बलिउड अभिनेता परेश रावलले हालै आफ्नो घुँडाको गम्भीर चोट निको पार्न आफ्नै पिसाब पिएको खुलासा गरेपछि यो अहिले चर्चाको विषय बनेको छ। यसबिच अभिनेत्री अनु अग्रवालले रावलको भनाइमाथि समर्थन जनाउँदै यसलाई प्राचीन योग अभ्यास भएको दाबी गरेकी छिन्।
इन्स्ट्यान्ट बलिउडसँगको कुराकानीमा अनु अग्रवालले भनिन्, ‘धेरैलाई थाहा छैन, चाहे अज्ञानता होस् वा चेतनाको कमी, पिसाब पिउनुलाई (आमरोली) भनिन्छ। यो हठयोगको विधि हो। मैले यो अभ्यास गरेकी छु। यो गर्नैपर्ने अभ्यास मानिन्छ। तर पिसाबको सम्पूर्ण धारा पिइँदैन।’
उनले थपिन्, ‘यसको केही भाग मात्र पिउनुपर्छ। पिसाब बिचको भाग, जसलाई अमृत मानिन्छ। यसले बुढ्यौलीको प्रभाव कम गर्छ र छालालाई चाउरीपनाबाट बचाउँछ। यो स्वास्थ्यका लागि मात्र नभई शरीर र दिमागका लागि पनि फाइदाजनक छ। मैले यसको फाइदा अनुभव गरेको छु।’ विज्ञानले यस्ता कुरामा विश्वास गर्दैन् भन्ने प्रश्नमा उनले भनिन्, ‘विज्ञान २ सय वर्ष पुरानो हाे। योग १० हजार वर्षभन्दा पुरानो छ। तपाईं कसलाई विश्वास गर्नुहुन्छ? म योगमा विश्वास गर्छु र यसलाई अपनाउँछु।’
परेश रावलले युट्यब च्यानल ‘द लल्लनटप’ सँग अन्तर्वार्तामा दिएको बयान विवादमा छ। उनले फिल्म ‘घातक’ मा राकेश पाण्डेसँग एक दृश्य छायांकन गर्दा घाइते हुँदाको क्षण स्मरण गरेका थिए। घाइते भएपछि उनलाई सहकलाकार ड्यानी डेन्जोङ्पा र टिनु आनन्दले नानावती अस्पताल लगेका थिए।
त्यसपछि निर्देशक वीरू देवगनले हरेक बिहानको पहिलो पिसाब पिउन सल्लाह दिए। वीरूलाई उदृधत गर्दै अभिनेता रावलले भने, ‘सबै लडाकुले यस्तै गर्छन्। तिमीलाई कहिल्यै समस्या हुने छैन।’ त्यसपछि आफूले १५ दिनसम्म पिसाब पिएर घुँडाको चोट निको भएको दाबी उनको थियो। उनको यो बयानलाई लिएर सामाजिक सञ्जालमा विवाद पनि भइरहेको छ। धेरैले यसलाई रावलले देखाएको मूर्खता भनिरहेका छन्।
अनु अग्रवालले पिसाब पिउने अभ्यासलाई ‘आमरोली’ भन्दै हठयोगको विधि भएको दाबी गरिन्। हठयोग प्रदीपिका (१४औँ–१५औँ शताब्दीको ग्रन्थ) मा आमरोलीको उल्लेख छ, जसलाई तान्त्रिक र योग अभ्याससँग जोडिएकाे छ। यसमा मध्य धाराको पिसाब (बिचको भाग) पिउने र यसलाई ‘अमृत’ मान्ने कुरा उल्लेख छ। यो अभ्यासले शारीरिक र आध्यात्मिक शुद्धिकरण गर्ने विश्वास गरिन्छ। तर, यो अभ्यास वैदिक वा मुख्यधाराकाे योगमा चर्चित छैन। सीमित तान्त्रिक सम्प्रदायमा मात्र प्रचलित पाइन्छ।
अनुले छाला र बुढ्यौलीपनमा फाइदा पुग्ने र परेशले घुँडाको चोट निको भएको दाबी गरे पनि वैज्ञानिक रूपमा पिसाब पिउने (युरिन थेरापी) को कुनै ठोस प्रमाण छैन। पिसाबमा ९५ प्रतिशत पानी, युरिया, क्रिएटिनिन र अन्य मेटाबोलिक फोहोर तत्व पाइन्छ। केही अध्ययनले पिसाबमा स्टेराइल गुण हुने र छालाको सतही उपचारमा प्रयोग हुने बताउँछन्। तर पिउनाले चोट निको हुने वा बुढ्यौली कम हुने कुरालाई कुनै विश्वसनीय अनुसन्धानले पुष्टि गरेको छैन्। पिसाबमा ब्याक्टेरिया वा विषाक्त पदार्थ हुने भन्दै विभिन्न मेडिकल जर्नलहरूमा यस्ता दाबीलाई ‘अवैज्ञानिक’ र ‘जोखिमपूर्ण’ भनिएको छ।
अभिनेता रावलले १५ दिन पिसाब पिएर घुँडाको चोट निको भएको दाबी गरे। यो उनको नितान्त व्यक्तिगत अनुभव हो। यहाँ पिसाबको असर भन्दा पनि प्राकृतिक रिकभरीको परिणाम हुन सक्छ। अनु अग्रवाल र परेश रावलको दाबी परम्परागत योग र व्यक्तिगत अनुभवमा आधारित छ।
आमरोली हठयोगको एक अभ्यास हो। तर यसको स्वास्थ्य लाभ वैज्ञानिक रूपमा पुष्टि भएको छैन। पिसाब पिउनाले छाला, बुढ्यौली वा चोटमा फाइदा पुग्ने दाबीलाई कुनै ठोस अनुसन्धानले प्रमाणित गर्दैन। विज्ञका अनुसार विशेषगरी पिसाबमा संक्रमण वा विषाक्त पदार्थ हुने भएको हुँदा यस्ता अभ्यास जोखिमपूर्ण हुन सक्छन्। त्यसैले यस्तो मूर्खता नगर्न सुझाएका छन्। एजेन्सीको सहयोगमा
प्रकाशित: २० वैशाख २०८२ ०८:११ शनिबार





