१० मंसिर २०८३ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेसमा गुटगत हिसाबकिताबभन्दा पार्टीको भविष्यबारे बहस गरौँ : गुरुराज घिमिरे

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीभित्र व्यक्तिगत प्रतिष्ठा र गुटगत स्वार्थभन्दा माथि उठेर पार्टीको भविष्य र रूपान्तरणबारे गम्भीर बहस गर्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत घिमिरेले यस्तो बताएका हुन्। उनले कांग्रेस इतिहासको महत्वपूर्ण मोडमा रहेको उल्लेख गरेका छन्। यो समय एकअर्कालाई आरोप–प्रत्यारोप गर्ने नभई पार्टीले अवलम्बन गर्ने बाटो र भविष्यको दिशाबारे छलफल गर्ने समय भएको उनको भनाइ छ।

'नेपाली कांग्रेस इतिहासको महत्वपूर्ण मोडमा उभिएको छ। यो समय एकअर्कालाई आरोप–प्रत्यारोप गर्ने, व्यक्तिगत प्रतिष्ठाको लडाइँ लड्ने वा गुटगत हिसाबकिताबमा अल्झिने होइन, पार्टीले अवलम्बन गर्ने बाटो र भविष्यको दिशाबारे गम्भीर बहस गर्ने समय हो,' उनले भनेका छन्।

उनले पुस्तान्तरण, नेतृत्व परिवर्तन र पार्टी रूपान्तरणका आवाजलाई पूर्वाग्रहका आधारमा नभई तिनको औचित्य र आवश्यकताका आधारमा बुझ्नुपर्ने बताएका छन्।

'हामी सबैले आ–आफ्ना कमजोरीको आत्मसमीक्षा गरौँ, गल्ती स्वीकार गरौँ र संवादमार्फत विश्वासको वातावरण निर्माण गरौँ,' उनले भनेका छन्।

विचार र विमतिका कारण आपसी सम्बन्ध तथा संगठनात्मक एकता कमजोर हुन नहुने उनको धारणा छ। परिवर्तनको चाहनालाई अस्वीकार गर्नुको सट्टा विधि, विधान र लोकतान्त्रिक प्रक्रियाभित्र सम्बोधन गरेर पार्टीलाई नयाँ दिशा दिन सकिने उनले बताएका छन्।

घिमिरेले पार्टीको भविष्य र देशको लोकतान्त्रिक यात्रालाई केन्द्रमा राखेर व्यक्तिगत आग्रह र पूर्वाग्रहभन्दा माथि उठ्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।

उनले लेखेका छन्, 'आउनुहोस्, व्यक्तिगत आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर नयाँ सोच, नयाँ ऊर्जा र रूपान्तरणको संकल्पसहित अघि बढौँ। संस्थागत सर्वोपरिता र विधिको निष्ठापूर्ण अभ्यास हाम्रो दायित्य, कर्म र धर्म हो।'

प्रकाशित: १० मंसिर २०८३ ०८:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App