काठमाडौंमा एक विशेष समारहबीच सिक्किमका सर्जक टी. बी. चन्द सुब्बाको ‘विश्वमा मानव सभ्यता-जातीय बृहत् इतिहास-संस्कृति र परम्परा’ को परिचर्चा भएको छ।
साहित्यिक पत्रकार संघ र मिलाप म्यागजिनको आयोजनामा डालो रेस्टुरेन्ट, अनामनगरमा भएको कार्यक्रममा सर्जक सुब्बा र नेपाल पत्रकार महासंघ काठमाडौं शाखाकी नवनिर्वाचित अध्यक्ष शोभा अर्याललाई बधाई तथा सम्मान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि प्राडा गोविन्दराज भट्टराईले दुवै जनालाई सम्मान अर्पण गरेका थिए।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तेइस सय पृष्ठको ‘विश्वमा मानव सभ्यता-जातीय बृहत् इतिहास-संस्कृति र परम्परा’ कृतिको परिचर्चामा वक्ताहरूले बहत् कृतिका लागि सर्जक सुब्बालाई शुभकामना बधाई दिनुका साथै कृतिको चर्चा गरिएकाे थियाे।
मिलाप म्यागजिनका प्रधान सम्पादक कृष्ण भुसालले स्वागत मन्तव्य राखेको कार्यक्रममा प्रमुख अतिथि प्राडा गोविन्दराज भट्टराई, विशेष अतिथि प्राडा सुरेन्द्र केसी, अध्यक्ष राधेश्याम लेकाली, सम्मानित सर्जक टी.बी. चन्द सुब्बा, पत्रकार शोभा अर्याल, महाकाव्यकार खेमनाथ दाहाल, विशिष्ट कलाकारहरू लय संग्रौला, उत्तम केसी, वरिष्ठ सङ्गीतकार राजु सिंह, गीतकार अमर वान्तु, गीतकार सङ्घका अध्यक्ष वसन्त वित्यासी लगायतले मन्तव्य राखेका थिए।
स्वागत मन्तव्यका क्रममा भुसालले मिलापको चर्चा गर्दै नेपाली भाषा, साहित्य, कला संस्कृतिका विषयमा मिलाप मार्फत १५ वर्षदेखि आफूहरूले सामग्री प्रस्तुत गर्दै आएको बताए।
प्रमुख अतिथि प्राडा भट्टराईले सर्जक सुब्बाले यस वृहत कृतिको सुरुवातदेखि नै आफूसँग आउने गरेको र आफूले सक्दो सहयोग पुर्याएको बताए। उनले यसभित्र समावेश भएका विषयवस्तुको समय क्रममा चर्चा हुँदै जाने र के कस्ता विषयवस्तु छन् भन्ने विषयमा चर्चा हुने बताउँदै उनको साहस तारिफयोग्य भएको बताए।
यस्तै प्राडा केसीले हामीले गर्न नसकेको काम सीमापारिका सर्जकहरूले गरिरहेको बताउँदै हाम्रो राजनीति र समाजिक परिवेश एक अर्काको खुट्टा तान्ने प्रवृत्ति रहेको सुनाउँदै हामीले आफूलाई परिमाजित गर्दै लानुपर्ने बताए।
महाकाव्यकार दाहालले साहित्यको सीमा नहुने भन्दै जहाँका सर्जकले सिर्जना गरेका रचना भए पनि ती सबैले मानवीय संवेदना, परिवेश, कला र संस्कृतिका लागि हुनुपर्न्र बताए।
वरिष्ठ कलाकार संग्रौलाले नेपाली भाषा, साहित्य, कला संस्कृतिका साथै सर्जक सुब्बाको खोज अनुसन्धानमुलक लेखनको चर्चा गरेका थिए।
गीतकार तथा निर्देशक गणेश सुवेदीले सजीकरण गरेको कार्यक्रममा अध्यक्ष लेकालीले आफू अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को अध्यक्ष हुँदा सर्जक सुब्बासँग धेरै कार्यक्रममा सहकार्य गरेको बताउँदै नेपाल बाहिरका धेरै सर्जकले नेपाली साहित्यको उत्थानमा आफूलाई संलग्न गराइरहेको र सर्जक सुब्बाका कार्य प्रशंसनीय रहेको बताए।
सम्मानित सुब्बाले १७ वर्ष लगाएर पुस्तक तयार पारेको बताउँदै नेपालका ७१ जिल्लामा आफू पुगेको बताए। उनले कृतिको सुरूवातदेखि तयार हुँदा सम्मका विभिन्न अनुभव सुनाएका थिए।
सम्मानित सुब्बाका यसअघि नै गीत, कविता, खण्डकाव्य, कथा, उपन्यास, जीवनी, गीति एल्बम र एक दर्जनकृति प्रकाशित छन् भने उनले एक दर्जन बढी पुस्तकको सम्पादन पनि गरेका छन्।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सिक्किम च्याप्टरका निवर्तमान उपाध्यक्ष तथा सल्लाहकार रहेका साहित्यकार टी.बी. सुब्बा नेपाली साहित्य परिषद्, गान्तोक लगायत विभिन्न संघ सस्थामा आबद्ध छन्। यसैगरी अर्का सम्मानित पत्रकार अर्याल सत्र वर्षदेखि पत्रकारितामा संलग्न छिन्।
कार्यक्रममा साहित्यकारहरू प्राडा गोविन्दमान सिंह कार्की, शरद प्रधान, जनक रावल, डा. दामोदर पुडासैनी, किशोर विश्वकर्मा, डा. शान्तिमाया गिरी, शैलेन्दु चापागाईं, मन्जिला अनिल, कमला रिसाल, डा. बुनु दाहाल, सुधा मैनाली, गीतकार रमेश दाहाल, पत्रकारहरू- प्रविन थपलिया, श्रीराम राई, सानुकाजी श्रेष्ठ, सूर्य सुवेदी, गीता अधिकारी, डिल्लीरमण सुवेदी, रिना श्रेष्ठ, भोला अधिकारी, मोहम्मद जलिम, सुरेन्द्र थापा, चलचित्र निर्देशक माधवराज खरेल, कमला जोशी, कलाकार अटल निरोज तथा सिक्किमकी दुर्गा सुब्बा लगायतको उपस्थिति रहेकाे थियो।
प्रकाशित: १७ माघ २०८१ १०:५६ बिहीबार