामा मौन छ।  

गुरुदत्तको आत्महत्यापछि बलिउडले बुझेको एउटै कुरा थियो, उनी आफ्ना निम्ति बाँचेका थिएनन् तर उनी कसका लागि मरे त ? यो पनि प्रश्न नै रह्यो।  

मृत्यु वा आत्महत्यालाई अहंसित जोडेर व्याख्या गर्ने चिन्तक भगवान् रमण महर्षिले भनेका छन्, ‘अहंको शुद्धतालाई अनुभवका आधारमा जीवनको मध्यान्तरमा बुझ्ने हो भने दुई स्थिति वा दुई विचारको द्वन्द्वमा यो निहित छ। जब वस्तु वा पदार्थसित तिम्रो निकटता वा सम्बन्ध टुट्छ, त्यसपछि अहं स्वतः बढ्छ, यो अपरिवर्तनीय यथार्थ हो, बुझ्नुपर्ने। तिम्रो साँचो बँचाइलाई तीन चीजले वा त्यसको अध्ययनले विश्वसनीय बनाउँछ, ती हुन्– जागृत, स्वप्न र सुषुप्ति।’

रमण महर्षिले भनेका यी तीन चिज नै बलिउडको ‘आर्क–लाइट’बाट गायब छ।  

बलिउड एउटा ठूलो परिवार हो तर यहाँ कसैको कोहीसित कुनै नाता छैन। यहाँ शक्ति र सौर्य हुन्जेल धूपबत्ती बाल्नेको भीड हुन्छ, जब दिन ढल्दै गएपछि कुनै समय भगवान् मानिएका स्टार पनि गल्लीको कुकुरजस्तै महत्वहीन हुन्छ र उसले एकदिन गुमनाम मृत्यु मर्दा ‘आरआइपी’ लेख्नेको ताँती हुन्छ। यो इतिहास बलिउडको पहिलो सुपरस्टार राजेश खन्ना वा जुबिली स्टार राजेन्द्र कुमारले भोगिसकेका छन्।

पण्डित नेहरुपछि उनकी छोरी इन्दिरा गान्धीले प्रधानमन्त्रीत्वकाल सम्हालेपछि झन् बलिउड प्रत्यक्षतः राजनीतिको नजिक पुग्यो। बलिउड राजनीतिको तराजुमा झुन्डिएपछि बिस्तारै भूमिगत माफियाले यसमा प्रवेश पाउन थाल्यो, जसलाई अहिलेको भाषामा ‘अन्डरवल्र्ड’ भनेर चिनिन थाल्यो।    

हालैका दिनमा बलिउडका एक चम्किला तारा सुशान्तसिंह राजपुतको आत्महत्याले त्यही कुरा पुष्टि गरेको छ। आत्महत्या गर्नुअघि उनले नलेखेको ‘सुसाइड नोट’ धेरैले खोजेर हेरे, त्यहाँ एउटै कुरा फेला प-यो– बलिउडको नेपोटिजम्।  

बलिउड स्थापनाकालदेखि नै नेपोटिजम्ले ग्रस्त छ, यो उद्योगको सुरुवात गोविन्द राव फाल्केले गरेको भएपनि पछि यसको विस्तारमा विशाल हिन्दुस्तानको लाहोरको अकल्पनीयभूमिका छ। ब्रिटिस साम्राज्यको समय इस्ट इन्डिया कम्पनीले राजधानी तुल्य बनाएको कोलकत्ता सहरको वैभव हुँदाहुँदै पनि लाहोरले यसको तन्तु खोसेर लग्यो।  

ब्रिटिस अधीन छुटेपछि भारत–पाकिस्तान अलग देश बन्यो र लाहोरबाट एक्कासि सिने उद्योग महाराष्ट्रको बम्बैमा स-यो। बेलायतले शासन सुरु गरेका बेला नै अमेरिकाको फाल्कन उपत्यकामा रहेको डेढ लाख जनसंख्या भएको बम्बैको नामको नक्कल गरेर यसको नाम मुम्बईबाट ‘बम्बै’ राखेका थिए। शब्दकोशमा कुनै अस्तित्व नभएको ‘बम्बे’ शब्दबाट मुम्बई फिल्म उद्योगको नाउँ बलिउड बन्न पुग्यो, जसको आजसम्म कुनै आधिकारिक अर्थ छैन तर भनिन्छ, बलिउड नै।  

भारतका प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरुले बलिउडका तीन नायक देव आनन्द, दिलीपकुमार र राज कपुरलाई ‘थ्री बिग’को नाम दिएपछि बलिउड बिस्तारै दिल्लीको तीन मूर्तिसित निकट भयो।  

