प्रिय रारा!
हरियाली वातावरणमा
तिम्रो अनुपम उपस्थिति
मोहित, उत्साहित र लालयित
छ तिम्रो विचित्र शक्ति।
राधाकृष्ण
रमाउँदै पौडी खेल्थे रे
भनिन्छ, यो राधाताल पनि
अपभ्रंश भएर
बनेकाे हुनुपर्छ
अहिले राराताल
रोमाञ्चक र प्रेमिल तिम्रो कहानी
भेटेर तिमीलाई हेरेर
यस्तैयस्तै लागेको छ
संसारकै हुँ म भाग्यमानी।
तिम्रो सौन्दर्यमा लुटपुटिंदा
तनाव र थकान भाग्दछ
तिम्रै आँचल ओढेर
तिमीमै समाहित हुन मन लाग्छ।
हरियाली बीच अवस्थित हे परी!
जसरी जताबाट हेरे पनि
सदाबहार सुन्दरी
कञ्चन जल आहा!
कति निश्छल र विशाल हृदय
हेरेर आँखा कहिल्यै नथाक्ने
मन नअघाउने
के हो तिम्रो त्यस्तो कमाल?
आंँखामा अटाऊँ कि
मनमा सजाऊँ कि
कि गरौं अंकमाल?
स्निग्ध, हरियो चञ्चल जलमा
देखिएका सुन्दर आकृति
रूपकी रानी
सुन्दरताकी खानी
हे, प्रिय प्रकृति!
आफ्नो जवानी नियाल्न आउनेलाई
भरपुर मनोरञ्जन दिने
मन सम्हाल्दै फर्किनेहरूलाई
अथाह ऊर्जा भरिदिने
बदलामा
अरूका दुख र दिक्दारी आफू लिने।
सिस्नेरी र काञ्जिरोवा हिमाल
आफैंमा समाहित गरेकी
बिहानीको सूर्योदय
मध्यान्हको घामसँगै
धपक्क बलेकी।
हेरिरहूँ लाग्ने तिम्रो अनुहार
सुन्दर प्राकृतिक छटा
रंगीचंगी फूलहरू
बोटबिरुवाले थपेका छन्
तिमीमा बहार।
सल्लो, देवदार, धूपीले सुसज्जित
डाँफे, मुनाल र कस्तुरी नाचेका
बुर्कुसी मार्दै
भएँ म आल्हादित
मेरी प्यारी रारा।
(अन्तर्राष्ट्रिय कविता दिवसको अवसरमा प्रेषित।)
प्रकाशित: ९ चैत्र २०८१ १२:५५ शनिबार