समय समात्न हतार छ, समयका पैतालाहरूलाई।
हामीले स्वयम्भू छोड्दा स्वयम्भूका पहेँला बौद्धमूर्तिहरूलाई ज्योतिको लेप लगाउँदैथ्यो मध्याह्नको घामले। बौद्धमाला जप्दै र माने घुमाउँदै जीवनशान्तिको कामनामा समय खर्चिनेहरू लामबद्ध र अनुशासित ढङ्गले चालिरहेथे स्वयम्भूका अगलबगलमा। टुपुक्कको एउटा चैत्य जस्तै डाँडो र डाँडोमाथि बौद्धकलाले सजिएका सुन्दर चैत्यहरू, काठमाडौँका लागि एउटी सुन्दरीका लागि टुपुक्क परेको नाकझैँ सौन्दर्य छरिरहेथ्यो।
हरेक उमेरका मान्छेहरू, शक्त, अशक्त सबैका लागि गति बनेको छ स्वयम्भू। बौद्ध आस्थामा चुर्लुम्म डुब्नेहरू र प्रकृतिका गहिरा पारखीहरू सबैसबै लोलाउछन् स्वयम्भूसामु। काठमाडौँ खाल्डोमा ताल जमिरहेको बेला ज्योति जगमगाइरह्यो स्वयम्भूको टुप्पामा भन्ने मिथक रमाइलो लाग्छ मलाई।
मञ्जुश्री, शिखिबुद्ध र क्रकुच्छन्द बुद्धका पाइलाहरू उधिन्न पनि मन लाग्छ मलाई स्वयम्भूमा। बुद्धहरूले समय चिन्ने र चिनाउने काम गरिरहे। बुद्धहरूले गतिको शक्तिमा समयको साँध लगाइरहे। हामीहरू शक्ति खोज्न गति पछ्याइरहेछौँ।
खप्तड यात्रा सुरु भएको छ।
कङ्क्रिटदहको काठमाडौँ खाल्डो करिबकरिब निसास्सिँदो छ। कलङ्कीमा फलफूल, चकलेट, दालमोठ, केक र पानी किन्छौँ हामी। बसको गति चर्कै छ।
थानकोट छोड्ने बेलामा धुम्म पर्यो काठमाडौँ। पाँचमानेतिरबाट बादल पस्यो उपत्यकामा। साँगातिरबाट झरेको सिमसिमे पानीले पछ्यायो हामीलाई पनि थानकोटदेखि नै। थानकोटपारिका डाँडाहरूमा हावासँगै हल्लँदैछन् बादलहरू।
उता उत्तरका हिमालहरूलाई पनि पर्दा हालेका छन् बादलका भुल्काहरूले। धुम्म आकाश, धुम्म धर्ती र धुम्म परिवेशमा मान्छेको अनुहार पनि धूमिल लाग्छ मलाई। कानेटोपीपहिरेका बूढा हजुरबा जस्तो टुप्पाटुप्पामा बादलका टोपी पहिरेर गजधम्म उभिएका पहाडहरूका बीचबाट नौबिसे छिचोल्दैछ हाम्रो बस।
सडकभन्दा परपर पहाडभरि बन्दा, काउली, लसुन, रायो र मूला लहलहाएका देखिन्छन्। प्लास्टिकले मोडेका ग्रिन हाउसहरूले देखाउँदै छन् मान्छेका सुकिला जाँगर। खेतबारीमा हलक्क हल्केका बालीहरू लहरिरहेछन् हावासँग। लहरिरहेका बालीहरूलाई सुमसुम्याउँदैनन् किसानहरू। जाँगर सप्रेको खुसीयालीमा चराजस्तै चुलबुल गर्दै छन् मान्छेहरू। घामले सालका कलिला पातहरूमा घरी चुम्बन गर्छ, घरी लजाउँदै भाग्छ बादलका केस्राहरूमा कुम जोड्दै।
बसभित्रको गीतको चर्को आवाजले कानको जाली पड्केला भन्ने डर छ। बेपत्तासँग गीत बजाउँदै बेपत्तामा बस गुडाउन पाए खुसी लाग्छ हाम्रा गुरुजीहरूलाई। चालक र सहचालकको वेशभूषा र बोलीचाली सुदूरपश्चिमतिरकै जस्तै देखिन्छ। ती दुवैले च्याउकट कपाल काटेका छन्। चालक बेजोडले बस दौडाउँछन्। सहचालक र चालककै छेउको हुटमा बसेर मोबाइलमा रहेका फोटोहरू देखाइरहन्छन् चालकलाई।
बेलाबेलामा मोबाइलमा लामै गफ हाँक्छन् चालक, गाडी गुडाउँदागुडाउँदै। सडकको समानान्तर बगिरहेको त्रिशूली नदीमा बस पौड्न पुग्ने हो कि अथवा झर्यामझुरुम टुटफुट हुने हो बसभित्रका प्राणीहरूको जिन्दगी विपरीतबाट आएका साधनहरूसँग जुधेर, आशङ्काको कठोर बादल मडारिइरहेछ मनका कुनाकुनाबाट।
‘चरीको के भर छ र रात काट्यो डालीमा बसेर’ हामीभन्दा अघिल्लो सिटमा बसेका बूढा बाको थेगो नै रहेछ। एक जमानाको भारतीय सेनामा जागिर खानुभएको रहेछ उहाँले।
