रङहरू बोल्छन्, रेखाहरू सास फेर्छन् र मौनताले आफैं संगीतको राग सुसेल्छ। त्यहाँ शब्दहरू कथा बोल्छन्। योग ध्यानको शिविरमा कुण्डलिनी जागरणको आध्यात्मिक आत्मिक र संस्कृति कर्महरू प्रारम्भ हुन्छ। योगशास्त्रका शारीरिक, मानसिक र आध्यात्मिक साधनाका अनेक रहस्यमय कुराहरू। ती रहस्यहरूलाई ‘कुण्डलिनी शक्ति’ का रूपमा व्यक्त गर्दै ‘कुण्डलिनी योग’ पाठक र दर्शकसामु उपस्थित भएको छ।
अक्षरका भावना र रङका माध्यमबाट कलाकार भीमप्रसाद शर्माले उपस्थिति गराएका सिर्जनाकर्म कुण्डलिनी ल्याएका छन्। यस मौन संसारका मूर्धन्य स्रष्टा शर्माले अव्यक्त रूपमा धेरै कुरा भनिरहेका छन्।
शर्मा चित्रकार मात्र होइन उनी एक अन्तर्साक्षी पनि हुन्। उनी आत्माको गहिराइमा लुकेको ऊर्जालाई चित्र मार्फत बाहिर ल्याउने साधक। उनी ‘कुण्डलिनी’ शब्दको रहस्यसँग पाटोलाई पुनः जगाउँदै छन्। उनले त्यसलाई आत्मसात् गर्दै यसप्रति चासो जगाउँदै छन्।
उनका चित्रहरू दृश्य-सौन्दर्य हुन्। योग, ध्यान, साधनाका जीवन्त चित्रण हुन्। क्यानभासमा रङ खेलाएर निकालिने सौन्दर्य र शब्दशब्दका संयोजन मार्फत अनुभूतिका आलेखहरूमा व्यक्त गरिने सौन्दर्यमा रमाउँदै आएका यी कलाकार आफैमा एक कला किताब र कुण्डलिनीका दस्तावेज हुन्।

एउटा सुन्दर संयोजन र संरचनाको धरातलमा कलाकार भीमप्रसाद शर्माको उपस्थिति सिर्जनात्मक जीवनको ऊर्जामय उपलब्धि हो। नेपाल पर्यटन बोर्डको लवीमा प्रदर्शित उनका चित्रहरू ‘कुण्डलिनी योग’ शीर्षकका मूल ध्येयमा दर्शकहरूलाई ध्यान केन्द्रित गर्न अग्रसर छन्। कलात्मक कलाकृतिहरूसँगै नेपाली कलामा कुण्डलिनी, किताब र कलाको एउटा पृथक् सिर्जनात्मक आवरण अनावरण भएको छ।
जीवनको सूक्ष्मतम् अनुभूतिको यो यौटा अलग्ग काव्य हो, जहाँ कुण्डलिनी ऊर्जा झल्किन्छ। कहिलेकाहीं नागशिरा जस्तो बलियो, कहिले कमलपात जस्तो कोमल। गैंडाकोट, नवलपुरका स्थायी बासिन्दा यी कलाकार देश र विदेशमा समेत आफ्ना सिर्जनाका माध्यमबाट परिचित छन्।
भीमप्रसादका चित्रहरू एक किसिमको ‘शब्दहीन साहित्य’ हुन्। जस्तो एक कृति, जहाँ मधुर हरियालीभित्र उभिएको एक स्त्री आकृति। तल चक्रको स्पन्दनबाट माथि तेस्रो नेत्रसम्म एक उर्ध्वगामी प्रकाश-रेखा तानिएको थियो। त्यो आकृति कुनै देवी थिएन, कुनै विशिष्ट मान्छे थिएन। त्यो त हाम्रै भित्रको, कहिल्यै बोल्न नसकेको ‘आत्मा’ थियो।
यहीँबाट सुरु हुन्छ - उनका चित्रहरूको ‘किताब’! पुस्तकका कुशल खेलाडी कलाकारका शब्द र रेखाका पानाहरूले भरिएका छन्। ती शब्दका वर्णनहरू मौनताका अन्तरालले गरिन्छन्। त्यसमा कुण्डलिनी योग साधनाका यावत् वर्णन र विवरणहरू समेटिएका छन्। चित्रहरू जस्तै त्यसमा विचारका गहिरा भावहरू जसरी कलामा रङहरूको सुन्दर संयोजनले कलालाई जीवन्त पार्छ।

शर्माको कला गुफाभित्रको साधनाजस्तो लाग्छ। उनले कहिल्यै क्यानभास सजाउन चित्र बनाएका थिएनन्। उनी चित्रहरू मार्फत चेतनाको ती तहहरूमा पुग्न चाहन्छन्। त्यहाँ न शब्द पुग्छ, न त विचार नै। उनका हातको ब्रश, मानौं ध्यानको माला जस्तै चल्छ। त्यसैले उनका चित्रहरू देख्दा मान्छेका आँखा टक्क अडिन्छ। कुन ठाउँमा छु म? आँखाले देखिरहेको यो आकृति मेरो सपना हो कि उसको आत्मदर्शन?
