धेरैको मुखबाट चित्लाङको बयान सुनिसकेको हुँदा त्यहाँ पुग्ने रहर मनमा धेरै अघिदेखि थियो। केही साथीहरूले चित्लाङ घुम्न जाने योजना बनाएपछि खुसीले फुरुङ्ङ भएँ म। चैत्र २२ र २३ गते दुई दिनका लागि चित्लाङ जाने निधो भयो।
सुरुमा अलमल भयो कहाँबाट चित्लाङ जाने भनेर। दक्षिणकाली, दामन र चन्द्रागिरि गरी तीन ठाउँबाट चित्लाङ जान सकिने रहेछ। अन्तमा चन्द्रागिरि हुँदै जाने निर्णय भयो।
कच्ची र ठाउँठाउँमा निकै भिरालो अनि धेरै वटा घुम्ती भएकाले ठुलो गाडी जान मुस्किल हुन्छ भन्ने थाहा पाउँदा पाउँदै पनि मिनिबसमा जाने भयौं हामी। चैत्र २२ गते मध्याह्नमा थिमिबाट कोटेश्वर, कलङ्की, चन्द्रागिरि हुँदै हामी २० यात्रुलाई बोकेको गाडी चित्लाङ गन्तव्य बनाएर अघि बढ्यो। पिच भइनसकेको बाटो र ठाउँठाउँमा बाटो पिच गर्नका लागि थुपारिएका गिट्टीका थुप्राले साँघुरो पारेको उबडखाबड बाटो होसियारीपूर्वक पार गर्दै हाम्रो गाडीले चन्द्रागिरिको डाँडो पार गर्यो।
कतै पिच र कतै उबडखाबड बाटो पार गर्दै चित्लाङ उपत्यका छिर्दा अपराह्नको चिसो हावा चलिरहेको थियो। कलङ्कीबाट २० किलोमिटर र थानकोटस्थित गोदामबाट १२ किलोमिटरको दुरी पार गर्न करिब दुई घण्टा समय लाग्यो। दक्षिणकालीबाट तीन घण्टामा पुगिने चित्लाङ अहिले चन्द्रागिरिबाट बाटो खुलेपछि डेढदेखि दुई घण्टामा पुग्न सकिने भएको छ।
चित्लाङ पुग्ने अफरोडमा यात्रा गर्दैगर्दा बाइक उफ्रिँदा र गाडी ढल्किँदा डरले यात्रुको मन सिरिङ्ङ हुन्छ र आङ जिरिङ्ङ हुन्छ। जब हरिया डाँडामा राताम्मे फुलेका लालीगुराँस देखिन्छन्, खुसीले मन फुरुङ्ङ हुन्छ। हामीले यस्तै अनुभव गर्यौं।
पछिल्लो समय विशेषतः आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्न थालेको चित्लाङ मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ९ र १० मा पर्छ। काठमाडौं उपत्यकाको दक्षिण–पश्चिममा पर्ने चन्द्रागिरि डाँडाको काखैमा पर्ने अति सानो तर सुन्दर हरियालीयुक्त चित्लाङले पर्यटकको मनलाई आनन्दित तुल्याउँछ।
समुन्द्री सतहबाट १७ सय ५० मिटर उचाइमा अवस्थित चित्लाङ ऐतिहासिक र सांस्कृतिक दृष्टिकोणले पनि महत्त्वपूर्ण ठाउँको रूपमा रहेको छ। भुटानको ‘पारो भ्याली’सँग मिल्दोजुल्दो देखिने हुँदा चित्लाङलाई ‘नेपालको पारो भ्याली’ पनि भन्ने गरिएको छ।
हालको थानकोटको पुरानो नाम शोणितपुर भएजस्तै चित्लाङको पुरानो नाम चित्रापुर रहेछ। शोणितपुरका राजा वाणासुरकी पुत्री राजकुमारी उषामैयाँकी सहेली चित्राले यहाँको प्राकृतिक सुन्दरतालाई निकै मन पराई दैनिक घुम्न आउने गरेकाले यो ठाउँको नाम नै चित्रापुर हुन गएको यहाँका वासिन्दाबाट थाहा भयो।
सम्राट अशोकको नाउँमा उनकी छोरी चारुमतीले निर्माण गरेको भनिएको अशोक चैत्य पनि यहाँ रहेको छ। त्यही चैत्य दर्शन गर्न आउने क्रममा प्रयोग गरिएको बाटोलाई नेवारहरूले चैत्यलँ भन्न थाले। लँको अर्थ बाटो हो। चैत्यलँ कालान्तरमा चैत्यलङ हुन पुग्यो। चैत्यलङबाट पनि चेतलङ भएको र यसमा पनि अपभ्रंश हुँदै पछि चित्लाङ हुन पुगेको भन्ने भनाइ छ।