‘जिन्दगी पूरै अर्काको आदेश पालन गर्दैमा बित्यो, आफ्नो मनले त केही सोच्नै नसक्ने भयो। चरा भएर जागिर खानपर्ने, यन्त्र बनेर जागिर खाएपछि जिन्दगी नचिनेरै सकिँदो रहेछ।’
दर्शन निकाल्नुभयो बाले। उमेर ढाँटढुँट पारेर पन्ध्र वर्षमै सेनामा पसियो। जागिरमा छँदै तीन बिहे भए कोही मागेर, कोही भगाएर। अठार सन्तानलाई हुर्काइयो, पढाइयो, बढाइयो। गुँडबाट भुरभुरी उँडेर भागे जसरी सबै सन्तान लाखापाखा लागे। एउटी बूढीलाई अल्जाइमरले सताएर केही होसहवास छैन, एउटीलाई घरअघिल्तिरै मिनी टाटाले हानिदियो। आधा शरीर चल्दैन।
एउटीले ‘म ब्यहोर्दिनँ यो झन्झट झमेला भनेर छुट्टै बस्न थाली। आफूलाई दुई पटक हर्ट एट्याक भइसक्यो। कुन बेला फुस्स उड्छ यो दुईमुठी श्वास। एउटा स्यानो झुपडी थियो, त्यो पनि ढालिदियो पोहोरको पहिरोले। गाउँघरमा धनाढ्य बाउबाजेको नाम जोडेर फलानाको नाति भन्छन्। आफ्नो भने यो हविगत भयो। चरीको के भर छ र रात काट्यो डालीमा बसेर।’ बूढा बाका दुवै आँखाबाट बलिन्द्र आँसुका भेल बगे।
‘पीर गरेर चल्दैन बा, जे पर्छ त्यही टर्छ’-हामीले सम्झाउन खोज्यौँ बालाई।
‘त्यो त हो भोग्न गाह्रो, भन्न सजिलो छ बाबू। यो बस हिँड्दाहिँड्दै यतै पल्टियो भने पनि सहनै पर्छ, ऊ त्यो डाँडाबाट बडेमाको ढुङ्गा खसेर यो बसलाई किचीमिची पार्यो भने पनि ऐया, आत्था गर्न पाउँदैनौं हामीहरूले। हिँडुञ्जेल जमिनको भर लिनै पर्यो, बाँचुन्जेल एक मुठी श्वास फेर्नै पर्यो। मरेको भोलिपल्ट दुईदिन भइहाल्छ। चरीको के भर छ र रात काट्यो डालीमा बसेर।’-बूढा बाको कुरा टुङ्गिन पाएको थिएन। बस त जोतिएछ भित्तातिर। बसको स्टार्ट बन्द भयो र मात्रै नत्र सार्थक हुन बेर थिएन बूढा बाको बोली।
‘बूढो मान्छे भएर हिँड्दाहिँड्दै अलच्छिन बोल्ने, झन्डै बस घुसमुटिएको’ - पछिल्तिरबाट बेस्सरी कुर्लिए अर्का भाइ। झन्डै पिटुँलाझैँ गरे बालाई। ‘बोलीमै घटना–दुर्घटना हुने त होइन नि भाइ’-मैले सम्झाएँ। ‘बाले त जिन्दगीको नियति पो बताउनुभएको’ धन्न सम्भालिए भाइ।
अघिल्लो रातको पानीले मुगलिङदेखि नारायणघाटसम्म धेरै ठाउँमा सडक भत्किएकाले बाक्लै रहेछ ट्राफिक जाम। मुगलिङमा पुगेपछि रोकियो हाम्रो बस पनि।
‘अब चार दिन बाटो खुल्दैन। अघिल्तिर ठूलो पहिरोले लगेको छ बाटो। मर्मत गर्न साह्रै गाह्रो छ।’
‘मुगलिङ बजारमै खाने, पिउने कुरा सिद्धिन आटिसक्यो।’
यस्तैयस्तै कुराहरू भट्याउँदै घरी यता घरी उता गर्नेहरू ओहोरदोहोर गरिरहेथे। लौ खानै नपाइने हो कि भन्ने संशयले बिस्कुट, चाउचाउ, स्याउ, केरा जे भेटे पनि किन्दै झोलाझोलामा कोच्नेको प्रतिस्पर्धानै चलिरहेथ्यो यात्रुहरूबीच। बेच्नेहरू भने बीस रुपियाँ पर्ने बिस्कुटको एकसय, किलोको एकसय पर्ने स्याउको तीनसय र बीस पर्ने चाउचाउको असी रुपियाँ ठटाइरहेथे। सडक खुल्ने हो होइन कसैलाई अत्तोपत्तो थिएन। व्यापारीकै कोलाहल विज्ञापनले कर्कस बनिरहेथ्यो मुगलिङ।
‘लौलौ बाटो खुल्यो’ पोखरा र नारायणगढतिर नदी बगेझैँ गुड्न थाले गाडीहरू। चार दिन केही चल्न सक्तैन भन्नेहरू कता हराए। वास्तविकभन्दा चार सय प्रतिशत बढी मूल्यसम्म असुल्नेहरू खोइ कता गायब भए। बिचरा यात्रुहरू बित्थामा ठगिएकोमा पुर्पुरोमा हात लगाउँदै झोलाझोलामा कोच्न थाले सामानहरू।
सडक र यात्राको वास्तविकता जानकारी दिने आधिकारिक निकायहरू ठाउँठाउँमा सरकारले स्थापना नगरुन्जेल ठगिइरहन्छन् निरीह यात्रुहरू।
