म खुबै चाख लिएर सुनिरहेको थिएँ, गजलकार प्रदीप रोदनको गजल–वाचन।
‘अरू कुनै बहाना पाएन छिमेकीले झगडा गर्ने मैले कुखुरा छोडेको थाहा पाएर बिस्कुन सुकाएको छ...’
यी पंक्तिको समाप्तिसँगै राधिकाले बडो गहन प्रश्न गरिन्– ‘यो लेखक भन्ने कस्ता जातका हुन् ?’ प्रश्नले गजल–वाचनप्रतिको मेरो मुग्ध एकाग्रता अचानक खलबलियो, ‘कस्तो प्रश्न हो यो ? के अर्थमा सोधेकी ?’
‘हैन, सकारात्मकता भन्ने सोच नै आउँदैन तपाईंहरू मनमा ?’ प्रतिप्रश्न गरिन् उनले।
‘कुन सन्दर्भमा ?’
झट्टै भनिहालिन् उनले - ‘तपाईंले जुन गजल सुनिराख्नुभएको छ, म पनि काम गर्दै सुनिरहेकी छु।’
‘के छ र यसमा त्यस्तो नकारात्मकता?’
‘छिमेकीप्रति वितृष्णा पोखिएको छ यसमा,’ उनले गहन विश्लेषण गरिन्– ‘छिमेकी भनेको परम दुस्मन हुन्छ भन्ने तथ्यको नकारात्मक पुष्टि गर्न खोजिएको छ।’
गजल सुनेर मनोरञ्जन लिइरहेको म, बडो नराम्रोसँग रन्थनियो मेरो मस्तिष्क। मनमनै थपडी बजाइरहेको मेरो मन जिल्ल पर्यो। ओहो ! जसलाई मैले मिठो गजल भनिरहेको थिएँ, त्यसलाई यस्तो तरिकाले पनि बुझ्न सकिँदो रहेछ।
जिल खाइरहेको मलाई उनले अर्को वाक्य प्रहार गरिन्– ‘के बिस्कुन सुकाएकै देखेर छिमेकीले कुखुरा छोड्छ ? जसले बिस्कुन सुकाएको छ, उसले पनि त छिमेकीले कुखुरा छोड्ने समय पारेर निहुँ खोज्नका लागि बिस्कुन सुकाएको हुन सक्छ नि ! सक्दैन र?’
प्रश्नबाट सम्पूर्ण गजलकारतर्फसँगै मेरो लेखकीय धर्मसमेत डगमगाएको महसुस भयो। उनले अझै थपिन्– ‘बिस्कुन सुकाउनेको मन सफा थियो भने छिमेकीलाई भन्न सक्नुपर्थ्याे – एई छिमेकी ! मैले बिस्कुन सुकाएको छु। कुखुराहरू नछोड्नू है, आज दिनभरलाई खोरमै थुनेर राख्नू !’
समाजमा भट्किँदै गएको विसङ्गति÷विकृतिहरूको पक्षपोषण गर्ने काममा लेखकले अझै मद्दत पुर्याइरहेको छ भन्ने सम्भवतः उनको दोषारोपण थियो यो, त्यसकै अभिव्यक्ति थियो यो आक्रोश। यतिबेला, राधिकाको प्रश्नका कारण मभित्र थुप्रै पूरक प्रश्नहरू उब्जिएका छन्– लेख्नुको नाममा के लेखकहरूले समाजमा व्याप्त कुरीतिहरूको मात्रै बखान गाउने हो र ? हो, लेखक–कविहरू पक्कै संवेदनशील हुन्छन्। तर, संवेदनशील हुनुको अर्थमा दुःख–पीडा, आँसुलगायतका नराम्रा देखिने विषयको मात्रै गीत गाउने ठेक्का लिएर बसेका हुन्?
