२ जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

स्पर्शलाई ‘स्पर्श’

पुस्तक

सूर्य लाकोजू नेपालका ख्याति कमाएका कवि हुन्। केही दिनअघि संकलित पुराना पुस्तक हेर्दै जाँदा उनको स्पर्श कवितासङ्ग्रह भेटियो। यो कवितासङ्ग्रह मलाई मनपर्ने कृतिमध्ये एक हो।

जसको जित भए पनि

हाम्रो आखिर हार हुन्छ,

हाम्रो कारण देशलाई

अकल्पनीय भार हुन्छ।

माथिका हृदयस्पर्शी कवितांश स्पर्श कवितासङ्ग्रहको शान्तिको साँचो शीर्षक कविताबाट निकालिएको हो। यो स्पर्श कवितासङ्ग्रह साहित्यकार सूर्यप्रसाद लाकोजूको भावनाका फूलहरूपछिको दोस्रो कृति हो भने पहिलो कविता कृति हो। उनको छ कवितासंग्रह प्रकाशित छन्। म एक पाठकका दृष्टिले हेर्दा तीमध्ये उनको यो स्पर्श अन्य पाँच कविताकृतिभन्दा भिन्नै स्वादको लाग्छ मलाई। यस कवितासङ्ग्रह पढ्दा छुट्टै स्वाद पाएको अनुभूत हुन्छ मलाई।

कविताहरू सरल छन् तर रसिला छन्। पाकेका अङ्गुर जस्तै। कवि लाकोजूले यस स्पर्श कविताका माध्यमबाट मानवीय संवेदना पीडा र व्यथाहरू अनि हाँसो एवम् व्यङ्ग्यात्मक भावनाहरू पोखेका छन् भने मायाप्रेमका भावनाहरू पनि यस कवितासङ्ग्रहभित्र फुलेका छन्।

उनले देशको माटोलाई आफ्नो मुटुले छोएका छन्। कविको हृदय देशको वर्तमान परिस्थितिले दुखेको छ। कविलाई वर्तमान असहज परिस्थितिले व्याकुल बनाएको छ। देशका शक्तिहरू खण्डखण्ड हुँदा राष्ट्रिय अखण्डता कायम नहुने कविको विचार रहको छ। त्यसैले राष्ट्रमा शान्तिको दियो बाल्नुपर्छ। वर्तमानको नमिठो परिस्थिति सुल्झाउन सबैले ’आफ्नो व्यक्तिगत वा दलगत स्वार्थ त्याग्नुपर्छ। सम्पूर्ण नेपालीको एकता नै ’शान्तिको साँचो’ शीर्षक कवितामा व्यक्त गरेका छन्। उनका कवितामा गरिब र निम्न वर्गप्रति प्रेम र सहानुभूति पोखिएको देखिन्छ। देशप्रेम भनेको माटो प्रेम हो भन्ने कुरा पनि स्पर्शमा छ।

कवि लाकोजूले कविताहरूमा संयोगात्मक प्रेमका फूल फूलाएका छन् भने कुनै कवितामा दुःख र पीडाका तुसारोले वसन्तमा फुलेका फूलहरू झरेका वियोगान्त भावना पोखेका छन्। उनले आफ्नो प्रेमलाई आदर्श मानेका छन् र पे्रमभित्र यसरी आत्मसन्तुष्टि पनि खोजेका छन्‌ः

म स्वर्गीय आनन्द पाउँछु

आत्म सन्तुष्टिभित्र

तिमी मेरो आत्मसन्तुष्टि

लाग्छ आज तिमी पाएर

सारा सुखैश्वर्य पाएँ।

उनका प्रेमबिछोडका कविताहरू पनि कम मार्मिक र कारुणिक छैनन्। उनका कविताहरूमा एकप्रकारको रहस्य छ। यस सङ्ग्रहमा सङ्गृहीत  कविताहरूमा एकप्रकारको रहस्य छ। यी कविताहरू पूरै नपढी सुखै हुन्न। हामी सबैले हठ छोडी मन मिलाउनु नै शान्तिको साँचो हो भन्ने भावना स्पर्श कवितासङ्ग्रहमा व्यक्त छ। यसको साथै कविलाई नेपालको माया छ।

भौगोलिक रूपले सानो भए पनि नेपाल सम्पूर्ण नेपालीका लागि मोती जस्तै, आँखाको नानी जत्तिकै महत्त्वपूर्ण हुनुपर्छ भन्ने भावना उनका कविताहरूले बोकेका छन्। यसभित्रका कविताहरू स्वयं देशभक्तिका गीत गाउँछन्। देशका लागि केही गर्न आग्रह गर्दछन्। सङ्गृहीत धेरैजसो कविता नेपाली सामाजिक परिवशेलाई आधार मानेर रचिएका छन्। केही कवितामा राजनैतिक विषयवस्तु पनि समेटिएका छन्। ती कविताहरूमा नेताहरूको स्वार्थप्रति तिखो व्यङ्ग्य छ। अन्य केही कविता मानवीय धरातलमा आधारित छन्। मानवताका सन्देश बोकेका ती कविताहरू मार्मिक बनेका छन्। हाम्रो जीवन सङ्घर्षमय  छ। वास्तवमा सङ्घर्ष गर्नुपर्दछ। सङ्घर्षविनाको जीवन व्यर्थको अर्थको हुन्छ। दुःखसुख भने घामछाया हो।

त्यसैले दुःखमा आतिनु र सुखमा मातिनु हुन्न। मानिसले आफ्नो दायित्व इमान्दारीपूर्वक वहन गर्नुपर्छ। गफ मात्र होइन काम गर्नुपर्छ। कुराले पेट मर्दैन भन्ने शिक्षा पनि आफ्ना कविताका माध्यमबाट दिन पछि पर्दैनन्, कवि सूर्यप्रसाद लाकोजू।

आफूपछि धकेलिन्छ कुरो

अघि बढ्यो भने

आफू अघिअघि लाग्छ

काम अघि बढ्यो भने।

देशमा प्रतिकूल परिस्थितिको सिर्जना भइरहेको यो अवस्थामा शान्तिको सन्देश लिएर यो कविता देखापर्नु आफैमा सकारात्मक कुरा हो। यसमा विभिन्न शीर्षकका ६२ कविता सङ्गृहीत छन्। उनले आफ्नो कविता लेखन शिल्प तिखार्दै लगेका छन्। तैपनि स्पर्श कवितासङ्ग्रहमा सङ्कलित कविताहरूको विशेषता भिन्दै लाग्छ। सरल नै सुन्दर हुन्छ। सौन्दर्य सरल हुनुपर्छ।

पुष्पाञ्जली साहित्यिक समाजबाट प्रकाशित कृतिकाे आवरण अस्मिना रंजितले तयार गरेका हुन्।

प्रकाशित: २४ वैशाख २०८२ १३:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App