शीर्षकमै कथा शब्द जोडिएको भए पनि यो कथा होइन। भन्दा–सुन्दा कथाजस्तो हुने भएकाले मात्रै यसलाई कथा नामकरण गरिएको हो।
साढे चार दशकअघिको स्मृति अचानक मेरो मस्तिष्कलाई घचघच्याउन आइपुगेको छ। काठमाडौंको तत्कालीन रत्नपार्कबाट भोटाहिटीतर्फ जाँदा साझा भण्डार बायाँ पारेर पसिने पहिलो गल्ली। साँच्चिकै गल्ली नै भन्न लायकको थियो त्यो। ठाडो पारेर पुराना इँटा ओछ्याइएको त्यो गल्ली त्यति साँघुरो नभए पनि त्यसका दुवै किनारामा फुटपाथे व्यापारीले पसल फिँजाइएका हुन्थे। त्यही गल्लीबाट साझाको भवन पार गर्नेबित्तिकैको पहिलो घर हाम्रो डेराघर थियो।
उतिखेरै घरघनत्व निकै घना भएको भए पनि हाम्रो कोठाबाट आकाश देख्न सजिलै सकिन्थ्यो। किनकि, सामुन्नेको साझाको भवन होचो एकतले थियो। यसैकारण घाम पनि १२–१ बजेदेखि मजैले लाग्थ्यो।
वास्तवमा पुस–माघमा त्यो घाम यति प्रिय हुन्थ्यो कि बिहान सिरकमा गुटमुटिएको अल्छीलाग्दो शरीरमा घामको अनुहार देख्नासाथ स्फूर्ति भरिन्थ्यो। र, जब घामको स्पर्श पाइन्थ्यो, त्यसको आनन्दानुभूति कतिसम्म हुन्थ्यो भने लागिसकेको भोक पनि हराएर जान्थ्यो। आज त्यो जाडो कहाँ ? त्यो प्रिय घाम कहाँ?
तर, त्यो घाम सम्झँदा त्यो समयसँगै जोडिएको एउटा स्मृतिले आज पनि म आफैंसँग जवाफ खोजिरहन्छ।
त्यो समयमा आजको जस्तो बग्रेल्ती प्राइभेट अस्पतालहरू थिएनन्। वीर अस्पताल नजिकै थियो। सानोतिनो मात्रै होइन, कुनै ठुलै किसिमको पीडादायक बिमारी परियो भने पनि वीर अस्पताल नै नजिक भएका कारणले परीक्षण गर्न, उपचार गर्नका लागि जाने अस्पताल त्यही नै हुन्थ्यो। यसै क्रममा आफ्नो रोगको औषधोपचार गर्नका लागि पाल्पा निवासी एक जना दिदीको परिवारसँग हाम्रो सम्बन्ध हुन पुग्यो।
विडम्बना ! दिदीको रोगको परीक्षणबाट त्यसको जरो पत्तो लाग्न सकेन। जसका कारण कुनै पनि औषधीले उहाँको रोगको निराकरण हुन सकेन। अन्ततः बाध्य भएर चिकित्सकहरूले उहाँलाई घर फर्काउने सल्लाह परिवारलाई दिए। निराश भएर अस्पतालबाट दिदीलाई ‘डिस्टार्ज’ गरियो। मलाई याद भएन, उहाँहरूको डेरा सम्भवतः केही टाढा थियो। त्यसैले, सजिलोका लागि डिस्टार्ज गरिएपछि लगत्तै भोटाहिटीस्थित हाम्रो डेरामा उहाँलाई ल्याइयो।
म सम्झन्छु उहाँको अनुहार। आकर्षणविहीन गम्भीर मुद्रा, शरीर अत्यन्त पातलो, आवाज सानो–मिहिन।
