२७ पुस २०८१ शनिबार
image/svg+xml
कला

इस्तानबुलमा खुलेको आकाश

नियात्रा

संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्द्वारा प्रत्येक वर्ष सन् २०१५ पछि एजेन्डा २०३० आएपश्चात् दिगो विकासका लक्ष्यहरूको वार्षिक समीक्षा गर्ने उद्देश्यले आयोजना हुने उच्चस्तरीय राजनीतिक फोरम २०२४ को बैठकमा करिब सोह्र दिनको न्युयोर्क बसाइपश्चात् जुलाई २४ देखि २६ सम्म इस्तानबुल सहरमा आयोजना भएको एक कार्यशालामा परराष्ट्र मन्त्रालयका तर्फबाट सहभागी हुने अवसर प्राप्त भयो। अति कम विकसित मुलुकहरूको क्षमता विकास गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको थियो।

नेपाली प्रतिनिधिमण्डलमा म र राष्ट्रिय योजना आयोगबाट एक जना सहसचिव हुनुहुन्थ्यो। मेरो औपचारिक कार्यक्रमका खातिर आफ्नो इस्तानबुल अनुभव, त्यहाँको विकास, इतिहास तथा जीवनशैलीबारे खोतल्ने थप निजी स्वार्थनिहित उद्देश्य पनि थियो। फेरि आइएला नआइएला, सम्झना त सँगाल्नुपर्‍यो।

नेपालमा टर्कीको दूतावास नभएकाले भिसाका लागि नयाँदिल्ली पठाउनुपर्ने भयो। भिएभएसले साधारण राहदानीका लागि मात्र भिसा प्रोसेसिङ गर्दोरहेछ। कूटनीतिक तथा अफिसियलका लागि नयाँदिल्लीमा रहेको टर्कीको दूतावासमा नै पठाउनुपर्ने रहेछ। अमेरिकाको पनि भिसा लगाउनुपर्ने भएकाले हतार हतार नयाँदिल्ली पठाएर भिसा समयमै लगाए।

२३ जुलाईको बिहान ७ः३५ को टर्किस एयरको उडान रहेकोमा काठमाडौंबाट ढिला भएर करिब नौ बजे मात्रै उडान भयो। भाग्यवश बिजनेस क्लासमा अपग्रेड भएकाले यात्रा एकदम सहज र रमाइलो भयो। नेट चलाउँदै र बिजनेस क्लासको पूर्ण सदुपयोग गर्दै टर्की पुगियो। मेरो सिट छेउमा इलन मस्कको स्टारलिंककी प्रतिनिधि नेपालमा स्टारलिंकको इन्टरनेटको अनुमति लिनका लागि आएकी रहिछन्।

विभिन्न व्यक्तिलाई भेटेको भिजिटिङ कार्ड देखाउँदै थिइन्। टर्किस एयरको नेपालबाट ढिला उडान तथा टर्की पुगेपछि एयरपोर्टमा पार्किङका लागि बे नपाएर जहाज आधा घण्टाजति होल्ड भएकाले उनको कनेक्टिङ उडान छुट्न लागेकाले पूरै चिन्तित थिइन्। अब जिन्दगीभर टर्किस एयरलाइन्समा उडान नगर्ने भन्दै थिइन्। यात्राभर स्टारलिंकको इन्टरनेट चलाइरहेकी थिइन्। उनको टर्कीबाट अमेरिकातर्फको उडान पक्कै छुटेजस्तो थियो। हतार हतार गर्दै थिए यात्रुहरू।

टर्की एयर खास युरोप अमेरिका जानेहरूले प्रयोग गर्ने भएकाले उनीहरूको अर्को उडान समात्न हतारमा थिए, कतिको उडान पनि छुट्यो ट्रान्जिट समय कम भएको र काठमाडौंबाट ढिला उडान गरेकाले। मसँगै नेपाली सेनाका कर्णेल रोहित गुरुङ पनि हुनुहुन्थ्यो। उहाँ न्युयोर्कस्थित नेपाली नियोगमा सैनिक सल्लाहकार पदमा सरुवा भई जाँदै हुनुहुन्थ्यो। उक्त पदमा कार्यरत सैनिक अधिकारीको कागजात फर्जीमा दोषीदेखि जागिर नै गएको राष्ट्रिय अखबारमा समाचार आएको थियो। मल्ल थरका तर काबिल अफिसर रहेको बताउँदै थिए।

