३ चैत्र २०८१ आइतबार
image/svg+xml १७:५७ अपराह्न
कला

लघुकथासङ्ग्रह ‘उपहार’ र ‘थेरापी’ काे परिचर्चा

‘नमस्ते आधुनिक लघुकथा मञ्च’ ले लघुकथाकार यमुना प्रधानाङ्ग ‘मुना’ काे ‘उपहार’ र गुप्तबहादुर श्रेष्ठको ‘थेरापी’ लघुकथासङ्ग्रहको परिचर्चा गरेको छ।

नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’ को अध्यक्षता र वरिष्ठ साहित्यकार डा. शैलेन्दुप्रकाश नेपालकाे प्रमुख अातिथ्यमा कार्यक्रम भएकाे हाे।

नमस्ते आधुनिक लघुकथा मञ्चले ‘उपहार’ लघुकथासङ्ग्रह लघुकथाकार यमुना प्रधानाङ्ग मुनाद्वारा लिखित कृति हो। यसअघि उनका अन्य विधाका कृतिहरू प्रकाशित भइसकेको भए पनि लघुकथा कृति भने यो नै पहिलो हो।

त्यस्तै लघुकथाकार गुप्तबहादुर श्रेष्ठको ‘थेरापी’ लघुकथासङ्ग्रह पनि श्रेष्ठको प्रथम लघुकथा कृति हो।

जुम प्रविधिबाट भएकाे कार्यक्रममा परिचर्चा कार्यक्रमका प्रमुख अतिथि एवम् वरिष्ठ साहित्यकार डा. शैलेन्दुप्रकाश नेपालले नमस्ते आधुनिक लघुकथा मञ्चले एकैपटक पच्चीसछब्बीस लघुकथासङ्ग्रहको प्रकाशन गरेर ऎतिहासिक कार्य गरेको उल्लेख गर्दै मञ्चलाई थप यस्तैयस्तै कार्य गरेर साहित्यमा योगदान दिन आग्रह गरे।

साथै मञ्चले लघुकथाको क्षेत्रमा दखल राख्ने व्यक्तित्वहरूलाई बोलाएर आफूले प्रकाशित गरेकाे लघुकथा कृतिको परिचर्चा गर्ने परिपाटीको थालनी गरेकोमा सराहना गरे।

साथै प्रमुख अतिथि डा. नेपालले ‘उपहार’ र ‘थेरापी’ का सर्जकहरूको प्रशंसा गर्दै अझै परिष्कृत कृति पस्कन अनुरोध गर्दै बधाई एवम् शुभकामना दिएका थिए।

‘उपहार’ लघुकथासङ्ग्रहको परिचर्चा गर्दै वरिष्ठ साहित्यकार एवम् समालोचक गोपाल अश्कले उपहार लघुकथासङ्ग्रहमा विविध खालका ३३ लघुकथा सङगृहीत रहेको बताए।

साथै लघुकथाकार ‘मुना’ का लघुकथाहरूमा वर्तमानमा व्याप्त विकृति र विसङ्गति ज्वलन्त दृश्यहरू देख्न सकिने बताए। अरूले झैँ मुनाले समाजका विकृति र विसङ्गति उठाए पनि उनको शैली पृथक् रहेको परिचर्चाकार अश्कले उल्लेख गरे।

त्यस्तै ‘थेरापी’ लघुकथासङ्ग्रहको परिचर्चाकारको रूपमा उपस्थित भएका वरिष्ठ लघुकथाकार एवम् समालोचक ध्रुव मधिकर्मीले विशेषत साहित्यका मुक्तक, गीत आदिमा कलम चलाउने गुप्तबहादुर श्रेष्ठको यो पहिलो लघुकथा कृति रहेको बताए।

लघुकथाले समाजका विकृति विसङ्गतिलाई उजागर गर्दै व्यङ्ग्य हानेको बताए। सङ्ग्रहमा सामान्य त्रुटि रहे पनि यसले उठाएका विषयवस्तु सशक्त रहेको बताए।

छोटो समयमा दुई दर्जन बढी लघुकथाहरूको सम्पादन गर्नु, ती लघुकथाहरूलाई नयाँ शिल्प र शैलीमा ढालेर तयार पार्नु, भूमिका लेख्नु कम चुनौतीपूर्ण नभएको कार्यक्रमका विशिष्ट अतिथि एवम् कृतिका सम्पादक डा. विदुर चालिसेले बताए।

‘सर्जकले लघुकथा पठाउँदा कस्ता थिए, अहिले कस्ता छन् सर्जक आफैँले मूल्याङ्कन गर्नसक्नुहुन्छ।’ उनले भने। तैपनि मिहिन ढङ्गले लघुकथाहरू हेरेर सकभर त्रुटिविहीन बनाउने प्रयास गरेका छौँ।

कार्यक्रममा कृतिकारको तर्फबाट बोल्दै लघुकथाकारद्वय यमुना प्रधानाङ्ग ‘थेरापी’  र गुप्तबहादुर श्रेष्ठले परिचर्चा कार्यक्रम आयोजना गरिदिएकोमा संस्थाप्रति हार्दिक आभार प्रकट गर्दै परिचर्चाकारले दिएको सुझाव स्वीकार्ने बताए। साथै उनीहरूले परिचर्चाकार लगायत उपस्थित सबैमा धन्यवाद प्रकट गरे।

‘लघुकथा वन्दना’  प्रशारणसँगै शुरू भएको कार्यक्रममा वसन्त अनुभव, कमल पौडेल, डा. विदुर चालिसे, यमुना प्रधानाङ्ग, कृष्णजी शर्मा, मीठूकुमारी पाठक, गुप्तबहादुर श्रेष्ठ, कमल पौडेल, शैलेन्दुप्रकाश नेपाल, गंगा कर्माचार्य पौडेल, गोपाल अश्क, ध्रुव मधिकर्मी, म्यामराज राई, डा. विदुर चालिसे, सुरेशकुमार पाण्डे, होम प्रसाद नेउपाने, कृष्ण श्रेष्ठ, शिवराज बस्नेत, प्रार्थना खनाल, ललिता दोषी, चन्द्रा न्यौपाने, साइमोन, मुक्ति गौतम, तारा श्रेष्ठ, कर्ण दयाल लगायत संस्थाका सल्लाहकारहरू, अभिभावकहरू, पदाधिकारीहरू, सञ्चारकर्मीहरू, लघुकथा सर्जक एवम् पाठकहरूको उपस्थिति रहेको थियो।

नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’ को अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको सहजीकरण कुशल कार्यक्रम सञ्चालक एवम् रेडियो सारथिका स्टेसन म्यानेजर कमल पौडेलले गरेका थिए।

प्रकाशित: १४ फाल्गुन २०८१ १२:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App