इन्धन आपूर्तिमा समस्याको कारण देखाउँदै सरकारले हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । दुई दिन बिदा गर्ने योजना पहिलो पटक गरिएको भने होइन । यसअगि पनि हप्तामा दुई दिन बिदा दिने कार्यक्रम केही समय लागु गरेर व्यवहारतः असफल भई फिर्ता भएको हो । फरक प्रसंगबाट सुरु गरिएको भए पनि सरकारले हप्तामा दुई दिनको बिदालाई निरन्तरता दिन चाहेको देखिन्छ।
नेपालमा विद्यालय तहको शैक्षिक सत्र नयाँ वर्षसँगै सुरु हुने गर्छ । चैत मसान्तमा शैक्षिक सत्र पूरा हुने र वैशाखको पहिलो हप्ताबाटै नयाँ सत्र सुरु हुने परम्परा रहेको छ । सामान्यतया वैशाख २ गतेबाटै कक्षा सञ्चालन हुने भएकाले नयाँ कक्षामा भर्नाका लागि प्रवेश परीक्षालगायत छनोटका क्रियाकलापहरू चैत महिनामै सम्पन्न हुने गरेका थिए । यस पटक शैक्षिक सत्र सुरु नभई भर्नाका कुनै पनि कार्य नगर्न अदालतले आदेश दिएकाले चैत महिनामा प्रवेश परीक्षालगायत नयाँ शैक्षिक सत्रका पूर्वतयारी क्रियाकलापहरू हुन सकेनन्। सरकारले वैशाख १५ बाट भर्ना अभियान सञ्चालन गर्ने र २१ गतेबाट मात्र पठनपाठन सुरु गर्ने निर्देशन जारी गर्यो । यसको अन्तर्य इन्धन अभावले सिर्जना भएको समस्या हो भनिए पनि नयाँ सरकारले नयाँ पद्धतिमा काम गर्न खोज्दा व्यावहारिक रूपमा असहजता सिर्जना भएको यथार्थ छ।
शैक्षिक सत्र ढिलो सुरु गरिनु र हप्तामा दुई दिन बिदा घोषणा हुनुले शैक्षिक सत्रभर पूरा गर्नुपर्ने क्रियाकलाप यस पटक समयको अभावले पूरा गर्न नसकिने चिन्ता र चासो यत्रतत्र बढेको देखिन्छ । नेपालको संविधान २०७२ ले विद्यालय तहको शिक्षासम्बन्धी अधिकार स्थानीय तहलाई दिएको सन्दर्भमा केन्द्रबाट जारी गरिएका निर्देशनहरू कार्यान्वयनमा समस्या पनि देखापरेको छ । फलतः धेरै स्थानीय तहले आइतबारको बिदालाई अस्वीकृत गरेका छन् भने सरकारले निर्देशन गरेअनुसार १५ गतेबाट मात्र भर्ना अभियान सुरु गर्ने भन्ने कुरालाई पनि अवज्ञा गरेका छन् । केही पालिकाले विगतका वर्षमा झैं वैशाख २ गतेबाटै भर्ना र पहिलो हप्ताबाटै पठनपाठनका क्रियाकलाप सञ्चालन गरेर केन्द्रको निर्णय कार्यान्वयनमा अरुचि प्रकट गरेका छन् । यसले शैक्षिक सत्र सञ्चालन र शैक्षिक क्रियाकलापमा विविधता देखिन थालेको छ । कुनै पालिकाले सत्रको सुरुमा र हप्तामा दुई दिन बिदा दिने गरे पनि धेरैले आइतबार विद्यालय सञ्चालन गर्ने निर्णय गरेबाट विगतमा जस्तै निश्चित दिन विद्यालय सञ्चालन गर्ने तथा अनिवार्य रूपमा निश्चित पाठ्यघण्टा बराबरको शिक्षण गर्नुपर्ने भन्ने कुरा व्यवहारमा लागु नहुने देखिएको छ।
शिक्षाविद् तथा शिक्षासँग सरोकार राख्ने आमशिक्षक, अभिभावक अहिले थोरै दिनमा कसरी पाठ्यक्रमका क्रियाकलापहरू पूरा गर्ने भन्नेबारे छलफलमा व्यस्त देखिन्छन् । उपलब्ध दिनअनुसारका शिक्षण सिकाइ पाठ्यवस्तु प्रयोग गर्ने वा पाठ्यक्रमले निर्देश गरेका कुरालाई फरक ढंगले पूर्ति गर्ने भन्ने बारे फरक फरक मत देखा परेका छन् । अनेक तरिकाका बारेमा बहस गरिरहेको सन्दर्भमा पाठ्यक्रम विकास केन्द्रका महानिर्देशकले पाठ्यक्रमलाई पातलो बनाई