 समयमै कागजातहरू नमिलाएर गल्ती गरेको भन्दै थिए। उहाँसँग काठमाडौं एयरपोर्टमा भलाकुसारी भयो। अनि टर्की झरेपछि म बाहिर निस्कनेतिर लागेँ, उहाँ अन्तर्राष्ट्रिय यात्रु ट्रान्सफरतिर लाग्नुभयो। कूटनीतिक काउन्टरमा गएर सुरक्षा चेक गरी अध्यागमन जाँचबुझ सकेर ब्यागेज लिन गएको नेपालबाट टर्की आउने खासै हुँदा रहेनछन्। २३ बी लगेज बेल्टलाई तोकेको थियो। खासै ब्यागेजहरू थिएनन्।

मैले ब्याग कुर्दै गर्दा मुद्रा सटही गर्ने काउन्टर पनि सँगै रहेछ। एक सय अमेरिकी डलर साटेँ। २२ प्रतिशत कमिसन लिँदो रहेछ। एयरपोर्टमा त ब्रह्मलुट रहेछ। सटहीमा पछि पो यसो ख्याल गरेको खतम पारेछ। एक डलर बराबर ३३ टर्किस लिरा हुनुपर्ने। हामीलाई त २५ लिरा मात्रै दियो। मलाई एयरपोर्टमा लिन गैरआवासीय नेपाली संघ, टर्कीका अध्यक्ष उज्ज्जल घिसिङ आएका थिए। उनका केही सामान पनि मैले लगेर गएको थिएँ। उनको इस्तानबुलको टाक्सिममा नेपाली रेस्टुरेन्ट रहेछ। उनका पार्टनर योन्जन थरका एक जना पनि रहेछन्।

म करिब साढे दुई बजे इस्तानबुल एयरपोर्टमा झरेपछि बाहिर आउँदा त्यस्तै तीन, साढे तीन बजेको थियो होला। मेरो सोचाइ अर्कै थियो। साथी गाडीमा आउँछन् होला जस्तो लागेको थियो। गाडी त पक्कै होला। राम्रै हैसियतमा बसेका होलान् तर संघर्ष गर्दै रहेछन्। नेपालमा पनि ट्युसन इन्स्टिच्युट चलाएका अनि विदेशमा केही हुन्छ कि भनेर कुवेत पनि गएछन्। त्यहाँ पनि मन परेनछ। टर्की घुम्न आएका भिजिट भिसामा। त्यसपछि यतै व्यवसाय सुरु गरेछन्। कोभिडले धेरै डुबाएको भन्दै थिए। पहिला दुई वटा रेस्टुरेन्ट सेन्टरमा खोलेर ठुलो लगानी गरेको कोभिडले गर्दा पूरै डुबाउनुपरेको र हालको रेस्टुरेन्ट खोल्न पुगेको बताउँदै थिए। नेपाली स्वादका परिकारलाई जोड दिएर सञ्चालन गरेका रहेछन्।

मैले रेस्टुरेन्ट नजिकैको सैलुनमा गएर कपाल काटेँ। नेपालमा कपाल काट्न पनि भ्याएको थिइनँ। दुई सय टर्किस लिरा तिरेर कपाल काटियो। अनि नेपाली रेस्टुरेन्टमा खाना पनि खाइयो। उनको पार्टनरको परिवार पनि सँगै रहेछ तर उज्ज्जलजीको परिवार, केटाकेटी नेपालमै थिए। पढाइले गर्दा गाह्रो छ भन्दै थिए।

टर्कीमा तीन चार हजार नेपाली होलान् भन्दै थिए। नेपालीको प्राथमिकता टर्की आएपछि युरोप छिर्ने भएकाले पनि यकिन तथ्यांक पाउन गाह्रो भएको र गैरकानुनी रूपमा आउने तथा तस्करहरूले त्यहाँ हुँदै ग्रिस लैजाने गर्दा रहेछन्। पैसाको चंगुलमा डुबेर बिजोग भएका नेपालीहरूका कहानी र उद्दार गरेका कैयांै कथा पनि सुनाए। हामी एयरपोर्टबाट ट्याक्सीमा होटल आयौं। त्यहाँ पुग्न ४० मिनेटजति लाग्ने रहेछ। एयरपोर्ट बस्तीभन्दा टाढा करिब ४० किलोमिटर दुरीमा रहेछ। ट्याक्सीले करिब आठ सय लिरा लियो। पैसा पनि मैले तिरिनँ, उनैले तिरे। मलाई तिर्न दिन मानेनन्।

