एपिएफकी अनिशा तामाङ र नेपाल आर्मीकी बिन्दु चौधरी २४औं राष्ट्रिय पुरुष खुला तथा १८औं राष्ट्रिय महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिताको महिला ५० केजीमुनि आइतबार फाइनलमा प्रवेश गरेका छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको सेमिफाइनलमा अनिशाले केडब्लुडब्लुकी सुप्रिया गुरुङ तथा बिन्दुले एपिएफकी निशा सुनुवारलाई पराजित गरे।
नेपाल क्योकुसिन कराते डो संघ वज्रको आयोजनामा भइरहेको प्रतियोगिताको महिला ५५ केजीमाथि सेमिफाइनलमा एपिएफकी सुमित्रा नगरकोटीले केडब्लुडब्लुकी रसिला श्रेष्ठ तथा आर्मीकी सपना ऐडीले आर्मीकै अप्सरा कुमाललाई हराउँदै फाइनल भिडन्त पक्का गरे।
पुरुष खुला तौलसमूहमा सनीसिंह सुनुवारले आइएफकेकेका कृष्ण मण्डल, भूपेन्द्र ओलीले केडब्लुडब्लुका सुकुराम तामाङ, विष्णु थापामगरले आर्मीका रवीन्द्र लोहार र प्रवीण माझीले एपिएफका भूपेन्द्र विश्वकर्मालाई हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे।
सेमिफाइनल पुग्ने चारै खेलाडी आर्मीका हुन्। प्रतियोगिताको आयोजक संघका संस्थापक अध्यक्ष जगतप्रसाद गौचनले उद्घाटन गरेका थिए। सो अवसरमा नेपाल फुल कन्ट्याक्ट कराते महासंघका अध्यक्ष सूर्य बुढाथोकी, आयोजक संघका वरिष्ठ उपाध्यक्ष पुष्प मानन्धरलगायतको उपस्थिति रहेको थियो।
सोमबार सम्पन्न हुने प्रतियोगिताको पुरुषमा १ र महिलामा २ गरी ३ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ। सातै प्रदेश, नेपाल आर्मी र एपिएफबाट करिब १ सय खेलाडीको सहभागिता रहेको आयोजक संघका सदस्य गोपीचन्द्र शर्माले जनाएका छन्। अन्तिम दिन सोमबारै वज्र फाइटको प्रतिस्पर्धा पनि हुने आयोजकले जनाएको छ।
प्रकाशित: ५ माघ २०८२ ०९:२९ सोमबार