कार्यान्वयन गर्ने धारणा व्यक्त गरेपछि भने पाठ्यक्रम खुम्च्याएर सिकाइ उपलब्धिलाई कमजोर तुल्याउनुहुँदैन भन्ने धार सशक्त देखिएको छ । त्यसो त पातलो पाठ्यक्रमलाई फरकफरक किसिमले अर्थ्याएको पनि देखिन्छ । सामान्य व्यक्तिले पातलो पाठ्यक्रम भन्ने पदावली प्रयोग गरेको भए पाठ्यक्रम र पाठ्यपुस्तकको अन्तर पहिचान गर्न नसकिएको भन्न सकिए सकिने भए पनि पाठ्यक्रम केन्द्रकै महानिर्देशकले प्रयोग गरेको पदावलीले पाठ्यक्रमलाई नै संकेत गरेको हो भन्ने अनुमान गरिएको छ । त्यसो त धेरै विद्यालयमा पातलो पाठ्यक्रमलाई विगतका वर्षमा पढाइरहेका पाठहरूलाई कम गर्ने भन्ने सन्दर्भमा अथ्र्याएको देखिन्छ । सोझो अर्थमा भन्ने हो भने कुनै विषय विशेषमा २० वटा पाठ पठनपाठन गराइन्थ्यो भने अब १५ वटा पाठ पठनपाठन गराउनुलाई नै पातलो पाठ्यक्रम मानेको पाइन्छ । पातलो पाठ्यक्रमको विकल्पमा शिक्षण विधिमा परिवर्तन भनिएको भए पाठ्यक्रमको मर्म र सिकाइ उपलब्धिमा क्षति नपुर्याईकन शिक्षण सिकाइ क्रियाकलाप सम्पन्न गर्न सकिने अवस्था रहन्थ्यो।
अहिले कक्षा कोठामा गरिरहेका क्रियाकलापलाई फरक शिक्षण विधि अँगाल्ने हो भने हप्तामा दुई दिन बिदा दिएर पनि मौजुदा पाठ्यक्रमले राखेका उद्देश्यहरू पूरा गर्न सकिने अवस्था रहन्छ । त्यसो त सरकार नै आइतबारे बिदाका सट्टामा बर्खे र हिउँदे लामा विदाहरू कटौती गर्ने तयारीमा समेत जुटेको देखिन्छ । हिउँँदे र बर्खे बिदा कटौती एउटा सामान्य र सहज परिपूर्तिको उपाय देखिए पनि व्यावहारिक रूपमा भने त्यति सहज छैन । अत्यधिक गर्मी र वर्षाले सिर्जना गर्ने बाढी पहिरोलगायत जोखिमका कारर्ण विभिन्न भूगोलमा बसोबास गर्ने विद्यार्थी विद्यालय जान सक्ने अवस्था रहँदैन । भौगोलिक र सामाजिक विविधतालाई बेवास्ता गरेर कागजी रूपमा मात्र दिन पुर्याउने प्रयास गरियो भने यो झनै पत्युत्पादक बन्ने छ।
वर्तमान सन्दर्भमा हप्तामा पाँच दिन मात्र विद्यालय सञ्चालन गर्ने हो भने सबैभन्दा महत्त्वपूर्ण कुरा वर्तमान पाठ्यक्रमका सिकाइ उपलब्धि र मर्म नमर्ने गरी कसरी शिक्षण गर्ने भन्नेबारे शिक्षकहरूलाई तालिम दिनु आवश्यक हुन्छ । तालिमबाट परम्परागत रूपमा अपनाउँदै आएको शिक्षण विधिमा परिवर्तन ल्याई छोटो समयमा प्रभावकारी र धेरै विषयवस्तु तथा सिप सिकाउन सक्ने अवस्था रहन्छ । ज्ञान र बोधमा मात्र सीमित रहेको शिक्षण सिकाइ क्रियाकलापलाई प्रयोग, विश्लेषण, मूल्यांकन र सिर्जनात्मक तहसम्म पु¥याउन शिक्षण विधिमा सुधार गर्नैपर्छ।
पाठ्यक्रमले निर्देश गरेका सम्पूर्ण कुरा कक्षाकोठामै पूरा गर्छु भन्ने हो भने हप्तामा सातै दिन विद्यालय सञ्चालन गर्दा समेत अपेक्षित उपलब्धि हासिल हुन सक्दैन, बरु परियोजना कार्यका माध्यमबाट विद्यार्थीलाई सक्रिय बनाई सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान आर्जन गर्न सक्ने वातावरण सिर्जना गर्न सकिन्छ । यसका लागि समस्या समाधान र समूह कार्य उपयुक्त माध्यम बन्न सक्छन् । समस्या समाधान विधिका माध्यमबाट पाठ्यक्रमका मूलभूत उद्देश्य हासिल गर्ने प्रयास गरियो भने छोटो समयमा धेरै