२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

झापामा अध्यक्ष ओलीका सात दिन : ८० टोलमा मतदातासँग साक्षात्कार

यस्तो छ मतदाताको माग

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एक सातासम्म मतदाता भेटघाट गरेर काठमाडौं फर्किएका छन्। फागुन २१ गते हुने निर्वाचनका लागि माघ २३ गते निर्वाचन क्षेत्र झापा ५ आएका अध्यक्ष ओलीले तीनवटा पालिकाका करिब ८० वटा टोलका मतदातासँग साक्षात्कार गरेर आज फर्किएका हुन्।

निर्वाचन परिचालन कमिटीका कमाण्डर देवेन्द्र दाहालका अनुसार अध्यक्ष ओलीले गौरादह, कमल र गौरीगञ्ज गाउँपालिकाका टोल टोलमा मतदाताका स्याबासी, गुनासा र समस्या सुनेर काठमाडौं फर्किएका छन्। दमक नगरपालिकाका १० वटै वडाका करिब ४० वटा टोलमा फागुन ४ गतेपछि अध्यक्ष ओली मतदाता भेट्न जाने छन्। ‘तीनवटा पालिकाका करिब ८० वटा टोलका मतदातासँग अध्यक्षले प्रत्यक्ष संवाद गर्नुभएको छ। मतदातासँग भेटेपछि उहाँ उत्साहित भएर फर्कनु भएको छ,’ संयोजक दाहालले भने, ‘मतदाताले उहाँलाई खुलेर प्रश्न गरेका छन्। गुनासो राखेका छन्। समस्या सुनाएका छन्। राष्ट्र र राष्ट्रियताको पक्षमा अडान लिएकोमा धन्यवाद पनि दिएका छन्।’

कमल गाउँ कमिटीका अध्यक्ष हरी ढकालका अनुसार अध्यक्ष ओली मतदाता र निर्वाचन क्षेत्रबाट टाढिने नेता नभएको बताए। उनले कतिपय नेताहरूले निर्वाचन जितेपछि भूगोलतिर नफर्किने भनेर आलोचना खेप्ने गरेको तर ओलीलाई त्यो समस्या नभएको बताए। ‘२०७४ पछि प्रधानमन्त्री भएका बेला पनि उहाँ कम्तीमा दुई महिनामा एक पटक निर्वाचन क्षेत्र आउनुहुन्थ्यो,’ ढकालले भने, ‘यस पटक पनि भदौ २७ गते निर्वाचन क्षेत्रमा कार्यक्रम राखेका थियौं। भदौ २३/२४ को घटनापछि स्थितिले नयाँ मोड लियो।’

निर्वाचन परिचालन कमिटीका सचिव नारायण गौतमका अनुसार कमल गाउँपालिकाका ३० वटा टोलमा अध्यक्षले भेटघाट गरेका छन्। भेटघाटमा मतदाताले स्थानीय ठाउँको विकास, रोजगारी, शिक्षा तथा अस्पताल निर्माणका मागहरू राखेका छन्। ‘अधिकांस मतदाताले स्थानीय विषयलाई नै प्रमुख मुद्दा बनाएर अध्यक्षसँग प्रस्तुत गरेका छन्,’ गौतमले भने।  

पश्चिम दक्षिण झापाको गौरादह ६ का मतदाता जयराम सापकोटाका अनुसार रतुवाको कटानमा परेका यस क्षेत्रका मतदाताले रतुवा खोलामा स्थायी तटबन्धन, यही खोलामा पक्की र झोलुंगे पुल र अस्पताल निर्माणको माग गरेका छन्। ‘अध्यक्षज्यूलाई हामीले स्कूलचौन दामुना जाने सडकलाई पिच गर्न, रतुवामा तटबन्धन गरेर बाढी र डुबानबाट बचाउन र यसै क्षेत्रमा सुविधा सम्पन्न अस्पताल स्थापना गरिदिन माग गरेका छौं,’ सापकोटाले भने।

यस्तै दामुना बजारका मतदाताले पार्टीका अन्तरविरोध मिलाइदिन, कार्यकर्तालाई जनतासँग जोडिन र सुशासनलाई व्यवहारमा उतार्न माग गरेका छन्। उनीहरूले स्थानीय तहका जनप्रतिनिधि, मुख्यमन्त्री लगायत यस क्षेत्रका जनप्रतिनिधिलाई जनता समस्यामा गम्भीर भइदिन सम्झाइदिन आग्रह गरेका छन्। वडा नं ६ कै सिंगीयाडुबाका बासिन्दाले त अध्यक्ष ओलीलाई नेपाली कागजमा ६ बुँदे माग लिखित रूपमा नै पेस गरेका छन्।

मागपत्र पेस गर्दै एमाले वडा कमिटीका उपाध्यक्ष दुर्गा गनगाईले दामुनाबाट सिंगियाडाँगी हुँदै सिंजुवा जाने बाटो पिच हुनु पर्ने र रतुवा खोलामा पक्की पुल निर्माण गर्न माग गरेका छन्। यसैगरी दामुनाबाट हुलाकी सडक जाने कृषि सडक पनि तत्काल पिच गरेर किसानका उत्पादनलाई भारतीय बजार पुर्याउन सहज बनाइदिनुपर्ने गनगाईंले माग गरेका छन्।

गौरीगञ्ज गाउँपालिकाको सिमावर्ती क्षेत्र देवानगञ्जका मतदाताले मोइवालको टावर राखिदिन माग गरेका छन्। टावर नभएका कारण भारतीय टावरमा निर्भर हुनु परेको गुनासो उनीहरूले चर्को रूपमा उठाएका छन्। सो क्षेत्रका मतदाताले आफ्नो गाउँ टोलमा फेरि फेरि आइदिन पनि माग गरेका छन्। गौरादह चैतुचोककी रमिला राजवंसीले ओलीलाई आफूलाई ठुला ठुला कुराभन्दा रोजगारी गरेर खाने मेलो मिलाइदिन माग गरिने। उनले रोजगारीकै लागि विदेशिएका श्रीमानलाई पनि गाउँमै रोजगारी गर्ने वातावरण मिलाइदिन उनले माग गरिन्।  

दक्षिण झापाको ग्वालडुब्बा निवासी प्रदेश कमिटी सदस्य अमर शिवाकोटीका अनुसार एक हप्तामा अध्यक्ष ओलीले हजारौं मतदातालाई भेटेका छन‍्। ओली यसअघिका निर्वाचनमा पनि यसैगरी गाउँ गाउँ जाने गरेको शिवाकोटी बताउँछन्। ‘यस पटक दक्षिणका मतदाताले अध्यक्षसँग राम्ररी कुरा गर्न पाएका छन्। केहीले असन्तोष व्यक्त गरेका छन्,’ शिवाकोटी भन्छन्, ‘आफ्ना प्रतिनिधिलाई प्रश्न सोध्ने अधिकार हरेक मतदातालाई हुन्छ। प्रतिनिधिले मतदातालाई जवाफ दिने दायित्व पनि हुन्छ। अध्यक्षले हरेक प्रश्नको जवाफ दिनुभएको छ।’

एमालेका वडाका नेताहरूका अनुसार अध्यक्ष ओलीप्रति भदौ २३ र २४ गतेको घटनाका सन्दर्भमा रहेका भ्रम पनि प्रत्यक्ष रूपमा हटाउन यसपालीको गाउँ टोलको भेट सहयोगी भएको छ।

प्रकाशित: २९ माघ २०८२ २१:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App