२६ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

‘राष्ट्रिय कविता महोत्सव–२०७७’ स्थगन, ललितकला पुरस्कार घोषणा

नेपाल प्रज्ञा प्रतिष्ठानको ६३ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना  गरिने ‘राष्ट्रिय कविता महोत्सव–२०७७’ स्थगन भएको छ । यही असार ९ गते आयोजना गरिने भनिएको कविता महोत्सव कोरोना भाइरसको विश्वप्यापी महामारी र बन्दाबन्दीका कारण स्थगत गरिएको प्रतिष्ठानले विज्ञप्ति मार्फत जानकारी गराएको छ ।  

कविता महोत्सवका लागि समसामयिक विषयमा आधारित नेपाली भाषामा लेखिएको १५० शब्दसम्मको आफ्नो कविता कम्प्युटरमा टाइप गरी गत जेठ २५ सम्म आएका कविताहरू एकत्रित गरी गोप्य लाहछापसहित सुरक्षित राखिएको प्रतिष्ठानले जानकारी गराएको छ । साथै मुलुक सहज अवस्थामा गरेपछि उपयुक्त समयमा वार्षिकोत्सव र यससँग सम्बद्ध राष्ट्रिय कविता महोत्सव आयोजना गरिने सोही विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

त्यस्तै ‘लिपुलेक’ कलाकृतिका लागि यस वर्षको ‘राष्ट्रिय ललितकला पुरस्कार’ पोखराकी कलाकार मिलन शेरचनलाई प्रदान गरिने भएको छ । ललितकलाका विधामा उल्लेखनीय योगदान पुर्याउँदै आएका  स्रष्टाहरूलाई ललितकला प्रज्ञा–प्रतिष्ठानले विभिन्न विधामा पुरस्कृत गर्दै आएको छ ।  

यही वैशाख २ गतेदेखि हुने भनिएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०७७’ लकडाउनका कारण स्थगित भएपछि सङ्कलन भएका कलाकृतिहरुको मूल्याङ्कनका आधारमा उनलाई ६० हजार रुपैयाँ राशिको सो पुरस्कार अर्पण गरिने प्रतिष्ठानले विज्ञप्तिमार्फत जनाएको छ ।  

उनी ‘हानानो ओशिवाना’ अर्थात् झारपातबाट सुन्दर चित्र बनाउने कलाकारका रुपमा परिचित छिन् । राष्ट्रिय ललितकला पुरस्कार निकै गौरवशाली पुरस्कार भएको बताउँदै शेरचनले भनिन्, ‘जो कोही कलाकारलाई पनि यो पुरस्कार पाउने चाहना हुन्छ, मेरो पनि थियो पाएँ, यसमा म निकै खुशी छु ।’ 

त्यस्तै १ लाख रुपैयाँ राशि रहेको यस वर्षको ‘राष्ट्रिय अरनिको सम्मान–२०७७’ शङ्करनाथ रिमाल र सन्तकुमार शाक्यलाई प्रदान गरिने प्रतिष्ठानले जनाएको छ  । त्यस्तै ‘ललितकला राष्ट्रिय लेखन पुरस्कार–२०७७’ लय मैनाली र ‘ललितकला राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७७’ केशवराज खनाललाई प्रदान गरिने भएको छ । प्रतिष्ठानले विभिन्न विधामा मूल्यांकन गरी दुई दर्जनभन्दा बढी पुरस्कृत हुने स्रष्टाको नाम सार्वजनिक गरेको हो ।  

प्रतिष्ठानले जारी गरेको विज्ञप्तिकाअनुसार कोभिड–१९ ले गर्दा स्थगित भएको ललितकला प्रदर्शनीलाई अनलाइन वा अन्य कुनै वैकल्पिक माध्यमबाट सञ्चालन गरिने भएको छ । कोरोना सङ्क्रकणबाट सुरक्षित हुन अहिले भौतिक उपस्थितिभन्दा अनलाइन माध्यम नै उपयुक्त हुने प्रतिष्ठानका कुलपति केके कर्माचार्यले बताएका छन् ।

त्यस्तै, हस्तकला विधाबाट माणिकमान शाक्य र राजेश महर्जन विशेष पुरस्कार पाएका छन् । परम्परागत मूर्तिकलाबाट शुभरत्न बज्राचार्य, डा. रामसागर पण्डित, आधुनिक मूर्तिकलातर्फ विशाल सारुमगर र देवेन्द्र प्रसाद पाण्डे, परम्परागत विधामा विनम्र डंगोल, जिग्मे तामाङ, आधुनिक चित्रकलातर्फ सुरेश बस्नेत, विद्यमान तामाङ र दलबहादुर राई, लोककला विधातर्फ मित्थु थारु र बाबुराम बस्ताकोटी तथा वास्तुकला तथा अन्य सृजनात्मक कला विधातर्फ सुमन राई, कुशल कार्की, रवि मिश्र रहेका छन् । उनीहरुले २५ हजार नगदसहित प्रमाणपत्र पाउनेछन् ।  

त्यस्तै २५ हजार राशीको प्रादेशिक पुरस्कारतर्फ प्रदेश १ बाट कौशिला राई, प्रदेश २ बाट रुविकुमारी कर्ण, बागमतीबाट प्रकाश मिजार, गण्डकीबाट दलबहादुर गुरुङ, प्रदेश ५ बाट आकाश बुढामगर, कर्णालीबाट मिनबहादुर नेपाली तथा सुदूरपश्चिम प्रदेशबाट गणेशदेवी चौधरी पुरस्कृत भएका छन् ।

प्रकाशित: ५ असार २०७७ १५:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App