एक डेढ घण्टापछि होटलमा जान हिँड्यौं। टाक्सिम स्क्वायर हेरेर मेट्रोबाट जाने विचार गर्‍यौं। गत वर्ष नेपालका परराष्ट्रमन्त्री नारायण खड्का पनि अन्तलिया डिप्लोम्याटिक फोरममा जानुभएको र यहाँ घुमाएको बताउँदै थिए। शिवानी बस्नेत मेडमको पनि कुरा गरे अनि मैले चिन्छु भन्दै दुवै जनाको सेल्फी खिचेर पठाए। उनले भन्दै थिइन् त्यहाँ घुमेको।

हाम्रो होटल चार लेभेन्टमा रहेको सेराटनमा थियो। होटलमा करिब पाँच बजेतिर पुगियो। मेट्रोबाट लेभेन्ट हुँदै चार लेभेन्ट आइयो। मेट्रो स्टेसनको छेउमै होटल रहेछ तर गुगल म्याप लगाएको कन्फुज बनायो। मान्छेलाई सोधेको सामुन्ने रहेछ। होटेलमा गएर चेक इन गरेर दशौं तलाको नौ नम्बर रुम दियो। ब्यागेज लिएर हामी रुमतिर लाग्यौं। रुममा पुगेपछि एकजना भारतीयजस्ता देखिने युवा काम गर्दै थिए। मेरो कार्डले काम गरेन र मिनिबार लक गर्न पनि आएका रहेछन्। मैले ‘आप इन्डिया से ?’ भनेँ।

उनले हसिलो तवरले ‘मे नेपाल से’ भन्ने जवाफ फर्काए। अनि हाम्रो वार्तालाप सुरु भयो। बेल ब्वायलाई पठाएर गफ गरियो। उनको नाम श्याम पाण्डे रहेछ। भिजिट भिसामा आएर यतै काम गर्न थालेका रहेछन्। दलालले भिजिट भिसामा पठाएको रहेछ। उनी अब टर्कीको पिआर लिने र बिस्तारै यतैको नागरिक हुने भन्दै थिए।

नेपालबाट परिवार ल्याउने योजना सुनाउँदै थिए। उनका बहिनीज्वाइँ पनि सँगै इस्तानबुलमै रहेछन्। मैले स्थानीय वस्तुस्थिति र इस्तानबुलमा घुम्नै पर्ने ठाउँहरूबारे जिज्ञासा राखेँ। उनको भने ड्युटी हुने भएकाले शनिबार मात्र फ्रि हुने र समय दिने बताए। मेट्रोको कार्ड पनि दिएका थिए। त्यहाँ जेहोस् नेपालीसँग भेट भएर नेपालीमा कुरा गर्दै त्यहाँबारे कुरा गर्दा आनन्दै आयो।

रातभरि अनिँदो भएको र बिहानैको उडान भनेकाले सुतिएको थिएन। उनीसँग अब भोलि कुरा गरौंला भनेर बिदा भएपछि नेपालमा केटाकेटीसँग कुरा गरेँ। कुरा गर्दैगर्दा म त भुसुक्कै निदाएछु। एकैपल्ट राति बाह्र बजे ब्युँझिएँ। अनि भोक लागेको खासै थिएन। रेस्टुरेन्टमा टन्नै खाएर आएको थिएँ। मजाले निदाइयो। बिहान नौ बजेदेखि कार्यशाला सुरु हुने थियो २४ जुलाईको। हाम्रो वर्कसपमा ४५ वटै कम विकसित मुलुकका प्रतिनिधिहरू आएका थिए।  

सहभागी हुनेमा हामी जेनेभामा सँगै काम गरेका बंगलादेशका विदेश मन्त्रालयका मित्र महबुब पनि आएका रहेछन्। तीन वर्षपछि भेट भयो। जेनेभाबाट फर्केपछि उनी हार्वडमा मास्टर इन पब्लिक पोलिसी अध्ययन गर्न गएका थिए। अध्ययन सकेर आएपछि बहुपक्षीय आर्थिक मामिला महाशाखामा रहेछन्। बढुवा पनि भइसकेर काउन्सेलर भएका रहेछन्। उनी पहिला सन् २०१६ देखि २०१८ सम्म इस्तानबुलमा बंगलादेशको कन्सुलेटमा काम गरिसकेकाले उनलाई इस्तानबुल नौलो भने थिएन। साथीले राम्रै घुमाउलान् भन्ने लागेको थियो। नभए पनि सुझाव सल्लाह त देलान् भनेर ढुक्क भएको थिएँ।

