त्रिपुरेश्वरस्थित विश्वनिकेतन माविका प्राविधिक धार इलेक्ट्रिकल इन्जिनियरिङका तीनजना विद्यार्थीले यसपटक एसइईमा सबै विषयको परीक्षा दिएका थिए तर भक्तपुर सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डले वैशाख २८ मा प्रकाशन गरेको नतिजामा तीनैजना विद्यार्थी परीक्षामा अनुपस्थित रहेको देखायो। यसपछि विद्यार्थी, अभिभावक र विद्यालयमा खैलाबैला मच्चियो। विद्यार्थी र अभिभावकले विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलकहाँ पुगेर यस विषयमा सोधीखोजी गरे। प्रधानाध्यापक कँडेलले विद्यालयको सिफारिस, परीक्षा केन्द्रको नम्बर र सिम्बोल नम्बरसहित तीनैजना विद्यार्थीलाई अभिभावकका साथ परीक्षा नियन्त्रण कार्यालय पठाइदिए।
प्रधानाध्यापक कँडेलले सरकारले २७ दिनमै चार लाख ३० हजार ६ सय ६७ विद्यार्थीको नतिजा प्रकाशन गरेर सराहनीय कार्य गरेको बताए। विद्यार्थीको समय बचत भएको र बृजकोर्स गर्नुपर्ने बाध्यता पनि हटेको उनको भनाइ छ। ‘तर सरकारले उत्तरपुस्तिका परीक्षणका क्रममा परीक्षकलाई पर्याप्त तालिमको व्यवस्था गर्न नसकेको अवस्थामा धेरै त्रुटि देखिनु स्वाभाविक हो’, प्रअ कँडेलले भने, ‘उत्तरपुस्तिका परीक्षणका क्रममा यसपटक कोडिङ र डिकोडिङ नगर्न परीक्षा नियन्त्रण कार्यालयले निर्देशन दियो। विश्वनिकेतनमा त तालिमप्राप्त दक्ष शिक्षक छन्। उहाँहरूले सिम्बोल नम्बरका आधारमा उत्तरपुस्तिका परीक्षण र मार्कस्लिपका आधारमा नम्बर चढाउनुभयो। हामीले विद्यार्थीमाथि न्याय गर्यौं।’
तर विश्वनिकेतनका विद्यार्थीमाथि अन्याय भएको कसले सुन्ने? भन्ने उनले प्रश्न तेस्र्याए। ‘गत वर्ष पनि लामो समय र धेरै जनशक्ति परिचालन गरी प्रकाशित नतिजामा आठजना इलेक्ट्रिकल इन्जिनियरिङकै विद्यार्थी परीक्षामा अनुपस्थित देखाइयो’, एसइई केन्द्राध्यक्षसमेत रहिसकेका कँडेलले अनुभव सुनाए, ‘विगतमा ५५ देखि ६० परीक्षण केन्द्रबाट पर्याप्त जनशक्ति उपयोग गरी उत्तरपुस्तिका परीक्षण गर्दा र हाल देशभरिका १९६६ परीक्षा केन्द्रलाई परीक्षण केन्द्रमा रूपान्तरण गरी सबै शिक्षकलाई परीक्षणमा खटाउँदा पनि उस्तै त्रुटि दोहोरियो।’
यस्ता त्रुटि विश्वनिकेतनको मात्र नभएर दशेभरिकै विद्यार्थीको देखाइएको छ। उनले एसइई परीक्षामा अबका दिनमा शिक्षक, परीक्षक र राज्य संवेदनशील हुनुपर्ने सुझाए।
राष्ट्रिय परीक्षा बोर्डका माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइईतर्फका परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार यसपटक छिटो र धेरै परीक्षा केन्द्र तथा पर्याप्त जनशक्ति प्रयोग गरी एसइई उत्तरपुस्तिका परीक्षण गराइएको हो। यसपटक एसइईमा विगतको भन्दा कम त्रुटि देखिएको उनको दाबी छ।
विद्यार्थी अनुपस्थित, गलत जन्ममिति, गलत सिम्बोल नम्बर, एउटा विषयमा परीक्षा दिएको तर नतिजामा अर्को विषयमा नम्बर आएको जस्ता त्रुटि देखिएको पनिकाले जनाएको छ।
एसइई २०८२ चैत १९ देखि चैत २९ सम्म सञ्चालन भएको थियो। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डलाई परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशनको निर्देशन दिएका थिए। बोर्डले एसइई सकिएको २८ दिनमै प्रकाशन गरी तारिफयोग्य काम गरेको छ तर हतारको नतिजा प्रकाशनले त्रुटि भने देखिएका छन्।