दायाँतिर धमिलो नदी बगिरहेछ। बगाइसँगै अनवरत सुसाइरहन्छ नदी। सडक किनारदेखि परपर पहाडमा ठिङ्ग उभिएका हरिया रूखहरूमा स्पन्दन देखिन्छन्। हाँगाहाँगामा चाहारिरहेका चराहरूको हरेक उडानमा पैदा भइरहेछ सौन्दर्यको नवीन चित्र।
जीवनमा धेरै पटक ओहोरदोहोर गरेको छु मैले काठमाडौं, तराई र पूर्वपश्चिम जोड्ने सडकहरूमा। हरेक पटकको यात्रा नौलो लाग्छ मलाई यी सडकहरूको यात्रा। रूखबिरुवाहरू नूतन भएर उभिन्छन्, घर बस्तीहरू नवीननवीन लाग्न थाल्छन्। मान्छेको आनीबानी र लवाइखवाइ फरकफरक देखिन्छन्। परिवर्तनका ती रङ्गहरूमा उमङ्ग पाउँछु म। जीवन त आखिर उमङ्गकै खोजीमा त हो नि। स्पन्दनहरूको बीचमा स्पन्दित भएर बढ्न पाउनुमा खुसी बन्छु म।
पानी सिमसिम पर्छ। रामनगर नाघ्छौँ। देवघाटवरिपरिको जङ्गल नाघ्छौँ, अनि पस्छौँ सुन्दर नगरी नारायणघाटको मुटुभित्र। रामनगर र नारायणघाटबीचको जङ्गल एउटा सौन्दर्य र एउटा सान लाग्छ मलाई। सुलुत्त परेका अग्ला सालका रूखहरू। रूखका बीचबीचमा झ्यालका लहरजस्तो रिक्तता। रूखको बीचबीचमा झाङ्गिएको सिँयाल। धेरै प्रेमिकाहरूले एकै प्रेमीको खातिर प्रतिस्पर्धा गरेजस्तो घामको स्पर्श खोज्दै अग्लिरहेका रूखहरूको लावालस्कर।
म मेरो घामलाई हेर्छु। धपक्क बलेको अनुहार सुमसुम्याउँछु, चुम्छु। घामका आँखाहरूले अनुराग वर्षा गराइरहेछन् ममाथि। ‘लुकामारी खेल्ने हो त यही जङ्गलभित्र? रूखका फेदफेदमा अँगालो टाँसेर कि गाऊँ जिन्दगीकै फरक गीत’ प्रस्ताव राख्न मन लाग्छ मलाई। मौनतामै प्रेमको गहिराइका धेरै हुन्छन् हाम्रा वार्तालाप। मन र मुटुमा राखिसकेपछि बाहिर घाम खोज्दै हिँड्नुको पनि कुनै उपादेयता रहेन। घना जङ्गलको सुगन्ध बोकेर फैलिरहेको हावाको शीतल झोक्काभन्दा मीठो लाग्छ मलाई मेरो घामको स्पर्श, मनको आकाशमा झलमल्ल ताराहरू उदाउँछन्। म घामलाई हेर्छु हेरिरहन्छु, हेरेर अघाउँदिनँ।
‘आधाघण्टामा खाने, पिउने सक्नुहोला।’ गाडी रोकिनेबित्तिकै सूचना जारी गरे सहचालकले। हामी बसबाट ओर्लियौँ। नारायणी किनारको रिभरसाइड होटेलको बाहिरी बेन्चमा बस्यौँ। बेन्चसँगै झाँगिएको रूखमा लटरम्म झुन्डिएका छन् रूखकटहर। बाँदरहरू हाँगाहाँगामा झुन्डिएझैँ देखिन्छन् कटहर फलहरू। कटहरका चिल्ला पातहरूमा किरिङमिरिङ रेखाहरू छन् हत्केलाका रेखाहरूजस्तै।
हाम्रै अघिल्तिर बेस्सरी कुलेलम ठोक्दै छ नारायणी नदी। केके न भ्याउन पर्ने हतार छ नारायणी नदीलाई। कुनै बेला त्यतातिर ओहोरदोहोर गर्दा कञ्चन भुल्का र लहरहरूमा एकनास सुसाउँदै बग्ने नारायणी त्यतिखेर धमिली र मैली बनेकी छिन्। धमिली भए पनि आत्तिएकी छैनन् नारायणी। अनुहार बेलाबेलामा फेरिन सक्छ, रङ्ग र तरङ्गहरूमा उतारचढाव आउन सक्तछ। तर समयसँगै काँधमा काँध मिलाएर हिँडिरहन सक्यौँ भने मात्र पुग्न सकिन्छ गन्तव्यमा।
कटहरको रूखलाई हेर्छु, मेरी नारायणीलाई हेर्छु, हत्केलाका रेखाहरूलाई हेर्छु। हामी सबै बेग्लै धुनमा हिँडिरहेछौँ निरन्तर र पो भेटिएका छौँ एउटा विशिष्ट मोडमा। पोलेको मकै, आँप र स्याउ चपाउँदाचपाउँदै तृषित नजरले हेरिरहन्छु म मेरी नारायणीलाई, अघाउँदिनँ। एउटा प्रेमिल समय उर्लिरहेको देख्छु म मेरी नारायणीमा, कैयौँ हिलो, मैलो र अवरोध काटेर पनि प्रेमको मीठो तिर्सनामा बगिरहेकी छिन् मेरी नारायणी। म उनीभित्र डुबुल्की मार्न खोज्छु स्पर्शका उमङ्गमा मात्तिन खोज्छु उनको सुमधुर स्वरको एउटा मीठो सङ्गीतभित्र आनन्दानुभूतिले उचालिन्छु। सँगैको कटहरका पातहरूमा केही कविताहरू लेखिँदिऊँजस्तो लाग्छ मलाई। कैयौँ अँध्याराहरू बगिरहेझैँ लाग्छ नारायणीका लहरहरूमा। कैयौँ उज्यालाहरू फैलिरहेझैँ लाग्छ उनका बेगवान किनारहरूबाट। नारायणीका बहावमा घनघोर युद्ध उठिरहेछ, विशाल यज्ञ जुटिरहेछ, सम्मिलन भइरहेछ लाखौँ मूच्र्छनाहरूको।
