साहित्यकार भवानीप्रसाद पोखरेलको बालकवितासङ्ग्रह ‘प्रयुसी’ को लोकार्पण भएको छ। विराटनगर –९, मोरङमा रहेको राष्ट्रसेवक बचत तथा ऋण सहकारीको सभा हलमा आयोजित कार्यक्रममा साहित्यकार पोखरेलको कवितासङ्ग्रहको लोकार्पण गरिएको हो।
समीक्षकद्वय हरि कट्टेल र रामबाबु दाहालले लोकार्पित कृतिकाे समीक्षात्मक टिप्पणी गरेका थिए।
वरिष्ठ साहित्यकार बलराम पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्राज्ञ खेम नेपाली, लेखक तथा अनुसन्धाता केशु विरही, उपभोक्ता जागरण मञ्चका अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ लगायतका विशिष्ट लेखक तथा स्रष्टाहरूको शुभकामना मन्तव्य रहेको थियो।
कार्यक्रममा कविता केशरी, बाबुराम पोखरेल, सुजता राई, भूपाल अधिकारी, कुमार श्रेष्ठ, रोहिणी रसिक, शुभलक्ष्मी लम्साल, जमुना पौडेल, पुष्पा सायरा, प्रिन्स प्रमोद ढकाल, नवराज पोखरेल ‘नवशिला’, नानुमैया दाहाल लगायतका तीन दर्जन जति लेखक तथा स्रष्टाले रचना वाचन गरेका थिए।
राष्ट्रसेवक बचत तथा ऋण सहकारीका अध्यक्ष एवम् वरिष्ठ साहित्यकार मधु पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने साहित्यकार गोपाल निर्भीकको रहेको थियो।
२०१५ साल चैत १० गते साबिकको खार्पा, खोटाङ (हालको रावाबेँसी गाउँपालिका) मा जन्म भई पछिल्लो समय विराटनगर- १०, ब्रह्मकुमारी मार्ग, मोरङमा स्थायी बसोबास रहेका पोखरेलका यसअघि नै दोषी को? (कथासङ्ग्रह, २०५४), लोडसेडिङ (कवितासङ्ग्रह, २०७३), स्वर्गद्वारी (कवितासङ्ग्रह, २०७५), सपना (कवितासङ्ग्रह, २०७६), होमियोप्याथिक (एक झलक, २०७०), हिमाल (कवितासङ्ग्रह, २०७८), साहित्यका फूलहरू (समीक्षासङ्ग्रह, २०७९), भवानी पोखरेलका कथा र अनुभूति (२०८१) गरी विभिन्न विधाका ९ साहित्यिक कृति प्रकाशित छन्।
२०६६ सालमा नेपाल सरकारको निजामति सेवाबाट स्वेच्छिक अवकाश लिएर साहित्य लेखनमा रमाउँदै आएका स्रष्टा पोखरेलले पछिल्लो समय आफूलाई मूलतः समीक्षकका रूपमा प्रस्तुत गर्दै छन्। दर्जनौँ समीक्षा प्रकाशित गरिसकेका पोखरेलको ‘प्रयुसी’ दशौँ कृति हो।
प्रकाशित: १४ वैशाख २०८२ १२:१७ आइतबार





