२ चैत्र २०८२ सोमबार
image/svg+xml
सम्पादकीय

दिवा खाजा पढाइमा ताजा

विद्यार्थी भर्नादर घट्दै जानु र भर्ना भएका पनि विद्यालयमा नियमित नहुनु हाम्रो विद्यालय शिक्षामा देखिएको एउटा गम्भीर समस्या हो। आर्थिक अभाव, कुपोषण, पारिवारिक दबाब र विद्यालय शिक्षाप्रतिको कमजोर आकर्षण लगायतका कैयन् कारणले धेरै बालबालिका पढाइबाट टाढा हुने गरेका छन्। यस्तो अवस्थामा विद्यालयमा लागु गरिएको दिवा खाजा कार्यक्रम विद्यार्थीलाई विद्यालयमा टिकाइराख्ने प्रभावकारी माध्यमका रूपमा देखिन थालेको छ।

जहाँ विद्यालयमा नियमित रूपमा दिवा खाजा उपलब्ध गराइन्छ, त्यहाँ विद्यार्थीको उपस्थितिमा उल्लेखनीय सुधार आएको पाइएको छ। काठमाडौंको कालीमाटीस्थित निलबाराही माध्यमिक विद्यालयजस्ता शैक्षिक केन्द्रमा खाजाको व्यवस्था भएपछि विद्यार्थी नियमित रूपमा कक्षामा उपस्थित हुन थालेका छन्। पहिले केही बालबालिका खाली पेट विद्यालय आउँदा कक्षामा बेहोससमेत हुने अवस्था थियो। सबै बालबालिकाको घरमा यथेष्ट खाना नहुन पनि सक्छ। तैपनि कुनै पनि बालबालिकाले खालीपेट पढ्नु नपरोस् भनेर सोच्नु उचित हो। अहिले विद्यालयमै पौष्टिक खाजा उपलब्ध हुन थालेपछि यस्तो समस्या कम भएको विद्यालयको अनुभव छ।

दिवा खाजा कार्यक्रमको उद्देश्य बालबालिकाको पेट भर्नु मात्र होइन, पोषण सुधार, विद्यालय भर्ना वृद्धि र विद्यालय छाड्ने दर घटाउनु पनि हो। अझै, नेपालमा लाखौं बालबालिका कुपोषणको जोखिममा छन्। कुपोषणका कारण समग्र मानसिक विकासमा समेत असर पर्छ। यसले सिकाइ अभ्यासमा पनि समस्या आउँछ। विद्यालयमा दिइने खाजाले उनीहरूको दैनिक पोषण आवश्यकतामा केही हदसम्म सहयोग पुर्‍याउँछ। यसले विद्यार्थीलाई कक्षामा ध्यान केन्द्रित गर्न पनि मद्दत गर्छ। भोको पेटमा पढाइ सम्भव हुँदैन भन्ने सत्यलाई यो कार्यक्रमले व्यवहारमै प्रमाणित गरेको छ।

नेपाल सरकारले हाल शिशु कक्षादेखि कक्षा पाँचसम्मका विद्यार्थीका लागि प्रतिविद्यार्थी दैनिक २० रुपैयाँका दरले दिवा खाजाको व्यवस्था गरेको छ। कतिपय स्थानीय तहले भने यो कार्यक्रमलाई थप कक्षामा समेत विस्तार गरेका छन्। उदाहरणका लागि, काठमाडौं महानगरपालिकाले कक्षा १० सम्मका विद्यार्थीलाई समेत खाजाको व्यवस्था गर्दै आएको छ। यसले स्थानीय तहको सक्रियता भएमा शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन सम्भव छ भन्ने देखाउँछ।

दिवा खाजा कार्यक्रम पूर्ण रूपमा सफल भइसकेको भने होइन। यसका केही चुनौती अझै छन्। पहिलो चुनौती अपर्याप्त बजेट हो। दैनिक २० रुपैयाँमा पौष्टिक खाजा तयार पार्न विद्यालयहरूलाई कठिन हुन्छ। भान्सा निर्माण, भाँडा व्यवस्थापन, खाना पकाउने कर्मचारीको पारिश्रमिकजस्ता खर्च व्यवस्थापन गर्न विद्यालयहरूलाई हम्मेहम्मे पर्ने गुनासो छ।