उनीभित्र नै छ सारा संसार, उनीभित्र नै अटाएको छ समयको सम्पूर्ण चर्तिकला। मैले नारायणीलाई डो¥याएर गुड्न लागेको बसमा पस्दा बादलको जङ्गलमा लुकिरहेको पहेँलो घामले लजाउँदैलजाउँदै चुम्बन गर्न थाल्यो नारायणीको तल्लो किनारलाई। किनारदेखि नै बाक्लिएको घना जङ्गल हल्लाउँदै बगिरहेको नदीभित्र संसारकै सर्वोच्च शक्ति भेट्छु म र लट्ठिन्छु उनको असीम सम्मोहनमा। नारायणीको इन्द्रेणी रूप र इन्द्रेणी मनहरूमा फिँजारिनुले ममा बेग्लै हर्षातिरेक बढिरहेछ।
नारायणी पुल नाघेर नवलपरासीका फाँटहरू नाघ्दा छिपछिपे पानीले रसिला देखिए खेतका गराहरू। गैँडाकोटदेखि दुम्किवाससम्म यात्रा गर्दा सौन्दर्यको अनौठो जादु भेट्छु म सधैँँभरि। ढकमक्क फक्रेका गोलमोहर, बेगमबेली, घरका आँगन र करेसाभरि फक्रिएका टुपिटानस, मेरिगोल्ड, ह्याविकस, चमेली र लाहुरे फूलहरू। ती सबैका माझमा धानबाला, कहिले तरेली परेर फलेका तरकारी र कहिले संसार नै सुनको लेदो ढाकेझैँ जगमगाएको तोरीबारी देख्दा फक्रेको जीवनसौन्दर्य भेट्छ जो कोहीले पनि।
बसले प्रगतिनगर छोडेको छ, चौधरीगाउँ पनि छोडेको छ। दिनानुदिन जथाभावी कङ्क्रिटका ठूलाठूला घर ठडिएको देखिन्छ। घर त मान्छेलाई आवश्यकता पूरा गर्ने र जीवनलाई सजिलो र सिर्जनशील बन्न आश्रय दिने हुनुपर्नेमा धाक र रवाफ व्यक्त गर्ने भाँडो पो बनेको छ। घर ठूलो हुँदैमा सुन्दर हुने पनि होइन। वरिपरि बगैँचा, पानी र रूखहरू नहुने हो, एक घर र अर्को घरमा सहज पहुँच नहुने हो र घरका पर्खालहरूले मान्छेका मनहरूलाई कठोर र कटमिरो बनाएर अठ्याइरहने हो भने के अर्थ हुन्छ घरको? ती बस्तीहरूमा झुपडी घरको आँगनमा मान्छेहरू झुन्डझुन्ड हाँस्दै गफिँदै मक्खिइरहेछन्। कङ्क्रिट घरहरूका प्रायः बन्द देखिन्छन् ढोका र झ्यालहरू। चहलपहल देखिँदैन मान्छेको। प्रायः काठका झुपडीहरू र साना घरहरूको अघिल्तिर लेखिएको देखिन्छ, ‘स्वागतम्।’
आधुनिक गजधम्मे घर अघिल्तिर भने सूचनापाटी टाँसिएको देखिन्छ। ‘कुकुरदेखि होसियार।’ मान्छे जति आधुनिक बन्दै गयो किन त्यतिकै एकलकाटे। बसका सहयात्रीहरूसँग पनिकेहीबेर गरियो यसै विषयमा पनि छलफल।
परपर सिसौँका पातहरूमा टल्किएका शीत थोपामा डुब्नै लागेको घाम टल्किरहेको छ। सिसौँघारी वरिपरि चरिरहेका गाईबस्तुका चलायमान झुन्डहरू र ती झुन्डका वरिपरि लट्ठी हल्लाउँदै बुरुकबुरुक उफ्रिरहेका गोठालाहरूको स्पन्दनले उमारिरहेझैँ लाग्यो उत्साहको मुस्लो। अनुभूतिगर्न सके आनन्द त प्रकृतिमा छ, प्रकृति नबिगारी प्रकृतिकै छेउमा उठिरहेको मान्छेको जाँगरमा छ। बायाँतिर फैलिएको उर्वर फाँटको बीचबीचमा हलोले र ट्याक्टरले जोतिरहेका खेतका गराहरू र गराका छेउछाउमा कोदाली चलाइरहेका मान्छेका उज्याला अनुहारहरूले सम्भावनाका उज्याला ज्योतिपुञ्ज फैलाइरहेझैँ लाग्छ अनन्तसम्म। आखिर श्रम र सीपले नै त हो उचाल्ने सिर्जनालाई पनि।
हामी चढेको बस दाउन्ने पहाड चढ्दा दिन भने ओह्रालो झरिसकेको थियो। जङ्गलका पोथ्रापोथ्रीबाट लुकेर आँखा जुधाउने घाम पनि गुड्दैगुड्दै खस्यो पश्चिमी क्षितिजको एक कुनाबाट।
