४ वैशाख २०८१ मंगलबार
कला

वीरगन्जमा नेपाल–भारत साहित्य महोत्सव

वीरगन्ज– वीरगन्जमा आइतबारदेखि नेपाल भारत साहित्य महोत्सव–२०१८ शुरु भएको छ। प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले एक समारोहविच महोत्सव उद्घाटन गरे। महोत्सवमा नेपाल र भारतका दुई सय ५० साहित्यकारको सहभागिता रहेको आयोजकले जनाएको छ।

महोत्सव उद्घाटन गर्दैै मुख्यमन्त्री राउतले सामाजिक सञ्जालमा बढ्दो आकर्षणले साहित्य क्षेत्रमा मानिसहरुको लगाव संकुचित भएको टिप्पणी गरेका छन्। साहित्यिक क्षेत्रमा नेपाल र भारतको प्रगाढ सामिप्यता रहेको र सम्मेलनले भाषा, संस्कृति र साहित्यिक सहकार्यमा टेवा पुर्याउने विश्वास व्यक्त गरे। 

नेपाली साहित्य उत्कृष्ट रहेको भन्दै यहाँका साहित्यकारका रचनाहरू अन्तर्राष्ट्रिय साहित्य बजारमा लैजानुपर्नेमा उनले जोड दिए। उनले भारतीय साहित्यकार रवीन्द्रनाथ टेगोरको गीताञ्जलीको अंग्रेजी अनुवादले नोबेल पुरस्कार पाएको स्मरण गर्दै मुख्यमन्त्री राउतले नेपाली साहित्य पनि अंग्रेजी भाषामा अनुवाद गरेर विश्वमा लैजान जरुरी भएको बताए। जैन गुरु आचार्य महाश्रमण कि शिष्या डा. चारित्र प्रज्ञाले साहित्यकार र सन्त समाजका आँखा भएको र यसबीच सहकार्यबाट समाजलाई सकारात्मक दिशा दिन सकिने बताइन्।

महोत्सवका अध्यक्ष अशोककुमार वैदले दुई देशबीचको समबन्धमा देखिएका केही असमझदारी र समस्या साहित्यका माध्यमबाट माझ्न सकिने भएर यो आयोजन गरिएको बताए। उनले नेपाल र भारतबीचको साहित्यिक, सांस्कृतिक र सामाजिक सम्बन्ध अझ सुदृढ गर्ने महोत्सव सहायक सिद्ध हुने बताए। कार्यक्रमका संयोजक गणेशप्रसाद लाठले साहित्यलाई राष्ट्रियता र भाषाको ‘ट्याग’ लगाउने कामबाट साहित्यको दायरा संकुचित हुने धारणा राखे। उनले साहित्यिक गतिबिधिमा आएका शिथिलता यस महोत्सवको माध्यमले तोड्ने प्रयास गरेको बताए। महोत्सव सोमबारसम्म चल्नेछ।

प्रकाशित: २७ श्रावण २०७५ १४:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App