उपलब्धि हासिल हुने कुरामा विश्वस्त हुन सकिन्छ । शिक्षा तथा मानव संसाधन विकास केन्द्रले विद्यालय तहका अनिवार्य विषयका श्रव्य दृश्य सामग्री उत्पादन गरेको छ । यी सामग्री निःशुल्क उपलब्ध छन् । सबैजसो विद्यालयमा इन्टरनेट सुविधा पुगेको वर्तमान सन्दर्भमा शिक्षकले सहजकर्ताको भूमिका बहन गर्ने हो भने विद्यार्थीलाई उनीहरूको अनुकूल समयमा पाठ्यवस्तुबारे तयारी गर्न मौका मिल्छ । घरमा वा फुर्सदको समयमा हेरेका शिक्षण सामग्रीका आधारमा कक्षाकोठालाई छलफल गर्ने स्थलका रूपमा विकास गर्न सक्ने हो भने शिक्षण सिकाइ क्रियाकलापमा नवीनता झल्कनुका साथै विद्यार्थीमा नयाँ कुरा खोजी गर्ने, समूहमा छलफल गर्ने र सिर्जनात्मक तथा आलोचनात्मक रूपमा प्रस्तुति गर्ने जस्ता एक्काइसौं शताब्दीका सिकाइ सिप हासिल गर्नसमेत महत्त्वपूर्ण अवसर प्राप्त हुन्छ।
विद्यालय, शिक्षक र अभिभावकको सहकार्यमा स्थानीय सिप, प्रविधि र व्यवहारलाई कक्षाकोठाका क्रियाकलापमा जोड्नासाथ विद्यार्थीको सिकाइ कक्षाकोठाको चौघेरामा सीमित नभएर जीवनसँग जोडिन पुग्छ । कक्षाकोठाभित्र वा परिवार, समाज र अन्य सामाजिक क्रियाकलाप जहाँ पनि सिकाइ सम्भव छ भन्ने कुरामा विद्यार्थी र अभिभावकलाई विश्वस्त पार्न सके शिक्षकले कक्षा कोठामा गरेको मार्गदर्शनले समाज र व्यवहारमा प्रयोग हुने अवसर पाउँछ । जसले विद्यार्थीको सिकाइलाई प्रयोगात्मक र दिगो बनाउन सहयोग गर्छ । सोझो अर्थमा बुझिएजस्तै पाठ्यक्रमलाई पातलो बनाउने भन्नुको तात्पर्य किताबका केही पाठ हटाउनु भन्ने होइन, यसको आशय त फरक विधिको प्रयोग गरी पाठ्यक्रमले निर्धारण गरेका सिकाइ उपलब्धि हासिल गर्न सहयोग पुर्याउनु भन्ने हो।
पाठ्यक्रमकै उपलब्धि हटाएर वा कम गरेर थोरै समयमा थोरै कुरा नै सिकाउने भन्ने मानसिकताका साथ काम गरिएमा हाम्रो विद्यालय शिक्षाबाट प्राप्त भएको योग्यता प्रमाणपत्रले विश्व बजारमा मान्यता नै नपाउने परिस्थिति समेत सिर्जना हुन सक्छ । विद्यार्थीको दीर्घकालीन सिकाइ उपलब्धिमा प्रभाव पर्ने गम्भीर विषयमा पर्याप्त छलफल तयारी र अनुसन्धान गरेर मात्रै कार्यान्वयनका दिशामा अघि बढ्नु आवश्यक हुन्छ । अन्यथा केन्द्रको निर्देशन अवज्ञा भएजस्तै शिक्षण विधिमा कुनै पनि रूपान्तरण नगरी परम्परागत ढर्रामै निश्चित दिनमा निश्चित पाठ पढाउनुपर्छ भन्ने कुरामा मात्र केन्द्रित भइयो भने पाठ्यक्रमले राखेका सिकाइ उपलब्धि पनि हासिल हुँदैनन् र विद्यार्थीले वास्तविक ज्ञान र सिप सिक्न पनि सक्दैनन् । यसैले पातलो पाठ्यक्रम बनाउने होइन, शिक्षण विधिमा आवश्यक परिमार्जन र परिवर्तन ल्याउनका लागि हरेक शिक्षकलाई तालिमका माध्यमबाट तयार पार्नु आजको आवश्यकता हो।
पाठ्यक्रम विकास केन्द्र तथा शिक्षा मन्त्रालयले स्थानीय तहहरूसँग समेत समन्वय गरी शिक्षक तालिमका कार्यक्रम सञ्चालन गर्नुपर्छ । यसो गर्न सकेमा हप्तामा दुई दिन बिदा विद्यार्थीको सिकाइ क्रियाकलापमा बाधक नबनेर सहयोगी नै बन्ने छ भने बर्खे र हिउँदै बिदा कटौती गरिरहनुपर्ने अवस्था समेत आउने छैन।
प्रकाशित: ३० वैशाख २०८३ ०८:२० बुधबार