पण्डित नेहरुपछि उनकी छोरी इन्दिरा गान्धीले प्रधानमन्त्रीत्वकाल सम्हालेपछि झन् बलिउड प्रत्यक्षतः राजनीतिको नजिक पुग्यो। बलिउड राजनीतिको तराजुमा झुन्डिएपछि बिस्तारै भूमिगत माफियाले यसमा प्रवेश पाउन थाल्यो, जसलाई अहिलेको भाषामा ‘अन्डरवल्र्ड’ भनेर चिनिन थाल्यो।  

लगानीका हिसाबले अदृश्य शक्तिको पैसा आउन थालेपछि बलिउडमा मुसलमान समुदायका नायक–नायिका अनि संगीतकर्मीको हालिमुहाली बढ्न थाल्यो।  

अहिले देखिएका नायकहरू खान भएपनि त्यतिवेला खानभाइहरूकुमार भएर फिल्म उद्योगमा प्रवेश गरे।  

बलिउड एउटा मुठी वा इसारामा चलिरहेको छ भन्ने धेरैलाई थाह भएपनि सबै चुपचाप थिए।  

एक समय एकसेएक हिट फिल्म दिएर ‘एंग्री योङ म्यान्’को पगरी पाएका अमिताभ बच्चन छुट्टीमा आफ्नो पुरानो घर इलाहावाद जाँदा उनले आफ्ना पितालाई भनेका थिए, ‘बाबुजी। खै के गर्ने हो ? जति कोसिस गरे पनि म बलिउडभित्र हुनसकिनँ। घरीघरीमैले जति बल गरे पनि मलाई बलिउडले किनारमा ल्याएर खडा गरिदिन्छ।’

बिहारी मूलका शत्रुघ्न सिन्हापछि विहार राजीवपुरका एक निम्न मध्यमवर्गीय परिवारका युवा सुशान्तसिंह राजपुतको सफलताले बलिउडलाई अलिअलि तर्साएको जस्तो देखिएपछि उनीमाथि केही चलचित्र निर्माता, निर्देशक, प्रदर्शकले आफ्नो शासकीय स्वभाव देखाउन थाले र उनी बिस्तारै एक्लो र बेग्लो हुँदै गए।

उनको यो अपसोस, उनको यो पीडा उनले जञ्जिरजस्तो हिट फिल्म दिइसकेपछिको हो। उनको यो आत्मबोध सुनेर उनका कवि पिता डा. हरिवंश राय बच्चनले भनेका थिए, ‘तँ मात्र के कुरा गर्छस् ? बलराज (साहनी) जी पनि घरीघरी यो पीडा पोख्नुहुन्थ्यो,‘बलिउड चाहेर पनि मेरो परिवार हुन सकेन भन्नुहुन्थ्यो उहाँ ? त्यहाँ त्यस्तै छ, चुप लागेर काम गर्नू।’

त्यसपछि अभिनेता बच्चनले यो कुरा कहिल्यै कसैलाई पोखेनन्। बरु उनले बलिउडका माध्यमबाट राजनीति, चुनाव, समाजसेवा, अन्तर्राष्ट्रिय पुरस्कार आइफासित नाता जोडे र आफूलाई अभिभावकको रूपमा स्थापित गर्दै लगे। आज उनको छवि बलिउडमा गडफादरको जस्तै छ।तर उनले बलिउड भित्रको कमी–कमजोरी वा दुर्गुणको कुरा गर्न छाडिसके, उनले आफ्ना पितालाई भनेका कुरा पनि सायद बिर्सिसके।  

करिब ५० वर्षअघि उनी सिनेमामा पहिलोपटक आउँदा मौका दिने निर्देशक मुस्लिम समुदायका ख्यातिप्राप्त लेखक ख्वाजा अहमद अब्बास थिए भने उनलाई क्रुद्धयुवा नायकको छवि नामांकित गर्नेलेखकद्वय सलिम खान र जाबेद अख्तर दुवै गैरहिन्दू थिए।  

बच्चन मात्र होइन, धेरै निर्माता, निर्देशक, कलाकार अहिले मौन सहमतिमा बाँचेका छन्।  

बलिउडसिने उद्योगले एउटै कुरा भन्ने गरेको छ,‘यो इन्डस्ट्रीमा आउँदा जात, धर्म र जुत्ता ढोका बाहिर छाडेर आउनू।’ यसो भनिए पनि वा भनिएको देखिएपनि विशाल भारतको फिल्म उद्योग अहिले तीन खान ( शाहरुख खान, अमिर खान र सलमान खान) को अधीनमा भएजस्तो देखिन्छ। र, त्यो सही पनि हो।  