हामीले एकएकवटा स्निकर चकलेट खान्छौँ र रित्याउँछौँ एक बोतल पानी। लोकल ढिँडो, लोकल कुखुरा र लोकल घ्यूको विज्ञापन गरिएका छन् दाउन्नेका प्रायः सबै भुइँछाप्रे होटेलहरूमा। कुनै जमानामा नेपालका गाउँगाउँमा कोदाको ढिँडो, गुन्द्रुक र साग खाँदाखाँदा भात खान पाए ठूलो भइन्छ भन्ने मानसिकता थियो मान्छेहरूको। यतिखेर ढिडो, रोटी, साग र स्थानीय अचार पाउन धाउनुपर्छ परपरदेखि। हामीलाई पनि रायोको साग, भटमास, गुन्द्रुक र घ्यूको माझमा दुई–चार डल्ला ढिँडो उदरस्थ पारूँ भन्ने लागेको थियो।
ढिँडो माहात्म्य गाउँदागाउँदै बस भने सुलुलुसुलुलु बग्न थालिसकेको थियो सुनवलभन्दा अझै पर।
संसार पूरै अँध्यारोको माझमा पसेको छ अब। दुई सुइरा उज्यालोको साहारामा हावाजसरी हुइँकिएको छ बस। दायाँबायाँका घरहरूमा कतै पिलपिले बत्ती बलिरहेछन्, कतै लोडसेडिङले अँध्यारो ओडेरै उभिएका छन् बस्तीहरू। कहिले लोडसेडिङमुक्त बन्न सक्षम होला जलस्रोतको धनी नेपाल? कहिले सकिएला विद्युत्लाई अँध्यारोमा हालेर एक्लै हसुर्ने नियति ? कहिले हट्ला देशबाट पूरै अँध्यारो? तर्कवितर्क धेरै भए बसभित्र।
बस एक्कासि रोकियो देवदहमा । बसको अघिल्तिर लामै पङ्क्ति रहेछ सवारी साधनहरूको। दुई घण्टादेखि लाम लाग्न सुरु गरेका रहेछन् सवारी साधनहरूले। अलि पर सडकमा कोलाहल रहेछ मान्छेहरूको। मान्छेको जमात कहिले पूर्वतिर कहिले पश्चिमतिर दौड्दै थियो। प्रहरीहरू क्षणक्षणमा लाठी बर्साउँथे। अँध्यारो र दोहोरो घम्साघम्सी भएको बेलामा बसबाट ओर्लनु बुद्धिमानी थिएन। बसका कोही पनि बाहिरिएनौँ। ‘बसमै बास बस्नुपर्ने हो कि?’ मन कोपरियो बेस्सरी।
‘न्याय नपाउने हो भने यी गाडीहरू सबै जलाइन्छन्, बच्ने छैनन् कुनै पनि ।’ एकहूल केटाहरूको आवाज सुनेपछि झन् खतरनाक सावित हुने भयो बसभित्र बस्नु। आगोमा फालहालूँ कि पानीमा डुबूँको स्थिति निम्तियो यात्रुहरूमा।
केही वर्षअघि चन्द्रौटामा आतङ्कारीहरूले कैयौँ गाडीहरू जलाएका, सयौँ घरहरू भष्मखार बनाएपछिको भयावह तस्बिर नाच्न थाल्यो मनभरि। बसका यात्रुहरूले सम्झिए पनि त्यो घटना। चितवनको माडी बाँदरमुढेमा माओवादी जनयुद्धको नाममा बसभित्रै झन्डै सयको सङ्ख्यामा यात्रुहरूलाई जलाइएको र जनयुद्धकै नाममा टाँडीमा अबोध बालिका काजोल खातुनलाई बसभित्रै खरानी पारिएको घट्ना सम्झँदा ठाडा हुन थाले रौँहरू।
‘आखिर के रहेछ कारण, म बुझ्छु है’-साथीले रोक्न खोज्दाखोज्दै बसबाट बाहिरिएँ म।नजिकैका प्रहरी भाइलाई आफ्नो परिचय दिएँ। सोधेँ।
देवदह गाउँकै एउटी पैँतालिस बर्से महिलाका पति पाकिस्तान पसेका पाँच वर्ष भएको रहेछ। ती महिला र गाउँकै अर्को बीस बर्से युवकबीच चार वर्ष अघिदेखि सबै किसिमको सम्बन्ध बढेछ। त्यो बिहान महिलाको घरभित्र दुवैलाई रङ्गेहात भेटेछन् उनका जेठाजुले। उनले दाउराको झट्टी छोडेछन् युवक र महिलामाथि। घरका सबै मान्छेले लाठी बर्साउन थालेछन्, ढुङ्गा र इँटा बर्साउन थालेछन्। महिला र युवक प्रहरी चौकीमा छिरेछन्। गाउँलेले ती दुवैलाई उनीहरूलाई सुम्पनुपर्ने र भेटेपछि दुवैलाई चौबाटोमा जलाएर मार्ने धम्की दिँदै रहेछन्।
जनप्रतिनिधि, गाउँले र प्रशासनको लामो छलफलपछि बल्ल सडक खोल्न दिने सहमति भयो । एक घण्टाजत्ति रोकिएपछि गुड्न थाले गाडीहरू। व्यक्तिगत झगडा साम्य पार्न सडक अवरोध गर्न तम्सिहाल्ने, गज्जबको संस्कृति बढेको छ नेपालमा।