बंगलादेशमा विद्यार्थी आन्दोलनले उग्र रूप लिएको थियो। परिवारसँग समेत सम्पर्क गर्न नपाएको बताउँदै थिएँ। हामीसँग फ्री दिन थिएन। त्यही भएर वर्कसप सकेपछि साँझको समय सदुपयोग गर्नुपर्ने थियो तर कार्यशाला बिहान नौ बजे सुरु भएर साँझ पाँच बजेसम्म भने पनि साढे पाँचछ नै बज्थ्यो। पहिलो दिन साढे पाँच बजे सकियो। समयको सही सदुपयोग त गर्नुपर्‍यो। ड्रेस परिवर्तन गरेर सिधै अघिल्लो दिन श्यामजीले भनेको सम्झिरहेको थिएँ बेसिकतास जाने।

सिधै बेसिकतास जाने बसमा चढ्ने त्यो अन्तिम गन्तव्य भएको र समुद्र पनि देखिने भनेका थिए। मलाई समुद्र एकदमै मन पर्छ। बोस्फोरस क्रुज पनि त्यहाँबाट गर्न मिल्ने बताएका थिए। बस चढेर हामी सिधै बेसिकतासतर्फ लागियो। बाटोमा एकदम ट्राफिक रहेछ। बिहान सिटीतिर आउने र साँझ फर्कने। हामी फर्कने बेलाको रुटमा परियो। आधा घण्टामा पुगिनेमा हामीलाई एक घण्टा लाग्यो। जेहोस् त्यहाँ पुगेपछि माहोल नै रमाइलो थियो। सिप क्रुजहरू समुद्रमा पर्यटक भरिभराउ। अनि त्यहाँ पुग्दा साथ  ६ः५५ मा छुट्ने क्रुज भेटाइयो। हामी ६ः५० मा पुगेका थियौं। समय थिएन।

हामीलाई बोस्फोरस क्रुज गर्नुथियो। त्यहाँ डिनर तथा संगीतसहितको क्रुज पनि हुने रहेछ। हामीसँग समय कम थियो तर उही मूल्य तिरे पनि समयको अभावका कारण हामी डिनर तथा संगीतबिनाको क्रुज गरियो। एक जनाको दुई सय टर्किस लिरा तिरेर। समयमै छुट्यो। समुद्रको गजब दृश्य।

रणनैतिक हिसाबले पनि इस्तानबुल धेरै महत्त्वपूर्ण रहेछ। इस्तानबुल युरोप र एसिया दुवैतिर पर्ने रहेछ। मुख्य आर्थिक तथा ऐतिहासिक केन्द्र चाहिँ युरोपतिर पर्ने रहेछ। इस्तानबुलमा १५ मिलियनभन्दा बढी जनसंख्या रहेछ। टर्कीको २० प्रतिशत जनसंख्या इस्तानबुलमा मात्रै रहेछ भने इस्तानबुलको एक तिहाइ जनसंख्या एसिया क्षेत्रमा र बाकी दुई तिहाइ चाहिँ युरोपमा पर्ने रहेछ। त्यस्तै बाँकी टर्की एसियामा पर्ने रहेछ। सानोमा सामान्य ज्ञानमा युरोप र एसियामा पर्ने देश भनेर पढेको याद आयो।

टर्की आफैंमा मुस्लिम मुलुक। करिब ९९ प्रतिशत मुस्लिम जनसंख्या भए पनि मानिसको ड्रेसअप, खानपिन अनि खुलापन देख्दा मुस्लिमजस्तो लाग्दैनथ्यो। पहिला मैले करिब साढे तीन वर्ष कुवेतमा बिताएको थिएँ। त्यहाँ कालो बुर्का लगाउने र मुस्लिम कट्टर जीवनशैली देखेको मैले यहाँ त बिलकुलै फरक, महिलाले पनि छोटा छोटा पहिरन लगाउने। बोस्फोरस क्रुस गरेर करिब साढे आठ बजे सकियो। अनि बेसिकतास बस स्टेसन एरियाको वरिपरि रेस्टुरेन्टहरू टन्न थिए। हामीले यतै डिनर गरेर जाने सोच बनाएका थियौं।

