५ चैत्र २०८१ मंगलबार
image/svg+xml ३:८ पूर्वाह्न
समाज

ताप्लेजुङबाट १३ जनाको ‘ग्रेट हिमालयन ट्रेल’ पदयात्रा सुरु, सय दिनमा दार्चुला पुग्ने

सिन्धुपाल्चोकको जुगलका १२ महिला र दाङका एक पुरुष सहित १३ जनाले पूर्वको ताप्लेजुङबाट संसारकै लामो र अग्लो पदमार्गहरू मध्येको एक ‘ग्रेट हिमालयन ट्रेल’ पदयात्रा सुरु गरेका छन्। 

ताप्लेजुङबाट सुरु भएको पदयात्रालाई उनीहरूले पश्चिमको दार्चुला पुर्‍याएर टुंग्याउने लक्ष्य लिएका छन्। चैत ४ गते सोमवार सुरु भएको १ हजार ७ सय किलोमिटर लामो उनीहरूको पदयात्रा करिब एक सय दिनको हुने छ। पदयात्रामा सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका १२ जना महिला तथा दाङको तुलसीपुर उपमहानगरपालिकाका एक ६५ वर्षीय पुरुष सुन्दरकुमार चौधरी रहेका छन्। उनी पदयात्रा टोलीका सबैभन्दा ज्येष्ठ सदस्य हुन्। पदयात्रा टोलीको नेतृत्वकर्ता माया गुरुङका अनुसार टोलीमा महिलातर्फ १९ देखि ४५ वर्ष उमेर समूहका छन्। सहयोगीका साथ पदयात्री समूह २४ जनाको हुने छ। सोमवार उनीहरूले फुङलिङबाट यात्रा सुरु गरी फक्ताङलुङ गाउँपालिकाको वडा नं. ६ लेलेपस्थित सेकाथुममा पहिलो रात बिताउने छन्।

पदयात्रामा गुरुङ र चौधरीका साथ संगिता विश्वकर्मा, दीपा लामिछाने, शान्ति थिङ, सरस्वती तामाङ, रञ्जिता लामा, वर्षा विक, संगिता तामाङ, प्रमिता सापकोटा, सृष्टि तामाङ, मनमाया तामाङ र अनिशा श्रेष्ठ रहेका छन्। पूर्वी नेपालको ताप्लेजुङदेखि सुदूर पश्चिमको दार्चुलासम्मको उच्च हिमाली क्षेत्र हुँदै गरिने ट्रेकिङ रुटलाई नै ‘ग्रेट हिमालयन ट्रेल’ भनी चिनिन्छ। यो पदमार्गले नेपालका हिमाली जिल्लाहरू छोएको छ। साहसिक पदमार्ग भएकोले आफूहरू पूर्ण तयारीका साथ पदयात्रामा निस्किएको पदयात्रा टोलीको नेतृत्वकर्ता गुरुङले जानकारी दिइन्। टोलीका अधिकांश सदस्यहरू ट्रेकिङ गाइडको रूपमा काम गरेका लाइसेन्सप्राप्त व्यक्तिहरू रहेका छन्। ‘हामी हिमाल र हिमाली क्षेत्रको वातावरणबारे जानकार नै छौं,’ सहज ढंगले पदयात्रा पूरा गर्ने विश्वास राख्दै पदयात्रा टोलीको नेतृत्वकर्ता गुरुङले भनिन्। ‘तर लामो साहसिक पदयात्रामा निस्किएको बारे समेत सचेत र संवेदनशील छौं,’ उनले भनिन्।

