२७ मंसिर २०८२ शनिबार
image/svg+xml
राजनीति

‘सरकार र जेनजीबीचको सम्झौता हाम्रो पार्टी नीतिसँग मिल्यो’

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार र जेनजी पुस्ताबीच भएको संझौता आफ्नो पार्टीको नीतिसँग मेलखाने बताएका छन् । उनले १३२ जना जेनजी युवा र प्रधानमन्त्री सुशीला कार्कीबीच भएको सहमतिप्रति अन्य राजनीतिक दलहरु आतंकित भएको बताउँदै आफ्नो पार्टीले त्यसलाई स्वागत गरेको बताए ।  

‘१३२ जेनजी प्रतिनिधि र प्रधानमन्त्री सुशीला कार्कीबीच भएको सममति नेपाली कम्युनिष्ट पार्टीसँग मिल्दोजुल्दो छ,’ शनिबार कर्णाली प्रदेशस्तरीय एकता सन्देशसभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘अरु पार्टीहरु यो संझौताबाट आतंकित भएका छन्, हामी स्वागत गछौं ।’

नेकपाका संयोजक प्रचण्डले जेनजी आन्दोलनले आफूहरुले सच्चिने कि सक्किने भनेर विकल्प दिएको बताउँदै आफूहरु सच्चिएर अघाडि बढेको बताए । ‘जेनजी युवाहरुले भदौ २३ र २४ गते गरेको आन्दोलनले पार्टी र नेताहरुलाई सच्चिने या सक्किने भनेर चुनौति दियो,’ उनले भने, ‘हामीले जेनजीहरुलाई सच्चिनका लागि मौका दिएकोमा बधाई दियौं ।’ उनले हिजो आफूहरुलाई गाली गर्ने जेनजी पुस्ता नेकपा निर्माण भएसँगै बधाई दिन थालेको बताए । उनले जेनजीहरुले नेकपालाई आफ्नो अभिभावक मानेको दावी पनि गरे । प्रचण्डले विभिन्न कम्युनिष्ट पार्टीहरुबीच एकता भउपछि नेकपा एमालेभित्रका थुप्रै नेता कार्यकर्ताले बधाई दिइरहेको बताए । ‘बधाई दिनेको संख्या धेरै ठूलो छ,’ उनले भने, ‘अहिले उहाँहरु अधिवेशनमा हुनुहुन्छ, पक्कै पनि त्यहाँ छलफल हुनेछ ।’

संयोजक प्रचण्डले राजतन्त्रको अन्त्य र संविधानसभाबाट संविधान निर्माण गर्ने विषय सहसंयोजक माधवकुमार नेपालसँग जनयुद्ध सुरु भएको दुई वर्षबाटै छलफल भइरहेको बताए । ‘राजतन्त्रको अन्त्य र संविधानसभाबाट संविधान बनाउने विषयमा हामीले जनयुद्ध सुरु गरेको दुई वर्षबाटै छलफल गरिरहेका थियौं,’ उनले भने, ‘देशभित्र र बाहिर पनि थुप्रै पटक छलफल गर्‍यौं, अन्तिममा जनयुद्धका बेला रोल्पामा हेडक्वाटर थियो, युवराज ज्ञवाली र बामदेव गौतमसँग बार्ता गरेर१२ बुँदे समझदारीको जग बसायौं ।’

प्रचण्डले तत्कालिन नेकप कम्युनिष्ट पार्टी (नेकपा) एकताको प्रस्ताव एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आफूले राखेको बताए । ‘एकतापछि जनताले झण्डै दुई तिहाई मत दिए,’ उनले भने, ‘नेतृत्व र विचार सही नहुँदा त्यो एकता धेरै समय टिक्न सकेन् ।’ उनले केपी ओलीको ठाउँका अर्को व्यक्ति भइदिए नेकपा विभाजन नहुने दावी पनि गरे ।  

कुलमानले गुन बिर्से

नेकपा संयोजक प्रचण्डले वर्तमान मन्त्री कुलमान घिसिङले जुन थालमा खायो त्यसैलाई छेद पारेको आरोप लगाएका छन् । लोडसेडिङको अन्त्य आफू नेतृत्वको सरकारले गरेको दावी गर्दै प्रचण्डले अहिले कुलमानले गुन बिर्सेर अर्कोतर्फ लागेको बताए ।  

‘कुलमानले गुन बिर्से, जुन थालमा खायो त्यसैमा छेद गरिरहेका छन्,’ उनले भने, ‘कुलमानको बुद्धि फिरोस ।’ उनले प्रधानमन्त्रीको हैसियतले आफूले टिपेर कुलमानलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाएको दावी गरे । ‘प्रचण्डले टिपेर ल्याएको कुरा बिर्से,’ उनले भने, ‘अहिले लाजको मर्नु ! यो भन्दाबढी भन्दैन् ।’