त्यसपछिका दिनमा पनि उहाँ हाम्रोमा आउने–जाने क्रमले निरन्तरता पाउन लाग्यो। गजब के थियो भने त्यसबिच उहाँको मुहारका कुनै किसिमको भिन्नता देखिनँ मैले, एकरूपता थियो। मूलभूत एउटा फरक भने प्रस्ट देखिन्थ्यो, कोठामा बसिरहेको अवस्थामा बिस्तारै उहाँ आँखा बन्द गर्दै मट्ठी बाँध्नुहुन्थ्यो, दाँत बाँध्नुहुन्थ्यो र छटपटिनुहुन्थ्यो। त्यसकारण वरिपरि बसिरहेकाहरूले उहाँलाई बिस्तारै ओछ्यानमा सुताइदिने कोसिस गर्थे। लम्पसार परिरहेको अवस्थामा उहाँ आफ्नो शरीरमाथि यति बल लगाउनुहुन्थ्यो कि उहाँलाई समाल्नै गाह्रो हुन्थ्यो। तीन–चार जनाले भएभरको बल प्रयोग गरेर उहाँका हातखुट्टामा दबाब दिएपछि उहाँ बिस्तारै आफ्नो शरीरलाई छोड्दै शिथिल बन्नुहुन्थ्यो। अन्ततः दुई–तीन घन्टा बेहोसप्रायः बन्नुहुन्थ्यो। जब होसमा आएर आँखा खोल्नुहुन्थ्यो, फेरि ‘नर्मल’ ! यही घटनाबारे उहाँलाई हामी सोध्थ्यौं– ‘के भयो तपाईंलाई?’ उहाँ सहजतापूर्वक भन्नुहुन्थ्यो– ‘मलाई केही थाहै छैन त !’
यस्तो लाग्थ्यो, मानौं केही छिनअघिकी दिदी र अहिलेकी दिदी फरक व्यक्ति हुन्।
प्रायः यो क्रम चलिरहेको देख्थेँ म। उहाँको त्यो क्रिया हामीलाई साधारण लाग्न थालिसकेको थियो। एक दिन हामीबीच एउटा कार्यक्रम बन्यो– पिकनिक जाने। पिकनिक–स्पट रोजियो– दक्षिणकाली। मलाई याद रहेसम्म हामी १०–१२ जना त्यसमा सहभागी थियौं। पिकनिक मनाउन खानाको व्यवस्था घरबाटै गरिएको थियो– तयारी रूपमा। त्यतिबेला सायद हामी दक्षिणकाली मन्दिरमा दर्शनार्थ गएपछि अलिक माथि उकालो चढ्यौं। त्यहाँ, माथि अर्को एउटा मन्दिर थियो। त्यसलाई ‘दक्षिणकालीकी आमा’ भनिएको थियो।
केहीबेरको विश्राम र घुमफिरपश्चात् हामीले साथै लगेको खानापिना खाने तरखर गर्न लाग्यौं। तर, यही क्रममा दिदीको शरीरले अचानक त्यही पुरानै लक्षणको सङ्केत गर्यो। सिलसिला दोहोरियो, उहाँको छटपटिएको शरीर केही क्षणमै शिथिल भयो र उसरी नै बेहोसप्रायः बन्नुभयो। हामी बडो असमञ्जस स्थितिमा पुग्यौं। अब खाना के गर्ने? आपसी सल्लाहअनुसार दिदीलाई होस आएपछि सबैले एकैचोटि खाना खाने निधो भयो। तर, दिदीको होस आउने कतिखेर? हामी विश्वस्त त थिँदै थियौं– दिदीको होस पक्कै फर्किन्छ तर कतिखेर?