१९९८ सालमा भारतमा हुँदै गरेको कवि सम्मेलनमा सहभागी हुनका लागि जाँदै गरेका महाकवि लक्ष्मीप्रसाद देवकोटा हालको गुर्जुधारानजिकै धर्मशालामा बास बसेका थिए भन्ने भनाइ छ। बास बस्ने क्रममा पशुपति दर्शनका लागि भारतबाट आएका तीर्थयात्रीले पहाडी बाटोमा हिँड्न नसकेर भरियाले बोकाएर आएको देखेर निकै भावुक बन्दै ‘कुन मन्दिरमा जान्छौ यात्री कुन मन्दिरमा जाने हो’ भन्दै ‘यात्री’ कविता लेखेको भन्ने चर्चा पनि छ।
चित्लाङलाई राजा अंशु बर्माले गोठालालाई उपहारमा दिएको गाउँ पनि भन्ने गरिन्छ। त्रिभुवन राजपथ बन्नुअघिसम्म चित्लाङ काठमाडौं उपत्यका छिर्ने नाकाका रूपमा थियो भने उपत्यकालाई तराईसँग जोड्ने गोरेटो बाटो पनि थियो। चित्लाङ सानो व्यापारिक केन्द्र पनि थियो।
लिच्छवि र राणाकालपछि २०१२ सालसम्म काठमाडौं उपत्यका छिर्ने र तराई जाने मुख्य नाकाका रूपमा रहेको चित्लाङ २०१३ सालमा त्रिभुवन राजपथ बनेपछि भने ओझेलमा पर्न गएको स्थानीयको भनाइ छ। यद्यपि चित्लाङको मनोरम प्राकृतिक सौन्दर्य, त्यहाँको ऐतिहासिक र सांस्कृतिक विशेषताबारे प्रचारप्रसार हुन थालेपछि भने फेरि आन्तरिक तथा बाह्य पर्यटकहरूको चहलपहल सुरु भएको छ।
छोटो दुरी र छोटो बसाइका आन्तरिक तथा बाह्य पर्यटकलाई दृष्टिगत गर्दै यहाँ रिसोर्ट र होमस्टेहरू खुल्न थालेपछि झन्डै ६ दशकसम्म सुनसानजस्तै बनेको चित्लाङमा फेरि पर्यटकको चहलपहल सुरु भएसँगै यहाँको आर्थिक गतिविधिसमेत चलायमान हुन पुगेको स्थानीयको स्वाकारोक्ति छ। पर्यटकीय सम्भावनालाई दृष्टिगत गर्दै नेपालय पर्यटन बोर्डले चित्लाङलाई पर्यटकीय गाउँ घोषणा गरेको छ।
यहाँको पहिलो ‘चित्लाङ अर्गानिक भिलेज रिसोर्ट’ सँगसँगै अरू धेरै वटा रिसोर्ट र होमस्टे खुलेपछि यहाँ बास बस्ने आन्तरिक तथा बाह्य पर्यटकलाई धेरै सजिलो भएको छ। अहिले विशेषगरी काठमाडौंबाट एक रात बस्नेगरी चित्लाङ पुग्नेहरूको संख्या निकै बढेको छ। जसले गर्दा यहाँ पर्यटन व्यवसायले फस्टाउने अवसर पाएको छ भने स्थानीय उत्पादनले राम्रो बजारसँगसँगै राम्रो मूल्य पनि पाएको छ।
राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले बेलायत यात्रा गर्दा यही बाटाको प्रयोग गरेको स्थानीयको भनाइ छ। यसैगरी अर्का राणा प्रधानमन्त्री चन्द्रशमशेरले सिकार खेल्न तराईसम्म जाने क्रममा यही बाटो प्रयोग गरेका र विश्राम गर्न आफ्ना लागि दरबार र पाहुनाका लागि पाहुनाघर बनाएको प्रमाण पनि अझै जीवित नै छ।
१९६० सालतिर बनेको भनिएका दुई वटा दरबार अझै पनि देख्न सकिन्छ, जसलाई संरक्षणको आवश्यकता महसुस हुन्छ। हाल ती भवनहरू स्थानीय स्वच्छन्द भैरव माध्यमिक विद्यालयले प्रयोग गरिरहेको छ।
