२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

मौलिक शब्दमा रमाउँदै दर्शक

काठमाडौं - २१ औं शताब्दीको माहौलमा विश्व रमाइरहँदा विश्वभर बोलिने भाषा पनि समय अनुसार परिस्कृत हुँदै गएका छन्। भाषा परिस्कृत भए पनि बोलीचालीका भाषामा भने परिस्कृतपन कमै भइरहेको उदाहरणका रुपमा गीतसंगीतलाई नियाल्दा हुन्छ। नेपालमा बनिरहेका खास गरी फिल्मी गीतको लहरलाई हेर्ने हो भने पछिल्लो समयमा अधिकांश गीतकार आफ्ना गीतमा मौलिक शब्दलाई अनिवार्य स्थान दिइरहेका छन्। गीतमा प्रयोग गरिएका ‘मौलिक’ शब्दले मानिसको मनलाई पुराना दिनमा पु-याइरहेको छ।

वर्तमान अवस्थामा बजारमा सुनिने गीतहरूका लागि यस्ता गीत केबल संगीतका माध्यममात्र होइनन्। उनीहरूको हृदय झंकारित गर्ने अस्त्र पनि बनेको छ। गीतकार तथा फिल्मकर्मी यादव खरेल यसलाई समयको मागका रुपमा लिँदै संगीतमा लोकभाकाको फ्युजनमार्फत व्यापारिकरण गर्ने पाटोका रुपमा विश्लेषण गर्छन्। ‘समाज परिवर्तनअनुसार मानिसको सोचाई, भोगाई र रूचीमा पनि परिवर्तन हुँदैछ,’ खरेल भन्छन्, ‘सबै कालखण्डमा त्यही धार चल्दैन। यो कालखण्डलाई त्यसैको निरन्तरताको रुपमा लिनुपर्छ।’ खरेल युवापुस्ता र आमसञ्चार अहिलेको संगीतको अन्तर्राष्ट्रिय प्रवद्र्धक भएकाले उनीहरूकै खोजी अनुसारको गीतसंगीतमा मौलिकता प्रयोग हुन थालेको अनुमान लगाउँछन्।

खरेलको बुझाईमा गीतको भिडियोले कति कमायो भन्दा पनि कति मनपराए र मनपराएनन् भनेर गरिने नयाँधारको मूल्यांकनले पनि पुराना दिनका कथा संगीतमा आउने गरेका छन्। खरेलका अनुसार प्रचलनमा आएका लोकभाकालाई आधुनिक फ्युजनमा ढालेर बनेका गीतसंगीत नयाँपुस्तालाई नौलो हुँदा यिनै गीत पुरानाका लागि ‘नोस्टाल्जिक’ बन्छन्। ‘गीतको स्थायीबाट लोकभाका समायो अनि क्लासिक किसिमले आफ्ना हिसाबले आधुनिक फ्युजनमा ढाल्यो,’ उनी भन्छन्, ‘जुन लोकभाकामा जीवनशैली छ। त्यसले मानिसको मन छुन्छ।’

खरेल व्यापारिक उडान भर्ने नयाँ सोचको उपजका रुपमा लोकभाकालाई समातेर संगीतमा व्यापारवाद ल्याएको गुनासो गर्छन्। ‘पहिलेका गीत त्यसरी मिसाएर नभई जे छ त्यही यथार्थमा गाउने बजाउने चलन थियो र शुद्ध प्रचार हुन्थ्यो ’, उनी थप्छन्, ‘अहिले पहिलेका ती कुरा मिसाएर कमाउने र रमाउने दिन आएको छ।’

खरेलको भनाई झैंं नेपाली फिल्म ‘प्रसाद’को दुई गीत ‘वनकी चरी’ र ‘लै लै’ यतिबेला त्यही धारमा युट्युबमा दर्शक बढाउँदैछ। बी पाण्डेको शब्द, सुवास भुषालको संगीत तथा रुपक डोटेल र अञ्जु पन्तको स्वर रहेको गीत करिब ४५ लाख बढी दर्शकले हेरिसकेका छन्। अर्को गीत ‘लै लै’ ले झण्डै ६५ लाख दर्शक पाइसकेको छ। यो फिल्मलाई पनि अहिले दर्शकले निकै रुचीका साथ हेरिरहेका छन्।

फिल्म ‘छक्का पञ्जा ३’ को गीत ‘पहिलो नम्बरमा’लाई युट्युबमा झण्डै दुई करोड ६३ लाख बढी दर्शकले हेरिसकेका छन्। राजेन्द्र थापाको शब्द तथा दीपक शर्माको संगीतमा डेभिड शंकर र विन्दु परियारले गाएको यो गीत दशैं र तिहारको समयमा धेरै बजेको थियो। फिल्म ‘मालिका’को गीत ‘हल्का माया के माया’लाई पनि दर्शकले राम्रै रुचाए। पश्चिमा लोकभाका फ्लेभरमा अन्जु पन्तको स्वरलाई दर्शकले मनपराए।

फिल्म ‘चंगा चेट’को ‘गोजीमा दाम छैन्’, ‘कृ’को ‘यति यति पानी’, ‘शत्रु गते’को ‘रुपै मोहनी’, ‘२ रुपैयाँ’को ‘कुटुमा कुटु’, ‘छक्का पञ्जा’को ‘पूर्व पश्चिम रेल’, ‘वडा नम्बर ६’ को ‘सुर्के थैली खै’ र ‘कान्छी’को ‘चरीचट्ट परि भुरुरु’ पनि मौलिक शब्दकै कारण लोकप्रिय बने।

संगीतकार, गीतकार तथा गायक राजनराज शिवाकोटी पछिल्लो समयमा गीतमा मौलिक शब्दको प्रयोग गर्न रुचाउने गीतकारमा पर्छन्। ‘मलाई उतिबेला गाउँमा छँदा दौरा फाटेकोमा विरक्त लाग्थ्यो। तर आज सम्झँदा रमाइलो लाग्छ,’ उनले भने, ‘त्यस्तै गरी गीतका पुराना शब्दलाई अहिलेका पुस्ताले मनपराएका हुन्।’

राजनले पुरानो पुस्ताले अपनाएको संस्कृति र भाषिक शब्दलाई नयाँपुस्ताले स्वीकार्नु सुखद रहेको बताए। ‘अहिलेको पुस्ता दुध गाईभैंसीले नभई डेरीबाट आउँछ भन्ने मनोवृतिमा हुर्किरहेको छ,’उनले भने, ‘यस्तो बेला मौलिक शब्दको संगीतले उनीहरूको मन जित्नु चुनौतीपूर्ण कुरा पनि हो।’

राजन बजारमा अर्गानिक बस्तुहरू मूल्यवान भएजस्तै नोस्टाल्जिक धारका शब्द गीतसंगीतमा महंगो हुँदै जानुलाई व्यापारिकरण भन्दा पनि स्वाभाविक प्रक्रियाका रुपमा लिन्छन्। दोलखाको काँठे भाका, असारे भाका सुन्दै हुर्केका उनी गीत संगीतमा भने हरेक क्षेत्र खोतल्न लागि परेको सुनाउँछन्।

गीतको स्थायीबाट लोकभाका समायो अनि क्लासिक किसिमले आफ्ना हिसाबले आधुनिक फ्युजनमा ढाल्यो। जुन लोकभाकामा जीवनशैली छ। त्यसले मानिसको मन छुन्छ।

प्रकाशित: २७ मंसिर २०७५ ०३:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App