वैदिक दर्शन, धर्मशास्त्र, संस्कृति, अध्यात्म र ज्योतिष विद्यामा नाम चलेका विद्वानको वंश परम्परा धान्न जन्मिएका एक सिर्जनशील सर्जक कलाकार भीम शर्मा! उनले आफ्नो पुर्ख्याैली गौरव अविच्छिन्न कायम राख्दै सिर्जना–साधनाको समर्पणमा आजसम्म पनि सक्रिय रूपले आफूलाई सार्वजनिक गर्दै आइरहेका छन्।
शर्माको गहिरो कला साधना र सिर्जना नेपाली कला जगतकै लागि उपलब्धिको पाटो हो। यसअघि १३ एकल प्रदर्शनी सम्पन्न गरिसकेका कलाकारले क्यानडामा ‘एन आर्टिस्ट विथ म्यासेज’, जर्मनीमा ‘गोल्डेन बुक सेरेमोनी’ को ‘सेलिब्रिटी’ तथा भारतको भुवनेश्वरमा ‘कलाश्री सम्मान’ र नेपाल सरकारबाट ‘क्षेत्रीय प्रतिभा पुरस्कार’ प्राप्त व्यक्तित्व हुन्।
कलाकार शर्माले तीन हातेपुस्तिका लेख्नुका साथै ‘कुण्डलिनी योग’ शीर्षकको पछिल्लो नवीन प्रयोगको सचित्र किताब समेत प्रकाशित छ। पर्यटन बोर्डमा ‘कुण्डलिनी’ शीर्षकको कलाप्रदर्शनीसँगै कुण्डलिनी योग शीर्षकको किताबको चर्चा र प्रशंसा पनि एउटा अर्को पाटो हो। शर्माको भनाइअनुसार ‘कुण्डलिनी योग’ उनको पारिवारिक र सांस्कृतिक पृष्ठभूमिका कारणले सिर्जना भई चित्रशृङ्खलाले जन्माएको एउटा अलग्ग शैली र शिल्पको किताब हो।
यसै किताबबारे शर्माका गुरु तथा कवि गोविन्दराज विनोदीको भनाइलाई यहाँ साभार उल्लेख गर्नु पनि समीचीन लाग्छ। विनोदी लेख्छन्-भीमप्रसाद शर्मा सफल चित्रकार हुनका साथै एक निःस्पृह समाजसेवी र भाषा-साहित्यका अध्येता पनि हुन्। उनी जीवन जिउने कलाका विविध आयाम सूक्ष्म निरीक्षण गर्न रुचाउँछन्। यसै क्रममा उनले जीवनोपयोगी कृति कुण्डलिनी योगको सिर्जना गरेका हुन्। हाम्रो शारीरिक र मानसिक स्वास्थ्यका लागि योग ध्यान र प्राणायामको साधनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ। भीमले प्रस्तुत कृतिमा योगाभ्यासलाई कुण्डलिनी ऊर्जा जागरण र त्यसको मानवीय सत्कार्यमा सदुपयोग गर्ने प्रयोजनका लागि गहिरो अध्ययन र अनुसन्धान गरी सरल उपायहरूको सचित्र वर्णन गरेका छन्।
गोविन्दराज विनोदीका यी भनाइबाटै स्पष्ट हुन्छ, ‘कुण्डलिनी योग’ किताबको महत्त्व आवश्यकता र यसको उपयोगिताबारे। उनको प्रदर्शनीका चित्रहरू पनि यिनै किताबमा व्यक्त भएका योग–साधनाका विविध आयामलाई अझ प्रष्ट रूपमा कलात्मक गहिराइसम्म पुगेर मान्छेका मनलाई स्पर्श गर्ने भावनाले ओतप्रोत छन्।
कलाकार भीमप्रसाद शर्माको चित्रकारिताको पहिलो गुरु उनका पिताजी पण्डित जुक्ति बल्लभ शर्मा र घरको सिर्जनशील वातावरण नै पहिलो प्रभावको थलो थियो। उनी अगाडि भन्छन्, ‘मैले हरेक चित्र बनाएपछि आमा भद्रशीला सुवेदी नै पहिलो भावक बन्नुहुन्थ्यो। उहाँले चित्र हेरेपछि एकदुई टुक्रा नरिवल, मिश्री, एउटा स्याबासी र गालामा मायाको मिठो एक चुप्पा अनिवार्य जस्तै गरी मैले पाउँथे। वास्तवमा अहिले सम्झँदा मलाई लाग्छ - यही नै मेरो चित्रकारी जीवनमा उत्प्रेरणाको पहिलो र मुख्य स्रोत। त्यसले नै मलाई यसमा अझ गहिरो किसिमले लाग्न प्रेरित गरिरह्यो।’
