नेपालमा नियात्राको इतिहास जंगबहादुर राणाको पालादेखि सुरु भएको देखिन्छ। उनको ‘जंगबहादुरको बेलाइत यात्रा’पछि नियात्रा लेखिन निकै लामो समय लाग्यो। तारानाथ शर्मालाई उनको कृति ‘बेलायततिर बरालिँदा’ले एउटा सशक्त नियात्राकारका रूपमा स्थापित गर्यो। यसपछि नेपालमा नियात्रा एउटा बलियो साहित्यिक विधाका रूपमा स्थापित छ। नेपालमा कथापछि सबैभन्दा बढी पढिने विधा नियात्रा नै मानिन्छ।
यात्रा गरेर नै कीर्तिमान कायम गर्ने पुष्कर शाहको ‘संसारलाई साढे सात फन्को’ ‘बेस्टसेलर’ हुनुले पनि पाठकलाई नियात्राप्रति रुचि कति धेरै छ भन्ने थाहा हुन्छ। स्वयं जीवा लामिछानेको पहिलो कृति ‘ससर्ती संसार’ सन् २०१६ मा बजारमा आउँदा निकै रुचाइएको थियो। चार वर्षअघि ‘देश देशावर’ बजारमा ल्याएका लामिछानेले यतिबेला ‘अक्षत अन्टार्कटिका’ सार्वजनिक गर्दै छन्।
एक दशकअघिदेखि कलम चलाइरहेका लामिछानेलाई ‘नियात्राको पुस्तक निकालुँला’ भन्ने कहिल्यै लागेको थिएन। एक हिसाबले उनी आफूलाई लेखक बनाउने काम अखबार र फेसबुकले गरेको भन्दै ठट्टा गर्छन्।
‘स्कुल पढ्दा कविताको रस पस्यो, दैनिक डायरी लेख्ने बानी पनि बस्यो,’ उनी भन्छन्, ‘पहिले यात्रा गरेका ठाउँका बारेमा फेसबुकमा लेख्थें। साथीभाइले लामो लेख्न उक्साए र अखबारमा लेख्न थालें। त्यसको पनि राम्रो प्रतिक्रिया आउन थालेपछि किताब नै निकाल्न जोसिएँ। म लेख्न जान्ने भएर लेखक बनेको होइन।’
उनी आफूलाई राम्रो पाठक मान्छन्, ‘म नेपालका क्लासिक कविताको प्रेमी हुँ। मैले लेख्न जान्ने भएर लेखेको होइन तर डुलिहिँड्न रुचाउने भएको र लेख्नलाई साहित्यका अन्य विधाभन्दा निबन्ध अलि सजिलो भएकाले लेखेको हुँ।’
यात्राका क्रममा गाइडले भनेका, आँखाले देखेका र मस्तिष्कले विश्लेषण गरेका कुरालाई सिलसिलाबद्ध गर्न सजिलो लाग्ने भएकाले उनले यात्रा संस्मरण लेखेका हुन्। घुमेका ठाउँको रहनसहन, संस्कृति, इतिहास र विषयविविधमा चासो राख्ने र तिनलाई डायरीमा टिपोट गर्न थालेको निकै वर्षपछि मात्र उनले लेखेका हुन्।
उनलाई लाग्छ, लेख्ने अभ्यास गर्ने जोसुकैले पनि नियात्रा लेख्न सक्छ। त्यसैले उनलाई नियात्रा साहित्यका अन्य विधाभन्दा सजिलो विधा ठान्छन्। पछिल्लो समय नेपालमा यात्रा संस्मरण या नियात्रा निकै मौलाएको छ। यसलाई उनी निराम्रो मान्दैनन्। जति बढी लेखियो, उति नयाँनयाँ दृष्टिकोण आउने भएकाले लेखक थपिनु उनलाई स्वागतयोग्य कदम लाग्छ। नेपालमा तारानाथ शर्माको ‘बेलाइततिर बरालिँदा’ मानक नियात्रासंग्रह मानिन्छ तर त्यसपछि पनि राम्रा नियात्राहरू आएको उनको बुझाइ छ।
‘जति नयाँ लेखक आउनुहुन्छ, उहाँहरूले आफ्नो भिन्न दृष्टि र बुझाइ लेख्नुभएको छ,’ उनी भन्छन्, ‘जति धेरैले लेख्यो, त्यति फरक दृष्टिकोण पढ्न पाइने हुनाले यो एउटा राम्रो कुरा हो।’
नेपाल डकुमेन्टेसनमा निकै कमजोर भएकाले अहिले धेरै जनाले लेखेकामा उनी प्रसन्न छन्। तीमध्ये कतिपय पुस्तक लोकप्रिय हुनु वा नहुनुलाई उति महत्त्व दिँदैनन्। उनका नियात्रा भने निस्कनेबित्तिकै चर्चामा हुन्छन् र बेस्टसेलर पनि बन्न पुग्छन्।
