९ पुस २०८२ बुधबार
image/svg+xml
कला/संस्कृति

अन्धता

लघुकथा

१) जन्म दिन

“हेल्लो प्रकाशजी जन्मदिनको शुभकामना है।” एकजना मित्रले फोन मार्फत शुभकामना व्यक्त गरे।

मैले प्रत्युत्तरमा भनें, “धन्यवाद।”

यो ५९ औँ जन्म दिन हो मेरो। फागुन ३ गते सामान्य दिन जस्तै बितेर गयो। जन्म दिनको कुनै कार्यक्रम गरिएन। साथीभाइले फेसबुक वालमा ‘हेप्पी बर्थडे’ लेख्न भ्याइहाले। मैले धन्यवाद फर्काएर औपचारिकता पूरा गरें।

जन्म निरन्तर प्रक्रिया हो। जन्मोत्सवमा अनावश्यक तामझाम गर्नुको के औचित्य छ र? साथीभाइहरू मलाई उकास्ने कोसिस गर्छन्।

“ओई जन्म दिनमा के गर्छस्?” म सुनेको नसुन्यै गर्छु।

“यो सामान्य प्रक्रिया हो। यसमा के गर्न पर्छ र?” म ठट्टा गरेर टारिदिन्छु।

जन्म दिनमा केक काट्ने र महँगाे उपहार लेनदेन गर्ने कामले हाम्रो सामाजिक मौलिकतालाई चुनौती दिइरहेको छ। आफूलाई प्रगतिशील हुँ भन्नेहरू पनि यो दलदलमा फसिरहेको देख्छु। सिद्धान्त र व्यवहार नमिलेको हो कि? आधुनिकताको नाममा हामी कति उदार हुने? कुन संस्कृति कसरी ग्रहण गर्ने? हाम्रो चिन्तनमा आएको अपचलनप्रतिको दोषी हुने?

अहिले जन्म दिन मान्छेले बुझ्नै छोडिसक्यो? मान्छे ‘बर्थडे’ मात्र थाहा पाउन थाल्यो। बच्चाहरू झगडा गर्छन्। बर्थडे कहिले हो? बर्थडे कसरी मनाउने? कत्रो केक काट्ने? ककस्लाई बोलाउने? कत्रो भोज गर्ने? गरगहना केके लाउने? लुगा कस्तो लाउने?

बच्चाहरूलाई राम्रो संस्कार दिन सकिएन भने जन्मोत्सव मनाउनुको पनि के अर्थ हुन्छ र? जन्मोत्सव नमनाएको भोलिपल्ट प्याट्टै कोही मर्दैन होला। यदि मरिहाले अनर्थ मान्नुपर्ने छैन। किनकि मर्नु नियमित प्रक्रिया हो। जन्मोत्सव मनाए पनि नमनाए पनि मान्छे मर्छ नै। सक्छौं जन्मोत्सव मनाउने झन्झटै नगरौ। सकिंदैन यसलाई गरिबमुखी, सेवामुखी र वातावरणमुखी बनाउने कोसिस गरौ।

जन्म दिनको दिन गरिब असहायलाई  खानलाउन दिउ। विद्यलायमा छात्रवृत्ति वितरण गरौ। बोटविरुवा रोपौ। जेष्ठ नागरिकलाई सम्मान गरौं। कथा र कविता लेखौ। जन्म दिनकाे गतिविधिले दीर्घकालीन असर छोड्नु नै राम्रो हुन्छ। आफूमा आत्मबल बढ्न सक्यो भने मात्र जन्म दिनको सार्थकताले पूर्णता प्राप्त गर्ने छ। नत्र त हात्ती आयो फुस्सा।

२) व्यापकता

“राकेश तिम्रो के धारण बन्यो त? तिमी क्रान्तिकारी बन्न सक्छौ? रञ्जिताले राकेशलाई प्रश्न गरी?” म सकारात्मक छु। क्रान्तिविना परिवर्तन सम्भव छैन। म परिवर्तन चाहन्छु।” राकेशले रञ्जितालाई जवाफ फर्कायो।

रञ्जिता युवा संघकी सचिव हो। उसको घर सोलु भए पनि कार्य क्षेत्र धादिङ हो। ऊ युवालाई संगठित गर्दै संगठन विस्तार गरिरहेकी छे। राकेश प्रगतिशील विचार राख्ने केटो हो। ऊ कुनै पनि सङ्गठनमा आवद्ध छैन। संगठन निमार्णकै क्रममा रञ्जिताले राकेशलाई भेटेकी हो। राकेश एमविए गर्दै छ। रञ्जिता पनि एमविए नै गर्दै छे। दुवैको पढाइ र विचारले मेल खाएको छ। रञ्जिताका बाबु जयकृष्ण किसान सङ्गठनका पुराना नेता हुन्। उनको घरमा पार्टी नेता आएर पार्टीका बैठकहरू गर्छन्। उनको घर पार्टी बैठकका लागि सुरक्षित मानिन्छ। सानैबाट पार्टी गतिविधि नियालिरहेकी रञ्जिता नेताहरुको व्यवहारबाट प्रभावित थिई।

