निर्मला मिसले हाजिर गराउँदै जाँदा राधालाई सोध्नुभयो, “राधा तिमी हिजो किन नआएको?” भनेर।
“मिस् हिजो बाबा बाहिर जानुभएको थियो, आमालाई रिँगाएर उठ्नै सक्नु भएन, त्यसैले नआएको।”
“किन रिँगाएको रहेछ? केही थाहा भयो?”
“भएन मिस्।” राधाले भनिन्।
त्यसपछि मिसले चक लिएर लेख्न लागेको देखेर सबै विद्यार्थी- “मिस्? मान्छेलाई किन रिँगाउँछ? पहिले त्यो भन्नु न” भनेर चिच्याए।
“बाबूनानी हो? मलाई त थाहा छैन तर एउटा खरायो र मृगको कथा सुनेकी थिएँ, त्यही भन्छु सुन है त।” भनेर मिसले कथा भन्न लाग्नुभयो।
एउटा जंगलमा एउटा मृग र एउटा खरायोले आपसमा मित लाएर सँगै बस्थे, एक दिन मृगलाई रिँगाएर चर्न जान सकेन। त्यो देखेर खरायोले भन्यो,“मिज्जू? आज किन तपाइँ सुतिरहेको? चर्न जाने होइन?”
“खै मिज्जू! म त रिँगाएर उठ्नै सकेको छैन। के हुन्छ के, उतिउतिमा यस्तै भइरहन्छ। के औषधि खाने? थाहा पनि छैन।”
“ए? तपाईंका नसाहरूले टाउकोमा राम्रोसँग रक्त सञ्चार गर्न सकेनन्। यस्तोमा औषधि खाएर होइन, यसो जराकजुरुक गर्ने, घाँटीका नसाहरूलाई तानतुन गर्ने गर्नुपर्छ।”
“कसरी गर्ने हो? सिकाइदिनुस् न मिज्जु।”
“ल सुन्नुस्, भनेर खरायोले भन्न थाल्यो,
क) दुवै हात पछाडि लगेर टाउकोलाई अगाडि घचेट्ने, टाउकाले पछाडि बल गर्ने।
ख) दायाँ हात दायाँ कान माथि राखेर बायाँतर्फ घचेट्ने, टाउकाले दायाँतर्फ बल गर्ने।
ग) त्यस्तै बायाँ हात बायाँ कानमाथि राखेर दायाँतर्फ घचेट्ने टाउकाले बायाँतर्फ बलगर्ने।
घ) दुवै हात निधारमा राखेर पछाडि घचेट्ने टाउकाले अगाडि बल गर्ने। यो प्रक्रिया कम्तीमा १०/१० सकेण्ड गर्ने र १० देखि १५ पटक गर्ने।
२, दुवै हातले गर्दनका नसा बेसरी माँड्ने र दुवै कुम चलाउने।
३, दुवै कानका जराका नसा चल्ने गरी तान्ने।
४, तालुलाई बडी मर्का नपर्ने गरी टाउकोमा ठोक्ने।
५, घाँटीका नसा तानिने गरी टाउको दायाँबायाँ अगाडि पछाडि गराउने र २,३ पटक टाउको दायाँबायाँ घुमाउने।
यदि कुनै रोग लागेको छैन, दुर्बल छैन र बृद्धत्व छैन भने यसो गर्दा रिँगाउन छोड्छ । तपाईमा त्यस्तो केही छैन, तपाईंलाई पक्कै पनि फाइदा हुन्छ।”
“यो सुनेपछि मृगले त्यसै गर्न थालेछ। एकछिनपछि त हल्का हुँदै गएछ। केही दिन गरेपछि त उसको रोगै निको भयो रे? कस्तो लाग्यो त कथा?”
सबै विद्यार्थीले भने, “राम्रो लाग्यो मिस्।”
राधाले भनिन्, “मैले त घर गएर आमालाई यसै गर्न भन्छु।”
प्रकाशित: २५ माघ २०८१ १३:२२ शुक्रबार