सिकुवामा न्यानो ओछ्याएर पारिलो घाम ताप्न बसेजस्तै। न्यानोमा आफैंलाई बिस्कुनझैं सुकाएर सम्झनाहरू केलाइकुलाई गरेजस्तै। केही क्षणको फुर्सद पाउँदा जीवनलाई अर्कै रूपमा नियाल्न सकिन्छ। समयको दौडधुपमा हामी हरपल हतारमा हुन्छौं। बिहान उठ्नेबित्तिकै चिया पिउँदै दिनभरि गर्नुपर्ने कामको सूची मिलाउन थाल्छौं। मन पनि सडकमा गुड्ने गाडीजस्तै दौडिरहन्छ। तिनै गाडीले बजाएका कर्कश ध्वनिले आहत कान। कहिलेकाहीं जब हतारको कुनै कारण हुँदैन। समयले नेटो काटे पनि हामीलाई फुर्सदले साथ दिन्छ। ती अनमोल क्षण हतारबिनाका फुर्सद भएर जन्मिन्छन्।
आजको जीवन हतार र तनावले भरिएको छ। हामी सबैसँग समयको कमी छ। हरेक क्षण केही नगर्ने डर र चिन्ता साथ लाग्छ। जीवनको यो ‘धक्का–मुक्की’मा फुर्सदका केही क्षणले हामीलाई टाढा लैजान्छन्। ती क्षण हर्षको स्रोत हुन सक्छन्। तिनले जीवनका वास्तविक अर्थ र मूल्यलाई पनि उजागर गर्छन्। हतारबिनाका फुर्सदहरू यिनै क्षण हुन्। हामी आफूलाई थाहा पाउन र संसारसँग नजिक पुर्याउन तिनले मद्दत गर्न सक्छन्।
संसारको हरेक कुनामा दौडादौड गरिरहेको मानिसका लागि फुर्सदको क्षण अति दुर्लभ हुन्छ। हरेक कामबिच समयको चापले हामीलाई यस्तो बनाउँछ कि, हामी जति गहिरो सास लिन्छौं, त्यो व्यस्तताको समुन्द्रबाट बाहिर निस्किन सक्दैनौं। हामी दिन–प्रतिदिन संसारलाई परिवर्तन गर्न र आफूलाई सफलताको शिखरमा पु¥याउनका लागि काम गर्छौं। तर फुर्सदका पलहरू भने निरर्थक जस्तो लाग्छन्।
ती पलहरूमा लुकेर बसेको गहिरो अर्थलाई बुझ्न जरुरी छ। हामी रोकिएर चुपचाप संसारको अनन्तता हेर्दा साँचो शान्ति हाम्रो हृदयमा प्रवेश गर्छ। हाम्रो सासको गति पनि सामान्य हुँदैन। हामी आफैंसँग, हाम्रो सोच र हाम्रो अस्तित्वसँग गहिरो सम्बन्ध स्थापित गर्ने समय पाउँछौं। यति मात्र होइन, यस्ता क्षणहरूले हामीलाई हाम्रो जीवनका लागि कृतज्ञ बनाउँछन्।
आन्तरिक शान्ति बाह्य संसारको सफलताभन्दा महत्त्वपूर्ण हुन्छ। फुर्सदका ती क्षणहरूले हाम्रो अस्तित्वको अर्थलाई हाम्रा आँखामा झल्काउँछ। हामी आफ्नो आत्माको आवाजलाई सुन्न सक्छौं। हामीलाई थाहा हुन्छ कि, जीवनको वास्तविक मूल्य भनेको कुनै दौडमा ‘जित्नु’ होइन। कुनै काम गर्नका लागि ‘बाँच्नु’ होइन। जीवनको अर्थ भनेको हामी आफैंसँग भएका ती शान्त क्षणहरूमा रहेको हुन्छ। हतारबिनाको फुर्सदमा हामी आफ्नै ‘मनको मझेरी’सम्म पुग्न सक्छौं।
