अस्पताल–बसाइको क्रममा एक दिन मेरा ‘रुम पार्टनर’ हुन आइपुग्यो एक किशोर। नाम थियो– प्रदीप गुप्ता। कलकत्ता निवासी, उमेरले १४ का। अत्यन्तै आकर्षित लाग्ने गोरो मुहारको। साँझ परेपछि गीत गाउन रुचाउने। मेरो सङ्गीतमोहका कारणले पनि थोरै समयमै म उसको पक्का ‘दोस्त’ भइसकेको थिएँ। यो दोस्ती यसकारण पनि भयो कि रेडियो नेपालबाट बज्ने विज्ञापन सेवाका विज्ञापनहरू ऊ हुबहु ‘क्यारिक्याचेर’ गरेर सुनाउँथ्यो।
समयले कस–कसलाई कहाँ–कहाँ मिलन गराउँदो रहेछ, कसरी भेटाउँदो रहेछ! भाषा नमिल्नु एक ठाउँमा, उमेरको अन्तर एक ठाउँमा। ऊ कुन भूगोलको, म कुन भूगोलको? आकाश–जमिनको भिन्नता थियो प्रदीप र मबिच। तर, समयको प्रवाहले हामीलाई त्यतिखेर एकै ठाउँ पुर्याएको थियो। वातावरणले नजिक पारेको थियो।
अस्पतालको त्यो तला पूरै ‘कार्डियोलाजी डिपार्टमेन्ट’को थियो। त्यहाँ सबै नै केवल ‘सर्जरी केश’का बिरामी थिए। कोही अपरेसन भइसकेका, कोही अप्रेसन गर्ने तयारीमा रहेका। अन्य कोठाका बिरामी र तिनका कुरुवाले हाम्रो जोडीलाई असाध्यै माया गर्थे। खास गरेर एउटी केटी थिई भुटानी, १४–१५ वर्षकी। उसकी एउटी दिदी पनि साथमै हुन्थी। उनीहरू विशेष गरेर प्रदीपको गीत सुन्न रुचाउँथे। हुन पनि प्रदीप असाध्यै मिठो गीत गाउँथ्यो। हिन्दी गीत, त्यसमा पनि मुकेशका गीत अत्यन्तै सुर लगाएर गाउँथ्यो। म सोचिरहन्थे“, त्यस्तो कलिलो उमेरमा पनि मुकेशका सिरियस गीतहरू किन गाउँथ्यो ऊ? तर, मैले कहिल्यै ऊसँग यसको जवाफ मागिनँ।
यसका अतिरिक्त प्रदीप जोक पनि सुनाउँथ्यो, क्यारिकेच पनि गथ्र्यो। र, एउटा आश्चर्य, हाम्रो रेडियो नेपालबाट प्रसारण हुने विज्ञापन सेवाका विज्ञापनहरू पनि हुबहु सुनाउँथ्यो।
हामी रात–बिरात गफ गरिरहन्थ्यौं। उठेर, जुवामा बाँधिएको हलगोरुझैं लिफ्टमित्र छिथ्र्यौं र भुइँतला र कौसीसम्म तलमाथि गरिरहन्थ्यौं।
एउटा अचम्मको बानी उसको, जतिखेरै पनि ऊ ‘सोँप’ चपाइरहन्थ्यो। उसलाई गजबको रोग के थियो भने केही खाना खायो कि बान्ता गरिहाल्थ्यो। तर, देख्दा भने तन्दुरुस्त नै देखिन्थ्यो।
सायद, आइतबारको दिन थियो कि त्यो, प्रत्येक बिहान ‘राउन्ड’मा आउने डाक्टरको समूहले एउटा निश्चिन्ततासाथ उसको ‘ओपन हर्ट सर्जरी’को निर्णय गर्यो। तर, समस्या के भयो भने घाँटीमा ‘ग्ल्यान्ड’ देखिएकाले त्यो निको पारेर मात्रै अप्रेसन गर्नुपर्ने, जसका लागि ६ महिनापछिको समय तोकियो। र, बुधबार ‘डिस्चार्ज’ गरिने भयो।
प्रदीप खुसी देखिन्थ्यो। किनकि, घर छाडेको केही दिन भइसकेकाले सम्भवतः उसलाई लागेको घरको न्यास्रो घर जान पाउने समाचारका कारण केही हदसम्म मेटिएको थियो।
त्यही रात!
मेरो जीवनको बिर्सिनसक्नुको त्यो अँध्यारो रात। उफ् ! आज, चार दशकभन्दा बढी समयपछि पनि मलाई त्यो कालो रातले पिछा छाडेको छैन। सम्झेँ भने अझै पनि ऐँठन पार्छ मलाई प्रदीपका ती केही बोलूँलाझैं लाग्ने त्यो पलका ठुला–ठुला आँखाहरूले। केही भन्न खोजिरहेका थिए मलाई तिनले। तर म बुझ्न असमर्थ ! स्वयं अस्वस्थ, भर्खरको सर्जरीपछि शारीरिक कमजोरी व्याप्त थियो ममा।
त्यो रात !
सुत्ने बेला भइसकेको थियो। तर, हामी दुईका आँखामा निद्रा पटक्क थिएन। मलाई याद भएसम्म, हामी खाना खाइसकेपछि त्यो रात पनि लिफ्ट चढ्न पुगेका थियौं। फर्केर आएपछि उसले सधैंझैं उसको प्रिय गीत मुकेशको ‘सुहानी चाँदनी रातें हमें सोने नहीं देती...’ गाएको थियो। अस्पताल चकमन्न भइसकेको थियो। निकै अबेर गरेर हामी सुतेका थियौं। सायद १२ बजिसकेको थियो कि !