राधिका भन्छिन्– ‘समाजमा सकारात्मक विषय पनि छन्, तीप्रति तपाईंहरूका कलम किन मौनप्रायः देखिन्छन् ?’ यो प्रश्नको सहज जवाफ फर्काएँ– ‘आजको समाज दोस्रोमाथि व्यङ्ग्य गर्न रुचाउँछ, अरूको आँसुमा पौडी खेल्न रमाउँछ। यसलाई लेखकले जेजसरी देख्छ, त्यसैलाई जस्ताको तस्तै वर्णन गर्छ। बरु यो महत्त्वपूर्ण कुरा हो, यसलाई लेखकले आफ्नो कर्तव्य निभाएको सम्झनुपर्छ।’
उनले फेरि प्रश्न दोहोर्याइन्– ‘यसको मतलब समाजबाट मान्छेको हाँसो–मुस्कान हराइसकेको हो ? के समाजभित्र अब अलिकति पनि खुसी बाँकी छैन ? यस्ता कुराका वर्णन गर्नबाट चाहिँ लेखक–कवि किन विमुख ?’
प्रश्न जति सजिलै सोधियो, जवाफ फर्काउन मलाई उति कठिन थियो, तैपनि शिथिल जवाफ दिएँ– ‘तर, मान्छेलाई जति–जे कुराले छुन्छ, त्यो सबै दुःखकै कुरा हुन्छ। कवि–लेखकले यसैलाई बढी नोटिस गर्छ।’
हुन पनि खुसीका कुराहरूले मान्छेलाई उतिसाह्रो छुँदैन कि कुन्नि ! मैले मान्छेहरू खुलेर खुसीसाथ हिँडेको रमाएको देखेको छैन। बालकहरूको अनभिज्ञताको कुरो अर्कै हो। कसैले किनेर चकलेट दिए पनि खुसी हुन्छन् तिनीहरू, अर्को बच्चासँग खोसेर दिए पनि खुसी हुन्छन्, तिनलाई केवल चकलेटको गुलियोसँग सरोकार हुन्छ। तर, केही बुझ्ने भइसकेको उमेरमा पुगिसकेपछि कसैमा पनि खुसीको भाव प्रायः देखिन्न नै।
‘जति देखिन्छ, त्यति त लेख्न सक्छन् होला नि कविहरूले ! कि त मान्छेको दुःख–पीडा, समाजमा व्याप्त विसङ्गति, अपराधीकरणहरूको तस्बिर लेखेर देखाउने मात्रै लाइसेन्स उनीहरूले लिएका छन् ?’ राधिकाको आक्रोश अझै थामिएको थिएन।
सोचमग्न भएँ म, के अरूको संवेदनशीलतामा रमाउने विशेषता बोकेको हुन्छ लेखक–कविहरूको चरित्रले ? वास्तवमै साहित्यले यही तथ्यको नै त पुष्टि गर्छ। बुझ्दै जाने हो भने लेखकहरूले पाठकको मनोविज्ञानलाई निकै गहिरोसँग बुझेको महसुस हुन्छ। लेखकलाई थाहा छ– पाठकको माग के हो? पाठकले के चाहिरहेका छन्? के रुचाउँछन् उनीहरू?
तर, लेखकप्रति खतरनाक प्रश्न उभिएको छ– ‘पाठकले माग्यो भन्दैमा के लेखकहरूले घाँस काटेर खान दिने ?’
