२० चैत्र २०८१ बुधबार
image/svg+xml १६:५८ अपराह्न
कला

सुनकोसी वाङमय प्रतिष्ठानले गर्‍याे ‘चिकित्साका चौध तारा’ को विमर्श

सुनकोसी वाङ्मय प्रतिष्ठानले लेखक तथा सञ्चारकर्मी राजेश खनालकाे व्यक्तिवृत्त कृति ‘चिकित्साका चौध तारा’ को विमर्श गरेको छ।

वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ 'रोदन' को प्रमुख आतिथ्यमा भएकाे विमर्श कार्यक्रममा वरिष्ठ स्त्रीरोग विशेषज्ञ प्राडा सुमनराज ताम्राकार तथा वरिष्ठ मनोचिकित्सक डा. अनन्त अधिकारीले पुस्तकको चर्चा गरे।

पुस्तकको चर्चा गर्दै प्राडा ताम्राकारले हिजोको चिकित्सा क्षेत्रमा लागिपरेकाहरूबारे कृति लेखिनु महत्त्वपूर्ण भएको बताए। चिकित्सा क्षेत्रमा लाग्ने र नलाग्ने सबैले पुस्तक अध्ययन गर्नुपर्ने उनले बताए। हिजोको चिकित्सा पुस्ताले गरेको कतिपय दुख र भोगाइ आफूलाई नयाँ लागेको छ। प्राविधिक रूपमा गाह्रो काम गरेकोमा स्रष्टा खनाल धन्यवादको पात्र बनेका छन्। प्राडा ताम्राकारले आफ्नो अनुभव समेत जोडेर चिकित्सा क्षेत्रका चुनौतिहरूबारे जानकारी समेत दिए।

अर्का चर्चाकार डा. अधिकारीले हजुरबुवा र बुवा पुस्ताका चिकित्सकहरूबारे गैरचिकित्सकले लेखेको यो कृति महत्त्वपूर्ण छ भन्दै हिजोका पुस्ताका दुखकष्ट पाठकसमक्ष पुर्‍याउन कृति सफल भएको बताए।

चिकित्सा क्षेत्रको पायनियर रहेका व्यक्तित्वहरूको कृतिको रूपमा चिकित्साका चौध तारा आएको छ। अग्रज पुस्ताका १४ चिकित्सकको जीवनका विभिन्न पाटोसहित हिजोको चिकित्सा क्षेत्र कति कठिन थियो भन्नेबारे उनीहरूको भोगाइ पुस्तकले ल्याएको छ।

विभिन्न विषयगत क्षेत्रका पायनियर चिकित्सकहरूले बेहोरेका धेरै कुरा हामीलाई प्रेरणा दिने खालका भएको र आफूले समेत थाहा नपाएकाे कुरा पुस्तक पढेर थाहा पाएको हुँदा कृति महत्त्वपर्ण रहेको बताए।

प्रमुख अतिथि वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ 'रोदन' ले खनालको पुस्तकले स्वास्थ्य क्षेत्रको पृष्ठभूमि र जानकारी दिन सफल रहेको बताए। कृतिले चिकित्सक लगायत स्वास्थ्य क्षेत्रको सम्मान गरेको छ। कृतिमा निबन्धात्मक शैलीकाे प्रचुरता छ। यो कृति सबैको निम्ति उपयोगी छ। अग्रज चिकित्सकहरूबारे लेखिएको कृतिको चर्चा चिकित्सकहरूबाटै हुनु महत्त्वपूर्ण भएको पनि उनले बताए।

वाङ्मयका अध्यक्ष साहित्यकार छविरमण सिलवालले उपस्थित सबैलाई स्वागत गर्दै सुनकोसी वाङ्मय प्रतिष्ठानको उद्देश्यबारे बताए।

वाङ्मयका महासचिव प्रदीप सापकोटाले सञ्चालन गरेकाे कार्यक्रममा भुँडी पुराण प्रकाशनका केशव पराजुली, साहित्यकारहरू कुमारी लामा, मधु पाठक, श्रीबाबु कार्की, प्रकाश घायल,पूर्णबहादुर श्रेष्ठ, किरण थापा आदि साहित्यकार एवं सञ्चारकर्मीको उपस्थिति थियो।

प्रकाशित: २ फाल्गुन २०८१ ११:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App