‘बुद्धको मावलीमा यत्रो लफडा’-बसमा हाँस्यौँ हामी।
निश्चय बनाउन खोज्दाखोज्दै अनिश्चयमा फस्छ यात्रा। बाँचुन्जेल हिँडिरहन त खोज्छ मान्छे। हिँड्दाहिँड्दै कहाँकहाँ बार, पर्दा र पर्खालहरू उभिएका भेटिन्छन् त्यो कसैलाई थाहा छैन। अवरोधहरूको पूर्वज्ञान नभएकै कारणले हिँड्छ, आनन्द बटुल्छ र केही सिक्छ मान्छे। थाहा पाउने हो भने लडेको खाँवो बनिहाल्थ्यो नि ऊ।
बीस र पैँतालीसबर्से सम्बन्धको बारेमा खुबै चर्चा चल्यो। सम्बन्धमा उमेर, जात, धर्म र भूगोलले केही अर्थ रहँदैन भन्ने बहस पनि चल्यो निकैबेर। शरीरको भोकको ज्वालाको सामु नेता, प्रशासक, व्यापारी, सर्वसाधारण कोही नबचेको उदाहरणहरू खुबै निस्किए। सातबर्से गोमा, ब्राह्मणीलाई सत्तरीबर्से बूढाले भोगेका स्वस्थानीका कथा निस्किए। वर्षौँ तपस्यामा लिन ऋषिमुनिहरूले अप्सरा देख्नेबित्तिकै बाटो परिवर्तन गरेका कथा निस्किए। शरीरको भोकले जोसुकै नातागोता डढेको उदाहरण निस्किए।
तीनतिर डाँडाले घेरिएको सुन्दर बुटवल झलमल्ल बत्तीमा चुरीफुरी देखाइरहेको रहेछ। रात भएपनि व्यापार, किनमेल र आवतजावतमा कुनै अवरोध देखिँदैनथ्यो बुटवलमा। निमका रूखहरू, अशोककारूखहरू र चमेलीका बोटहरूमुन्तिर उभिएर गफिनेहरू पनि प्रशस्तै देखिइरहेथ्यो। चोकबजारबाट दायाँ मोडिएर बजारको सिरान हुँदै पश्चिमतिर मोडिन्छ पूर्वपश्चिम लोकमार्ग। हाम्रो बस सुलुलुलु बगिरह्यो त्यही सडक पछ्याएर।
पाल्पातिरबाट ओर्लेको तिनाउ खोला तर्ने बेलामा पुराना र ससाना घरहरूले घेरिएको खस्यौली र बट्यौली बजारहरू रमाइलो लाग्छन्। कुनै बेला भारतीय बजारतिरबाट फर्कने र पाल्पा, गुल्मी, अर्घाखाँची र स्याङ्जा जिल्लाका मान्छेहरूको नुन, तेल, मरमसला र लत्ताकपडा किन्ने गौँडाको नामले परिचित थिए बट्यौली र खस्यौली। भारततिर काम गरेर फर्कने लाहुरेहरू बट्यौली र खस्यौलीका होटेलहरूमा बास बसेपछि सुरा र सुन्दरीको चक्करमा फसाएर लाहुरेलाई टाट फर्काइदिने र त्यतैबाट फेरि विदेश भासिन बाध्य पारिएका घटनाहरूले त्यो ठाउँको बदनामी नकमाएको पनि होइन। त्यस्तै प्रसङ्गहरूलाई रङ्गीन गरेर माधवप्रसाद देवकोटाले ‘हुस्सू पथिक’ लेखे। जसको ख्याति अझैसम्म छ। बट्यौली र खस्यौली बजार बुटवल नामले शङ्करनगर र मणिग्रामसम्म फैलन थालेपछि टुहुराजस्तै हुन थाले ती दुवै बजार।
‘समुन्नति स्थिर छैन, समय शक्ति र परिस्थिति फेरिएपछि फेरिन्छ समुन्नति’ भन्ने एउटा मीठो बिम्ब बनेर उभिएका छन् बट्यौली र खस्यौली।
निद्राशक्ति बाक्लिँदैछ। थकाइको मात्रा हुर्किँदैछ। हामीहरू कहिले जीवनका गम्भीर मोडहरूका कुरा गर्छौँ। ‘जिन्दगी आजसम्म त बाँचेकै छ, भोलि के हुने हो, कहाँकहाँ लाग्ने हो ठेस’-एउटा आशङ्का रुमलिन्छ। भविष्यको चिन्ता होइन, वर्तमान रङ्गीन बनाउनुपर्छ’- दर्शन पोख्छु म। बस पुगिसकेको छ गोरुसिङ्गेभन्दा अझ पश्चिमतिर।
गोरुसिङ्गे पुग्नेबित्तिकै रौँ ठाडा हुन्छन् मेरा। जनयुद्धको समयमा मेरो नेतृत्वको समूह गोरुसिङ्गे सन्धिखर्क सडकको लेखापरीक्षण गर्न त्यसको कार्यालय गोरुसिङ्गेमा पुगेको थियो। त्यही कार्यालयको आवासगृहमा बस्ने बन्दोवस्त थियो। एक साँझ सो आयोजनाका प्रमुख डिल्लीरमण निरौलाले खाना खान बोलाउनुभएको थियो लेखापरीक्षण समूहलाई। हामी गयौँ। आयोजनाका सबै कर्मचारी र उनीहरूको परिवारलाई पनि बोलाइएको रहेछ। खाना खाँदै थियौँ। रातको एघार बजेको थियो। एकजना कार्यालय सहयोगीले भने-‘क्वाटरको कम्पाउन्डवालबाहिर हतियारसहित ठूलो समूहको माओवादीहरूले घेरा हालेका छन्।’