बोर्डले सार्वजनिक गरेको यसपटकको एसइई परीक्षामा ६५.९८ प्रतिशत विद्यार्थी पास भएका छन्। यो गत वर्षको तुलनामा ४.३ प्रतिशतले बढोत्तरी हो। गत वर्ष ६१.६८ प्रतिशत विद्यार्थी एसइईमा पास भएका थिए। यसपटक नियमिततर्फ चार लाख ३० हजार ६ सय ६७ परीक्षार्थीले सहभागिता जनाएका थिए।
परीक्षा उपनियन्त्रक तारानाथ निरौलाका अनुसार पनिकाले उत्तरपुस्तिका परीक्षणका क्रममा सकेसम्म त्रुटि घटाएर नतिजा प्रकाशन गरेको हो। ‘दैनिक सयजति विद्यार्थी विभिन्नखाले त्रुटि सच्याउन निवेदन लिएर पनिका आइरहेका छन्। बिहीबारसम्म करिब तीन सयको हाराहारीमा निवेदन प्राप्त भएको छ’, उपनियन्त्रक निरौलाले भने, ‘हिजो मात्र एकजना बालिकाले सात अनिवार्य विषयमध्ये ६ वटामा चार जिपिए ल्याएको र एउटाको नतिजा नै नआएको भनेर पनिका आएकी थिइन्। उनको चिन्तित अवस्था हेरेर हामीले उत्तरपुस्तिका खोजी गर्यौं। अन्तिम दिनको परीक्षामा उनले आफ्नो सिम्बोल नम्बर नै गलत लेखिछन्।’
सिम्बोल नम्बरको अन्तिम अंक ८४ रहेकोमा ८५ लेखिदिएकाले उनको नतिजा नआएको रहेछ। अहिले नतिजा सच्याउने प्रक्रियामा छ। उपनियन्त्रक निरौलाका अनुसार यसपटकको एसइई नतिजामा न्यून त्रुटि देखिएको हो। गत वर्ष असार १३ मा नतिजा प्रकाशन भएको थियो। असार १४ गते नै १५ सय हाराहारीमा विभिन्न त्रुटि सच्याउन निवेदन परेको थियो।
जिल्लाबाटै त्रुटि सच्याउन निवेदन दिन सकिन्छ
कसैको विषय उल्टापाल्टो परेको वा कुनै त्रुटि भएको छ भने पनिका भक्तपुरसम्म धाइरहनु पर्दैन। जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइमा गएर त्रुटि भएका विषयबारे स्पष्ट निवेदन दिनुपर्ने व्यवस्था बोर्डले गरेको छ। ‘विद्यार्थीले दिएको निवेदन समन्वय एकाइले इमेल गरी पनिकामा पठाइदिने व्यवस्था गरेको छ। यसपछि पनिकाले समाधान खोज्छ’, उपनियन्त्रक निरौलाले भने, ‘तर विद्यार्थीले निवेदनमा आफ्नो सिम्बोल नम्बर, परीक्षा केन्द्र नम्बर र परीक्षा दिएको विषय र नतिजामा अर्को विषय देखियो वा नम्बर नआएर अनुपस्थित देखियो भन्ने तीन विषय खुलाएर स्पष्ट लेखेर आयो भने सच्याउन सहज हुन्छ।’
यो वर्ष विद्यालयकै शिक्षकले उत्तरपुस्तिका परीक्षण गरेकाले कतिपय विद्यालयले कम्प्युटरमा इन्ट्री गर्ने क्रममा त्रुटि गरेका छन् भने कतिपय अवस्थामा विद्यार्थी आफैंले गलत सिम्बोल नम्बर, गलत जन्ममिति लेखेर त्रुटि देखिएको छ। साथै उत्तरपुस्तिका परीक्षकले पनि सिम्बोल नम्बरका आधारमा नम्बर चढाउँदा त्रुटि भएको पाइएको पनिकाले जनाएको छ। त्रुटिहरूमा विद्यार्थीको उपस्थिति नदेखिएको, जन्ममिति बिग्रिएको र सिम्बोल नम्बल गलत भएको एउटा विषयमा परीक्षा दिएको अर्को विषयमा नम्बर प्राप्त भएको जस्ता त्रुटि यसपटक देखिएको छ।
पनिकाले जेठ १ देखि पुनर्योगका लागि आवेदन दिने समय तोकेको छ। पुनर्योगबाट पनि नतिजामा चित्त नबुझे प्रति विषय दुई हजार रुपैयाँ दस्तुर तिरेर निवेदनसहित आएमा अभिभावकको रोहबरमा विद्यार्थीले उत्तरपुस्तिका हेर्न सक्ने व्यवस्था छ। ‘विषयगत विज्ञको रोहबरमा विद्यार्थी र अभिभावकलाई समेत सँगै राखेर उत्तरपुस्तिका देखाइदिन्छौं’, उपनियन्त्रक निरौलाले भने, ‘उहाँहरूले विज्ञसँग छलफल गरी जिज्ञासा मेटाउन सक्नुहुन्छ। प्रति विषय दुई हजार तिरेर पुनः जाँच गर्न सकिने व्यवस्था पनि छ।’
प्रकाशित: १ जेष्ठ २०८३ ०६:५५ शुक्रबार





