६ चैत्र २०८१ बुधबार
image/svg+xml
कला

मन दुखिरहेको बेला मजाक गर्छन् मान्छेले!

मुक्तक

१) मुक्तक

जीवन त्यस्तै हो तैपनि रमाउन सिक्नुपर्छ,

जे छ त्यस‌ैमा रमेर नाम कमाउन सिक्नुपर्छ।

बल्लतल्ल पाएको यो जुनी फर्किन्न कहिल्यै,

दीनदुखीलाई सहयोग गरी हँसाउन सिक्नुपर्छ।

२) मुक्तक

मनमा पाप भएपछि भरिन्छ पापको घडा सधैं,

आफ्नो लयमा हिँड्नेहरू हुन्छन् रे तगडा सधैं।

मन चङ्गा छ भने कुम्भमा नुहाउन जानू पर्दैन हेर,

यस्ता मान्छे मरे पनि फरक पर्दैन हुन्छन् खडा सधैं।

३) मुक्तक

मन दुखिरहेको बेला मजाक गर्छन् मान्छेले,

सहयोग नगरी आँखामा धुलो छर्छन् मान्छेले।

यो स्वार्थी दुनियाँको कुरा गरेर साध्य नै छैन,

दुई रुपैयाँ दिनु पर्दा मुटुमा आह भर्छन् मान्छेले।

४) मुक्तक

भुईमा खसिसकेपछि कसले उठाउँछ फेरि,

गल्ती गरिसकेपछि कसले थुमथुम्याउँछ फेरि।

गल्ती गर्नुभन्दा सचेत रहनु नै उत्तम हुने हो,

आपत् आइलाग्यो भने कसले बचाउँछ फेरि।

५) मुक्तक

प्रेमी थियो तर नियत रहेछ उसको दुराचारी,

सरकारी जागिर के खाएथ्यो रहेछ भ्रष्टाचारी।

यस्तो नियत भएका मानिस सधैं घाती हुन्छन्,

कहिल्यै देखाउँदैनन् यस्ताले कहीँ इमानदारी।

६) मुक्तक

जब गोजी खाली हुन्छ आफन्त पनि पर हुन्छन्,

उन्नति देखेपछि आफ्ना दुश्मनहरू पनि वर हुन्छन्।

हिजोआज मानवता भन्ने कुरा इतिहासमै हरायो,

आफ्नो स्वार्थ पूरा भएपछि सबै असल नर हुन्छन्।

७) मुक्तक

यसरी नै हेरिरहेका छौं भन्ने भान हुन्छ,

साँचो प्रेमको नै जहाँ पनि बढी सम्मान हुन्छ।

त्यही प्रेमले संसार चलिरहेको छ आजसम्म,

सपनीमा तिमी आउँदा मेरो त बिहान हुन्छ।

८) मुक्तक

विदेशीहरूले साथी बन्न निम्तो पठाउँछन्!

के यिनीहरूले अरूबाट फाइदा उठाउँछन्!

न मिल्छ वेशभूषा न मिल्छ खानपिन कुनै,

सधैंभरि फोन गरेर मलाई साह्रै सताउँछन्।

९) मुक्तक

आखिर घमण्ड गर्छौं केका लागि!

अनावश्यक भाषण छर्छौ केका लागि!

सबैले यो धर्ती छोड्नुपर्छ एकदिन,

समाजमा कालो कर्तुत धर्छौ केका लागि!

१०) मुक्तक

चाहना भएन भने बहाना अनेक हुन्छन्,

नखोले पनि भित्र दिवाना अनेक हुन्छन्।

हरेकले आफूलाई साधु झै मान्छन् जहिल्यै,

उमेर अनुसारको जमाना अनेक हुन्छन्।

-पारू अर्याल नेपाल

प्रकाशित: १८ माघ २०८१ १०:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App