पीएम कप बागमती प्रोभिन्स मेन्स वन डे प्रोभिन्स सेलेक्सन टुर्नामेन्ट अन्तर्गत भएको खेलमा काठमाडौं जिल्ला क्रिकेट टोली ७९ रनले विजयी भएको छ।
अपर मुलपानी क्रिकेट मैदान मा सम्पन्न खेलमा काठमाडौंले ललितपुर जिल्ला क्रिकेट टोली माथि प्रभावशाली जित दर्ता गरेको हो। टस जितेर पहिले ब्याटिङ रोजेको काठमाडौंले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८१ रनको बलियो योगफल बनायो। काठमाडौंका लागि सोनु देवकोटा ले ५७ बलमा ७२ रन बनाए भने उत्तम थापा मगर ले ८२ बलमा ७१ रनको महत्वपूर्ण योगदान दिए। ललितपुरका बलर पंकज पाण्डे ले २ विकेट लिए भने सदित्या बन्जारा ले १ विकेट हात पारे।
२८२ रनको लक्ष्य पछ्याएको ललितपुर जिल्ला ३५.४ ओभरमा २०२ रनमै अलआउट भयो। ललितपुरका विवेक राना मगर ले ७२ बलमा ८८ रन तथा आशुतोष घिरैया ले ३९ बलमा ५१ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। काठमाडौंका दयानन्द मण्डल र सोनु देवकोटाले समान ४–४ विकेट लिँदै ललितपुरको ब्याटिङ लाइनअप धराशायी पारे।
यस जितसँगै काठमाडौं जिल्ला ७९ रनले विजयी भयो। उत्कृष्ट प्रदर्शनका लागि सोनु देवकोटा ‘प्लेयर अफ द म्याच’ घोषित भए।
क्रिकेट प्रतियोगितामा काठमाडौंले ब्याटिङ र बलिङ दुवै क्षेत्रमा सन्तुलित प्रदर्शन गर्दै महत्वपूर्ण जित हात पारेको हो। काठमाडौं जिल्ला क्रिकेट संघ का सचिव किरण राणा ले आफ्नो टोली फाइनलसम्म पुग्ने विश्वास व्यक्त गरे।
यसैबीच काठमाडौं क्रिकेट संघलाई प्रायोजन गरेको नेपाल इको प्यानल का प्रमुख कार्यकारी अधिकृतले आफूले साथ दिएको टोली विजयी भएकोमा खुशी व्यक्त गरेका छन्।
प्रकाशित: ३० फाल्गुन २०८२ २०:०७ शनिबार

