१७ माघ २०८१ बिहीबार
image/svg+xml
कला

खण्डहर

लघुकथा

१) खण्डहर

सधैँ व्यस्त रहने कृष्णकुमार हप्ता दिनको बिदा लिएर वैवाहिक वर्षगाँठको उपलक्ष्यमा आफ्नी पत्नी कृपा र छोराका साथ घुमघामका लागि काठमाडौँ गए। काठमाडौँ पुगेपछि सबैभन्दा सुरुमा उनीहरू नारायणहिटी संग्रहालय घुमे। अनि क्रमशः भक्तपुर दरबार र पाटन दरबार घुमे। त्यसपछि चिडियाखाना घुमे। घन्टाघर हेरे। हनुमानढोका दरबार घुमिसकेर धरहरा चढे।

माथि पुगेर कौसीबाट के बाहिर नियाल्दै थिए, त्यति नै खेर भुइँचालो आयो। धरहरा बेस्सरी हल्लियो र जमिनमा बजारिएर टुक्राटुक्रा भयो। कृष्णकुमार र छोरा खण्डहरभित्र पुरिए। कृपा भने उछिट्टिएर भुइँमा बजारिइन्। धरहरा वरिपरि धुलोमैलोले कुहिरीमण्डल भयो।

 नजिकैको दृश्य पनि देख्न नसकिने भयो। अघि भागाभाग गरेका मान्छेहरू एकछिनपछि सम्हालिए। तत्कालै देखिएका घाइते तथा मृतकलाई नजिकैको हस्पिटलमा पठाइयो। घाइते कृपा अस्पतालको लामो बसाइपछि निको भएर घर फर्किई। भुइँचालो गएको पनि धेरै वर्ष भइसकेको छ। ढलेको धरहरा अहिले ठडिइसकेको छ। तर कृपाको मन भने अझै खण्डहर नै छ।

२) अशुभ

उसलाई कालो रब पटक्कै मन पर्दैन। त्यसमाथि ज्योतिषीले कालो रब उसलाई अशुभ हुन्छ भनेदेखि कालो रबप्रति उसलाई चरम घृणा जागेको छ। जानेबुझेदेखि कालो ज्याकेट, कालो टीसर्ट, कालो पाइन्ट, कालो टोपी, कालो चस्मा, काला जुत्ता उसले कहिल्यै लगाएन। मोजा किन्दा पनि कालो पर्छ कि भनेर ऊ सचेत हुने गर्छ रबकै कारणले आफन्तले उपहार दिएको कालो ओभरकोट उसले नजिकको साथीलाई दियो।

त्यसैगरी चिट्टामा परेको कालो रबको कार एकपटक पनि नचढी बेच्यो। उसको घरमा कालो रबका टेबल, कुर्ची, दराज, सोफा, बाकस, माटे कराई, छाता लगायतका दैनिक जीवनमा प्रयोग हुने सरसामान प्रयोगमा रोक छ। यतिसम्म कि दाउरा बलिसकेपछि कालो अँगार बन्छ भनेर उसको भान्छामा कहिल्यै दाउराको प्रयोग गरिएन।

पूजापाठमा पनि कालो तिल प्रयोग गरिएन। भाकल गर्दा कालो बोको भाकिएन। कालो रब नरुचाउने उसको कामचाहिँ कालोबजारी गरेर कालो धन थुपार्ने छ। फाटेको लुगा र ढाँटेको कुरा लुकाएर लुक्दैन भन्थे।

एक दिन उसको कालो कर्तुत बाहिर निस्कियो। उसको कालो धन्दा थाहा पाएपछि भिडले उसलाई समातेर कालोमोसो लगाइदियो। त्यसपछि उसको कालो कोटवाला कहाँ मुद्दा चल्यो। कालो कोटवालाले उसलाई आजीवन अँध्यारो कालो कोठामा थुन्ने फैसला गर्‍यो।

३) अरूचि

बिहान सबेरै घरआँगन सरसफाइ, लिपपोतदेखि पानीपँधेरो, घरको चुलाचौकादेखि भैँसीगोठ र घाँसदाउरादेखि खेतबारीसम्मको काम एक्लै भ्याउने आमा अचानक एकदिन थला पर्नुभयो। अलिअलि बिरामी हुँदा बिरामी भएको पनि भानै नलाग्ने गरी यताउता गर्नुहुने आमा यसपटक भने ओछ्यान छाड्न नसक्ने गरी लडिरहनुभयो। बिरामी भएको केही दिनपछि त उहाँले अन्न खान पनि छाड्नुभयो। बेलाबेला तातोपानी मात्र माग्नुहुन्थ्यो।