पप तथा रेस्टुरेन्टहरू प्रशस्तै थिए। अल्कोहलका लागि छुट्टै लाइसेन्स चाहिने सामान्य रेस्टुरेन्टमा अल्कोहल, बियर आदि नहुने र पप रेस्टुरेन्टमा भने पाइने रहेछ। त्यसैगरी बाहिर पार्कमा बसेर पनि राति एघार बजेसम्म बियर तथा अल्कोहल खान पाइने रहेछ।

हामी करिब एक घण्टा जति बजारको रात्रि रमझम हेरेर एउटा पप रेस्टुरेन्टमा छिरेर बियर अडर गरियो। अनि कुखुराको विङ्स मागेका थियौं तर रहेनछ। फ्राई चिकन आइटम रहेछ। त्यही मागियो। हाम्रो छेउको टेबल खाली थियो। अन्दाजी १५ वर्ष जतिका दुई जना केटी आएर बसे। निरन्तर चुरोट सल्काइरहेका उनीहरूले बियर पनि अडर गरे।

हामी ट्वाँ परेर हेरिरहेका थियौं। महेश सरले ‘होयर आर यु फ्रम ?’ भनेर सोध्नुभयो। उत्तर आयो– ‘आई एम फ्रम इस्तानबुल।’ मुस्लिम केटीहरू युरोपियनभन्दा पनि खुला ड्रेसअप। मुस्लिम भनेर विश्वास नै गर्न नसकिने। इस्तानबुलका मुस्लिमहरूमा त्यस्तो धार्मिक सङ्कीर्णता देखिएन। बुर्का लगाएर हिँड्ने महिला पनि यदाकदा मात्र देखियो। यसबारे नेपाली साथीहरूलाई सोध्यौं। इस्तानबुलबाहिर कट्टर मुसलमान पनि छन् र इस्तानबुलमा पनि कुर्दहरू अलि बढी मुस्लिम कट्टर समर्थन गर्छन्। नत्र त यो युरोप हो, युरोपभन्दा यहाँ केही अन्तर छैन भन्ने जवाफ दिए।

इस्तानबुलमा बस तथा मेट्रो सबै सार्वजनिक यातायात सरकारी भएको र पर्व तथा औपचारिक बिदाका दिन निःशुल्क गर्दो रहेछ। हामीलाई होटल फर्कनु थियो। एउटा बस रोकेर ‘४ लेभेन्ट’ जान्छ भनेर सोध्यौं। ‘एस’ भन्यो। ढुक्क भइयो। दुई जनाको ५० लिरा लियो। रातको एघार बजेतिर होटल आइपुगियो।

दोस्रो दिन २५ जुलाईमा पनि हाम्रो कार्यक्रम ढिलासम्मै भयो। ६ बजेभन्दा ढिलासम्म कार्यक्रम भयो अनि हाम्रो ब्लु मक्स जाने योजना सफल भएन। नजिकैको सपिङ महल जाने विचार गर्‍यौं। होटलमा सोधेको दश मिनेटको वाकिङमा नै ठुलो सपिङ महल रहेको बताए। मिड पोइन्ट भन्ने ठाउँमा केन्यान विल्डिङमा भव्य सपिङ महल रहेछ। सपिङ कम्प्लेक्स राम्रैसँग चहारियो तर किनकान खासै भएन। डिनर खान बाहिर एउटा कबाब रेस्टुरेन्ट गएर कबाब फुल साइजको अडर गरेर खायौं। निकै मिठो लाग्यो। त्यसपछि हिँडेरै होटल आइयो।

कार्यक्रमको तेस्रो दिन अर्थात् २६ जुलाईमा गेब्जे जाने कार्यक्रम थियो। गेब्जेमा ‘युएन एलडिसी टेक्नोलोजी बैंक’ स्थापना भएको थियो। मलाई कौतूहल थियो गेब्जे जाने। उक्त बैंकका कार्यकारी निर्देशकले ब्रिफिङ गरेका थिए जेनेभामा हामीलाई। वास्तवमा इस्तानबुलबाट डेढ घण्टाको यात्रामा बसबाट पुग्न सकिने रहेछ ट्राफिक हुँदा पनि तर ट्राफिक नहुँदा भने डेढ घण्टा पनि लाग्ने रहेनछ।

