१९ पुस २०८२ शनिबार
image/svg+xml
कला

मन्दमन्द मुस्कान भर्दै जालो थाप्ने बानी रहेछ!

मुक्तक

१) मुक्तक

मान्छे मरेपछि जीवनको कुनै अर्थ हुँदैन,

दानपुण्य गरेमा फल मिल्छ व्यर्थ हुँदैन।

धर्म र कानुनले गर्न नहुने काम गर्दाखेरि,

समाजका लागि त्यो कहिल्यै तदर्थ हुँदैन।

२) मुक्तक

तिम्रो बोली सुन्न मलाई किनकिन हतार हुन्छ,

अनायास नै आँखा भिजेर परेलीमा बार हुन्छ।

सम्झनामा याद आइदिन्छ धेरै टोलाउँदै मन यो,

विशेष दिनमा तिमीसँग बोल्न पाए आधार हुन्छ।

३) मुक्तक

नदी किनारामा तिमीलाई हेरेको हुन्छु,

प्रिय भन्दै बालुवामा तिम्रै नाम केरेको हुन्छु।

किनाराको वल्लो छेउ तिमी र पल्लो म हुँदा,

भन्थ्यौ मलाई तिमीले मायाले बेरेको हुन्छु।

४) मुक्तक

भो तिम्रो नजरले मलाई इशारा नदेऊ,

भुतुक्कै भएर गल्छु म सहारा नदेऊ।

मायाप्रितीको साह्रै नै प्यासी भए पनि,

अहिले तिम्रो दिलको किनारा नदेऊ।

५) मुक्तक

जुनेली रातमा तिम्रो झझल्को धेरै नै आउँछ,

मलाई देखेर कोइलीले दुखको गीत गाउँछ।

तिमी बिना जिन्दगी सम्हाल्न गाह्रो छ मलाई,

यो मन रातदिन यहाँ तिम्रै खोजीमा धाउँछ।

६) मुक्तक

कोही इमानदार भई बोलेको पूरा गर्छन्,

कोही वस्तु जोख्दा तोलेको पूरा गर्छन्।

दोष बोक्न चाहँदैनन् सच्चा मान्छेहरू,

नेताहरू काम आफ्ना झोलेका पूरा गर्छन्।

७) मुक्तक

राम्रो नराम्रो सामान सबै हुन्छ बजारमा,

सबैभन्दा मन परेको तिमी थियौ हजारमा।

सायद बोली, वचन र व्यवहारले मनपर्यो,

पाएको थियो राम्रो शिक्षा आफ्नो संस्कारमा।

८) मुक्तक

आफूले आफैंलाई किन रोक्न सक्दैनन् मान्छेहरू,

थोरै पीडा र समस्याहरू बोक्न सक्दैनन् मान्छेहरू।

कस्तो जमाना रह्यो साहस र धैर्य नअपनाउने,

एकछिन आफ्नै जिब्रो किन टोक्न सक्दैनन् मान्छेहरू।

९) मुक्तक

मित्रताको हात बढाउन आउँछन् चिप्लो कुरा छरी,

आफ्नो स्वार्थ पूरा नभईन्जेल मुस्कान छर्छन् वरिपरि।

म छु नि तिम्रो हर दुसखसुखको साथी भनी मक्ख पार्दै,

मित्रताको फाइदा उठाई धनी हुन खोज्छन् ढाडै सेक्ने गरी।

१०) मुक्तक

मन्दमन्द मुस्कान भर्दै जालो थाप्ने बानी रहेछ,

थाहै नपाई पिरतीको जहर पिलाउने जाली रहेछ।

कहाँ कतिखेर सम्बन्ध टुट्छ थाहा छैन उसलाई,

र पनि उसलाई उनकै नौटङ्गी वचनले तानी रहेछ।

  -पारू अर्याल नेपाल 

प्रकाशित: ३ फाल्गुन २०८१ १३:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App