त्यसैले जीवनमा हतार र प्रतिस्पर्धा छ। ती बीचमा हामीलाई फुर्सदका ती अनमोल पलहरूको आवश्यकता छ। यी पलहरूले हामीलाई हाम्रो जीवनको सही अर्थ र मूल्य सम्झाउँछन्। बिनाहतारका ती फुर्सदका क्षणहरूले नै साँचो शान्ति, आत्मिक समृद्धि र सन्तुष्टि ल्याउँछन्।
वास्तवमा समयसँग प्रेम गर्ने फुर्सद हुनुपर्छ। हाम्रो जीवन बगिरहेको नदी हो। जो आफ्नै लयमा अविरल बगिरहन्छ। कहिले तीव्र वेगमा, कहिले मधुर गति लिँदै। तर सधैं अगाडि र गतिमय प्रवाहमा। दैनिक व्यस्तताका भेलमा हामी कहिले कहाँ बग्छौं। किन बग्छौं ? यसो हेर्ने फुर्सदसमेत हुँदैन।
हतारलाई ‘टक्क’ रोकेर फुर्सदलाई ‘स्वाट्ट’ भित्र्याएर जीवनले हामीलाई अलिकति रोकिने ‘मौका’ दिन्छ। त्यो बेला समयको हात समातेर हामी अलिकति बिसाउने ‘साहस’ गर्छौं। शान्तिले ‘सास’ फेर्ने अवसर पाउँछौं। तब थाहा हुन्छ– यस संसारमा समयसँग ‘प्रेम’ गर्नु जत्तिकै ‘सुन्दर’ अर्को केही छैन।
त्यस फुर्सदको क्षणमा कुनै संगीतमय स्मृति हाम्रो मनमा गुञ्जिन्छ। कुनै पुरानो कविताले हृदय छोइदिन्छ। कुनै अधुरो सपना फेरि नजिक आउँछ। हिजोका हतारले छायाँ बनाएका सपनाहरू एकाएक रङ भर्न थाल्छन्। बिर्सिएका भावनाहरूले पुनः हामीलाई आफ्नो अँगालोमा बाँध्छन्।
केही क्षणलाई समयसँग प्रेम गर्दा हामी आफैंलाई भेट्छौं– कसैको बाध्यता होइन, कसैको अपेक्षा होइन, केवल शुद्ध अस्तित्व। त्यो अस्तित्व जसले बादलमा आकृति हेरेर रमाउँथ्यो, जसले गोधूलिको धूमिल उज्यालोमा सपनाहरू खोज्थ्यो, जसले फूलमा रङ मात्रै होइन, मगमग सुगन्धसँगै कवितासमेत पढ्थ्यो।
समयसँगको प्रेम भन्नु जीवनसँगै एकाकार हुन पाउनु पनि हो। हतारोले आँखामा राखेका पर्दा हटाएर, जीवनको सुन्दरता चुपचाप अवलोकन गर्ने मौका दिन्छ। फुर्सदका यी सुनौला पलहरूमा हामी कुनै कविताको हरफ जस्तै स्वतन्त्र। कुनै संगीतको धुनजस्तै सुन्दर। कुनै चित्रकलाको ‘ब्रस स्ट्रोक’जस्तै सहज हुन्छौं। अनि त्यो बेला लाग्छ– जीवन साँच्चै सुन्दर छ। केवल हामीले नै यसलाई व्यस्तताका भिडामभिडमा छोपेका थियौं।
अन्ततः बल्ल समयसँग र प्रेम जीवनसँग एकाकार हुनुको सुखद क्षण उपलब्धभयो। खासमा समय केवल घडीका काँटा मात्र होइन। यसले जीवनका सबै पलहरूको सार समेटेको हुन्छ। हामी समयसँग प्रेम गर्न थाल्दा जीवनसँगै एकाकार हुने प्रक्रिया सुरु गर्छौं। समयको वास्तविकता बुझ्न खोज्दा जीवनका हरेक क्षणलाई महसुस गर्न र त्यसलाई मूल्याङ्कन गर्न थाल्छौं। यस भावनात्मक निबन्धमा म यही भावनालाई साकार गर्दै जीवनको सुन्दरतामा डुब्ने प्रयास गर्दैछु।