गेब्जे टर्कीको टेक्नोलोजी पार्कका रूपमा विकास गरेको रहेछ। त्यहाँको रिसर्च काउन्सिल अवलोकन गराउने कार्यक्रम रहेको थियो। सोहीबमोजिम बिहान साढे नौ बजे हामी गेब्जेका लागि प्रस्थान गरियो। हामी एघार बजे पुग्ने कार्यक्रम रहेकोमा सोभन्दा अगाडि नै पुगेकाले केही समय फुसर्द पनि भयो। टुबिटक गेब्जे क्याम्पस परिसर विशाल रहेछ। त्यहाँ अनुसन्धान गर्ने र नवप्रवर्तनको कार्य हुने रहेछ।

१०८ भन्दा बढी मुलुकसँग एमओयु गरेर सहकार्य तथा सहयोग आदानप्रदान गरेको रहेछ। यो क्याम्पस टर्कीको शक्तिसम्पन्न सरकारी अनुसन्धान केन्द्र रहेछ अनि उनीपछि विभिन्न विधाका निर्देशकहरूले आआफ्ना कार्यबारे प्रकाश पार्नुभएको थियो। केही अनुसन्धान सेन्टरहरू समेतको स्थलगत भ्रमण पनि गरियो। बिहानको खाना पनि तुविताक क्याम्पसको क्यान्टिनमा व्यवस्था गरिएको थियो। शान्त तथा साच्चै अनुसन्धानका लागि मनोबल र उत्प्रेरणा जगाउने वातावरण बनाइएको रहेछ। पूरै हरियाली साना साना भवन तथा भित्रै सानो ई–बस, एक ठाउँबाट अर्को ठाउँमा जाने व्यवस्था रहेछ। गज्जब लाग्यो।

हामीले केही प्रयोगशालाको अवलोकन गर्‍यौं। त्यहाँ कोभिडको मेडिसिन पनि बनाएको रहेछ। एउटा प्रयोगशालामा सौन्दर्य उत्पादन तथा मेडिसिनको अनुसन्धान गरी पत्ता लगाएका आठ वटा उत्पादन हेर्‍यौं।

कोभिडको औषधी पनि त्यहाँ बनाएको रहेछ। त्यसैगरी एन्टी एजिङलगायतका कतिपय सामान्य पसलमा पाइने उत्पादन त कतिपय फार्मेसीमा मात्र पाइने रहेछ। साच्चै आविष्कारको वातावरण र समर्पित जनशक्ति राज्यले निर्माण गर्ने, प्राविधिक जनशक्तिलाई राम्रो अवसर र उपयोग गर्ने र उनीहरूको सिप तथा क्षमता बढाउने नै अनुसन्धानमार्फत नै हो।

हामी पाँच बजे होटल आइपुग्यौं। यो हाम्रो अन्तिम दिन थियो। भोलि २७ जुलाईको साँझ हाम्रो उडान तालिका नै थियो। हामीलाई सहर चहार्नुथियो, नयाँ ठाउँ अवलोकन गर्नुथियो। होटल आएर सिधै ड्रेस परिवर्तन गरेर ब्लु मक्स जाने तयारी गर्‍यौं। अघिल्लो दिन नै मैले बंगलादेशी साथीसँग रुट मागेको थिएँ। मेट्रो स्टेसनमा कार्डमा टप अप गरेर ४ लेभेन्टबाट हरियो लाइनको मेट्रो हुँदै इस्तानबुल युनिभर्सिटी गयौं। त्यहाँ झरेर इस्तानबुल युनिभर्सिटी अगाडि एक एक वटा फोटा कैद गर्नै पर्‍यो भनेर बाटो क्रस गरेर नजिकै गएर खिच्यौं। त्यस दिन हामीलाई जसरी पनि ब्लु मक्स जानु नै थियो।

करिब सात मिनेट हिँडेर हामी लालेली इस्तानबुल युनिभर्सिटी ट्राम स्टेसनबाट कवतास जाने ट्राम लिएर तीन स्टप अगाडि सुल्तानअहमेत झर्‍यौं। दायाँतर्फ पार्क हुँदै ब्लु मक्स रहेछ। हामी त्यतैतिर लाग्दै थियौं। अवुधावीको ग्रान्ड मस्क्यु जाँदा अरविक ड्रेस विशेष गरेर महिलालाई अनिवार्य थियो। तर यहाँ त्यस्तो कडा केही थिएन तर छोटा कपडा लगाएकालाई भने त्यहाँ प्लास्टिकको कपडा दिएर छोप्न लगाउँदो रहेछ। अनि प्रार्थना समयमा चाहिँ जान नपाइने, अरू बेला सबैलाई जान दिँदो रहेछ। भित्र छिर्दा त गजब लाग्यो।

