१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

न घरको न त घाटको बनाएर छोड्ने निष्ठुरीलाई, अन्तिम पटक भेटी धन्यवाद दिन मन छ मलाई!

मुक्तक

१) मुक्तक

दिनरात आँसु पिएर बाँच्न गाह्रो रहेछ,

भित्रभित्र सकिएर बाँच्न गाह्रो रहेछ।

एक्लै हिंड्दा पनि गिद्धे नजर लाउने,

छोरी भई जन्मिएर बाँच्न गाह्रो रहेछ।

२) मुक्तक

पर्छ मनमा ठुलै असर भन्न नसकेर,

अब मेरै मात्र पर्नुस् भर भन्न नसकेर।

भित्रभित्र छटपटिएर बाँची राछु अचेल,

बाहिर कतै छ कि नजर भन्न नसकेर।

३) मुक्तक

हुँदा पनि यो दिलभित्र हानी चलाउन खोज्दै छाै,

यत्तिसम्म भयाै तिमी बैमानी चलाउन खोज्दै छाै।

मनमा राज गर्ने अधिकारले नपुगेर तिमीलाई अझै,

तिम्रो ईशारामा मेरो जिन्दगानी चलाउन खोज्दै छाै।

४) मुक्तक

सानोतिनो समस्या हल गर्न सक्दैनाै भने,

मान्छेसँग व्यवहार असल गर्न सक्दैनौं भने।

फेरि अर्कालाई रोजी के नै प‍ो गर्छाै तिमी,

पहिलो सम्बन्ध नै सफल गर्न सक्दैनौं भने।

५) मुक्तक

लड्न खोज्दा दाहिने हात दिन मन छ मलाई,

दुःखका पाइलाहरूमा साथ दिन मन छ मलाई।

न घरको न त घाटको बनाएर छोड्ने निष्ठुरीलाई,

अन्तिम पटक भेटी धन्यवाद दिन मन छ मलाई।

६) मुक्तक

गन्तव्यविहीन यात्रामा हात समाएको हिजो जस्तो लाग्छ,

सँगै जिउँने वाचा खाएको हिजो जस्तो लाग्छ।

छोडेर गएको पनि वर्षाै भइसकेछ तिमीले,

मलाई त जिन्दगीमा आएको हिजो जस्तो लाग्छ।

७) मुक्तक

छैन जिन्दगीमा कसैको भर सुन्न नपरोस्,

आफ्नै कारण पुग्यो असर सुन्न नपरोस्।

पाएको खुसीलाई लताएर गको मान्छेको,

बेहालमा छ जीवन भन्ने खबर सुन्न नपरोस्।

८) मुक्तक

नगरोस् उस्ले तिमीलाई घात अरू के भनाै,

छुट्यो भन्ने सुन्न नपरोस् हात अरू के भनाै।

मैले सताउँदा पनि खुबै रिसाउने गर्थ्याे,

कहिले नपर‍ोस् सम्बन्ध विवाद अरू के भनाै।

प्रकाशित: ५ वैशाख २०८२ ११:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App