समयसँग प्रेम गर्न पाउनु समयका हरेक कणलाई गहिरो रूपमा महसुस गर्न र त्यसको मूल्य बुझ्नु हो। हतारको संसारमा हामी प्रायः समयलाई चिन्न सक्दैनौं, हामी आँखामा पर्दा लगाएर एक स्थानबाट अर्को स्थानमा मात्र दौडिरहेका हुन्छौं। हामी यी पर्दाहरू हटाएर, समयको धारा रोक्न चाहने प्रयास गर्दै, आफूलाई अझ गम्भीर रूपमा समयसँग जडान गर्छौं। जीवनको वास्तविक सुन्दरताको अवलोकन गर्न त्यहाँ हामी सक्षम हुन्छौं।
समयसँग प्रेम वर्तमानमा बाँच्नुको अर्थ मात्र होइन, यसले हामीलाई आफ्नो भूतकाल र भविष्यलाई सम्झने र बुझ्ने अवसर पनि दिन्छ। यसपछि हामीलाई थाहा हुन्छ– हामी अतीतबाट के सिक्न सक्छौं र भविष्यमा हामीले के गर्नुपर्छ? समयका हरेक घडीले हामीलाई ‘जीवन अनमोल छ’ भन्ने कुरा सिकाउँछ। ‘प्रत्येक पललाई सञ्जीवनीको रूपमा लिई समयसँग प्रेम गर्नु जरुरी छ’ भन्छ।
हाम्रो समाजमा प्रायः हामी जीवनको प्रत्येक क्षणलाई मापदण्डसँग तुलना गर्छौं। हामी एकपछि अर्को काम पूरा गर्न चाहन्छौं। तर समयसँग प्रेम गर्न पाउनु भनेको यस्ता सोचहरूलाई परित्याग गर्नु हो। आफूलाई त्यस समयको वास्तविकता र सुन्दरतामा डुबाउनु हो। जुन हामीलाई अहिलेका पलहरूको अनमोल उपहारको रूपमा मिलेको छ। हतार र दौडधुपबिच पनि यदि हामी जीवनका छाया–चित्रलाई चुपचाप अवलोकन गर्न सक्षम हुँदा हामीलाई थाहा हुन्छ समयको हरेक क्षण जीवनको सबैभन्दा ठुलो आशीर्वाद हो।
समयसँग प्रेम गर्न पाउनु जीवनसँग एकाकार हुनु हो। यसका लागि हामीलाई आफूसँग समय बिताउन, स्वयंलाई बुझ्न र अरूसँगको सम्बन्धलाई कदर गर्न सक्ने क्षमता चाहिन्छ। हामी यी सबै कुरालाई जब आत्मसात गर्छौं, तब समयसँगको प्रेमले हामीलाई शान्ति र सन्तुष्टि प्रदान गर्छ। यसले प्रत्येक दिनको वास्तविक अर्थ बुझ्न, यसलाई कदर गर्न र समयलाई जिउनुको साँचो अर्थमा जीवनको साथी बनाउन हामीलाई मद्दत पु¥याउँछ।
अन्ततः जीवन एउटा अनवरत सिर्जना नै हो। जहाँ हरेक दिन एउटा ‘कविता’, हरेक धड्कन एउटा ‘संगीत’ हो। हरेक अनुभव एउटा ‘चित्र’ हो। हामीले यसको लय, यसको रङ र यसको सौन्दर्यलाई बुझ्नुपर्छ। हामीले जब बुझ्छौं, लाग्छ– ‘जीवन साँच्चै सुन्दर छ।’