खान र खानदानको जालोमा फसेको बलिउड उद्योगमा खानदानको वर्चस्व (नेपोटिजम्) छ भन्ने कुरा स्वीकार गर्दै स्मल टाउन गर्ल कंगना रनावटले इंगित गरेको औँला कपुर, खन्ना र चोपडा परिवारतिर तेर्सिएको छ।  

बलिउड फिल्म उद्योग पन्जाबी, मुस्लिम, सिन्धी, गुजराती, बंगाली परिवारबाट संरक्षित भएपनि यो उद्योगमा विहार, युपी वा गुजरातका भाइभतिजाको उपस्थिति कमै देखिन्छ।  

बिहारी मूलका शत्रुघ्न सिन्हापछि विहार राजीवपुरका एक निम्न मध्यमवर्गीय परिवारका युवा सुशान्तसिंह राजपुतको सफलताले बलिउडलाई अलिअलि तर्साएको जस्तो देखिएपछि उनीमाथि केही चलचित्र निर्माता, निर्देशक, प्रदर्शकले आफ्नो शासकीय स्वभाव देखाउन थाले र उनी बिस्तारै एक्लो र बेग्लो हुँदै गए।

पुरस्कारको प्रपञ्चबाट उनलाई टाढा बनाउँदै लग्यो, उनले आफूमाथि हुँदै गएको षड्यन्त्रको पर्दाफास गर्नुअघि नै उनीमाथि डिप्रेसनको रोगी भन्ने ‘लेबल’ लाग्न सुरु भयो।  

बलिउडले नाम, इज्जत, धन दौलत सबै दिन सक्छ, तर एक्लो र बेग्लो हुँदै गएपछि कसैलाई साथ र स्नेह दिन सक्दैन। त्यो यसअघिको इतिहासमा परवीन बाबीजस्ती स्टारले पनि भोगिसकेकी थिइन्। विश्वप्रसिद्ध ‘टाइम’ पत्रिकाको आमुख कथामा आउन सफल पहिलो एसियाली नायिका परवीन बाबीमरेको चार दिनपछि मात्र बलिउडलेथाह पायो। बलिउडमा कैयन्कलाकारले यस्तै नियति भोगेका छन्, मीनाकुमारी होस् वा मधुवाला,जिएम दुर्रानी होस् वा जगदीश राज।  

कवि साहिरले लेखेका छन्–

‘इज्जतें, शोहरतें, चाहतें, उल्फतें,
कोई भी चीज दुनियाँ में रहती नहीं,
आज मैं जहाँ हुँ कल कोई और था,
ये भी एक दौर है वह भी एक दौर था।’

बलिउडको फिल्म उद्योग घोडदौड जस्तै हो, यहाँ नम्बर लगाइन्छ घोडालाई जस्तै नम्बर वन, नम्बर टु...। यो क्रम धेरै अघिदेखि चल्दै आएको छ।

अहिले यो रेसकोर्स अर्को जुवा खेलमा बदलिएकोछ, जसलाई ‘करोड क्लब’ भनिएको छ। आफ्नो फिल्मले करोड नकमाएपछि ऊ मैदानबाट फ्याँकिन्छ। सफलताको मापदण्ड यही मानिन्छ।  

सफलता एउटा अस्थायी चीज हो। सफलताको चुचुरोमा लामोटिकिरहनसंयम चाहिन्छ, संयम भएन भने अरुविकल्प छैन– या आत्महत्या या त पलायनको बाटो।

पलायनको बाटो अपनाएर विनोद खन्ना, राजकिरण, कुमार गौरव,अनु अग्रवाल, राहुल राय बाहिरिइसके। को कहाँ कस्तो अवस्थामा छन्, त्यसको जानकारीसम्म कसैलाई छैन। जो छिटो हार्छन् वा हारेपछि आत्महत्या गर्छन्, तिनका निम्ति कुनै एपिग्राफ लेखिएको छैन।  

अर्जेन्टाइन कवि होर्खे लुई बोर्खेसले लेखेको एउटा कविता छ–

आत्महत्या...
यो रात आज ताराहरूले बिल्कुल खाली हुनेछ  
रात पनि बच्ने छैन
म नरहनेबित्तिकै मेरो साथ नै जानेछन्  
सृष्टिको असह्य बोझ।  
मेटेर जानेछु यो पिरामिड, यो स्मारक,
यो महाद्वीप अनि यो अनुहार।
यो थुप्रिएको अतीत ढालेर जानेछु  
मुठीभर धुलोमा बदलिदिनेछु इतिहासलाई।  
अब यो अन्तिम सूर्यास्त हुनेछ मेरो।  
पक्षीको अन्तिम बोल सुन्दैछु।  
मपछि मेरै धरोहर एउटा शून्य जो कसैका लागि पनि होइन। 

प्रकाशित: १३ असार २०७७ १०:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App