कोशी प्रदेशको जनस्वास्थ्य प्रयोगशालाले प्रदेशभरिका जिल्लाहरूमा परीक्षण गर्न असम्भव मानव जैविक नमूना संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशालामार्फत परीक्षण गर्ने अभियानको थालनी गरेको छ।
उसले जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयमार्फत जिल्लामै परीक्षण गरी नतिजा प्रदान गर्न नसक्ने प्रकृतिका मानव जैविक नमूना संकलन गरी प्रेषण निकायमार्फत जनस्वास्थ्य प्रयोगशालामा पुर्याई परीक्षण गरी नतिजा दिने अभियानको थालनी गरेको हो। प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक प्रकाशचन्द्र कार्कीले प्रदेशभरिका १४ जिल्लामै उक्त अभियानलाई अघि बढाउने गरी सम्झौताको थालनी भएको बताए।
उनको उपस्थितिमा ताप्लेजुङ जिल्ला अस्पताल र कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशालाबीच मानव जैविक नमूना संकलन तथा परीक्षण सम्बन्धी सम्झौता भएको छ। सम्झौतामा प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक कार्की र ताप्लेजुङ जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट एमडीजिपी डाक्टर प्रमाण जैरुबीच द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ।
कार्कीका अनुसार अहिलेसम्म कोशी प्रदेशका ६ जिल्लाहरूमा मानव जैविक नमूना संकलन र परीक्षण सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ। ‘हामी चाँडै प्रदेशभरिका १४ जिल्लाहरूमा मानव जैविक नमूना संकलन तथा परीक्षण सम्बन्धी सम्झौता गरी अभियानलाई एकीकृत र व्यवस्थित बनाउने छौं,’ कार्कीले भने।
सम्झौता अनुसार कोशी प्रदेशका सम्बन्धित जिल्लाका अस्पताल तथा स्वास्थ्य कार्यालयहरूले मानव जैविक नमूना संकलन गर्नेछन्। संकलन भएको मानव जैविक नमूना कोशी प्रदेशको जनस्वास्थ्य प्रयोगशालासम्म प्रेषण गर्ने जिम्मेवारी नेपाल क्यान मुभले पाएको छ। नेपाल क्यान मुभका ताप्लेजुङका प्रतिनिधि मनिषा निरौलाका अनुसार आफ्नो निकायले संकलन भएको मानव जैविक नमूनालाई सुरक्षित, भरपर्दो र विश्वसनीय रूपले प्रदेश जनस्वास्थ्य प्रयोगशालासम्म प्रेषण गर्ने जानकारी दिइन्।
प्रयोगशालाले प्राप्त भएको मानव जैविक नमूनाको परीक्षण गरी प्रतिवेदन सम्बन्धित निकायलाई पठाउने भएको छ। नेपाल क्यान मुभका ताप्लेजुङ प्रतिनिधि निरौलाका अनुसार संकलन भएको मानव जैविक नमूना संकलन भएको केन्द्रमार्फत नै आफ्नो सवारीमार्फत संकलन गरी सुरक्षित तवरले प्रदेश जनस्वास्थ्य प्रयोगशालासम्म प्रेषण गर्ने छ। त्यसका लागि नेपाल क्यान मुभले आफ्नै सवारी प्रयोग गर्ने निरौलाले जानकारी दिइन्।
जिल्लाहरूमा परीक्षण सम्भव नभएका मानव जैविक नमूना संकलन गरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामार्फत परीक्षण गर्ने व्यवस्थाले सेवाग्राहीको फजुल रूपमा भइरहेको अनावश्यक खर्च र समयलाई जोगाउने उद्देश्यले यस्तो अभियान थालनी गरिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक कार्कीले बताए।
परीक्षण नतिजा प्राप्त नहुँदा थप उपचार प्रक्रिया समेत अवरुद्ध हुने भएकोले यस्तो अभियान प्रभावकारी हुने भएकोले अभियान अघि सार्ने निकायलाई ताप्लेजुङ जिल्ला अस्पतालका व्यवस्थापन समिति सदस्य यगेन्द्रकुमार गुरुङले धन्यवाद ज्ञापन गरेका छन्। नमूना संकलनमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई संकलन, प्याकेजिङ, भण्डारण र प्रेषण निकायलाई यसको व्यवस्थापनका बारेमा अभिमुखीकरण गराइने प्रदेश जनस्वास्थ्य प्रयोगशालाले बताएको छ। स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख कुलबहादुर पौडेलले मापदण्ड अनुसारको संकलन, भण्डारण, व्यवस्थापन र प्रेषणमा ध्यान दिने हो भने यो अभियान निकै प्रभावकारी र लाभदायक हुने विश्वास राख्छन्।
विराटनगरस्थित बिराट मेडिकल कलेजका प्राध्यापक डाक्टर सन्तोष काफ्लेले यो अभियान पाइलट प्रोजेक्टको रूपमा कोशी प्रदेशमा सुरु भएकोले यसको प्रभावकारिता र विश्वसनीयताप्रति नेपाल र विश्व समुदायबाट चासो लिन थालिएको बताउँछन्।
पाइलट प्रोजेक्टलाई सफल बनाएर देशभर यस्तो अभियान थालनी गर्ने हो भने यसले स्वास्थ्य क्षेत्रमा नयाँ आयाम सृजना गर्ने काफ्लेको बुझाइ छ। तर उनले नमूना संकलकदेखि प्रेषण निकायसम्मले मानव शरीरको महत्त्व बुझ्नु र सोही अनुसार संवेदनशील हुनु भने महत्त्वपूर्ण हुने समेत बताए।
प्रकाशित: ४ चैत्र २०८१ ११:२९ सोमबार