शर्मा अगाडि थप्छन्, ‘मेरा पिताजीले सिर्जेका लामालामा चिना र पात्रोका चरा, नाग, पुतली, फूलहरू, मठमन्दिर, देवीदेवता, ध्यान, मुद्रा, योग मानिसका अभिव्यक्ति आदि। मेरो दिमाग अझै ताजा छन्। आमाले मलाई भन्नुहुन्थ्यो- बाले बनाएको राम्ररी हेर। उस्तै बनाएर मलाई देखा! राम्रो बनाइस् भने तँलाई मन परेको खानेकुरा दिन्छु। आमाको यति कुरा सुनेपछि मेरो बाल मस्तिष्क त्यतैतिर एकोरिन्थ्यो। आफूलाई मनपरेको मिठो खानेकुरा खान पाउने लोभमा म बाले बनाएको काम हेर्थें र त्यस्तै चित्र बनाउन मरिमेटेर लाग्थें।’
आज सम्झदा शर्मालाई लाग्छ– मलाई विगतका यिनै कलामय वातावरण, प्रेरणादायी आशीर्वाद र बुबाआमाको ममताले नै चित्रकार बन्न आधारभूत जग खडा गरिदियो। म मेरा मातापिताप्रति कृतकृत्य छु। उहाँहरूप्रति हार्दिक नमन गर्दै आफ्नो कला साधना र सिर्जनामा उहाँको आशीर्वादलाई नै मनन गर्दै आइरहेको छु।’
यसरी कलामै तल्लीन भीम शर्माको जीवनयात्राले आज उमेरको पाकोपनसँगै कलाकर्मको पनि परिपक्व उमेर हासिल गरिसकेको छ।

‘किताब, कला र कुण्डलिनी’। कला तब मात्र सजीव हुन्छ, जब त्यसले शरीरभित्रको उर्जालाई झस्काउँछ। चेतनाको मूलाधारबाट सहस्रारसम्मको यात्रा नै उनीभित्रको कला हो। त्यसैले उनका रेखाहरूमा भाषा खोज्नु मूर्खता हुन्थ्यो। त्यो त प्राणहरूको गुढ स्पन्दन थियो।
कलाकार शर्माका अनुसार हामी सबैभित्र कुण्डलिनी सुतिरहेको छ। कलाकार त्यो हो, जो चित्र मार्फत हामीभित्रको सर्पलाई उठाउँछ। त्यसलाई आकाशतर्फ उडाउँछ। शब्दहरू पढ्दा लाग्छ - उनी चित्र बनाउँदैनन्, आत्माहरूलाई माथि उठाउँछन्।
भीमप्रसाद शर्माको नाम, अब सामान्य अर्थमा चित्रकला पढ्नेहरूको पाठ्यपुस्तकमा छैन होला तर ती स्रष्टा, जो जीवनका रहस्यहरूसँग संवाद गर्न सक्छन्। त्यसले ‘रङ’ लाई आध्यात्मिकता, योग, ध्यान साधनाको स्वरूप दिन सक्छ।
त्यो आत्माको किताब चुपचाप कतै खुलिरहेको हुन्छ। कला अझ झन् बढी सुगन्धजस्तै फैलिन्छ। त्यहाँ शर्मा जीवित देखिन्छन्, मौनताभित्र बोलिरहेका हुन्छन्। शब्दका विविध अर्थ- अव्यर्थनाहरूमा व्यक्त भइरहेका हुन्छन्। रङका सुललित र साधनामय सिर्जनाका क्यानभासहरुमा प्रकट भइरहेका हुन्छन्।
भीमप्रसाद शर्मा, कुण्डलिनी, कला र किताब! यी शब्दहरू यस आलेखका शीर्षक मात्र होइनन्, यी एकै साथ साधना, सृष्टि र साक्षात्कार पनि हुन्।
प्रकाशित: ९ जेष्ठ २०८२ १४:०१ शुक्रबार