विशाल अनि सौन्दर्य तथा मार्बलमा कुँदेर सजाएको विशाल पिलर तथा कुँदेका बुट्टाको छुट्टै सौन्दर्य थियो। भव्य मस्जिद तथा बाहिर पनि खुला ठाउँले चर्चेको मक्सलाई भित्रै गएर हेर्‍यौं, फोटा पनि खिच्यौं। मलाई याद छ, ओमनको मस्कटमा हामीलाई मक्सभित्र फोटो खिच्न मनाही गरिएको थियो। हाम्रै पशुपतिनाथभित्र पनि फोटो खिच्न बर्जित गरिएको छ। तर यहाँ भने त्यस्तो बर्जित केही रहेनछ।

बाहिर केही तस्बिर लिएपछि अस्ट्रा बजार पुगियो। यो स्पाइस बजार पनि रहेछ। त्यस्तै विभिन्न टप ब्रान्डका उत्पादन भन्दै पसलमा बार्गेनिङ मजाले चल्दो रहेछ। धेरै पसल चहारियो तर खासै किनकान चाहिँ गरिएन। गहना, मसला र कपडाका यथेष्ट पसल थिए। हामीलाई पसलमा छिरेपछि हिन्दुस्थानबाट हो भनेर सोध्थे। कतिले पाकिस्तानी भन्थे। इस्तानबुलमा मानिस अङ्ग्रेजी खासै बोल्दा रहेनछन्।

त्यहाँ धेरै ऐतिहासिक स्थलहरू घुम्ने योजना भए पनि सबै स्थल पत्ता लगाउन सकिएन। धेरै ठाउँ चाहँदा चाहँदै छुटाउनुपर्‍यो। त्यहाँ वरपर हुँदै घुमघाम गरेर ट्रामबाट फर्कियौं। मेट्रो स्टेसनतिर आउदै थियौं, डिनर यतै गरेर जाऊँ भन्ने सल्लाह भयो। अनि एउटा कबाब रेस्टुरेन्टमा प्रवेश गर्‍यौं। साथी इजिप्टको रहेछ तर अहिले फिनल्यान्डको नागरिक भएको बताउँदै थिए।

अरबिकमा कुरा पनि गरियो। बियर खान पाइने भए खाना खाने भन्ने निर्णय गरियो। अल्कोहल बेच्ने लाइसेन्स लिएको रहेनछ, लुकाएर काँसका गिलासमा बियर ल्यायो। यहाँ फुटपाथमा पनि कपडा बेचिरहेका थिए, दुई सय लिरा, तीन सय लिरा भन्दै सस्ता सस्ता सामान बेच्दै थिए। मलाई भने हाम्रै भृकुटीमण्डप तथा रत्नपार्क, सुन्धाराको साँझपखको सडक बजारको याद आयो। खाना पनि खाइयो अनि मेट्रो चढेर रातको करिब १२ बजेतिर होटल आइपुगियो। रात्रि यात्रा गर्दा पनि कुनै सुरक्षाको चिन्ता लागेन। बरु अमेरिकामा यसरी यात्रा गर्दा मलाई सातो जान्थ्यो।

२७ जुलाईको साँझ सभा आठ बजे हाम्रो फ्लाइट थियो। आज श्यामजीको बिदा र हामीलाई सबै समय दिने भनेकाले बिहान दश बजे भेट्ने हाम्रो योजना बनेको थियो। बिहानै सबै लगेजहरू मिलाएर चेक आउट गरेर लगेजहरूलाई लगेज होल्डिङ रुममा राखेर हामी बाहिर घुम्न निक्लियौं। श्यामजीले हामीलाई आधा घण्टा कुराए अनि उनी र उनका भान्जा पर्ने गुल्मी पुख्र्यौली भएका अर्याल थरका भाइ पनि सँगै आए। श्यामजीले पार्क जाने प्रस्ताव गरे। त्यो हामीले क्रुज गर्दा देखेको दोस्रो पुलनेरको एरिया फोर्ट पनि भएको बताउँदै थिए।