‘ग्रेट हिमालयन ट्रेल’ पदयात्रा पूरा गर्न प्रतिव्यक्ति २० लाख रुपैयाँसम्म खर्च हुने उनीहरूको अनुमान छ। अहिलेसम्म कसैबाट संस्थागत सहयोग नलिएको र आफैंले व्यवस्थापन गरिरहेको पदयात्रा टोलीका सदस्यहरूले बताएका छन्। पदयात्रा टोलीको नेतृत्वकर्ता गुरुङले यो पदयात्रा पूरा गरी नेपालकै साहसिक तर आकर्षक पर्यटकीय गन्तव्यबारे राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रलाई सकारात्मक सन्देश दिनु आफूहरूको प्रमुख उद्देश्य रहेको बताइन्। ‘धेरै अग्ला हिमालहरू समेत हामीले पास गर्नुपर्नेछ,’ दृढ आत्मविश्वासका साथ पदयात्रामा निस्किएको बताएकी गुरुङले भनिन्, ‘पदयात्रा क्षेत्रका स्थानीयबाट हामी रचनात्मक साथ र सहयोगको अपेक्षा गर्छौं।’ साहसिक पदयात्रा भनिए पनि विश्वकै आकर्षक पर्यटकीय गन्तव्य हो भन्ने पुष्टि गर्न समेत युवा र वयस्क उमेरका महिलाका साथमा ज्येष्ठ अगुवाको समेत साथ लिएको गुरुङले बताइन्।

‘ग्रेट हिमालयन ट्रेल’ को पदयात्रामा निस्किएको टोलीलाई फुङलिङस्थित होटल पाथीभरा, होटल प्यारिज र होटल माउन्टेनका प्रतिनिधिले यात्रा सफलताको शुभकामना दिंदै बिदाइ गरेका छन्। कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यालय सचिव मनकुमार लिम्बूले यात्रा सफलताको शुभकामना सहित कञ्चनजंघा हीरक महोत्सवका बारेमा समेत अवगत गराए। कञ्चनजंघा हिमाल आरोहणको ७० वर्ष पूरा भएको अवसरमा २०८२ साल वैशाख ५, ६ र ७ गते व्यवस्थापन परिषद्को अगुवाइमा कञ्चनजंघा हीरक महोत्सव आयोजना हुँदैछ। ‘ग्रेट हिमालयन ट्रेल’ लाई १० वटा मुख्य शाखा रुटमा विभाजन गरिएको छ। त्यस्तै यो क्षेत्रको पदयात्रा गर्न चाहने पदयात्रीहरूलाई ‘हाई एल्टिच्युड रुट’ र ‘लो एल्टिच्युड रुट’ गरी दुई वटा बाटो तय गरिएको छ। यो रुटमा पदयात्रा गर्न चाहने पदयात्रीमध्ये कोही सुरुदेखि अन्तसम्मै संलग्न हुन्छन् भने कोही बीचबीचमा र ठाउँठाउँमा थपिने र घट्ने वा भनौं ट्रेक बीचमै छोडेर घर फर्कने हुन्छन्। 

ग्रेट हिमालयन ट्रेलको पूरा यात्रा गर्न सक्दिनँ भन्ने कोही पर्यटक ताप्लेजुङको कञ्चनजंघादेखि संखुवासभाको मकालुसम्म, कोही सोलुखुम्बुको थामेसम्म, कोही दोलखाको गौरीशंकरसम्म, सिन्धुपाल्चोकको हेलम्बुसम्म, कोही रसुवाको लाङटाङ वा तामाङ हेरिटेज ट्रेलसम्म, कोही गणेश हिमालसम्म, कोही मनास्लुसम्म, कोही मनाङसम्म, कोही मुस्ताङ माथिल्लो भेगसम्म, कोही डोल्पासम्म, कोही मुगुको रारा तालसम्मको यात्राका लागि आउँछन् भने, थपिने पर्यटकहरू पनि मकालु, थामे, गौरीशंकर, लाङटाङ, मनास्लु, मनाङ, मुस्ताङ, डोल्पा आदि ठाउँबाट थपिंदै जान्छन्। आधिकारिक केही तथ्याङ्क नभए पनि ‘ग्रेट हिमालयन ट्रेल’ रुटमा सर्वप्रथम सन् १९८० मा न्युजिल्यान्डका पिटर हिलारी (सर एडमन्ड हिलारीका छोरा), ग्राएम डिंंगल र भारतीय छेवाङटाशी भोटियाले सिक्किमदेखि लद्याखसम्मको पदयात्रा गरेका थिए भनेर मानिन्छ।

प्रकाशित: ४ चैत्र २०८१ ११:१९ सोमबार

खुशी 100 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App