११ चैत्र २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

परम्परागत कलामा आधुनिकता भित्र्याउँदै कलाकार गोविन्दलालसिंह डङ्गोल

परम्परागत कलामा आधुनिकता भित्र्याउँदै आएका अग्रज वरिष्ठ कलाकार गोविन्दलालसिंह डङ्गोल यही बैशाख ७ गते अस्वस्थ भई अस्पतालमा भर्ना भएका थिए। मृर्गौलाको पाइपमा आकस्मिक समस्या आएपछि मनमोहन हृदयरोग अस्पताल, महारागञ्जमा भर्ना भई उनको तत्काल सफल शल्यक्रिया भएको थियो। दुई हप्ता अस्पतालमा बसी स्वास्थ्यमा सुधारपछि उनी घर फर्किएका छन्। अहिले उनी घरमै आराम गर्दै छन्।

कलाकार गोविन्दलालसिंह डङ्गोल छ दशकभन्दा बढी समयदेखि कलाकर्ममा संलग्न छन्। परम्पराको जगमा आधुनिक शैली र शिल्प-सौन्दर्यको कलाकारी सिर्जना गर्न पछिल्ला केही वर्षदेखि उनी निकै सक्रिय छन्। उनी आजका अधिकांश कलाकारका गुरु कलाकारसमेत हुन्। उनले लामो समयसम्म नेपालको पहिलो कला क्याम्पस ललितकला क्याम्पसमा पढाए। साथै सोही क्याम्पसमा क्याम्पस प्रमुखको जिम्मेवारी पनि वहन गरे। कलाप्राध्यापन, कलासिर्जनाका साथ उनी घरैमा कलाकक्षा पनि लिन्छन्। यसैबीच उनले तत्कालीन अधिराजकुमारी श्रुति राज्यलक्ष्मी शाहलाई पनि चित्रकला सिकाएका थिए। श्रुतिका छोरी गिर्वाणी र सुरङ्गनालाई पनि आफूले चित्रकला सिकाएको उनी बताउँछन्।

उनको जन्म २००३ सालमा काठमाडौँको लगनबहालस्थित ब्रह्मटोलमा भएको हो। उनको बाल्यकाल त्यही टोलमा बित्यो। त्यो बेला उनका छिमेकी अग्रज कलाकार जीवरत्न शाक्य र हरिप्रसाद शर्मा थिए। उनीहरूले बनाएका कलाले पनि उनलाई चित्रकलामा लाग्न केही हदसम्म प्रेरित गरेको हुनुपर्छ। उनी पनि यस कुरा स्वीकार्छन्।

त्यसो त सानै उमेरदेखि कलाप्रति आफ्नो अभिरुचि रहेको उनी बताउँछन्। तथापि एसएलसी उत्तीर्ण गरेपछि अमृत साइन्स कलेजमा भर्ना भए। उनका बुबा चन्द्रलालसिंह डङ्गोल जमिनदार थिए। कैलालीमा उनीहरूको प्रशस्त जग्गाजमिन थिए। अझै छन्। उनकाे अनुसार २०१८ सालमा कमलालक्ष्मी सिंहसँग उनको परम्परागत विवाह भएको भयो।

आफ्नो जीवन यात्राका विगत सम्झिँदै उनी अगाडि थप्छन्, ‘किशोरवयमा प्रवेश हुँदासम्म पनि मभित्र कलाकार बन्ने कुनै सङ्केत र सम्भावना थिएन। मेरो लक्ष्य ‘डाक्टर’ बन्ने थियो। परिवारको पनि त्यही चाहना थियो। भविष्यमा डाक्टर बन्ने योजना लिई विज्ञान विषय अध्ययन गर्दै गर्दा घटित एउटा घटनाले मेरो जीवनको मोड बद्लियो। एकजना साथीको आँैला काटिएर बगेको आलो रगत देख्दा म त मुर्छा परेँ।’