हामी एकछिनको छलफल पछि सपिङ जाने निष्कर्षमा पुग्यौं। पाइभेट बस जुन हामी पहिलो दिन नै चढेका थियौं, भक्तपुरे स्टाइलको बसमा चढेर करिब १० मिनेटको दुरीमा इटिनी पार्क भन्ने सपिङ कम्प्लेक्स गयौं। यो कतारी लगानीमा निर्मित सपिङ मल भन्दै थिए साथीहरूले। हुन पनि मल भव्य थियो। सबै ब्रान्डका आउटलेट पनि थिए। अनि सपिङ पनि राम्रै गरियो। राम्रो गारवेज कलेक्सन गरियो भन्दै हसाउँदै हुनुहुन्थ्यो महेस सर पनि। छोराछोरी तथा म्याडमलाई लत्ताकपडा र म्याडमलाई ब्यागसमेत खरिद गर्न भ्याइयो। सपिङ कम्प्लेक्सको गेटमा आएर सम्झनाका लागि फोटो खिच्न लाग्यौं। सबै जनाको फोटो खिच्नलाई नजिकैका मानिसलाई अनुरोध गर्दा कसैले पनि खिचिदिन मानेनन्। अचम्मै लाग्यो। सबै हाम्रो काम छ भन्दै भागे। अनि सेल्फी जिन्दावाद गरियो।

यति हुँदा दिउँसोको दुई बजिसकेको थियो। चार बजे एयरपोर्ट जाने भन्ने हाम्रो योजना थियो। त्यहाँबाट बस लिएर होटल नजिकै झरेर हामीले दिउँसोको डिनर खाने योजना बनायौं। खानपानपछि हतार हतार होटल आएर लगेजमा सामान हाली एयरपोर्ट लागियो। श्यामजीले हाम्रो लगेज लिएर ट्याक्सीमा टक्सिम गए।

हामी अर्याल भाइसँग मेट्रोबाट गयौं। एयरपोर्ट पुग्दा साढे ६ बजेको थियो। हामीसँग मात्र दुई घण्टाभन्दा कम समय थियो। हतार हतार सेक्युरिटी तथा बोडिङ पास लिन लागियो। छिट्टै भयो तर महेस सरको लगेजका कारण केही समय लाग्यो। प्रक्रिया पूरा गरेर हवाईजहाजमा चढियो। फ्लाइट फुल थिएन। मजाले तीन वटा सिटमा सुतेर आइयो। बिहान समयमै काठमाडौं झरियो।

इस्तानबुल ऐतिहासिक सहर हो। यहाँ पहिला क्रिश्चियनहरूले शासन गरेको रोमन ग्रिकहरूको शासन थियो। बैजान्टिनहरूले शासन गरेकाले यसलाई कन्स्ट्याानटिनोपोल भनिन्थ्यो। कन्स्ट्यानटिनोपोल राजधानी थियो, पछि मुस्लिम ओटोम्यानहरूले जितेपछि पूरै मुस्लिम राज्यमा परिणत भएकाले पनि यहाँका मुस्लिम कट्टर नभएर खुला भएका हुन्। त्यही भएर पश्चिमाहरूले यो राज्य जबरजस्ती लिएको आरोप लगाउँछन् तर ओटोम्यान एम्पायरहरूले जितेर ल्याएको भन्ने गर्छन्। इस्तानबुल टर्कीको सबैभन्दा ठुलो सहर पनि हो। सन् १९२३ मा टर्कीले पूर्ण रूपमा इस्तानबुल लिएपछि औपचारिक रूपमा अंकरालाई राजधानी बनाएको देखिन्छ।

मलाई बंगलादेशी साथीले भनेअनुसार सुरुमा इस्तानबुललाई इस्लामबुल भनिन्थ्यो। ‘बुल’ भनेको बगैंचा/पार्क हो। इस्लामहरूको सुन्दर पार्क/बगैंचा। पछि इस्लामबुल इस्तानबुलमा परिणत भएको पनि बताएका थिए। मुस्लिमले क्रिश्चियनलाई हराएपछि पूरै क्रिश्चियनहरूलाई मुस्लिममा जबर्जस्त रूपान्तरण गरियो र इस्लामबुल भयो होला भन्ने मलाई पनि कता कता लाग्यो। 

प्रकाशित: २७ पुस २०८१ ०७:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App