२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस बद्लिएको कुरा जनतालाई अनुभूति गराऔँ : उपसभापति शर्मा

नेपालगन्जमा आयोजना गरेको बृहत जिल्ला भेलालाई सम्बोधन गर्दै कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा। तस्बिरः अर्जुन/नागरिक

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस बद्लिएको कुरा जनतालाई अनुभूति गराउनुपर्ने बताएका छन्। कांग्रेसले अब कार्यक्रम गर्दा विगतको जस्तो आसन ग्रहण र भाषणमा घण्टौं समय खर्चिनुपर्ने जस्ता कुरालाई छोट्याउनुपर्ने स्पष्ट पारे।

नेपाली कांग्रेस बाँकेले मंगलबार नेपालगन्जमा आयोजना गरेको बृहत जिल्ला भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि शर्माले कांग्रेस बद्लिँदै गर्दा कांग्रेसको कार्यक्रम अब ‘परफेक्ट’ खालको देखिनुपर्ने बताए। ‘हामी बद्लिँदै गर्दा कांग्रेसको कार्यक्रम अब परफेक्ट खालको देखिनुपर्यो, धेरै समय आसन ग्रहण र भाषणमा खर्च नगरौं, बद्लिएको कांग्रेस जस्तो देखिनुपर्छ।’

जेनजीको  ‘मुभमेन्ट’ पछि साँच्चिकै बद्लिएको पार्टी नै नेपाली कांग्रेस भएको उपसभापति शर्माको दाबी छ। कांग्रेस अहिले पूरै नयाँ बनेर आएको उनले बताए। ‘कांग्रेस नयाँ बनेर आएको देखेर रास्वपालगायत कयौं दलका कार्यकर्तालाई हामीले कांग्रेसमा प्रवेश गराइरहेका छौं, कतिपय रास्वपाबाटै उम्मेदवार बनेका साथीहरू पनि कांग्रेस यसरी परिर्वतन हुन्छ भनेर पहिल्यै थाहा पाएको भए रास्वपाको उम्मेदवार नबनेर कांग्रेसलाई नै जिताउने अभियानमा लाग्ने थियौं पनि भन्नु भएको छ,’ उपसभापति शर्माले भने।  

कांग्रेसले यस पटकको निर्वाचनमा १ सय ६५ निर्वाचन क्षेत्र मध्ये १ सय ६ जना उम्मेदवारहरू नयाँ उठाएको बताए। यस पटक विगतको भन्दा महिला र दलित समुदायबाट धेरै उम्मेदवारको प्रतिनिधित्व भएको उनले दाबी गरे। बद्लिएको कांग्रेसले यस पटक आम कार्यकर्ता र कांग्रेसको शुभचिन्तकहरूका लागि आफ्नै चुनाव चिह्नमा उम्मेदवार उठाएर बद्लिएको कुरा पुष्टी गरेको उनले सुनाए।

अर्को प्रसंगमा उनले कांग्रेसभित्रको आन्तरिक कुरा सबै बिर्सेर पार्टीका उम्मेदवारलाई जिताउनमा लाग्न आह्वान गरे। समय अपुग हुँदा उम्मेदवार छनोटका क्रममा कतिपय योग्य व्यक्ति छुटेको हुन सक्ने पनि उनले बताए। प्रतिनिधि सभाको आसन्न निर्वाचनमा कांग्रेस उम्मेदवारलाई जिताउन ५ जना क्रियाशील सदस्यहरू वरिपरिका ५० वटा घरमा पुगे पर्याप्त हुने शर्माले बताए।

पार्टीले आगामी फागुन १ देखि २१ सम्म ‘जसको पदीय जिम्मेवारी जहाँ, उसले खटिने त्यहाँ’ नामक अभियान सुरु गर्न लागेको उनले जनाए। प्रतिनिधिसभा निर्वाचनपछि देशलाई गाँसेर लैजाने ताकत कांग्रेससँग मात्र रहेको उनको दाबी छ। ‘आगामी नयाँ वर्ष २०८३ सालपछि नयाँ सरकार आउने सम्भावना छ, त्यसपछि वैशाखपछि कांग्रेसको नियमित महाधिवेशनको मिति घोषणा हुन्छ, दसैँ–तिहारपछि स्थानीय तहको निर्वाचन तयारी सुरु हुन्छ,’ उनले भने, ‘स्थानीय तहमा वडादेखि मेयर/अध्यक्षसम्मको टिकट वितरण गर्नुअघि हामीले क्रियाशील सदस्यको लिष्ट वडा तहमा पठाउँछौँ, वडामा चुनावबाट उम्मेदवार छान्ने नीति हामीले बनाएका छौं।’

२०८४ मा वडाध्यक्षको चुनाव लड्ने तयारी गरेका नेताहरू यो निर्वाचनमा पार्टीलाई जिताउने अभियानमा लाग्न उपसभापति शर्माले निर्देशन दिए। सो क्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गोपाल दहित, पार्टीका लुम्बिनी प्रदेश सभापति एवम् क्षेत्र नम्बर ३ बाँकेका उम्मेदवार अमरसिंह पुन, प्रदेश उपसभापति राजु खनाल, नेपाली कांग्रेस बाँकेका सभापति एवम् क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार नारायणप्रसाद गौडेल, जिल्ला उपसभापति गोपालप्रसाद अधिकारी, जिल्ला सचिव एवम् क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइराला लगायतले सम्बोधन गरेका थिए।

प्रकाशित: २७ माघ २०८२ १९:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App