लुम्बिनी लायन्सका बलर शेर मल्ल नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी लगातार दुई पटक जित्ने पहिलो खेलाडी बनेका छन्।
शनिबार लुम्बिनीले दोस्रो संस्करणको उपाधि जितेसँगै मल्लले यो कीर्तिमान आफ्नो नाममा लेखाएका हुन्।
पहिलो संस्करणमा जनकपुर बोल्ट्सबाट खेल्दै उपाधि जितेका मल्लले यसपटक लुम्बिनी लायन्सबाट च्याम्पियन बन्ने अवसर पाए। दोस्रो सिजनका लागि जनकपुरले रिलिज गरेपछि उनी लुम्बिनीमा आबद्ध भएका थिए।
संयोगको कुरा, मल्लले जुन टिमबाट खेले पनि फाइनलमा पराजित हुने टोली भने सुदूरपश्चिम रोयल्स नै बनेको छ।
पहिलो सिजनमा जनकपुरले सुदूरपश्चिमलाई हराउँदा मल्ल बिजेता टोलीमा थिए भने यसपटक लुम्बिनीले सुदूरपश्चिमलाई नै हराउँदा पनि उनी च्याम्पियन टोलीको महत्वपूर्ण सदस्य रहे।
उपाधि यात्रामा मल्लको प्रदर्शन लोभलाग्दो रह्यो। शनिबार भएको फाइनल खेलमा उनले सुदूरपश्चिमविरुद्ध ४ ओभरमा १८ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिए। योसँगै दोस्रो सिजनमा उनको कुल विकेट संख्या १७ पुगेको छ।
यसअघि पहिलो सिजनमा जनकपुरबाट खेल्दा उनले ७ खेलमा ७ विकेट लिएका थिए। लगातार दुई सिजन दुई फरक टोलीबाट च्याम्पियन बनेर मल्लले एनपिएल इतिहासमा आफूलाई सफल खेलाडीका रूपमा स्थापित गरेका छन्।
प्रकाशित: २७ मंसिर २०८२ १८:१९ शनिबार





