पर्सा प्रहरीले ठुलो परिमाणमा लागूऔषध चरेस बरामद गरेको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले २२ केजी चरेसजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बिहीबार बिहान विन्दवासिनी गाउँपालिका–२ गर्दौल चोकनजिक पोखरिया–वीरगञ्ज सडक खण्डमा दुई जनालाई शंका लागेर चेकजाँच गर्दा यो सफलता प्राप्त भएको हो। प्रहरीले कालो झोला बोकेर हिँडिरहेको अवस्थामा उनीहरूलाई रोकेर जाँच गरेको थियो।
इलाका प्रहरी कार्यालय पोखरिया र अस्थायी प्रहरी पोष्ट बहुअरभट्टाबाट खटिएको संयुक्त टोलीले जाँच गर्दा झोलाभित्र राखिएका १० लिटरका पानीका ग्यालनमा माथि घिउ राखेर तल चरेस लुकाएर राखिएको पाइएको थियो।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१५ मुर्ली बस्ने २० वर्षीय रैयस अली र पोखरिया नगरपालिका–८ जगतपुर बस्ने ५५ वर्षीय मुनिलाल पटेल रहेका छन्। रैयसको ग्यालनबाट १० केजी ६०० ग्राम तथा मुनिलालकोबाट ११ केजी ४०० ग्राम चरेस बरामद भएको प्रहरीले जानकारी दिएको छ।
साथै, रैयससँग नेपाली रुपैयाँ १५ सय ५० र मुनिलालसँग २९ सय रुपैयाँ तथा सुनिलान कम्पनीको किप्याड मोबाइल एक थान पनि बरामद भएको प्रहरीले बताएको छ।
पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।
प्रकाशित: २४ पुस २०८२ ११:५५ बिहीबार