लेखकको धर्म त पक्कै त्यो होइन होला। लेखकले त भात नै पस्केर दिनुपर्ला नि ! लेखकजस्तो चेतनशील प्राणीले नबुझेको होलान् र– भोक मेटाइदिने बहानामा आफ्नो कर्तव्यबाट च्यूत भएर कुकर्म गर्नुहुन्न भन्ने कुरा। तर पनि, आजको लेखन सम्पूर्ण नराम्रा र नमिठा लाग्ने खालका भएर पनि फेरि त्यही प्रवृत्तिका छन्, जसलाई ताली पिटिपिटीकन पाठकहरूले पढिरहेका छन्, सुनिरहेका छन्, सुनाइरहेका छन्। यहाँ एउटा प्रसङ्ग जोड्न चाहन्छु म। करिब अढाई दशकअघि, ‘घुयेँत्रो’ नामक साहित्यिक पत्रिका प्रकाशित गरेर बिक्रीका लागि दिने क्रममा केही प्रति पत्रिका लिएर म एउटा पत्रिका पसलमा पुगेँ। बिल्कुल नयाँ नामको पत्रिका पहिलो पटक देखेर पत्रिका पसलेले एक प्रति हातमा लिए र चम्किला आँखाले पत्रिकाको आवरण नियाले। वास्तवमै आवरण निकै आकर्षक थियो– पहेँलो रङमा बुद्धको शान्त आकृति थियो त्यहाँ। त्यसपछि निकै रुचाएजस्तो गरेर त्यसका प्रायः सबै पृष्ठहरू पल्टाएर हेरिसकेपश्चात् उनले पत्रिकाको आवरणलाई फेरि निकै घोरिएर हेरे र मलाई फिर्ता गर्दै भने– ‘पत्रिका निकै आकर्षक छाप्नुभएको रहेछ। एकदम राम्रा र ठुला साहित्यकारहरूको रचना रहेछ तर...।’
‘के तर... ?’ मैले पसलेलाई आँखैले सोधेँ।
उनले बडो सहजतापूर्वक भने– ‘कभर पनि यति राम्रो छ। तर, यस्तो कभर पाठकहरूले रुचाउँदैनन्।’
मैले सोधेँ– ‘किन, के खराबी छ यो कभरमा ?’ उनले केही अश्लील भावमा भने– ‘कुनै युवतीको ब्लोअप राख्नुभएको भए काइदा हुन्थ्यो नि सर !’
यसको अर्थ थियो– साहित्य भनेर पत्रिका पढ्ने पाठकले पनि भित्र छापिएको साहित्यलाई नभई पत्रिकाको आवरणलाई प्राथमिकता दिँदो रहेछ।
तर, सम्पादक हुनुको नाताले माथि लेखकका तर्फबाट भनिए जस्तो– घाँस काटेर खुवाउन नैतिकताका हिसाबले कहाँ सकिन्थ्यो र। मैले त्यही बेहोराको जवाफ दिएँ उनलाई। समग्रमा, सत्य यही हो कि मानवीय प्रवृत्ति भनौं या यसलाई दुष्प्रवृत्ति भनौं, आफ्नो सुख होइन, अर्काको दुःख देखेर रमाउने प्राणी हो– मनुष्य। उसको दिमागले प्रायः नकारात्मक हुनलाई नै प्रेरित गरिरहन्छ। सायद, यसैकारण भनिएको होला– मान्छे बस्ने समाजमा असल कर्महरू हुन्थे भने मान्छेलाई ‘ईश्वर’को नाममा पुकारिहालिन्थ्यो, मान्छे रहने समाज ‘स्वर्ग’ भइहाल्थ्यो। यसको अर्थ, समाजमा सकारात्मक सोच राख्नेहरू जन्मँदै जन्मँदैनन् भन्ने कदापि होइन। तर, तुलनात्मक रूपले तिनको गन्ती अत्यन्तै न्यून छ।
अन्तमा, भन्नुपर्ने निचोड यही नै हो कि– आत्मरतिमा रमाएका हुन् वा चर्चित भनेर कहलिएका कथित लोकप्रिय लेखकहरू हुन्, कलम लिएर लेख्न बसिसकेपछि समाजको वर्णन गर्दा यो पनि ख्याल राख्न जरुरी छ– जीवन उत्सव पनि हो, यो उत्सवलाई अझ महोत्सव बनाउने कर्म गरौं।
प्रकाशित: १३ वैशाख २०८२ ०५:३० शनिबार