विद्यार्थी कालमा ऊ अनेरास्ववियुको गतिविधिमा संलग्न थिई। उसको राजनैतिक जीवनको सुरुवात अनेरास्ववियुबाटै भएको हो। कलेज पढ्दा ऊ स्ववियु उपसभापति समेत बनी। पार्टीले अहिले उसलाई युवा संघको जिम्मेवारी दिएको छ। पढाइलाई निरन्तरता दिंदै ऊ युवा संघमा क्रियाशील छे। रञ्जिताको परिवार जस्तो राकेशको परिवार प्रगतिशील छैन। राकेशका बुबा पुराना पञ्च नेता हुन्। बाबु र छोराको विचार नै मिल्दैन। संसार परिवर्तनशील छ भन्ने कुराको हेक्का नराख्ने राकेशका बाबु गजनारायण पुरातन कुरामै अल्झिरहेका छन्।

राकेश पढे लेखेको छ। पुरातनवादी चिन्तनले विकाश र प्रगति सम्भव छैन भन्ने कुरामा ऊ प्रस्ट छ। घरायसी वातावरणअनुकूल नहुँदा नहुँदै पनि राकेश प्रगतिशील विचार राख्छ। क्रान्तिबाटै उत्पीडित वर्गको मुक्ति हुने रहेछ भन्ने कुराले उसलाई प्रगतिशील विचार राख्ने बनाएको हो। कलेजमा ऊ अनेरास्यवियुको समर्थक रहयो। उसले अहिलेसम्म कुनै पनि जिम्मेवारीको पद ग्रहण गरेको छैन।

राकेशलाई पदीय जिम्मेवारी दिएर क्रियाशील बनाउने कुरामा रञ्जिता सकारात्मक छे। उनीहरू बिच बाक्लै छलफल भैरहेको छ। राकेश जस्तो इमानदार युवालाई युवा संघको जिम्मेवारी दिंदा युवा संघको विस्तारमा व्यापकता आउने कुरामा रञ्जिता ढुक्क छे।

यी दुईका विच नजानिदो ढङ्गले आकर्षण पनि बढिरहेको छ।

३) अन्धता

“सञ्जिता, पूजाको धन्दा गरिस्, नैवेद्य के हो? ठिक पारिस्।” हजुरबाले सधैं सञ्जितालाई साेध्ने गर्नुहुन्छ।

“चन्दन, अक्षता फूल नैवेध सब ठिकठाक पारिसकें। अब पूजा गर्न आए हुन्छ। हजुरबा।” सञ्जिता झर्को नमानी जवाफ फर्काउँछे।

हजुरबा कट्टर धार्मिक हुनुहुन्छ। धर्मले दुःख, रोग र व्याध हरण गर्छ। यो संसार भगवानको लीला हो। कहिले जन्मने, कहिले मर्ने आदि कुरा भगवानले नै लेखिदिए अनुसार हुन्छ भन्ने हजुरबाको मान्यता छ।

सञ्जिता कुरा बुझेरै पनि पूजाको धन्दा गर्न लाचार छे। ऊ हजुरबासँग विद्रोह गर्न सकिरहेकी छैन। पुरातन विचारबाट माथि उठ्न नसकेको उसको परिवारमा आमाबुबा पनि प्रगतिशील छैनन्। भाइ सानै छ। दिदीको विहा भैसक्यो। सञ्जिता ११ मा पढ्दै छ। ऊ विज्ञानकी विद्यार्थी हो।

सञ्जिताले अणु परमाणु एककोषीय जीव र अन्य जीव, पृथ्वीको उत्पत्ति र जीवको उत्पत्तिको वास्तविक कथा पढी सकी। विज्ञान पढ्दा उसले कही पनि धर्मको कुरा भेटिनँ। देवीदेवताको कुरा भेटिनँ। पापपुण्य, स्वर्गनर्क र जन्म र पुनर्जन्मको समेत कुरा भेटिनँ।

धर्मको अन्धभक्ततामा मानिसहरू किन फसिरहेका हुन्? के धर्मले शान्ति दिएको छ त? के साँच्चै धर्मले मोक्ष प्राप्ति गराउँछ त? भूतप्रेत छ त? देवीदेवता साँच्चै छन् त? यावत प्रश्न सञ्जिताका मनमा उद्वेलित हुन्छन्। किन उसले पढेका कुनै पुस्तकमा यी कुराको जवाफ भेटिन उसले?

सञ्जिता ठान्छे धर्म अन्धता हो। धर्मले मान्छेलाई अन्धो बनाउँछ। मानिसहरू विवेक गुमाएर धर्मको नाममा युद्ध गरिरहेछन्। पाप र पुण्यको नाममा अन्याय गरिरहेछन्।

भगवानले सबै ठिकठाक गर्ने भए सञ्जिताका हजुरबालाई रोगै नलाग्नुपर्ने। किन रोगले ग्रस्त हुनुहुन्छ? औषधि नखाई धरै छैन। उहाँ जस्तो ध्यानी मानिसलाई भगवानले किन दुख दिएको? साँच्चै भगवान् छन् भने आफ्ना भक्तलाई विभिन्न रोग बोकाएर भगवान् किन निदाइरहेको? आफ्ना भक्तको मृत्यु किन रोक्न नसकेको?

सञ्जिता सोचमग्न भएकी छे। धर्मको नाममा नारी र पुरुषमा गरिने भेदभाव टुलुटुलु हेरिरहेकी छे। अब पनि मूकदर्शक बन्ने? के उसले विद्रोह गर्नु पर्दैन र?

प्रकाशित: ४ वैशाख २०८२ ११:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App