नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईकाे वैचारिक गैरआख्यान ‘शब्द सायारेम’ काे लाेकार्पण भएकाे छ।
प्रज्ञाप्रतिष्ठानको प्रज्ञा डबलीमा आयोजित कार्यक्रममा भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुर, प्रसिद्ध लेखक खगेन्द्र सङ्ग्रौला, समाजशास्त्री डा.डम्बर चेम्जोङ, इतिहासविद् भोगिराज चाम्लिङ र साहित्यकार कुमारी लामाले उक्त कृतिको सामूहिक लोकार्पण गरेका थिए।
'शब्द सायारेम' उत्पीडन र दमनविरुद्ध रचिएको एक वैचारिक निबन्धसङ्ग्रह हो। कुलपति भूपाल राईले कार्यक्रमका वक्ता र उपस्थित व्यक्तिलाई विशेष आभार व्यक्त गर्दै ‘शब्द सायारेम’ कवि तथा चित्रकार अर्जुन खालिङको निधनपछि लेखिएका संस्मरणात्मक आलेखहरूको सङ्ग्रह भएको बताएका थिए।
उनले सायारेमको अर्थ ढलेको शिर उठाउनी हो। तैपनि सामाजिक, सांस्कृतिक र राजनीतिक रूपमा ढलेको स्वत्व उठाउनु अनिवार्य रहेको बताए। `शब्द सायारेम´ बाट निबन्धकारको परिचय बनाएका कुलपति राईलाई विश्लेषक खगेन्द्र सङ्ग्रौलाले ‘तानाशाहलाई प्रश्न गर्ने बहुला’ को संज्ञा दिँदै बागी विचार सिर्जना गरेर भाषिक सांस्कृतिक दमनविरुद्व सभ्यताको खोजी र नयाँ विकासको आधारस्तम्भ खडा गर्न सफल रहेको बताए।
सङ्ग्रौलाले कृतिमा कोलम्बस र पृथ्वीनारायण शाहबारे जे जस्ता प्रश्नहरू गरिएका छन्। ती सबै निर्भय र साहसिक लेखन भएको बताए।
अध्यक्ष डा. गोपाल ठाकुरले ‘तपाईंको पहाड घर कहाँ हो?’ शीर्षकको निबन्धलाई गैरमधेसीबाट मधेसी समुदायमाथि भएको दमनको यथार्थ चित्रण भएको बताए। उनले यस निबन्धलाई दृष्टिविहीनका लागि आँखा दानसँग तुलना गर्दै नेपाली भाषाको महत्त्व र भाषाका कारण नेपालभित्रै अनेपाली हुनुपर्ने अवस्था तोड्नुपर्नेमा जोड दिँदै कृति त्यस भाष्यविरुद्ध रहेको बताए।
समाजशास्त्री डा. डम्बर चेम्जोङले कृतिको साजसज्जाबारे प्रशंसा गर्दै, सामाजिक इतिहास र शब्दको महत्त्वबारे प्रकाश पारे। उनले कुलपति राईको लेखनमा पुर्खाहरूको स्मृति, जीवनको ऐतिहासिकता र वैचारिक पक्षको सबल चित्रण रहेको बताए।
बुकहिलका सञ्चालक तथा प्रकाशक भूपेन्द्र खड्काले सञ्चालन गरेकाे कार्यक्रममा इतिहासविद् भोगिराज चाम्लिङले ‘पहाड घर कहाँ हो?’ निबन्धमा नेपाली समाजको सिङ्गो चित्रण भएको बताए। उनले कुलपति राईको स्वभाव र निबन्धलेखन शैलीलाई किरातीहरूको साकेला नाचसँग तुलना गर्दै उत्कृष्ट कृति भएको बताए।
साहित्यकार कुमारी लामाले कुलपति राईका कविताले इतिहास खोज्न प्रेरित गरे जस्तै ‘शब्द सायारेम’ विचार र भावनाको जब्बर निबन्धसङ्ग्रह भएको बताइन्। उनले यसमा रैथाने ज्ञान प्रणाली, पर्यावरण र जीवन पद्धतिसँग कृति एकाकार रहेको बताइन्।
प्रकाशित: ७ वैशाख २०८२ १२:०९ आइतबार