स्रष्टा ज्ञानेन्द्र विवश

कलाकार डङ्गोल अगाडि भन्छन्, ‘यस घटनापछि डाक्टर बन्ने सपना मैले त्यागिदिएँ। त्यसपछि म त्रिचन्द्र कलेजमा आईएमा भर्ना भएँ। बीएमा पढ्दै गर्दा अर्थात् २०२४ सालमा भारत सरकारको छात्रवृत्ति मिल्यो। सो छात्रवृत्तिमा वत्सगोपाल वैद्य र मलाई मुम्बईको सर जे. जे. स्कुल अफ आर्टस्मा कला अध्ययनका लागि जाने अवसर प्राप्त भयो।’

मुम्बईबाट कला अध्ययन पूरा गरी काठमाडौँ फर्किएपछि परम्परागत नेपाली कलामा आधुनिकता भित्र्याउने काम आफूले गरेको उनी दाबी गर्छन्। त्यो बेला आफूले ‘वास टेक्निक’ मा काम गरी त्यसमा ‘प्याच वर्क’ गरेर कलामा नयाँपन देखाउने प्रयत्न गरेको उनको भनाइ छ।

आजसम्म यस शैलीमा आफूले निरन्तर काम गरिरहेको उनी बताउँछन्। मूर्त र अर्धमूर्त शैलीका गणेश चित्रबाहेक उनी प्रायः ज्यामितीय कोण, वृत्त र रेखामा आवृत्त आकृतिहरू मार्फत दर्शकसँग आध्यात्मिक संवाद गर्न रुचाउँछन्।

वस्तुतः उनका चित्ररचनाहरूले आध्यात्मिक विषय र विम्ब प्रतिनिधित्व गर्दै आइरहेका छन्। अपितु तिनमा आधुनिक प्रवृत्ति दृश्यमान हुन्छन्। कलासिर्जनामा ‘भगवान् गणेश’ उनका प्रिय विषयवस्तु रहँदै आएको छ। आफूले गणेशका अनगिन्ती चित्ररचना बनाइसकेको उनी बताउँछन्।

उनी बताउँछन्, ‘चित्र रचनाका सन्दर्भमा भगवान् गणेश निकै व्यापक विषय हो। यसबारे जति अध्ययन गरे पनि सकिंदैन। जति खोज्दै गयो, झन् नयाँनयाँ स्वरूपहरू अगाडि आउँछन्। मैले गणेशलाई आफ्नो सिर्जनाको विषयवस्तु बनाएर विभिन्न किसिमका गणेश सिरिजका चित्रहरू बनाएको छु।’

आफूले अष्टमातृका र दश महाविद्यासम्बन्धी चित्र पनि बनाउने गरेको उनी बताउँछन्। कलाकार डङ्गोलले पेन्सिल, चारकोल, जलरङ, तेलरङ, एक्रिलिक, वास आदि सबै माध्यममा काम गर्छन्। चारकोलबाट बनाइएका उनका ‘पोट्रेट’ रचनाहरू निकै उम्दा रहेका छन्। उनले केही पौभाचित्र पनि बनाएका छन्। त्यसो त आफूले कैयौं ‘एब्स्ट्याक्ट आर्ट’ पनि बनाएको उनी बताउँछन्।

चन्द्रमानसिंह मास्के, तेजबहादुर चित्रकार, लैनसिंह बाङ्देलजस्ता नेपाली कलाजगत्का अग्रज कलाकारहरूसँग आफूले चित्रकला सिक्ने अवसर पाएको उनी सगर्व बताउँछन्।

डङ्गोल भन्छन्, ‘भाग्यले कताबाट कहाँ पुर्‍याउने रहेछ। कलाकार बनेकोमा आज मलाई कुनै पछुतो छैन। सिकाइ भन्ने कुरा जीवनपर्यन्त रहन्छ। म अहिले पनि सिकिरहेको छु र सिकाइरहेको छु। कलाको दुनियाँ महासागर हो। त्यसमा जति गोता हाने पनि गहिराइमा पुग्न सकिँदैन। आजका युवा कलाकारहरू कलामा पारङ्गत भई नसक्दै कलाप्रदर्शनी गर्न हत्तारिन्छन्। यो गलत प्रवृत्ति हो। वास्तवमा कलाप्रदर्शनी भनेको मैले कति सिकिसकें भन्ने कुरा देखाउने ‘प्लेटफर्म’ हो।’