कार्यक्रममा नेकपाका सहसंयोजक माधवकुमार नेपालले भ्रष्टाचार र कुशासनको अन्त्य अहिलेको आवश्यकता रहेको बताएका छन् । उनले देशको समग्र विकासका लागि छलफल भइरहेको बताउँदै स्पष्ट खाका चाँडै जनताका सामु ल्याउने बताए ।  

नेपालले व्यक्तिवादी प्रवृत्तिलाई अन्त्य गर्दै साझा भावनाका साथ अघि बढ्नुपर्ने बताए । ‘साझा भावनाका साथ अघि बढ्यौं भने मात्रै देशलाई अघि बढाउन सकिन्छ,’ सहसंयोजक नेपालले भने, ‘नयाँ पार्टी बनाउँदानै हामीले विगतका कमजोरीहरु खोजेर सुधार गर्दै अघि बढ्ने संकल्प गरेका छौं ।’  

उनले राजनीतिक दलहरुले केही पनि गरेनन् भने कुरालाई चिर्नुपर्ने बताए । ‘हिजो गाउँगाउँमा विकासको अभियान लिएर जाने पनि राजनीतिक दलहरुनै हुन्, दलहरुले गरेका राम्रा कामहरुको फेहरिस्त दलहरुको बीचमा ल्याउनुपर्छ,’ उनले भने, ‘हामी प्रधानमन्त्री हुँदा के–के कामहरु भएका थिए ति कामहरु जनताको सामुमा राख्नुपर्छ ।’  

उनले कम्युनिष्ट घटकहरु एक हुँदा जनतामा उत्साह र आशाको सञ्चार भएको बताए । ‘इमान्दार नेता  कार्यकर्ताको पार्टी हो, यहीँ पार्टीले जनताको इच्छा र चाहनालाई पूरा गर्नेछ,’ उनले भने, ‘कम्युनिष्ट घटकहरु एक हुँदा जनतामा जुन किसिमको उत्साह र आशाको सञ्चार छाएको छ, सोही अनुसार हामी देशको हितको पक्षमा दृढताका साथ उभिन्छौं ।’  

उनले अलग–अलग समूहमा बाँडिएका कम्युनिष्ट पार्टीलाई एक ठाउँमा ल्याएर शक्ति आर्जन गर्ने र जनताका पीडा र बेदनालाई सम्बोधन गर्ने उद्देश्य आफूहरुको रहेको बताए । ‘गरिव र निमुखा जनताको आशा र भरोसाको केन्द्र बन्ने गरेर हामी काम गर्नेछौं,’ उनले भने ।

नेता बामदेव गौतमले फागुन २१ गते हुने निर्वाचनका लागि ६४ लाख घरमा नेपाली कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ता पुग्नुपर्ने बताएका छन् । उनले भाषण भन्दा जनताको घरसम्म पुगेर नेकपाको विचार र शिद्धान्तलाई पु¥याउनुपर्ने बताए । कर्णाली प्रदेशस्तरीय एकता सन्देशसभालाई सम्बोधन गर्दै नेता गौतमले भने, ‘फागुन २१ गते हुने निर्वाचनमा बहुमत ल्याउन भाषण गर्दै हिँड्ने मात्रै नभई ६४ लाख घर परिवारमा पुग्नैपर्नेछ ।’  

उनले समाजवादको मुटु श्रम भएको बताउँदै सम्पूर्ण नेता तथा कार्यकर्ता श्रममा जोडिनुपर्ने बताए । उनले अहिलेकै संविधानमा रहेर देशलाई समाजवादको बाटोमा डोर्‍याउनुपर्ने बताए । ‘समृद्ध नेपाल निर्माणका लागि संविधानभित्रै रहेर सामुहिक उत्पादनमा लाग्नु आवश्यक छ,’ उनले भने, ‘यसले मात्रै संविधानले कल्पना गरेको बाटोमा अघि बढ्न सकिन्छ ।’ उनले संविधान जारी भएको यतिका समयसम्म पनि समाजवाद र समृद्धि कस्तो हुनसक्छ भनेर जनतालाई अनुभूति गराउन नसकेको बताए ।  

गौतमले आफू जिम्मेवारीमा रहँदा जति काम गर्नुपर्दथ्यो, त्यति गर्न नसकेको भन्दै आत्मआलोचना गरे । ‘विगतमा तीन पटक उपप्रधानमन्त्री र गृहमन्त्री भएँ, पार्टीको माथिल्लो तहको जिम्मेवारी निभाएँ,’ उनले भने, ‘म सरकार र अन्य जिम्मेवारीमा रहेर जति गर्नुपर्दथ्यो, त्यति मैले गर्न सकिँन् ।’

प्रकाशित: २७ मंसिर २०८२ १८:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App