‘अ... अ... अ... !’
अचानक मस्त निद्राबिच एउटा असमान्य आवाजले मेरो निद्रा बिथोल्यो। ध्यान दिएर सुनेँ। आवाज मेरो नजिकैबाट आएको थियो। पक्का भयो, त्यो आवाज करिब–करिब मेरो बेडसँगसँगै जोडिएको बेडमा सुतिरहेको प्रदीपको थियो। राति सुत्ने बेला हामी आफ्नो बेड झन्डै–झन्डै जोड्थ्यौं। बिचमा रहेको अलिकति भुइँको खाली भागमा कुरुवाका रूपमा मेरी शोभा दिदी सुत्थिन्। त्यहाँ पुरुष कुरुवा बस्न निषेध थियो।
प्रदीपको मुखबाट निस्किएको त्यो अनौठो आवाजले म बिउँझनु र शोभा दिदी बिउँझनु एकै पटक भयो। अत्तालिँदै म जुरुक्क उठेर उसलाई हल्लाउन पुगेँ– ‘प्रदीप, प्रदीप !’
शोभा दिदीले पनि उनलाई हल्लाइन् र तत्काल हावाको वेगले ढोकाबाहिर दौडिन्। अर्को क्षणमा नाइट ड्युटीकी एक सिस्टर उनीसँग दौडँदै आइपुगिन्। यतिन्जेल, असमञ्जस्य स्थितिमा प्रदीपलाई सकि नसकी मैले आफ्ना दुवै हातको बलमा उठाउन खोजिरहेको थिएँ। तर, ऊ भने मैले त्यो रूपमा कहिल्यै नदेखेको उसका ठुला ठुला आँखाहरूले मलाई एकोहोरो हेरिरहेको थियो। सायद मलाई केही भन्न खोजिरहेको थियो।
सुत्ने बेलासम्म मजाले हाँसेर, बोलेर, गाएर सुतेको नर्मल मान्छे ! अचानक त्यो मध्यरात उसलाई के भयो? मैले बुझ्न सकिरहेको थिइनँ। हडबडाउँदै सिस्टरले उसलाई जुरुक्कै आफ्नो हातमा लिएर बाहिर दौडिन्। रातको दुईतीन बजेको हुनुपर्छ त्यतिखेर।
बिहानीपख अत्यन्तै नमिठो खबर प्राप्त भयो– डाक्टरहरूको भरमग्दुर प्रयत्नले पनि प्रदीपलाई यो दुनियाँमा जीवित राख्न सकिएन।
त्यस्तो अनपेक्षित समाचारले म भावविह्वल भएँ। विक्षिप्त बनेँ। कसरी यस्तो भयो १४ वर्ष उमेरको त्यो कलिलो बालकलाई? त्यति सानो उमेरमा पनि मान्छेलाई हृदयाघात हुन सक्छ र ? आफैंसँग गरिएको प्रश्नबाट निरुत्तर मलाई बिलकुल एक्लो भएको अनुभूत भयो। जताततै प्रदीपको त्यो उज्यालो मुहार घुम्न लाग्यो।
बिहानै, धर्तीमा चर्को घामको प्रकाश फैलिसकेको थियो। तर, मनभित्र व्याप्त अन्धकारमा त्यो उज्यालो फिक्का थियो। मनमा अनेक किसिमका खैलाबैलाले मलाई छटपटाहट दिलाइरहेको थियो। स्थिर रहिरहनै नसक्ने स्थितिमा पुगेँ म।
आजको चलनचल्तीको भाषामा भन्ने हो भने त्यति सानो समयबिच एक किसिमको ‘डिप्रेसन’को सिकार भएँ म। आफूलाई कसै गरेर समाल्नै नसक्ने स्थितिमा थिएँ। केही समयअघिको हाँस्दो–खेल्दो साथीले साथ छोडेको थियो। वास्तवमै कल्पनाभन्दा बाहिरको सत्य थियो त्यो, सपनामा पनि नसोचेको कुरो थियो। त्यो, प्रदीपको मृत्यु थिएन, ऊभन्दा बढी म मरिरहेको थिएँ। आज सोच्छु, त्यो स्थितिमा म एक्लो परेको कारणले त्यसरी विचलित भएको थिएँ कि उसको मृत्युको कारण विचलित भएको थिएँ ?
म आफ्नो कोठाको बेडमा सुत्नै नसक्ने भएँ, त्यहाँ बस्नै नसक्ने भएँ। झ्यालबाट, ढोकाबाट उसैले चियाइरहेको भान परिरह्यो। यसर्थ, सिस्टर–डाक्टरलाई अनुनयविनय गरेर म अर्को कोठामा ‘सिफ्ट’ भएँ।
अचानक भेटिएको यात्री–साथी बाटैमा अचानक छुट्यो। कस्तो नियति? अलिअलि प्रदीपको अनुहारको झझल्को अझै छ मनमा। शृङ्खला टुटेको सपनाजस्तै ऊ आयो र गयो मेरो जीवनमा। खोई, कसलाई सोध्न सक्छु र म - किन आयो अनि किन गयो ऊ? अझ पेचिलो प्रश्न -कहाँ, कुन दुनियाँमा गयो होला मलाई छक्याएर प्रदीप?
प्रकाशित: १० जेष्ठ २०८२ ०८:१५ शनिबार