हामी सबै आत्तियौँ। बत्ती पूरै निभाएर एकै ठाउँमा गुडुल्कियौँ। निरौलाजीले कपिलवस्तु जिल्लाका प्रहरी प्रमुखलाई फोन गर्नुभयो। प्रमुख जिल्ला अधिकारीसँगजीवनरक्षाका लागि हारगुहार माग्नुभयो। उताबाट जबाफ आयो-‘तुरुन्तै प्रहरी त्यहाँ आउन सक्तैन। आफ्नो सुरक्षा आफैँ गर्नुहोला।’
सुरक्षाको जिम्मा लिनेहरूले नै त्यसो भनेपछि कसरी हुन्छ ज्यूज्यानको सुरक्षा। हामी बिलखबन्द पर्यौँ।
‘माओवादीको बम र बारुदले सबैको ज्यान स्वाहा हुनेभो।’
‘न गोली ठोक्ने हुन् कन्चटकन्चटमा ताकेर।’
‘न ठुन्क्याउने हुन् हातगोडा।’
‘न अपहरण गरेर हिँडाउने हुन् सर्प, बिच्छी र बाघ, भालुको आहारा बनाउँदै।’
‘हुन त के गल्ती गरेका छौँ र हामीले, त्यस्तो गर्नु।’
‘दोहोरो कुराकानी भए त ठिकै हो, अन्धाधुन्ध एकोहोरो प्रहार हुन थाल्यो भने के गर्ने, सरकारी निकाय र सरकारी कर्मचारी ध्वस्त पार्ने नाममा।’
कर्मचारी मात्र होइन कर्मचारीका परिवारहरू पनि रुल्लटुल्ल परेका छन्। अबोध बालबालिका पनि निदाउनै नसकेर सन्त्रासमा स्याँ सुँ नगरी बसिरहेछन्। सल्लाह पनि ठूलो स्वरमा गर्न सकिएको छैन।
रातको बाह्र बज्यो, एक बज्यो, दुई बजिसक्यो झन्झन् बाक्लिएर बसेको छ त्यो फौज। चकमन्न रातको अन्धकारमा बिरालोको चालमा पर्खालका चरहरूबाट हामीमध्ये एक दुईले उनीहरूलाई नियाल्छौँ र भित्र पसेर साथीहरूलाई सूचना सम्प्रेषण गर्छौं। मर्ने, बाँच्ने दोधारमा रात ढल्यो। बिहान पाँच बजे उनीहरू बिस्तारै सडकपारि जङ्गलतिर पसे। थप एक रात भए पनि ज्यान बाँचेकोमा बिहान खुसी साटासाट गर्यौँ सबै मित्रहरूले। बढ्दो घामसँगै भरे फेरि के हुने हो भन्ने आशङ्का बाक्लिँदै गयो झम्के साँझसम्ममा। यो क्रम त धेरै भोगियो जनयुद्धकालमा।
भोलिपल्ट बिहान सात बजेतिर प्रहरीको एक जत्था हाम्रो सामु आयो।
‘तपाईंहरूले आश्रय दिनुभएछ र पो बसेछन् माओवादीहरू रातभरि यतातिर। लखेट्नु पर्दैन?’ इन्स्पेक्टर हान्ने राँगोझैँ हामीमाथि जाइलागे।
निरौलाजी र मैले बेस्सरी हप्कायौँ ती इन्स्पेक्टरलाई।
भन्यौँ, ‘तपाईंहरूको काम के? कि धम्क्याउने मात्र हो सर्वसाधारणलाई? थाहा पाएपछि पुच्छर लुकाएर रातभर चौकीमा लुक्ने तपाईंहरू, सुरक्षा आफैँ गर्नुहोस् भन्ने तपाईंको तालुक निकाय, अहिले धम्क्याउने तपाईं हामीलाई।’
इन्स्पेक्टर आफ्नो जत्था लिएर फर्किए।
त्यो घटना सम्झेपछि एक बोतल पानी रित्याएँ मैले। सहयात्री मित्रलाई पनि बताएँ सबै कुरा। जिब्रो काट्नुभयो उहाँले।
अँध्यारो सुरुङभित्र बसले गति झन्झन् बढाएको छ। जङ्गल नै जङ्गलको माझमा सुनसान रातमा गुडिरहेको बसले फिँजाइरहेछ बेग्लै सङ्गीत। बसको उज्यालोले ठाउँठाउँमा देखिन्छन् बाँदर, चितुवा र मृगहरू। सधैं असुरक्षा, सधैं अन्यौल र सधैं अप्ठेरोमाथि हिँडेर पनि कति शान्त, शालीन र सौम्य देखिन्छन् ती जनावरहरू। उता गुँडमा बसेर कुरकुराएका चराहरू र झाङ र झाडीहरूमा छेकारो परेर जङ्गलनै गुञ्जायमान पारिरहेका कीराफट्याङ्ग्रा र झ्याउँकीरीहरूको आवाजले जङ्गल बनिरहेछ प्रकृतिको सुमधुर कोरस छर्ने थलो। बसबाट ओर्लेर ती चराचुरुङ्गी र कीट पतङ्गका आवाज सुनुँ कि जस्तो पनि लाग्छ। तर गन्तव्य बिर्सेर गल्याङमल्याङतिर भुल्ने हो भने कहाँ पाइन्छ र जिन्दगीमा सन्तोष?
