३१ जेष्ठ २०८३ आइतबार
image/svg+xml
प्रवास

स्वास्थ्यमन्त्रीलाई जेनेभामा ज्ञापनपत्र, एनआरएनए चिकित्सक दर्ता प्रावधान संशोधन गर्न माग

युरोपस्थित नेपाली चिकित्सकहरूले गैरआवासीय नेपाली (एनआरएनए) चिकित्सकहरूको प्रमाणपत्र दर्ता प्रक्रिया संशोधन गर्न माग गरेका छन्।

विश्व स्वास्थ्य संगठनद्वारा आयोजित ७९ औँ विश्व स्वास्थ्य सभामा सहभागी हुन जेनेभा भ्रमणमा रहेकी स्वास्थ्य तथा जनसंख्या मन्त्री नीशा मेहतासमक्ष बुधबार सोसाइटी अफ नेपलिज हेल्थकेयर प्रोफेशनल्स इन युरोपले एक ज्ञापनपत्र बुझाउँदै उक्त माग गरेको हो।

सोसाइटीका अध्यक्ष डा. बिनयकुमार श्रेष्ठद्वारा हस्ताक्षरित उक्त ज्ञापनपत्रमा विदेशमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरूको चासोका विभिन्न नीतिगत तथा नियामक विषयहरू उठान गरिएको छ। साथै, नेपालमा स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि लगानी वृद्धि, संस्थागत सुधार तथा विश्वव्यापी पेशागत संलग्नताको आवश्यकता औंल्याइएको छ।

ज्ञापनपत्रमा नेपालमा वैधानिक रूपमा स्थायी दर्ता भई पछि विदेशी नागरिकता प्राप्त गरेका एनआरएन चिकित्सकहरूको दर्ता निरन्तर कायम रहने व्यवस्था गर्न नेपाल सरकार तथा नेपाल मेडिकल परिषदसँग माग गरिएको छ।

यसैगरी, योग्य नयाँ एनआरएन आवेदकहरूका लागि वार्षिक नवीकरणको अनिवार्यता हटाई दीर्घकालीन दर्ता प्रणाली लागू गर्नुपर्ने तथा विदेशमा कार्यरत उच्च दक्षता प्राप्त नेपाली चिकित्सक तथा विशेषज्ञहरूलाई नेपालको स्वास्थ्य क्षेत्रमा अझ प्रभावकारी योगदान दिन प्रोत्साहित गर्नुपर्ने उल्लेख गरिएको छ।

नेपालको स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन वृद्धि गर्नुपर्नेमा पनि विशेष जोड दिँदै हाल स्वास्थ्य क्षेत्रमा कुल राष्ट्रिय बजेटको करिब चार प्रतिशत मात्र विनियोजन भइरहेको र बढ्दो जनसंख्या, स्वास्थ्य सेवाको माग तथा प्राथमिकताका तुलनामा यो अपर्याप्त रहेको ज्ञापनपत्रमा उल्लेख छ।

यसका साथै, विदेशमा रहेका नेपाली स्वास्थ्यकर्मीहरूलाई नेपालको स्वास्थ्य क्षेत्र विकासमा संस्थागत रूपमा सहभागी गराउने संयन्त्र विकास गर्नुपर्ने, स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, रोकथाममुखी स्वास्थ्य सेवाको विस्तार, नर्सिङ पेशाको सुदृढीकरण तथा समग्र डिजिटल स्वास्थ्य प्रणालीको विकास र कार्यान्वयनलाई तीव्रता दिनुपर्ने माग समेत गरिएको छ।

प्रकाशित: ७ जेष्ठ २०८३ ०९:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App