५ माघ २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

बेलबारीमा ‘सम्झनामा गणेश रसिक’

बेलबारीमा सम्झनामा गणेश रसिक कार्यक्रम भएकाे छ। ‘लेखक, स्रष्टा तथा कलाकार’ अमर हुन्छन् भन्ने सन्देश दिने कार्यक्रम भएकाे छ। शिक्षा सन्देश इङ्ग्लिस स्कुलका अध्यक्ष भूपाल बस्नेतको अध्यक्षता र पूर्व सांसद् साहित्यकार हर्कमान प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।

‘लेखक, स्रष्टा तथा कलाकार अमर हुन्छन्, उनीहरूको श्रद्धाञ्जलि सभा गर्नु आवश्यक छैन भन्ने सन्देश दिने उद्देश्यले बेलबारीमा ‘सम्झनामा गणेश रसिक’ कार्यक्रम गरिएको छ।

जुझारु मिडिया एन्ड रिसर्च सेन्टर तथा शिक्षा सन्देश इङ्ग्लिस स्कुलको संयुक्त आयोजनामा भएकाे कार्यक्रममा गीतकार, सङ्गीतकार, गायक तथा अग्रज स्रष्टा गणेश रसिकका तस्बिरमा फूलमाला वा अबिरको कुनै कार्यक्रम राखिएको थिएन। साथै कार्यक्रम अवधिभर उनीप्रति श्रद्धाञ्जलिका शब्दसमेत व्यक्त गरिएनन्।

कार्यक्रममा साहित्यिक अनुसन्धाता केशु विरहीले ‘गणेश रसिकको जीवनी, व्यक्तित्व तथा कृतित्व’ को चर्चा गरेका थिए। उक्त कार्यक्रममा रसिक जस्ता लेखक तथा स्रष्टाबारे अध्ययन गर्न पनि उनले बालबालिकालाई सुझाए।

उपस्थित केहीले रसिकको जीवनी, व्यक्तित्व तथा कृतित्वकाे चर्चा गरे। केहीले उनका रचना वाचन र केहीले गीत गाएर उनलाई सम्झेका थिए।

कार्यक्रममा वक्ताहरूले रसिकको व्यक्तित्वका विभिन्न पाटाबारे प्रस्ट पार्दै लेखक, स्रष्टा तथा कलाकार सधैं अमर रहने हुनाले उनीहरूको तस्बिरमा फूलमाला तथा अबिर चढाउन नपर्ने बताए।

उक्त कार्यक्रममा भाषाविद् अमृतप्रसाद आचार्य, वरिष्ठ नाटककार तथा कवि भरत गुरागाईं बरबरिक, सुन्दरहरैँचा कला, साहित्य विकास समितिका अध्यक्ष डा. छवि वैरागी घिमिरे लगायतका व्यक्तित्वले कला, साहित्यकै कारण रसिक धेरैकाे मनमनमा रहेको बताए। साथै उनीहरूले बालबालिकालाई रसिकले झैँ देशका लागि केही गर्न अभिप्रेरणा जगाए।

मुक्तककार नवराज पोखरेल ‘नवशिला’ ले सञ्चालन गरेकाे कार्यक्रममा बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, शिक्षा सन्देश इङ्ग्लिस स्कुलका प्रधानाध्यापक राजेश खत्री, कला–साहित्य प्रवर्द्धन समिति पथरी शनिश्चरेका सचिव लक्ष्मीप्रसाद फुयाल, स्रष्टाहरू प्रिन्स प्रमोद ढकाल, सोमप्रसाद भट्टराई, सिजन श्रेष्ठ, दुर्गा खरेल, यादव भट्टराई, खेमचन्द्र अधिकारी, वासु अधिकारी, एकराज भट्टराई लगायतको उपस्थिति रहेको थियो।

शिक्षा सन्देशमा ८ कक्षाका विद्यार्थीको समूहले ‘मलाई प्यारो लाग्छ, छहरा पहराको देश’ बोलको गीत प्रस्तुत गरेका थिए।

उक्त कार्यक्रममा आइतराज लिम्बू, जुनु बुढाथोकी लगायतको साङ्गीतिक प्रस्तुति समेत रहेको थियो। कार्यक्रममा लक्ष्मीप्रसाद फुयाल, प्रिन्स प्रमोद ढकाल, सिजन श्रेष्ठ, एकराज भट्टराई लगायतले रचना वाचन गरेका थिए। 

प्रकाशित: २६ जेष्ठ २०८२ १०:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App