कलाकार डङ्गोलको पहिलो कलाप्रदर्शनी २०२८ सालमा ‘नेपाल–भारत सांस्कृतिक केन्द्र’ मा भएको थियो। निकै लामो अन्तरालपछि २०५१ सालमा उनको तेस्रो एकल कलाप्रदर्शनी भएको थियो।

२०६७ सालमा जापानको टोकियोमा ‘गणेश’ शृङ्खलाका उनका कलाकृतिहरूको एकल कलाप्रदर्शनी भएको थियो। उनको एकल कलाप्रदर्शनीहरू दि आर्ट सप, जे. आर्ट ग्यालरी आदिमा पनि सम्पन्न भइसकेका छन्। काठमाडौँको जे. आर्ट ग्यालरीमा त उनका कलाकृतिहरूको धेरै पटक एकल प्रदर्शनी भइसकेका छन्।

२०६१ सालमा उनको ‘गणेश इन माई ड्रिम’ शीर्षकको प्रदर्शनी भएको थियो। सो प्रदर्शनीमा गणेशलाई उनले विविध रूपरङ, अवस्था, स्वरूप र शैलीमा प्रस्तुत गरेका थिए। यसले उनको गणेशप्रेमको अगाथ आस्था प्रतिविम्बित गर्दथ्यो। आफ्ना चित्र रचनामध्ये आफूलाई ‘श्रीयन्त्र’ सर्वाधिक मन पर्ने उनी बताउँछन्।

उनी भन्छन्, ‘श्रीयन्त्रको अर्थ र महत्त्व निकै छ। भगवान् पशुपतिनाथ नै श्रीयन्त्र हुन्। पशुपतिनाथका चार मुख हुन्छन्। श्रीयन्त्रका बीचमा त्रिपुरासुन्दरी देवी विराजमान हुन्छिन्। यसको अर्थ निकै विशाल र व्यापक छन्।’

गोविन्दलालसिंह डङ्गोल कला शिक्षामा अब हामीले पनि समयानुकूल विकास गर्नुपर्ने बेला आइसकेको बताउँछन्। कला शिक्षण संस्थाप्रति सरकार र विश्वविद्यालयको उदासीनताप्रति उनी आफ्नो गुनासो पोख्छन्। कला अध्यापकका रूपमा तीनदशक अनुभव अनि पुनः दुई कार्यकाल ललितकला क्याम्पसका क्याम्पस प्रमुख पदको जिम्मेवारीबाट उनले अवकाश पाइसकेका छन्।

हाल सानेपा, ललितपुरमा स्थायी बसोबास गर्ने कलाकार कलामै नयाँ खोजी र प्रयोग गर्नमै रमाइरहेको जानकारी दिन्छन्। आफ्नो एक मात्र काम भनेको कलासिर्जना रहेको उनी बताउँछन्। यसप्रति आफू पूर्णतः सन्तुष्ट रहेको पनि उनको भनाइ छ। कलाकार डङ्गोललाई गीत र सङ्गीतमा पनि औधी रुचि छ। चित्र बनाउँदा आफूले सधैं गजल सुन्दै बनाउने गरेको उनी बताउँछन्।

२०२८ सालमा मुम्बईमा भएको अन्तर्राष्ट्रिय कला प्रतियोगितामा उनले प्रथम पुरस्कार पाएका थिए। त्यसयता कला क्षेत्रमा उनको योगदान सम्झिएर उनलाई पुरस्कृत र सम्मान गरिएको सन्दर्भ कमै छन्। २०५१ सालमा ‘वीरेन्द्र–ऐश्वर्य सेवापदक’ र २०५४ सालमा ‘सुप्रबल गोरखा दक्षिण बाहु’ बाट उनी विभूषित भएका थिए।

यसैगरी २०७९ सालमा गंकी–धुस्वाँ बसुन्धरा प्रतिष्ठानद्वारा उनी ‘धुस्वाँ सायमि सिर्जना पुरस्कार’ बाट पुरस्कृत भए।

यस्ता अग्रज आदरणीय कलाकार गोविन्दलालसिंह डङ्गोलको शीघ्र स्वास्थ्य लाभको हार्दिक कामना!

प्रकाशित: २९ वैशाख २०८२ १२:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App