बस रोकिइसकेछ। झलमल्ल विद्युत् प्रकाश छताछुल्ल छ। मध्यरातपछि पनि हरेक घरघरबाट चिच्च्याउँदै भातभान्साको आमन्त्रण गरिरहेछन् होटेल साहूसाहुनीहरू। पूर्व पश्चिमबाट आवतजावत गर्ने बसहरू रोकिँदैछन्। होटेलहोटेलमा यात्रुहरू पस्छन्। धमाधम खान्छन्। फर्कन्छन्। मानौँ भातेमेला चलिरहेछ।
‘भालुवाङ’ लेखिएको ठूलो साइनबोर्ड छ भित्तातिर। ‘वाङ’ को अर्थ समतल जमिन हो मगर भाषामा। भालुवाङ र बुर्तिवाङमा जस्तै यस क्षेत्रमा पनि मगरहरूको बाहुल्य थियो पहिले। हामीले पनि भात माग्यौँ। लामालामा नङ पालेका, लामै कपाल फिँजाएका फोहोरी देखिने भाइहरूले खानाको थाल तेस्र्याए टेबुलमाथि। रात नै भए पनि झिँगाको भुनभुन सङ्गीत र नाच चलेकै छ। खिया परेको बाल्टीमा भरिएको छ दाल, कालो जमेको स्टिल बाटाहरूमा भरिएको छ बन्दाको तरकारी र गोलभेँडाको अचार। खानेकुरा केहीमा पनि छैन तातोको धुकधुकी। अधबैँसे साहूजी तिनै भात, दालको अघिल्तिर बसेर ख्वाङख्वाङ खोकिरहेछन्। उनको हातमा रक्सीको ग्लास छ। खोकी रोकिनेबित्तिकै रक्सीको चुस्की लिइहाल्छन् साहूजी। मानौँ रक्सी नै खोकीको औषधि हो। उता साहुनीले भने बन्दाका डल्लाहरूलाई छ्याकछ्याक काटिन् र पखाल्दै नपखाली सडककिनारको खुला चुल्होमाथिको डेक्चीमा ओइरिन्। एउटा भाइ उभिएर छातीको मैल माडिरहेथे। हाम्रो अघिल्तिर बसेका एक भाइ र एक बहिनीले थप खाना मागे। हत्तरपत्त छातीको मैल माड्दै गरेका भाइले हातैले गमक्र्याए भातको डल्लो । त्यो देखेपछि भने पेटको सबै निस्कियो मुखबाट मेरो। मित्रले त दाल मात्र पिइरहनुभएथ्यो सुरुदेखि।
‘ए साहूजी के गर्नुभएको यस्तो होटेल त अलि सफासुग्घर चलाउनुपर्छ नि।’
‘सफासुग्घर त छ नि, के फोहोर छ र यहाँ।’
‘मान्छे फोहरी, भाँडाकुँडा फोहोर, खाना बासी छ नि त।’
‘त्यस्तो भए नखानुभएको भए भइहाल्थ्यो नि, किन खानुभएको त। हामीले यसै गरी होटेल चलाएको बीस वर्ष भइसक्यो बुझ्नुभो। सबैले खाएकै छन्। खुरुक्क पैसा दिने आफ्नो बाटो तताउने।’ बित्थामा भनाभन भयो साहूजीसँग। ‘जसले जस्तो खाना ख्वाए पनि जस्तो होटेल चलाए पनि कसैले वास्ता नगरेपछि लुट्न कसले पो छोड्दैन र?’
हामी बेकारमा होटेलमा पसेछौँ भन्ने लाग्यो। त्यसरी हिँड्दा बरु आफैँले ड्राइफुडहरू बोक्न पर्ने थियो भन्ने पनि लाग्यो हामीलाई। पेटमा हालेको भन्दा पेटबाट निकालेको बढी भए पनि एकजनाको दुई सयका दरले तिरियो दस्तुर।
बस गुडेपछि सहचालक भाइले भने-‘देख्नुभो कति मीठो छ भालुवाङको भात।’
भाइको कुरा सुनेपछि हामीभन्दा बढी हाँसे धनगढीका प्रशान्त ऐर र मिलन बूढा भाइ। उनीहरूले त दालमा चारवटा साङ्ला भेटेपछि पैसै नतिरी हिँडेका रहेछन्।
‘भालुवाङमा हाम्रो होटेल छ, मीठो खाना खाउँला भरे’- सहचालक भाइले चोरमारातिर नै धेरै पटक भनेथे हामीलाई।
‘तिमीहरूलाई पो यात्रु लगेबापत सित्तै मासुभात ख्वाउँछ होटेलवालाले। हामीलाई त उही बासीतासी त होला नि’-हामीले भनेका थियौँ।
‘त्यस्तो होइन त्यो होटेल। बासी कहिल्यै बेच्दैन, नचाहिँदो मूल्य लिँदैन, सफा खाना, भालुवाङ जाना क्या’- भाइ हाँसेथे।
भाइको भनाइ र भालुवाङको भात सम्झँदा फेरि एकपटक उल्टी होला जस्तो भो। हामी दुवैले एकै स्वरमा बोल्यौँ-‘भालुवाङको भात।’
प्रकाशित: २३ माघ २०८१ १२:०९ बुधबार