पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको स्मृतिमा शनिबारदेखि तेस्रो अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ।
इटहरी वडा नम्बर-५ स्थित जनता कलेजको खेलमैदानमा भएको उद्घाटन खेलमा झापाको जलथल फुटबल क्लब (हल्दिबारी) झापालाई ३-० गोल अन्तरले हराउँदै मोरङको केराबारी फुटबल क्लब विजयी भएको छ। यो जितसँगै केराबारीले सेमिफाइनल यात्रा सुरक्षित गरेको छ।
खेलभरि आक्रामक प्रदर्शन गरेको केराबारीका लागि पहिलो हाफको १३ औं मिनेटमा ओसिन राईले पहिलो गोल गर्दै खाता खोलेका थिए।
त्यसपछि दोस्रो हाफको ११ औं मिनेटमा भुवन बस्नेत र ३९ औं मिनेटमा अनिल परियारले थप गोल गरेपछि टोलीको जित निश्चित भएको हो।
अर्कोतर्फ, अपेक्षाकृत प्रदर्शन गर्न नसकेको जलथलले भने उद्घाटन खेलमै लज्जास्पद हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिनुपरेको छ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका केराबारीका ओसिन राई ‘म्यान अफ दि म्याच’ घोषित भएका छन्। उनले नगद ५ हजार ५ सय रुपैयाँ प्राप्त गरे।
द योङ ब्रदर्स क्लब इटहरीको आयोजनामा सुरु भएको यस प्रतियोगितामा नेपाल र भारतका गरी आठवटा टोली सहभागी छन्।
क्लबका संरक्षक विकास केसीले प्रतियोगितामा केराबारी फुटबल क्लब, जलथल फुटबल क्लब, लोहोरुङ एफसी संखुवासभा, चुतन स्पोर्टिङ क्लब तेह्रथुम, बसाहा क्लब उदयपुर, न्यु स्टार क्लब बराहक्षेत्र, आयोजक द योङ ब्रदर्स र भारतको कञ्चनजङ्गा फुटबल क्लबले प्रतिस्पर्धा गरिरहेको जानकारी दिए।
आइतबारको खेल उदयपुरको बसाहा क्लब र सुनसरीको न्यु स्टार क्लबबीच हुने उनले बताए।
आयोजकका अनुसार प्रतियोगिताको विजेता टोलीले उपाधिसहित ४ लाख ४ हजार रुपैयाँ नगद प्राप्त गर्नेछ।
त्यसैगरी, उपविजेता टोलीले २ लाख २ हजार २ सय रुपैयाँ हात पार्नेछ। प्रत्येक दिनको ‘म्यान अफ दि म्याच’ का साथै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र सर्वाधिक गोलकर्तालाई समेत नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
प्रकाशित: ३० फाल्गुन २०८२ २०:०० शनिबार