दुई दिने चित्लाङ भ्रमणका क्रममा चित्लाङको प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक र आर्थिक पाटोलाई नजिकबाट सरसर्ती नियाल्ने अवसर मिल्यो। प्रकृतिको वरदानकै रूपमा रहेका पहाडी सौन्दर्य, हरियाली वन, उस्तै हरियोपरियो तरकारी बालीले ढाकेको उब्जाउ जमिन, नेवारी परम्परागत शिखरशैलीका आकर्षक घरहरू, विशेषगरी नेवार, बाहुन, क्षेत्री र तामाङ जातिको बसोबास, परम्परागत पहिरन र परम्परागत जीवनशैली, संस्कृतिप्रतिको असीम मोह, सांस्कृतिक सम्पदाहरूको संरक्षण र संवर्धनमा देखिएको उत्साह र जागरण, आर्थिक गतिविधिलाई थप चलायमान बनाउन पर्यटकलाई आकर्षित गर्न बनाइएका रिसोर्ट र होमस्टे आदिको अवलोकनबाट चित्लाङ भ्रमण उपलब्धिमूलक र आनन्ददायक भएको महसुस भयो।
चित्लाङ भ्रमणका लागि यहाँको प्राकृतिक सौन्दर्य मात्रै आकर्षणको केन्द्र बनेको छैन, यहाँको लोभलाग्दो नास्पाती बगैंचा, मदन भण्डारी प्राविधिक विश्वविद्यालय, ठुलो क्षेत्रमा फैलिएको बाख्रा फार्म, ऐतिहासिक अशोक चैत्य, किराँत राजाले बनाएको तीन गजुरको शिवालय, तलेजु भवानी मन्दिर, द्वापरयुगमा सप्तर्षिहरूले स्नान गर्ने सप्तर्षी धारा अर्थात् अहिलेको सातधारा, तीनधारा, शुरचन्द्र भैरव मन्दिर, राणाकालीन दरबार, इन्द्र सरोवरताल आदि पनि यहाँका थप आकर्षणका केन्द्र बनेका छन्। साथै यहाँका बासिन्दाको जीविकोपार्जनसँग जोडिएको कृषिकर्म पनि यहाँ आउने आगन्तुक अर्थात् आन्तरिक र बाह्य पर्यटकका लागि अवलोकनीय बनेको महसुस हुन्छ। सिजनअनुसारका धानखेती र मकैखेतीदेखि नगदेबालीका रूपमा आलु खेती, काउली खेती, भैंसी तथा बाख्रापालन आदिले पनि पर्यटकलाई लोभ्याउँछन्।
स्थानीय जातको भेडाको नश्ल सुधार र वर्णशंकर जातका पाठापाठी उत्पादन गर्न सरकारले २००१ सालमा भेडा विकास फार्म स्थापना गरेको थियो। यसको क्षेत्रफल तीन सय पाँच रोपनी छ। केही वर्षअघि भेडा हटाएर बाख्रा फार्ममा रूपान्तरण गरिएको भए पनि हाल पुनः भेडापालन गर्न थालिएको छ।
विद्युत् उत्पादन गर्न २०३४ सालमा इन्द्र सरोवर बनाइएको थियो। खोलाको पानी रोक्न बाँध बाँधेर विशाल ताल बनाइएको छ। यहाँको पानीबाट ६० मेगावाटको कुलेखानी पहिलो र ३२ मेगावाटको कुलेखानी दोस्रो जलविद्युत् आयोजना सञ्चालन गरिएको छ। मानवनिर्मित जलाशयबाट विद्युत् उत्पादन गरिएको यो नेपालकै पहिलो र ठुलो जलविद्युत् परियोजना हो।
चित्लाङ भ्रमणका क्रममा बाख्राको दुधबाट बनेको चित्लाङको प्रख्यात चिजदेखि मार्खुको माछासम्म खाएर रमाउन सकिन्छ। आफूले खाने मात्रै होइन, घरपरिवारलाई कोसेली लगिदिएर खुसी बाँड्नुका साथै स्थानीय उत्पादनको प्रवर्धनमा सहयोग पनि गर्न सकिन्छ।
हामीले पनि चित्लाङ भ्रमणका क्रममा थाहा नगरपालिका–९, चित्लाङस्थित ‘चित्लाङ गोट चिज होमस्टे, फार्म एन्ड फ्याक्ट्री’ मा पुगेर बाख्राको चिजको स्वाद चाख्न सकिन्छ र घरपरिवारका लागि कोसेली पनि बोक्न सकिन्छ। अशोक सिंह ठकुरी र रीता सिंह ठकुरी दम्पतीले २०६१ सालदेखि सुरु गरेको बाख्राको दुधबाट चिज उत्पादन गर्ने कार्यले अहिले पनि निरन्तरता पाएको छ।