छोराछोरीले सम्झाए, “बिरामी हुँदैमा खाना खानै छोड्नुपर्छ र आमा! जति रुच्छ त्यति खानुस्। नत्र झन् बिमारले गाल्छ। उठ्नुस् आमा! थोरै जाउलो खानुस्।”

आमाले भकारी सम्झनुभयो र नाइँ भन्ने आशयमा मुन्टो हल्लाइरहनुभयो। ठीक त्यसैबेला, वर्षौंदेखि हराउनुभएका बा दुई जना भरिया लिएर टुप्लुक्क आइपुग्नुभयो। त्यसपछि आमा चङ्गा भएर भान्छातिर लाग्नुभयो।

४) विकास

गाउँको खोलामा पक्की पुलको माग भयो। यो माग पहिलोपटक उठेको भने थिएन। पटकपटक गरिएको मागको निरन्तरता थियो। यसपालि कसोकसो संघीय सरकारले सुन्यो र बजेट पास गरिदियो।

पास गरेको बजेटबाट संघीय सरकारले नै केही रकम झिकेर प्रदेश सरकारमा पठायो। प्रदेश सरकारले त्यहाँबाट केही रकम झिकेर गाउँपालिकामा पठायो। सो रकममध्येबाट केही आफैँसँग राखेर गाउँपालिकाले बाँकी रकम वडामा निकासा गर्‍यो। वडाले केही रकम आफूसँग राखेर बाँकी उपभोक्ता समितिलाई हस्तान्तरण गर्‍यो। सो रकमबाट उपभोक्ता समितिले खोलामाथि काठको फड्के हाल्यो।

५) सालिक

देशमा जनताको शासन हुनुपर्छ र निरब्कुश सत्ता ढलाउनुपर्छ भनेर आन्दोलन भयो। सुरुमा फाट्टफुट्ट संख्यामा देखिएका आन्दोलनकारीहरू क्रमशः बढ्दै गएर भिडले जनसागरको रूप लियो। गाउँदेखि सहरसम्म जताततै नाराजुलुस घन्किए। सरकारले आन्दोलन दबाउन सडकमा सेना उतार्‍यो। सेना उतार्दैमा जनता के डराउँथे र? जनआन्दोलन रोकिएन, बरू अझै तीव्र गतिमा बढ्दै गयो। सरकार कर्फ्यू लगाउँथ्यो। आन्दोलनकारीहरू त्यसलाई तोडेर जुलुस निकाल्थे ।

एकदिन बजारको मुख्य चोकमा सेना र आन्दोलनकारीबीच घम्साघम्सी भयो। सेनाले गोली चलायो। एक जना आन्दोलनकारी ठहरै भयो। अरू थुप्रै घाइते भए। यो घटनाले आन्दोलन झन् पेट्रोल हालेको आगोमा झैं राँक्किँदै गयो। जनताको अदम्य साहसले आखिर सत्ता पल्टिएरै छोड्यो।

देशमा गणतन्त्र आयो। जनताको सरकार बन्यो। आन्दोलनमा सहिद भएको व्यक्तिको सम्मानमा बजारको मुख्य चोकमा सालिक राखियो।

आज चोकतिर एउटा कामले हिँडिरहेको थिएँ। अकस्मात् पानी पर्‍यो। छाता नलिईकन निस्केको म चोकको एउटा कुनामा ओत लगाएर बसिरहेको थिएँ। झमझम पानीमा उताबाट मेरी भाउजू छाता ओढेर आइरहनुभएको देखेँ।

सरासर आउनुभएको भाउजू सालिकको अघि रोकिनुभयाे। एकटकले सालिकलाई हेरिरहनुभयो। के सोचेर कुन्नि आफूले ओढिरहेको छाता सालिकलाई ओढाइदिनुभयो। त्यो सालिक जनआन्दोलनमा गोली खानुभएका मेरा दाजुको थियो।

(कथाकार दीपक समीपको नदीको राजमार्ग  लघुकथासंग्रहमा सङ्गृहीत।) 

प्रकाशित: १२ माघ २०८१ १२:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App