यसैगरी दोस्रो चुनौती बजेट निकासामा ढिलाइ हो । समयमै बजेट उपलब्ध नहुँदा विद्यालयहरूले कार्यक्रम सञ्चालन गर्न कठिनाइ भोगिरहेका छन्। कतिपय ठाउँमा खाजा पकाउनुको सट्टा विद्यार्थीलाई नगद वितरण गर्नुपर्ने अवस्था पनि देखिएको छ, जसले कार्यक्रमको मूल उद्देश्यलाई कमजोर पारेको छ।  

तेस्रो चुनौती अस्वस्थकर खानाप्रति बालबालिकाको रुचि हो। अधिकांश विद्यार्थी मम, चाउचाउ, समोसा वा चटपटेजस्ता बजारका स्वादिला तर कम पौष्टिक खाजा चाहन्छन्। विद्यालयले हलुवा, जाउलो, अन्डा वा तरकारीजस्ता पोषणयुक्त खाजा दिँदा कतिपय बालबालिकाले नखाने समस्या पनि छ। यसका लागि पोषणसम्बन्धी सचेतना अभिभावक र विद्यार्थी दुवैमा बढाउन आवश्यक छ। विशेष गरी विद्यार्थीलाई पोसिलो खानेकुरा किन खानुपर्छ भनेर सिकाउँदा जीवनभरिकै निम्ति शिक्षा हुन्छ।

यस प्रसंगमा जोडिएको अर्को महत्त्वपूर्ण चुनौती अनुगमन र व्यवस्थापनको कमजोरी हो। कतिपय विद्यालयमा खाजाको गुणस्तर, सरसफाइ र व्यवस्थापनमा कमजोरी देखिन्छ। प्रभावकारी अनुगमन नभए कार्यक्रम औपचारिकतामै सीमित हुन सक्छ।

अब प्रश्न उठ्छ - यस कार्यक्रमलाई अझ प्रभावकारी बनाउन के गर्न सकिन्छ? पहिलो, सरकारले खाजाका लागि उपलब्ध गराइने रकम व्यावहारिक रूपमा बढाउनुपर्छ।  बढ्दो बजार मूल्यका आधारमा बजेट पुनरावलोकन गर्न आवश्यक छ। दोस्रो, स्थानीय उत्पादन प्रयोग गरेर पोषणयुक्त र सस्तो खाजाको व्यवस्था गर्न सकिन्छ। यसले स्थानीय कृषि अर्थतन्त्रलाई पनि सहयोग पुर्‍याउँछ।

यसैगरी, विद्यालयमा केन्द्रीकृत भान्सा प्रणाली विस्तार गर्न सकिन्छ, जसले सरसफाइ, गुणस्तर र व्यवस्थापन सुधार गर्न मद्दत गर्छ। अर्काेतर्फ, खाजा कार्यक्रमसँगै पोषण शिक्षा पनि सञ्चालन गर्नुपर्छ, ताकि बालबालिकाले स्वस्थकर खानाको महत्त्व बुझून्।

समग्रमा दिवा खाजा कार्यक्रम केवल एउटा सामाजिक सहायता कार्यक्रम मात्र होइन, यो शिक्षा, स्वास्थ्य र सामाजिक समानता जोड्ने महत्त्वपूर्ण नीति हो। यसको व्यवस्थापन सुधार गरियो, बजेटलाई पर्याप्त बनाइयो र अनुगमन कडा बनाइयो भने यसले नेपालको विद्यालय शिक्षामा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउन सक्छ। त्यसैले, दिवा खाजा कार्यक्रमलाई शिक्षा नीतिको केन्द्रमा राखेर अझ सुदृढ र सशक्त  बनाउनुपर्छ। 

प्रकाशित: २ चैत्र २०८२ ०६:०९ सोमबार

Download Nagarik App