निकैबेरको प्रतीक्षापछि मात्रै दिदीको होस आयो। सबैलाई भोक लागिसकेको हुनाले अब खाना खाने तरखर गर्न लागियो। मलाई लाग्छ, खाना राख्नका लागि हामीले थालका रूपमा अखबार लगेका थियौं। त्यो बेला कागजको प्लेट नेपाली बजारमा आइसकेको थिएन, अखबारलाई उपयोग गरिने प्रचलन थियो।
जब दिदीलाई– ‘खाना खानुस्’ भनियो, उहाँले जवाफ दिनुभयो– ‘खाना
खान्न म।’
भर्खरै बेहोसीबाट उठ्नुभएकी दिदीको कुरा सुनेर उहाँ अझै बेहोसीमै हुनुहुन्छ कि भन्ने लाग्यो। तैपनि बारम्बार आग्रह गरिरह्यौं। अन्ततः उहाँले जुन वाक्य बोल्नुभो, सुनेर हामी आश्चर्यचकित भयौं, भन्नुभयो– ‘मैले खाइसकेँ।’
‘कहिले?’ हामी सबैको मुखबाट एक्कासि निस्कियो।
‘आमाकोमै खाइसकेँ मैले।’
उहाँले भन्नुभएकी आमा, हामी जुन मन्दिरको परिसरमा त्यतिखेर थियौं, माथि भनिसकियो– त्यो दक्षिणकालीकी आमाको मन्दिर थियो।
मेरो मनले सुल्झाउन नसकेको त्यो घटना सम्झँदा आज पनि स्वयंमा त्यही प्रश्नले घेरिन्छु– रित्तो पेट, घण्टौंसम्म बेहोस दिदीलाई होसमा आउँदा पेट भरिदिइसक्ने त्यो कुन शक्ति थियो?
०००
आजको यो भौतिक–कम्प्युटरको दुनियामा त्यस्तो अस्तित्वविहीन शक्तिको चर्चा गर्दा काल्पनिक कथाझैं बुझ्नुपर्ने अवस्था छ। तर, भोगिएका/देखिएका घटना अनगिन्ती छन्। सम्भवतः यिनको रहस्यलाई सुल्झाउन सक्ने कोही विज्ञ छैनन्। अन्यथा, दिदीको कुन त्यस्तो रोग थियो कि आजको चिकित्सा–प्रणाली त्यसलाई खुट्याउन सय प्रतिशत असफल हुन पुग्यो?
सुन्नेहरूलाई आश्चर्य लाग्छ, उहाँभित्रको त्यो रोग वास्तवमा एउटा महान् शक्ति थियो भन्ने लाग्छ मलाई। यदि त्यो शक्ति नहुँदो हो त डाक्टरले उतिबेला– ‘यो रोगको उपचार छैन, घर लैजानुस्’ भन्ने वाक्यभित्र लुकेको दोस्रो अर्थ– ‘अब उनी केही दिन मात्रै बाँच्छिन्’ पूर्णतयाः कसरी गलत साबित हुन्थ्यो?
देख्दादेख्दै, शास्त्रहरूमा लेखिएका अदृश्य शक्ति निहित उहाँ ईश्वरीय शक्ति बोकेको ‘देउमा’ बन्नुभयो। अचम्म लाग्छ, त्यो मितिबाट गनेरै उहाँ ४५ वर्षभन्दा बढी समय अरू बिरामीहरूको सेवा गरेर बाँच्नुभयो। मनोविज्ञानकै आधारमा सही अथवा अन्धविश्वास नै सही, धेरैै सकसपूर्ण रोगले जीवन व्यतीत गरिरहेकाहरूलाई उहाँले आफ्नो तरिकाले उन्मुक्ति दिनुभयो। होला, देउमाबाट हुने झारफुकजस्ता विधिलाई आजको जमानामा पाखण्ड, जादुलगायतको नामकरण गर्न सकिएला। तर, उहाँभित्र रोग छ, जसको उपचार छैन भनेर मानेका चिकित्सकहरूको मान्यतालाई उहाँले त्यत्रो आयु बाँचेर सहज जीवनयापन कसरी गर्न सक्नुभयो ? आजको विज्ञानसँग यो प्रश्नको सिधा जवाफ होला ?
प्रकाशित: २७ वैशाख २०८२ ०६:०७ शनिबार