२ चैत्र २०८२ सोमबार
image/svg+xml
खेल

जिएम कप भलिबल : पुलिस, आर्मी र गण्डकी विजयी, बागमती र मधेस बाहिर

दोस्रो जिएम कप राष्ट्रिय भलिबल प्रतियोगिता अन्तर्गत शनिबार नवलपुरको कावासोती मा सम्पन्न खेलहरूमा विभागीय टोलीहरू नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश भलिबल टोली विजयी भएका छन्। हारसँगै बागमती प्रदेश भलिबल टोली र मधेस प्रदेश भलिबल टोली भने समूह चरणबाटै प्रतियोगिताबाट बाहिरिएका छन्।

शनिबार भएको पहिलो खेलमा साबिक विजेता नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई २५–१२, २५–१८ र २५–१९ को सोझो सेटमा पराजित गर्‍यो। उक्त खेलमा पुलिसका पहल गहतराज ‘म्यान अफ दि म्याच’ घोषित भए।

दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेश भलिबल टोली माथि २५–१४, २५–१३ र २५–१२ को सहज जित निकाल्यो। आर्मीका देब राना खेलको ‘म्यान अफ दि म्याच’ चुनिए।

त्यस्तै तेस्रो खेलमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेश भलिबल टोली लाई ३–१ को सेटमा हरायो। गण्डकीले पहिलो दुई सेट २५–२१ र २५–१५ ले जितेको थियो भने तेस्रो सेट २३–२५ ले गुमायो। चौथो सेटमा भने २५–२० ले जित निकाल्दै खेल आफ्नो पक्षमा पार्‍यो। गण्डकीका सन्जु विक्रम शाह ‘म्यान अफ दि म्याच’ घोषित भए।

प्रतियोगिताअन्तर्गत आइतबारदेखि क्वार्टरफाइनल चरणका खेलहरू सुरु हुनेछन्। पहिलो खेलमा नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेश आमनेसामने हुनेछन् भने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेश भलिबल टोली बीच प्रतिस्पर्धा हुनेछ।

त्यस्तै तेस्रो खेलमा गण्डकी प्रदेश र कोशी प्रदेश भलिबल टोली तथा चौथो खेलमा एपीएफ क्लब र कर्णाली प्रदेशबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

जिएम समाज नवलपुर र जिल्ला खेलकुद विकास समिति नवलपुर को संयुक्त आयोजनामा भइरहेको प्रतियोगितामा ३ विभागीय र ७ प्रदेश गरी कुल १० टोलीको सहभागिता रहेको छ। फागुन २८ गतेदेखि सुरु भएको प्रतियोगिता चैत ३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

प्रकाशित: ३० फाल्गुन २०८२ १९:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App