पहिलो कृति ‘ससर्ती संसार’मा उनले बाल्यकालदेखिका यात्रा अनुभूति समेटेका थिएँ। त्यसमा संकलित कतिपय आलेख पहिल्यै अखबारहरूमा प्रकाशित भइसकेका भए पनि पाठकहरूको निकै राम्रो प्रतिक्रिया पाए। ‘पहिलो कृतिबाटै मैले लेखेको पाठकहरूलाई मनपर्ने रहेछ भन्ने थाहा पाउँदा ज्यादै खुसी लाग्यो तर दोस्रो कृति देश देशावरमा मैले बढी मिहिनेत गरेको थिएँ,’ उनी भन्छन्।
पहिलो कृतिको सफलतापछि उनी कम होस् भन्ने चाहँदैनथे। दोस्रो कृतिका लागि उनले अन्य अग्रज तथा सर्जकहरूसँग पनि प्रतिक्रिया लिए। जब दोस्रो कृति बजारमा आयो, धेरैले पहिलो कृति नै राम्रो लागेको प्रतिक्रिया पाउने गरेका छन्।
‘मलाई भने दोस्रो कृतिमा बढी मिहिनेत परेकाले पहिलोको कमजोरी ढाकिने गरी काम गरें भन्ने लाग्छ। मैले साथीभाइसँग प्रतिक्रिया लिएँ, पटक पटक पुनर्लेखन गरें,’ उनी भन्छन्, ‘लेखकका रूपमा दोस्रो कृतिमा बढी मिहिनेत गरें। दोस्रोमा खारिएको छ भन्ने प्रतिक्रिया पनि पाएको छु। दोस्रो कृतिमा मैले पहिलो पटक थाहा पाएँ– पाठकीय दृष्टिकोण एउटै नहुने रहेछ। व्यक्तिअनुसार फरक प्रतिक्रिया आउने रहेछ।’
तेस्रो कृति ‘अक्षत अन्टार्कटिका’बाट भने उनलाई अलि बढी नै अपेक्षा छ। उनलाई रुसमा छँदा नै अन्टार्कटिकाले आकर्षित गर्ने गथ्र्यो। तर किताबै त्यसमाथि लेखुँला भनेर सोचेका थिएनन्। अन्टार्कटिका जाने बेलामा फाइनप्रिन्टका निरज भारीले किताब नै निकाल्नेबारे सोच्नुस् है भनेका थिए। ‘तर जब यात्रामा भिज्न थालें, मैले पहिले नै पढेका अन्टार्कटिकामाथि लेखिएका किताबहरूको चाङ नियालें, किताबमा काम गर्नुपर्छ कि भन्ने लाग्यो। खासगरी नेपाली भाषामा अन्टार्कटिकाबारे पुस्तक नलेखिएको हुनाले यो पुस्तकको सोच राम्रो होला भन्ने लाग्यो।’
‘अन्टार्कटिकाबारे पढ्नु भनेको कुनै अन्जान भूगोलबारे जानकारी प्राप्त गर्नु मात्र होइन,’ उनी भन्छन्, ‘मान्छे जहाँजहाँ पुग्यो, त्यहाँ कतिसम्म विध्वंस मच्चाउँदो रहेछ भन्ने जान्नु पनि हो। विध्वंसबाट सिकेर फेरि मान्छेले कसरी संरक्षणमा लागिपर्छ भन्ने उदाहरण पनि हो, अन्टार्कटिका। त्यसैले जब म फर्केर आएँ तब यसले मलाई धेरै लामो समयसम्म घच्घच्याइरह्यो।’
आफूले गरेको यात्रा र सूचनाको फ्युजनका रूपमा यो पुस्तक निकालेको उनी बताउँछन्। यो किताबलाई कसरी लिऊन् भन्ने लाग्छ भन्ने प्रश्नमा उनी भन्छन्, ‘अन्टार्कटिकाको भूगोल, सदियौंदेखि यहाँ गरिएका यात्रा, विभिन्न खोज तथा अनुसन्धान, विभिन्न देशले यहाँ चलाइरहेका अभियानबारे अन्य भाषामा धेरै पुस्तक लेखिएका छन् तर नेपाली भाषामा लेखिएका छैनन्। त्यहाँ विभिन्न देशले खोलेका अनुसन्धान केन्द्र देख्दा नेपालको पनि केन्द्र कहिले खुल्ला भनेर त्यहाँ पुग्ने हरेक नेपालीले सोच्छ।
यो किताब पढेर त्यहाँ अनुसन्धान केन्द्र खोल्ने, आफूलाई सक्षम बनाउने कुनै स्वप्नद्रष्टाको ध्यान पुगे हुन्थ्यो, त्यहाँ नपुगेका सर्वसाधारणलाई त्यहाँबारे थोरै भए पनि नेपाली भाषामा जानकारी मिलोस् भन्ने मेरो सोच हो।’
प्रकाशित: ६ चैत्र २०८१ ०९:०२ बुधबार