जीवन एउटा अनमोल उपहार हो, जसको मूल्य हामी सबैले समयको साथ बुझ्न थाल्छौं। यो सरल र जटिल घटनाको मिश्रण हो, जसले हर्ष र विषाद, सुख र दुःखको बेलामा हामीलाई अझ बढी बुझ्न र अनुभव गर्न अवसर दिन्छ। जीवन साँच्चै सुन्दर छ। यो सुन्दरतामा अनेकौं रङ र रूपहरू मिलेर बनेका छन्। जसले हाम्रा दिनहरूलाई अर्थपूर्ण र समृद्ध बनाउँछन्।
जीवनको यात्रा कुनै समय छोटो र सरल लाग्न सक्छ भने कहिलेकाहीं त्यो चुनौतीपूर्ण र कठिन हुनसक्छ। कठिनाइहरूको सामना गर्दा, हामी हरेक पलमा आफ्नो वास्तविक शक्ति र सामर्थ्यलाई अनुभव गर्छौं। दुःख र पीडा जीवनको एक अभिन्न हिस्सा हुन्। तिनले हामीलाई सिक्न र बढ्नका लागि मार्गदर्शन गर्छन्। जीवनमा चुनौतीहरू आएका बेला तिनीहरूले हामीलाई अझ बलियो बनाउँछन् र हाम्रो अस्तित्वलाई नयाँ दृष्टिकोणले उजागर गर्छन्।
साँच्चै, जीवनको सुन्दरता न सुखमा छ, न दुःखमा। यो हर्ष र विषाद, प्रकाश र अन्धकार, आशा र निराशाको सहअस्तित्वमा छ। जीवनका सरल पलहरूमा जब शान्ति र खुसी खोज्न थाल्छौं, हामीलाई जीवन वास्तवमै सुन्दर छ भन्ने थाहा हुन्छ। यसको प्रत्येक दिन, प्रत्येक क्षण र प्रत्येक अवसर एउटा अनमोल अनुभव हो। यसको सही मूल्याङ्कन गर्न हतारबिनाका फुर्सदहरूमा जीवनलाई गहिरो रूपमा बुझ्नुपर्छ।
आखिर जीवनको वास्तविक सुन्दरतामा हामी आफैं बस्छौं। हामी आफूलाई र अरूसँगको सम्बन्धलाई सम्मान गर्दै जीवनलाई स्विकार्छौं। त्यसबेला हाम्रो जीवन आफैं सुन्दरतासँग प्रस्तुत हुन्छ। यसले हामीलाई जीवनको अद्वितीय मूल्यलाई बुझ्न मद्दत गर्छ। हामीले हरेक पललाई निःस्वार्थ प्रेमका साथ बिताउँन हामीलाई प्रेरणा दिन्छ।
जीवन साँच्चै सुन्दर छ। यो हामीले साँचो अर्थमा बुझ्न र यसको प्रत्येक क्षणलाई पूरा गर्छौं भने मात्र त्यही सुन्दरतामा लुकेको गहिराइ भेट्न सकिन्छ। हतार हुँदैन भने हामी समयसँग प्रेम गर्न सक्छौं। आँधीपछिको शान्ति जस्तै मन स्थिर पारेर जीवनलाई हेर्न सकिन्छ। फुर्सदका यी क्षणहरूमा हामी आफैंलाई भेट्छौं– त्यही असल, निर्दोष, कल्पनाशील रूपमा, जुन व्यस्तताले बिर्सिन बाध्य पार्छ।
त्यसैले कहिलेकाहीं हतार हटाइदिउँ र समयलाई छोडिदिऊँ। अनि फुर्सदका ती अमूल्य क्षणहरूलाई अँगालौं। यसले जीवनलाई साँच्चै बाँच्ने कला सिकाउँछ। हतारबिनाका फुर्सद यिनै प्राप्तिमा पथप्रदर्शक बनून्।
प्रकाशित: २ चैत्र २०८१ ०९:१० शनिबार