स्वदेशदेखि विदेशसम्म आपूर्ति हुँदै आएको बाख्राको चिजले निकै ख्याति पनि कमाएको छ। चिज उत्पादनका लागि ठकुरी दम्पती आफैंले बाख्रापालन गरेका छन्। इच्छाशक्ति भए आफ्नै देशमा केही गर्न सकिन्छ भन्ने कुराको उदाहरण बनेका छन् ठकुरी दम्पती।
स्थानीय उत्पादन नास्पातीबाट बनेको मिठो वाइनको स्वाद पनि चाख्न पाइन्छ। बजार प्रवर्धनको अभावमा स्थानीय स्तरमै खुम्चिएर रहेका यस्ता उत्पादनको बजार प्रवर्धन गर्न सके स्थानीय उत्पादनले प्रोत्साहन पाउनुको साथै स्थानीय अर्थतन्त्रको विकासमा पनि टेवा पुग्ने देखिन्छ। राज्यले साँच्चै नै स्थानीय उत्पादन र आन्तरिक तथा बाह्य पर्यटनलाई प्रवर्धन गर्ने हो भने चित्लाङजस्तो पर्यटकीय सम्भावना बोकेको सुन्दर र रमणीय ठाउँलाई प्राथमिकता दिँदै विशेष पहल गर्नु वाञ्छनीय हुनेछ।
दिउँसोको समय केही होइन झैं लाग्ने चित्लाङ साँझ परेपछि भने दुलहीझैं सुन्दर देखिन्छ। पर्यटकको स्वागतका लागि प्रतीक्षामा बसेका रिसोर्ट, होमस्टे र अन्य सानाठुला होटेल, रेस्टुरेन्टलगायतका व्यावसायिक केन्द्रहरूमा बलेको झिलीमिली बत्तीले चित्लाङ गाउँ नै उज्यालो र झकिझकाउ देखिन्छ। त्यो देखेर मन त्यसैत्यसै आह्लादित हुन्छ।
गुलियो नास्पाती र मुलाका लागि निकै प्रख्यात चित्लाङमा अग्र्यानिक खानेकुराको मजा लिन सकिन्छ। यहाँका रिसोर्ट, होमस्टे र अरू साना होटेल तथा रेस्टुरेन्टहरूमा पनि फापरको रोटी, तारेको आलु, मकैको पिठोको हलुवालगायतका अग्र्यानिक खानेकुरा खाएर नजिकका हरिया डाँडा हेर्दै, चिसो हावाको सुसेली सुन्दै, रमणीय गाउँ घुम्दै, ऐतिहासिक दरबार, चैत्य, मन्दिर र धारा हेर्दै, नास्पातीको वाइन पिउँदै र बाख्राको दुधबाट बनेको चिज खाँदै सानो उपत्यका चित्लाङ घुम्दै गर्दा समय बितेको पत्तै हुँदैन।
चित्लाङका प्राकृतिक सौन्दर्य, ऐतिहासिक, पुरातात्त्विक र सांस्कृतिक विशेषताको अवलोकन र अग्र्यानिक परिकारको उपभोग गर्दै घर फर्किने क्रममा एकपटक मार्खु पुगेर इन्द्र सरोवर तालमा डुङ्गा सयर गरेर रोमाञ्चित हुने र इन्द्र सरोवरको चिसो पानीमा पौडी खेल्दै हुर्केका माछाको स्वाद लिएर हर्षित हुने अवसर कसैले पनि गुमाउने छैनन्। चित्लाङको चिज र मार्खुको माछाको स्वादले चित्लाङ भ्रमणलाई सधैं स्मरणीय बनाइराख्नेमा कुनै सन्देह छैन।
पछिल्लो समय आधुनिकताको बढ्दो प्रभावले चित्लाङको मौलिकतामा ह्रास आएको छ। दक्षिणकाली, दामन र चन्द्रागिरि गरी तीनतिरबाट सडक सञ्जालले जोडिएको चित्लाङमा छिरेको आधुनिकताको प्रभावले छिट्टै नै चित्लाङको मौलिकता हराउने सम्भावना हो कि भनेर चिन्तित छ चित्लाङको पुरानो पुस्ता।
प्रकाशित: २७ वैशाख २०८२ ०९:१५ शनिबार